Tuesday, April 23, 2024

-->

प्रतिनिधिसभा सदस्य अरुण चौधरी पक्राउ

कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको छ।

प्रतिनिधिसभा सदस्य अरुण चौधरी पक्राउ

काठमाडौँ– प्रहरीले कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरेको छ।

बाँकेको कोहलपुरबाट उनलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए।

“कैलाली जिल्ला अदालतबाट कैद र सजाय तोकिएका उनी फरार थिए। त्यसैले पक्राउ गरिएको हो”, पोखरेलले भने, “अब उनलाई कैलाली जिल्ला अदालतमा बुझाउँछौँ।”

ट्याक्टरमा आगो लगाएको अभियोग लागेका चौधरीलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो।

कैलालीको चिसापानीस्थित गोरंगा खोलाबाट ढुंगा लिएर लम्की फर्किने क्रममा उनीहरूले २०६६ साल भदौ ३ गते ट्याक्टरमा आगजनी गरेका थिए।

चौधरीले अदालतको सजाय भुक्तानी नगरेर फरार रहेको केही दिनअघि सार्वजनिक भएको थियो। उनी ०७४ सालमा लम्की चुहा नगरपालिकाको मेयर र त्यसपछि प्रदेशसभा सदस्यमा पनि चुनाव लडेका थिए।

तर, गत मंसिर ४ मा भएको निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेर निर्वाचित भएका थिए।


सम्बन्धित सामग्री