काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात २ खर्ब रुपैयाँ भन्दा बढीले घटेको छ।
भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म नेपालमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ खर्ब ६ अर्ब ६७ करोड रुपैयाँले कम हो। आर्थिक वर्ष २०७८/७९ सो अवधिमा करिब ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको थियो।
चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा आयात मात्रै नभई निर्यात पनि ३२.१ प्रतिशतले घटेको विभागले जारी गरेको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु वर्षमा निर्यात ८० अर्ब ८० करोड ७४ लाखमा सीमित छ।
आयातमा केही सुधार देखिँदा मुलुकको व्यापार घाटा पनि १९.१५ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनाको समग्र व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको विभागले जनाएको छ।
गत वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको थियो। नेपालको सबैभन्दा बढी व्यापारघाटा रहेको मुलुक भारतसँग चालु आर्थिक वर्षमा ४ खर्ब २८ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ व्यापार घाटा देखिएको छ।
नेपालबाट भने ६ महिनाको अवधिमा ५७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ वस्तु भारत निकासी भएको भन्सार विभागको तथ्यांक छ।
दोस्रो बढी व्यापारघाटा हुने मुलुकमा चीन रहेको छ। चीनबाट १ खर्ब ९ अर्ब ९७ लाख रुपैयाँको आयात हुँदा नेपालबाट भने ३४ करोड रुपैयाँको वस्तु निर्यात भएको देखिएको छ।
नेपालले १ सय ४० भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गर्दै आएकोमा १ सय १० भन्दा बढी मुलुकसँग व्यापार घाटा भएको देखिएको छ।
मुलुकको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७५ प्रतिशत र निर्यातको ९.२५ प्रतिशत मात्र कायम छ।