Friday, March 29, 2024

-->

हेर्दाहेर्दै ‘इपिडेमिक’ बनिरहेछ मानसिक स्वास्थ्य, तर कसैलाई चासो छैन

काठमाडौँमा प्रेमप्रसाद आचार्यको मृत्युवरणले चर्चा बढाइदिएको मात्र हो। खासमा नेपालीको मानसिक स्वास्थ्य समस्या ‘महामारी’कै तहमा देखापरेको आत्महत्याको चढ्दो ग्राफबाटै छर्लंग हुन्छ।

हेर्दाहेर्दै ‘इपिडेमिक’ बनिरहेछ मानसिक स्वास्थ्य तर कसैलाई चासो छैन

काठमाडौँ– बानेश्वरस्थित संघीय संसद्बाट बाहिरिँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको ‘कारकेड’ सामुन्ने संसद् भवनको दक्षिण गेट अगाडि मंगलबार युवा उद्यमी प्रेमप्रसाद आचार्यले आफैँमाथि पेट्रोल खन्याएर आगो लगाए। इलामको सूर्योदय नगरपालिका घर भएका आचार्यलाई प्रहरीले उद्धार गरी उपचारार्थ कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍यायो। तर, शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलिसकेका आचार्यको उपचार सफल भएन। अस्पतालले बुधबार बिहान उनको मृत्यु भएको जानकारी दियो।

आचार्यले आफैँलाई आगो लगाउनुअघि फेसबुकमा लामो स्टेटस लेखेका थिए जसमा उनले सामना गरिरहेको चरम निराशा र तनाव प्रस्ट देखिन्छ। त्यो निराशा र तनावको कारण थप गम्भीर छ। कतिसम्म भने, उनले देशको राजनीतिक, कानूनी, आर्थिक बेथिति–कुशासन र राज्य प्रणालीले आफूलाई गरिखान नदिएको भन्दै जीवनबाटै वैराग बनेको उल्लेख गरेका थिए। 

आचार्य ती उत्साहित युवा थिए, जो कुनै बेला वैदेशिक रोजगारमा गएका थिए र परदेशमा श्रम गरेर जोगाएको पैसाले देशमै केही उद्यम गर्ने आँट लिएर फर्केका थिए। त्यही उद्यम गर्ने क्रममा उनले आर्थिक संकट बेहोरे। सम्भवतः त्यो संकटमा कोरोना महामारीलगायतको पनि अप्रत्यक्ष हात थियो। तर, प्रत्यक्षतः उनले इंगित गरेझैँ बिचौलिया पोस्ने राज्य-राजनीति र त्यसले बढाएको दण्डहीनता नै उनलाई निराश बनाउने प्रमुख कारण थियो जसले उनीमाथि लाखौँ ऋणको भारी थुप्रिएको थियो। त्यही भारीले उनलाई आफ्नै जीवन अन्त्य गर्ने बाटोमा अग्रसर गरायो। 

आचार्यको मृत्युपछि सामाजिक सञ्जाल मात्र तातेन, बुधबार माइतीघर मण्डलमा स्वतःस्फूर्त प्रदर्शन भयो। सरकार मात्र होइन, राज्य प्रणालीमाथि नै प्रश्न उठाइयो। यस्तो दबाब परेपछि बुधबार नै बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले आफ्नै ज्यान लिने कदम चाल्नुअघि उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ। तर, विगतका उदाहरण हेर्दा यो एउटा निर्णयमा सीमित हुने जोखिम पनि उत्तिकै छ।

किन बढ्यो आफैँलाई आगो लगाउने शृंखला?
माघ ६ गते एक युवकले काठमाडौँको सुन्धारास्थित सिभिल मलमा आफैँलाई आगो लगाएर ज्यान लिने प्रयास गरेका थिए। सिभिल मलको भुइँतलामा २९ वर्षीय विसङ गुरुङले शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। मलमा खटिएका सुरक्षा गार्डले तत्कालै आगो निभाएकाले उनको जीवन तलमाथि हुन पाएन। तर, अनुहार र शरीरका विभिन्न भाग भने जले। 

उनले आफ्नै ज्यान लिन खोज्नुको खास कारण खुलेको छैन। प्रहरीले पनि यसबारे केही जानकारी दिएको छैन। मलका काम गर्ने एक महिलाले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले आफैँलाई आगो लगाएको चर्चा भएपनि त्यसको विस्तृत विवरण खुलेको छैन।  

गत मंसिर २० गते सुष्मा न्यौपानेले धुम्बाराही, काठमाडौँस्थित आफ्नो प्रेमीको घर अघिल्तिर आफैँलाई आगो लगाइन्। इन्गेजमेन्ट भइसकेको अवस्थामा प्रेमीले बिहे नगर्ने बताएपछि तनावमा परेकी सुष्माले यस्तो कदम चालेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निचोड छ। आफ्नै उद्यम गरिरहेकी सुष्मालाई यति भयानक कदममा उक्साउने कारण त्यतिमात्र थियो वा अरू केही भन्ने अहिलेसम्म स्पष्ट भएको छैन।

