Friday, April 19, 2024

-->

आईसीसी पुरुष र महिला टी–२० 'टिम अफ द इयर' घोषणा

आईसीसीले सन् २०२२ का लागि आईसीसी पुरुष र महिला टी–२० 'टिम अफ द इयर' घोषणा गरेको छ। टोलीमा भारतीय खेलाडीको वर्चस्व छ।

आईसीसी पुरुष र महिला टी–२० टिम अफ द इयर घोषणा

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२२ का लागि आईसीसी पुरुष र महिला टी–२० 'टिम अफ द इयर' घोषणा गरेको छ। सोमबार घोषणा गरिएको टोलीमा भारतीय खेलाडीको वर्चस्व छ।

पुरुषतर्फ भारतका ३ खेलाडीले स्थान बनाएका छन्। विश्व च्याम्पियन इंग्ल्यान्ड र पाकिस्तानका २/२ खेलाडी टोलीमा छन्। जिम्बाब्वे र आयरल्यान्डका १/१ खेलाडी अटाएका छन्। अस्ट्रेलियाली क्रिकेटरले भने स्थान बनाउन सकेनन्।

आईसीसीले विश्व च्याम्पियन इंग्ल्यान्डका जोस बटलरलाई टोलीको कप्तान बनाएको छ। उनीसँगै साम कुरान टोलीमा समेटिएका छन्। भारतका विराट कोहली, विस्फोटक ब्याट्सम्यान सूर्यकुमार यादव र अलराउन्डर हार्दिक पाण्ड्या टोलीमा छन्। 

पाकिस्तानका ओपनर मोहम्मद रिजवान र हरिस रउफ छनोट भएका छन्। पाकिस्तानका कप्तान तथा ओपनर बाबर आजमले भने स्थान बनाउन सकेनन्। टोलीमा जिम्बाब्वेका सिकन्दर राजा र आयरल्यान्डका जोसुवा लिटिल पनि परेका छन्।

आईसीसीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीको प्रदर्शनका आधारमा सन् २०२२ मा ११ सदस्यीय टोली छनोट गरेको हो।

काउन्सिलले पुरुषसँगै आईसीसी महिला टी–२० टिम अफ द इयरको पनि घोषणा गरेको छ। यो टोलीमा ४ भारतीय महिला खेलाडी छन्। जसमा स्मृति मन्धाना, दीप्ती शर्मा, ऋचा घोष र रेणुका सिंह ठाकुर रहेका छन्। यस टिमको कप्तान न्युजिल्यान्डकी सोफी डेभिन बनेकी छन्।

पुरुष टिम अफ द इयर
जोस बटलर (कप्तान, विकेटकिपर) (इंग्ल्यान्ड), मोहम्मद रिजवान (पाकिस्तान), विराट कोहली (भारत), सूर्यकुमार यादव (भारत), ग्लेन फिलिप्स (न्युजिल्यान्ड), सिकन्दर राजा (जिम्बाब्वे), हार्दिक पाण्ड्या (भारत), साम कुरान (इंग्ल्यान्ड), वानिन्दु हसरंगा (श्रीलंका), हरिस रउफ (पाकिस्तान), जोश लिटल (आयरल्यान्ड)

महिला टिम अफ द इयर
स्मृति मन्धना (भारत), बेथ मुनी (अस्ट्रेलिया), सोफी डेभिन (न्युजिरल्यान्ड), एश्ले गार्डनर (अस्ट्रेलिया), निदा धर (पाकिस्तान), दीप्ती शर्मा (भारत), ऋचा घोष (भारत), सोफी एक्लेस्टोन (इंग्ल्यान्ड), इनोका रणवीरा (श्रीलंका), रेणुका सिंह ठाकुर (भारत)


सम्बन्धित सामग्री