Tuesday, April 23, 2024

-->

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

एमाले सहितका दलहरूसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ– सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ। दलहरूबीच राष्ट्रपति एमालेलाई दिने सत्तारूढ दलहरूको सहमतिका बीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी कमिटीले बैठकले सो निर्णय गरेको हो।

एमाले सहितका दलहरूसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। बैठकमा धेरैजसो नेताहरूले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोहीअनुसार अघि बढ्ने नीति लिएको उनको भनाइ थियो।

"राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने धेरै कमरेडहरूको आवाज आएको छ", उनले भने, "अरू पार्टीसँग छलफल गर्न हुन्छ। एमालेसहितको राष्ट्रिय सहमतिमा जाने हो। त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन।"

उपाध्यक्ष महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धी प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धी प्रतिवेदन बैठकमा पेस गरेका थिए।

पार्टी एकतासम्बन्धी प्रतिवेदनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि संस्थागत रूपमा वार्ता प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ।  त्यसैगरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पनि एकताका लागि व्यक्तिगत रूपमा पहल शुरू गरिएको विषय प्रतिवेदनमा उल्लेख गरिएको उपाध्यक्ष महराले बताए।

बैठकले स्थायी कमिटी बैठकमा नेताहरूले उठाएको विषयलाई एकीकृत गर्न र पार्टीका केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजनको ठोस प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा उपमहासचिवहरूको टिमलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ। बिहीबारबाट शुरू भएको माओवादी केन्द्रको स्थायी समिति बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।


सम्बन्धित सामग्री