२०७७ साउन २० गते रुपन्देहीको देवदहस्थित पशु क्वारेन्टिन कार्यालयका सुरक्षा गार्डले आफैँलाई आगो लगाएर जीवन समाप्त पारे। देवदहकै मितेरी टोलमा घर भएका २४ वर्षीय विपिन बस्यालले आफैँलाई आगो लगाएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो।  

२०७७ साल जेठ १२ गते अछामको बयलपाटा अस्पतालमा कार्यरत सिद्धार्थ आउजीले पनि आफैँमाथि आगो लगाए। अस्पतालमा कार्यरत ३३ जना करारका कर्मचारीलाई साँफेबगर नगरपालिकाले अवकाश–पत्र थमाएको थियो। आउजी तिनैमध्ये थिए। कमजोर आर्थिक अवस्थाका आउजीले अचानक जागिरसमेत गुमेपछि यस्तो कदम चालेका थिए। अछाम प्रहरीका अनुसार उनको उपचारका क्रममा निधन भएको थियो। 

नेपालमा पछिल्लो समय आत्महत्या गर्नेक्रम बढेको छ र त्यसमा आफैँलाई आगो लगाउने घटना पनि बढिरहेका छन्। मनोविद् गोपाल ढकाल नेपालमा प्रत्येक दिन औसत १८ जना र प्रत्येक एकदेखि दुई घण्टामा एक जनाले आत्महत्या गरिरहेको बताउँछन्।  प्रहरी प्रधान कार्यालयका अनुसार गत वर्ष (२०७८/७९ मा) ६ हजार ८३० जनाले आत्महत्या गरेका छन्। त्यो भन्दा अघिल्लो वर्ष, २०७७/७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेको आँकडा प्रहरीसँग छ। “यसमा एउटै कारण त हुँदैन, हाम्रो अनुसन्धानका आधारमा के भन्न सकिन्छ भने आत्महत्यामा कमजोर आर्थिक अवस्था, निजी सम्बन्धमा हुने असफलता, घरायसी तनावलगायत कारण प्रमुख जिम्मेवार देखिन्छन्”, प्रहरी प्रवक्ता पोषराज पोखरेलले भने। 

द गार्जियनमा प्रकाशित भएको एक रिपोर्टअनुसार विश्वभर मृत्युको प्रमुख कारण आत्महत्या बनेको छ। एचआईभी/एड्स, मलेरिया, क्यान्सरभन्दा आत्महत्याबाट हुने मृत्यु बढी छ। रिपोर्टमा उल्लेख भएअनुसार, सन् २०१९ मा ७ लाख मानिसले आत्महत्या गरेका थिए। तीमध्ये एक व्यक्तिले २० भन्दा धेरैपटक आत्महत्याको प्रयास गरेका थिए।

मानसिक अस्वस्थताको ‘महामारी’ 
अरू मुलुक र नेपालमा आत्महत्या वा आफ्नै ज्यान लिने घटना र त्यसपछाडिको पृष्ठभूमि एउटै नहुन सक्छ। तर, विश्वव्यापीकरणले यसका कारणहरू भने केही हदसम्म मिल्दाजुल्दा छन्। पछिल्ला घटनाक्रम हेर्दा नेपालमा पनि मानसिक स्वास्थ्य समस्याले महामारीकै जस्तो रूप लिएको मनोविद् ढकाल बताउँछन्। उनले पछिल्लो समय सार्वजनिक स्थानमै आत्महत्या गर्ने प्रवृत्ति देखिनु थप गम्भीर रहेको बताए। 

“कोभिड महामारी चर्केको समयमा सामाजिक सञ्जालमा आएर, लाइभ नै गरेर आत्महत्या गर्ने वा प्रयास गर्नेसम्मको अवस्था देखियो, अहिले आफैँलाई आगो लगाउने प्रवृत्ति देखापरेको छ, यो मानसिक स्वास्थ्यको अवस्था निकै गम्भीर बनिसकेको उदाहरण हो”, उनले भने।

मानसिक रोग अर्थात् मानसिक स्वास्थ्य समस्यालाई आत्महत्याको प्रमुख कारण मान्ने ढकाल त्यसमध्ये ८० प्रतिशत डिप्रेसनले हुने बताउँछन्। “बेलैमा डिप्रेसनको उपचार नभए त्यस्ता मानिसले आत्महत्याको बाटो रोज्नेगरेको धेरै अध्ययनले देखाएका छन्, मैले परामर्श दिँदा देखेको अवस्था पनि त्यही हो”, उनले भने, “कारण अरू पनि छन्, मुख्य यही हो। तर, डिप्रेसनका बिरामीमा मर्ने चाहना हुन्छ भन्ने होइन। उनीहरूले समयमै उपचार पाएनन्, खोजेको सहयोग पाएनन् भने मात्र त्यो बाटो रोज्न सक्छन्। अन्तिम समयसम्म पनि उनीहरूलाई सहयोगको अपेक्षा हुन्छ। यो कुरा परिवार, समाजले पनि बुझ्नुपर्छ।” 

