Saturday, April 20, 2024

-->

सीमावर्ती क्षेत्रमा नेपाली मुद्राको कालोबजारी, अनौपचारिक बजारमा किन सस्तियो भारु?

नेपाल–भारत सीमावर्ती क्षेत्रमा पहिलोपटक नेपाली मुद्राको कालोबजारी भएपछि विभिन्न आशंका उत्पन्न भएका छन्। अनौपचारिक बजारमा किन नेपाली मुद्राको तुलनामा भारतीय रुपैयाँ सस्तियो?‍

सीमावर्ती क्षेत्रमा नेपाली मुद्राको कालोबजारी अनौपचारिक बजारमा किन सस्तियो भारु

रक्सौल (भारत)– अप्रत्याशित रूपमा नेपाल–भारत सीमावर्ती क्षेत्रमा सधैँजसो कालोबजारी हुने भारतीय मुद्राको सट्टा नेपाली मुद्राको व्यापक रूपमा कालोबजारी भएपछि अवैध धन्दाका कारण त्यस्तो हुनसक्ने अड्कल व्यवसायीहरूले गरेका छन्।

अहिले १ सय भारतीय मुद्राका लागि १ सय ५८ नेपाली रुपैयाँ रक्सौल बजारमा चलनचल्तीमा आएको छ। त्यहाँका व्यवसायीहरूका अनुसार केही वर्षदेखि १ सय भारतीय मुद्राका लागि एक सय ६४ देखि ६६ सम्ममा नेपाली मुद्रामा किनबेच हुँदै आएको थियो।

“सर्वसाधारणले भारतमा छोराछोरी पढाउँदा वा स्वास्थ्य उपचार तीर्थाटनजस्ता प्रयोजनमा भारतीय रुपैयाँको माग उच्च रही आएको हुँदा सीमा क्षेत्रमा भारतीय रुपैयाँको कालोबजारी हुँदै आएको हो” स्थानीय व्यवसायी रितुराजले भने “अवैध पैठारी हुने, वस्तुको आयातमा न्यून बिजकीकरण हुँदा वास्तविक मूल्यमा भुक्तानी गर्न पनि भारतीय मुद्राको कालोबजारी हुन्छ”

अहिले अचानक आएर उल्टै नेपाली रुपैयाँको कालोबजारी हुन थालेको भन्ने थाहा पाए पनि यस पछाडिको कारण ठम्याउन नसकेको उनी बताउँछन्। 

नेपाली १६० रुपैयाँको १ सय रुपैयाँ भारु दुई देशबीच औपचारिक मुद्रा विनियम दर हो।

वीरगन्जको रेल्वे रोडमा मासु–भुजाको पसल सञ्चालन गर्ने रोशन (नाम परिवर्तन)ले भारतीय यात्रुले वीरगन्जको बसपार्कमा खर्च गर्ने भारतीय मुद्रा संकलन गरी रक्सौल लगेर बेच्ने काम पनि गर्दै आएका थिए। उनकै शब्दमा यस ‘साइड बिजनेस’को कमाइबाट उनले डेढ वर्षअघि वीरगन्जको नगवामा किनेको ५८ लाखको घरको मूल्य यतिखेर ७० लाख पुगेको आकलन गरेको छन्। उनको ‘सेटल्ड’ धन्दा पछिल्लो एक डेढ महिनादेखि चौपट भएको छ। 

औपचारिक विनिमय दरभन्दा फरक रकमलाई ‘बाटा’ भन्ने गरिन्छ। “चलिरहेको दरभाउ अनुसार मैले ३ देखि ४ रुपैयाँ बाटा दिएर वीरगन्जमा भारु किन्ने गरेको थिएँ। त्यसमा एक वा डेढ रुपैयाँ थपेर रक्सौल रेल्वे ढालापारीका एक कारोबारीलाई बेच्ने गरेको थिएँ,” रोशनले भने, “कारोबारमा बाटा त उसैपनि तीनचार महिनादेखि घटिसकेको थियो, करिब एक महिना अगाडिको कुरा हो मलाई रक्सौलका साहुले “केही दिन अब पैसा नलिने र फोन गरेपछि मात्र लिएर आउनु” भनेका थिए, त्यसयता मैले कारोबार गर्न पाएका छैनन्।”

