Friday, April 26, 2024

-->

क्यानले सन्दीपलाई बोलायो बन्द प्रशिक्षणमा

क्यानको छनोट समितिले बलात्कारको अभियोग लागेका लेग स्पिनर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले सन्दीपलाई बोलायो बन्द प्रशिक्षणमा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग लागेका लेग स्पिनर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यान छनोट समितिले उनलाई बिहीबार घरेलु मैदानमा आयोजना हुने आईसीसी डिभिजन लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्धको एक दिवसीय श्रृंखलाका लागि बन्द प्रशिक्षणमा बोलाएको हो।

मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गरेसँगै बन्द प्रशिक्षणमा बोलाइएको छनोट समिति संयोजक दीपेन्द्र चौधरीले पुष्टि गरे। "उहाँलाई बन्द प्रशिक्षणमा बोलाउने अधिकार हामीले पाएका थियौँ", उनले भने, "हामीले उहाँलाई पनि बन्द प्रशिक्षणमा समेट्न उपयुक्त ठानेका छौँ। अन्य खेलाडी रहेको होटलमा उहाँ दिउँसो चेक इन हुनुभएको छ।"

बलात्कारको अभियोग लागेपछि क्यानले उनलाई भदौ २३ गते निलम्बन गरेको थियो। जिल्ला अदालत, काठमाडौँले उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो। गत पुस २८ गते उच्च अदालत, पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दियो। 

रिहा भएसँगै उनले खेल्न पाऊँ भनेर क्यानमा निवेदन दिएका थिए। क्यानको बोर्ड बैठकले उनलाई निलम्बन फुकुवा गरेर आसन्न श्रृंखला खेल्ने बाटो खुला गरेको थियो। उक्त श्रृंखला आगामी फागुन २ गतेदेखि कीर्तिपुरमा हुँदैछ।

यद्यपि, क्यानले उनलाई बन्द प्रशिक्षणमा बोलाउने या नबोलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकार छनोट समितिलाई दिएको थियो। छनोट समितिले उनको विगतको नतिजालाई हेरेर २८ सदस्यीय टोलीमा समावेश गरेको चौधरीले बताए। "आज कीर्तिपुरमा अभ्यास गर्न पनि जानु भएको थियो। भोलि फिटनेस टेस्ट हुन्छ। सबै प्रक्रिया पूरा गरेर खेल्न सक्ने देखिनुभयो भने उहाँलाई खेलाउँछौँ", उनले भने।

सन्दीप यसअघि नै बन्द प्रशिक्षणमा रहेका खेलाडीसँगै अभ्यास गरिरहेका थिए।

यो पनि : ‘जघन्य’ अपराधमा मुछिएका सन्दीपको निलम्बन फुकुवा गर्न क्यानलाई किन भयो हतार?

सम्बन्धित सामग्री