पछिल्लो समय गरिखाने वर्गले गरिखान सक्ने अवस्था नहुँदा पैदा हुने तनावले पनि निराशा (डिप्रेसन) बढाइरहेको उनको अनुभव छ। काठमाडौँको पछिल्लो घटनालाई उनी त्यहीसँग तुलना गर्छन्। “मानसिक अस्वस्थता महामारीकै रूपमा देखापरेकाले यसलाई सम्बोधन गर्न राज्यले सोहीअनुरूपको अग्रसरता देखाउन ढिलो भइसक्यो”, उनी भन्छन्। 

अवस्थाचाहिँ कस्तो छ भने काठमाडौँमा प्रेम आचार्यले देश नै हल्लाउने गरी मृत्युवरण गरेपछि प्रहरीले देशभरका पेट्रोल पम्पबाट बोतल र जर्किनमा पेट्रोल तथा अन्य प्रज्वलनशील पदार्थ बेच्न रोक लगाउने निर्णय गर्‍यो। प्रहरीको यस्तो कदमको चर्को विरोध भइरहेको छ। प्रहरी प्रवक्ता पोषराज पोखरेल भने यो कदमलाई सचेतनाको रूपमा लिनुपर्ने दाबी गर्छन्। “यस्ता घटनाको लागि सरकार, आयल निगम लगायतका नियामक निकायले ध्यान दिनुपर्ने हो, हामी त फ्रन्टलाइनमा देखिने मात्र हो”, उनले भने।

बचाउन सक्छ सामाजिक सम्मान र आर्थिक भरथेगले 
पछिल्लो समय आर्थिक असफलताका कारण आत्महत्याका घटना बढ्दै गएको नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष एवं मधेशको समाजलाई नजिकबाट नियालिरहेका गणेश लाठ बताउँछन्। “अर्थ भनेको जीवनयापनको मेरुदण्ड हो। आर्थिक असफलतालाई जीवनकै असफलतासँग जोड्ने मनोवृत्ति पनि बढ्दै गएको देख्छु”, उनले भने, “कोभिड महामारीयता धेरैतिर यस्तो देखिएको छ। महामारीकै कारण फैलिएको आर्थिक मन्दी २०२३ सम्मको उत्तरार्धसम्मै रहने हुँदा सरकारले व्यवसायीका लागि राहतको व्यवस्था गर्नुपर्छ।” 

महामारीका असर–प्रभावले सबैखाले व्यवसायीलाई उसैगरी पिरोलेका छन्। त्यसमा सानो पुँजी भएका साना व्यवसायी झन् धेरै मारमा छन्। तर, राहत दिनुपर्ने बेला ब्याजदर बढाउने, करमात्र असुल्ने काम भइरहँदा व्यवसायीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा डिप्रेसनमा पुगिरहेको उनको निचोड छ।

यो अवस्थाले व्यवसायी मात्र होइन, गरिबलाई समेत मृत्युको मुखमा धकेलिरहेको छ। एउटा उदाहरण सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक हुन्। मरिक रूखमा झुन्डिएको अवस्थामा भेटिएका थिए। गत वर्ष सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा उनले आत्महत्याको बाटो रोजेको परिवारको भनाइ छ। 

लाठका अनुसार सरकारले आर्थिक क्षेत्रलाई ध्यानमा राखेर साना–ठूला उद्यमीका लागि राहत प्याकेज नल्याएसम्म यस्ता घटना रोकिन कठिन छ। 

समाजशास्त्री मधुसूदन सुवेदी जटिल बन्दै गएको सामाजिक संरचनाले पनि आत्महत्याका घटना बढाइरहेको ठान्छन्। उनको बुझाइमा समाज पहिलो जस्तो छैन। “सामाजिकीकरण नै घटिरहेको छ, एकल परिवार संरचनाले गर्दा कोही पनि व्यक्तिका लागि दुःख बाँड्ने विश्वासिलो स्थान बन्न सकेको छैन”, सुवेदी भन्छन्, “आजको हरेकजसो मानिस एक्लोपनमा बाँचिरहेको छ। यसले गर्दा आफ्नो दुःख सेयर नगर्ने अवस्था बन्दै गयो। अनि एक्लोपन हुँदै डिप्रेसन र सुसाइडसम्मका घटना निम्तिन थालेको देखिन्छ। यसले राज्य प्रणालीमाथि नै प्रश्न उठाएको छ, तर त्यसलाई सम्बोधन गर्ने तयारी देखिँदैन।”


सम्बन्धित सामग्री