Friday, April 19, 2024

-->

एक वर्षभित्र पेट्रोल पनि पाइपलाइनबाटै आउने

पाइपलाइनलाई पूर्ण क्षमतामा उपयोग गर्दा पेट्रोलियम ढुवानीमा वार्षिक करिब २ अर्ब रुपैयाँ बचत हुने निगमको प्रक्षेपण छ।

एक वर्षभित्र पेट्रोल पनि पाइपलाइनबाटै आउने

काठमाडौँ– मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको निर्माण शुरू भएको छ। नेपाल–भारत अन्तर्देशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत पहिलो चरणअन्तर्गत निर्माण सम्पन्न भएर डिजेल मात्र आयात भइरहेको यस पाइपलाइनको २० लाख मेट्रिक टन पेट्रोलियम इन्धन आपूर्ति गर्ने वार्षिक क्षमता छ। अब दोस्रो चरणअन्तर्गत नेपाल आयल निगमको अमलेखगन्जस्थित डिपोको स्तरोन्नति गर्दै भण्डार क्षमता बढाइँदै छ।

निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगन्जस्थित डिपोमा पेट्रोल ट्यांक, ट्रान्समिक्स ट्यांकलगायत संरचना निर्माण थालिएको कार्यालयका प्रमुख प्रदीपकुमार यादवले बताए। एक वर्षभित्र निर्माण कार्य सकिएर पाइपलाइनबाट पेट्रोल आपूर्ति शुरू भइसक्ने यादवको दाबी छ।

कार्यालय प्रमुख यादवले दिएको जानकारीअनुसार पेट्रोल भण्डारणका लागि ४१ लाख लिटर क्षमता भएका दुई वटा ठाडो (भर्टिकल) ट्यांक बनाइँदै छ। त्यस्तै प्रत्येकमा साढे २ लाख लिटर क्षमता भएको दुई वटा ट्रान्समिक्स ट्यांक, अत्याधुनिक प्रयोगशाला, एकपटकमा २४ ट्यांकरमा तेल हाल्ने मिल्ने स्टेसन, पम्प निर्माण हाउस पनि दोस्रो चरणको निर्माणमा छ। त्यस्तै, आगो नियन्त्रण प्रणालीको स्तरोन्नति लगायतका काम पनि गर्न लागिएको यादवले बताए। यसका साथै प्राविधिक उपकरणहरू पनि खरिद तथा जडान गर्नुपर्ने छ।

भारतको बिहार, पूर्वी चम्पारणको मोतीहारीनजिक रहेको छपरा बहासदेखि निगमको बारा, अमलेखगन्ज डिपोबीच ६९ किलोमिटर लामो सीमा आरपार पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ मा उद्घाटन भई सञ्चालनमा आएको थियो। रक्सौलसम्म ३२.५ किलोमिटर पाइपलाइन भारतमा पर्छ। सिमानादेखि यता अमलेखगन्जसम्म ३७.२५ किलोमिटर नेपालमा छ। निगमले इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट पाइपलाइनमार्फत अहिले डिजेल मात्र आपूर्ति गर्ने गरेको छ।

यसको निर्माण २०७५ वैशाखमा शुरू भएर २०७७ वैशाखमा सकिएको थियो। पाइपलाइन उद्घाटन भएर सञ्चालनमा आएको ३ वर्ष ४ महिनापछि माघ ९ मा दोस्रो चरणको कामका लागि शिलान्यास भएर निर्माण शुरू भएको हो।

भारत हैदरावादको लिखिता इन्फ्रास्टक्चर लिमिटेडले २ करोड ४६ लाख ४० हजार लागतमा दोस्रो चरणको कार्य डिसेम्बर २०२३ भित्र पूरा गर्ने गरी सम्झौता गरेर निर्माण अगाडि बढाएको हो।

भण्डार सुविधा नभएर पाइपलाइनको पूरा क्षमतामा प्रयोग हुन सकेको थिएन। पाइपलाइनलाई पूर्ण क्षमतामा उपयोग गर्दा पेट्रोलियम ढुवानीमा वार्षिक करिब २ अर्ब रुपैयाँ बचत हुने निगमको प्रक्षेपण छ।

अहिले बिहारको बरौनीबाट अमलेखगन्जसम्म ट्यांकरमा पेट्रोल ढुवानी हुन्छ। पेट्रोल ढुवानीमा सरदर १५ करोड रुपैयाँ मासिक खर्च हुने गरेको यादव बताउँछन्। पाइपलाइनबाट पेट्रोल आपूर्ति शुरू भएपछि सयौँ ट्यांकरहरूको दैनिक परिचालन विस्थापित गर्न पाइनेछ। यसबाट पर्यावरणीय लाभसँगै सडक जोगाउनमा पनि मद्दत मिल्ने निगमका अधिकारी बताउँछन्। 

अहिले पेट्रोल र हवाई इन्धन बरौनीबाट आपूर्ति गर्न ट्यांकरमा २ सय ७७ किलोमिटर ढुवानी गर्नुपर्ने हुन्छ। एक खेपमा २० हजार लिटर पेट्रोल भित्र्याउन ट्यांकरको इन्धनमा मात्र ४ सय लिटर डिजेलका लागि ७१ हजार २ सय रुपैयाँ बराबर खर्च हुन्छ। चालक, सहचालक, भारतमा लाग्ने सडक दस्तुर (टोल ट्याक्स) चुहावट र अन्य खर्च लगायत गर्दा प्रति २० हजार लिटरको प्रतिखेपमा ९० हजार रुपैयाँ खर्च पर्ने निगमको भनाइ छ। यो भनेको साढे ४ रुपैयाँ प्रतिलिटर हो।

कार्यालय प्रमुख यादवका अनुसार पाइपलाइन प्रयोगमा आउँदा पेट्रोल आपूर्ति खर्च ५० पैसामा झर्ने छ। पाइपलाइन योजनाभित्र दोस्रो चरणको निर्माण पूरा भएर त्यसमार्फत पेट्रोल भित्र्याउन सकेपछि यसले उपभोक्तालाई प्रतिलिटर ३ देखि ४ रुपैयाँसम्म कम पर्न जान्छ।


सम्बन्धित सामग्री