Friday, March 29, 2024

-->

अमेरिकी राष्ट्रपतिको निजी निवासमा डीओजेको खानतलासी, ६ वटा गोप्य दस्ताबेज बरामद

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीले राष्ट्रपति बाइडेनको घरमा १३ घण्टा खानतलासी गर्दा थप ६ वटा वर्गीकृत दस्ताबेज बरामद गरेका छन्।

अमेरिकी राष्ट्रपतिको निजी निवासमा डीओजेको खानतलासी ६ वटा गोप्य दस्ताबेज बरामद

अमेरिकी राष्ट्रपति जो बाइडेनको डेलावेयर राज्यको विलमिङटोनस्थित निजी निवासबाट थप ६ वटा गोप्य कागजात भेटिएका छन्। अमेरिकी डिपार्टमेन्ट अफ जस्टिस (डीओजे)का अधिकारीले बाइडेनको घरमा करिब १३ घण्टासम्म खानतलासी गर्दा थप ६ वटा वर्गीकृत फाइल फेला पारेको बाइडेनका वकिलले बताएका छन्। यसअघि नोभेम्बरमा १० वटा गोप्य कागजात भेटिएको थियो।

भेटिएकामध्ये केही कागजात बाइडेन सांसद हुँदाताका हुन् भने केही बराक ओबामाका पालामा बाइडेन ८ वर्षसम्म उपराष्ट्रपति पदमा रहँदाका हुन्। बाइडेनको लिभिङ रुमदेखि ग्यारेज सबैतिर खानतलासी भएको थियो। बाइडेनका वकिल बब बोअरका अनुसार बाइडेनका केही हस्तलिखित कागजातसहितका सामग्री बरामद भेटिएको हो।

बाइडेनको निवासमा शुक्रबार बिहान ९:४५ देखि राति साढे १० बजेसम्म खानतलासी भएको थियो। खानतलासीको समय ह्वाइट हाउसका एक अधिकारी र दुवै पक्षका कानून व्यवसायीको टोली उपस्थित रहे तापनि बाइडेन र उनकी श्रीमती जील त्यहाँ नरहेको बीबीसीले उल्लेख गरेको छ। 

वर्गीकृत दस्ताबेजलाई दुरुपयोग गरेको आरोपमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आपराधिक अनुसन्धान भइरहेको छ। यसअघि ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो घरमा सयौँ वर्गीकृत अति गोप्य र गोप्य कागजातको गलत प्रयोग भइरहेको जानकारीपछि एफबीआईले छापा मार्दै ती कागजात बरामद गरेको थियो। त्यसक्रममा ट्रम्पले एफबीआई राष्ट्रपति बाइडेनको पक्षमा लचिलो बनेको आरोप लगाएका थिए। त्यसपछि डीओजेले बाइडेनको घरमा समेत छापा मारेको थियो। यसअघि ट्रम्पले कागजातको गलत व्यवस्थापन गरेको विषयमा बोल्दै बाइडेनले ‘पूर्णतया: गैर जिम्मेवार’ भनेका थिए।

बाइडेनका वकिल बोअरले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका थिए, “सम्भावित उपराष्ट्रपतीय दस्ताबेज र सम्भावित वर्गीकृत कागजात खोजीका लागि राष्ट्रपति बाइडेनले आफ्नो घरको सबै क्षेत्रमा डीओजेलाई खोजतलासका लागि अनुमति दिनुभएको छ।”

बाइडेनले डीओजेको सोधपुछ र अनुसन्धानमा भरपुर साथ दिने बताएका छन्। साथै, यसमा आफूलाई कुनै पश्चात्ताप नरहेको बाइडेनले उल्लेख गरेका छन्।

पहिलो पटकको खोजतलासका क्रममा नोभेम्बर २ मा 'पेन बाइडेन सेन्टर'मा केही कागजात भेटिएको बाइडेनका वकिलले बताएका थिए। पेन बाइडेन सेन्टर वासिंटनस्थित बाइडेनले स्थापित गरेको एक थिंक ट्यांक हो।

यस्तै, दोस्रो चरणमा डिसेम्बर २० मा बाइडेनको विल्मिङटनस्थित बाइडेनको घरको ग्यारेजमा गोप्य कागजात भेटिएका थिए। यस्तै, अन्य कागजात जनवरी १२ मा उनको घरको भण्डार कोठामा भेटिएको उनका वकिलले बताए।

कागजात भेटिए लगत्तै राष्ट्रपति बाइडेनले ती सबै राष्ट्रिय अभिलेख र न्याय विभागलाई बुझाउन निर्देशन दिएका थिए। ती कागजात संवेदनशील नरहेको बाइडेनको दाबी थियो। तर, बाइडेनले ती कागजात किन आफूसँग राखेका थिए भन्ने कुरा नखुलेको बीबीसीले जनाएको छ।

भेटिएका गोप्य दस्ताबेज के–के छन् भन्ने सम्पूर्ण विवरण खुलाइएको छैन तर सीएनएन र न्युयोर्क टाइम्सका अनुसार बाइडेन उपराष्ट्रपति हुँदा युक्रेन, इरान, बेलायतसँग जोडिएका केही गोप्य जानकारी फेला परेका छन्।

अमेरिकाको राष्ट्रपति अभिलेख अधिनियमअन्तर्गत प्रशासन अन्त्य भएपश्चात् ह्वाइट हाउसका अभिलेख राष्ट्रिय अभिलेखका रूपमा जान्छन् र त्यहाँ सुरक्षितसाथ राखिन्छ। अमेरिकामा कार्यकाल सकिएपछि पनि यससँग सम्बन्धित गोप्य कागजात आफूसँग राख्नु गैरकानूनी मानिन्छ।

रोबर्ट हरको नेतृत्वमा रहेको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। संवेदनशील कागजातलाई कसरी सुरक्षित रूपमा राख्ने भन्ने विषयमा अनुसन्धानका लागि उनी नियुक्त भएका हुन्।
सन् २०२४ मा दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणाको तयारी गरिरहेका बेला कागजात खानतलासीको लामो प्रक्रिया र बारम्बार भेटिने दस्ताबेज राष्ट्रपतिका लागि राजनीतिक टाउको दुखाइको विषय बनेको छ।

मध्यावधि निर्वाचनको केही दिनअघि र जनवरी महिनामा गरी दुई महिनाको अन्तरालमा भएका यी अनुसन्धान र खानतलासीको विषयले राष्ट्रपतिको पारदर्शितामाथि प्रश्न उब्जाएको बीबीसीले उल्लेख गरेको छ।


सम्बन्धित सामग्री