Tuesday, April 23, 2024

-->

निर्वाचन सुधारका लागि ऐन संशोधन प्रस्ताव ल्याउँदै आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणाली सुधार्न निर्वाचनसम्बन्धी ऐन संशोधन गर्ने तयारी रहेको बताएका छन्।

निर्वाचन सुधारका लागि ऐन संशोधन प्रस्ताव ल्याउँदै आयोग

काठमाडौँ -  निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ऐन संशोधन प्रस्ताव संघीय संसद्मा पेश गर्ने तयारी गरेको छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधन गर्नुपर्ने भएकाले एकीकृत निर्वाचन कानून लिएर संसद्मा जाने तयारी गरिएको बताएका छन्।  

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा सुधार गर्न निर्वाचन ऐन संशोधन मुख्य कुरा भएको औँल्याउँदै संशोधन आवश्यक रहेको बताए।

२०७४ को निर्वाचनपछि आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ वटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ वटा चाहिँ ऐन नै संशोधन गर्नुपर्ने सुझाव दिएको स्मरण गर्दै थपलियाले निर्वाचनसम्बन्धी ऐन संशोधन आयोगको मुख्य कार्यभार रहेको स्पष्ट पारे। 

उनले त्यसका लागि सम्बन्धित निकायसँग थप छलफल गरी ऐन संशोधनको एकीकृत मस्यौदा तयार पार्ने योजनामा आयोग रहेको बताए। 

उनले भने, “निर्वाचन आयोगले मात्रै एउटा अध्ययन गर्दा  १४७ वटा क्षेत्रमा सुधार गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको रहेछ। तीमध्ये ८२ बुँदाचाहिँ ऐनमै संशोधन गरेर सुधार गर्नुपर्छ भनेर लेखिएको रहेछ। मेजर कुरा त ऐन हो।”

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनमा सुधार हुँदै आएको दाबी गर्दै विभिन्न संस्थाले गरेको अनुगमन र पर्यवेक्षण प्रतिवेदनले औँल्याएको आधारमा सुधारका अन्य कार्य योजना पनि तय हुँदै जाने बताए।


सम्बन्धित सामग्री