Friday, March 29, 2024

-->

रुसद्वारा इस्टोनियाका राजदूतलाई देश छोड्न आदेश

रुसी कदमको जवाफ दिँदै इस्टोनियाले पनि आफ्नो देशमा रहेका रुसी राजदूतलाई फेब्रुअरी ७ भित्र देश छाड्न भनेको छ।

रुसद्वारा इस्टोनियाका राजदूतलाई देश छोड्न आदेश

रुसले युरोपेली मुलुक इस्टोनियाका राजदूतलाई आफ्नो देश छाड्ने आदेश दिएको छ। इस्टोनियाले रुसविरोधी गतिविधि गरेको भन्दै रुसका लागि इस्टोनियाका राजदूत मार्गस लेड्ड्रेलाई फेब्रुअरी ७ भित्र मुलुक छाड्न अल्टिमेटम दिएको हो।

रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै इस्टोनियाले जानाजान मस्कोसँगको सम्बन्ध खराब बनाएको आरोप लगाएको छ।

रुसी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पछिल्ला वर्षमा इस्टोनियन नेतृत्वले उद्देश्यपूर्वक सबै प्रकारका सम्बन्ध खराब बनाइरहेको छ। रुसविरोधी गतिविधि गर्नुका साथै हाम्रो मुलुकविरुद्ध शत्रुता बढाइरहेको छ। र, अहिले उसले नयाँ अप्रिय कदम चालेको छ। जसले दुई मुलुकबीचको सम्बन्ध धराशायी पारेको निश्चित छ।”

युक्रेनमा रुसी आक्रमण भएपछि रुसले कुनै कूटनीति उच्च अधिकारीलाई मुलुक छाड्न आदेश दिएको यो पहिलो पटक हो।

यता, रुसी कदमको जवाफ दिँदै इस्टोनियाले पनि आफ्नो देशमा रहेका रुसी राजदूतलाई सोही मितिमा देश छाड्न भनेको छ।

इस्टोनियाले राजधानी तालिनस्थित रुसी दूतावासको क्षेत्रफल घटाउन आग्रह गरेपछि रुसले प्रतिक्रिया स्वरूप राजदूतलाई मुलुक छोड्न भनेको हो। जनवरीमा इस्टोनियाले आफ्ना दूतावासका कर्मचारीले दुई मुलुकबीचको सम्बन्ध अघि बढाउन नचाहेको भन्दै एक विज्ञप्ति जारी गरेको थियो।

गत साता उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का ११ मुलुकका अधिकारी इस्टोनियाको सैन्य शिविरमा भेला भएपछि तनाव सतहमा आएको हो। युद्धका क्रममा युक्रेनले गुमाएका भूमि फिर्ता ल्याउने र रुसलाई युक्रेनबाट भगाउने विषयमा वार्ताका लागि नेटो सदस्य राष्ट्रहरू जम्मा भएको बीबीसीले उल्लेख गरेको छ।


सम्बन्धित सामग्री