भारतीय बजार रक्सौलका व्यापारी महेश अग्रवालले अहिले रक्सौल बजारमा १ सय भारतीय मुद्राको लागि एक सय ५८ नेपाली रुपैयाँमा कारोबार भइरहेको बताए। यो भनेको औपचारिक विनिमय दरभन्दा २ रुपैयाँ कम हो। ३ महिना अगाडिसम्म १ सय भारतीय मुद्राको लागि एक सय ६६ नेपाली रुपैयाँ तिर्नुपर्ने अवस्था थियो। यसरी अनौपचारिक रूपमा किनबेच हुने ३ महिना अगाडिको दर भन्दा अहिले नेपाली मुद्रा ८ रुपैयाँ महँगो भएको छ। यसमध्ये ६ रुपैयाँ कालोबजारीमा प्रतिस्थापित भएको हो भने प्रति एक सयमा २ रुपैयाँले नेपाली रुपैयाँको उल्टै कालोबजारी सुरु भएको देखिन्छ। 

सुन वा लागूपदार्थ कारोबार !
सीमावर्ती नेपाली क्षेत्रमा भारतीय मुद्राको प्रवाह अत्यधिक भएपछि फलस्वरूप यो परिवर्तन देखिएको उद्योग वाणिज्य महासंघका मधेश प्रदेश अध्यक्ष गणेशप्रसाद लाठ बताउँछन्। “सानोतिनो उतार चढावले यस्तो ठूलो परिवर्तन देखिँदैन, ‘बल्क’मै भारतीय मुद्रा नेपाल आउन थालेपछि यस्तो नतिजा देखिने हो”, लाठले भने, “कुन माध्यमबाट भारतीय मुद्रा बढी आएको हो, यसमा नेपालको सरकारी संयन्त्रले नै खोजबिन गर्नुपर्छ र सचेत पनि हुनुपर्छ। किनकि यस्तो उलटफेर अवैध कारोबारको माध्यमले नै सम्भव छ, अन्यथा नेपालले रातारात कुनै फड्को मारेर भारतीय मुद्रा भित्र्याउन सकेको भने होइन।” 

उनका अनुसार नेपाल भएर भारततर्फ हुने सुनको तस्करी र मालवस्तु आयात गरेर त्यसलाई तस्करीले भारतीय बजारमा पुर्‍याउनु यी दुई नेपालमा भारतीय मुद्रा आउने मुख्य अनौपचारिक माध्यम हुन। त्यस्तै लागूऔषध निकासी हुँदा भारतीय मुद्रा आउने सम्भावना हुने उनले बताए। यसैमध्येका धन्दा यतिखेर बढेको हुनसक्ने भएर अहिले भारतीय मुद्रा फालाफाल भएको लाठको ठहर छ। वास्तविकता राज्यका अनुसन्धान गर्ने निकायले पत्ता लगाउन सक्नुपर्ने उनले बताए। अनौपचारिक कारोबारले जहिले पनि वैध बजारलाई हानी पुर्‍याउने गरेकोले यस अवस्थालाई उनले खतरनाक भने। 

“भारतीय मुद्राको औपचारिक स्रोत पर्यटन पनि हो। एक सय भारतीय रुपैयाँमा पाँचदेखि ६ रुपैयाँको कालोबजारीलाई विस्थापित गरेर उल्टै २ रुपैयाँ महँगो पर्ने गरी पर्यटन मात्रले योगदान दिन सक्दैन”लाठले भनेजस्तै पर्यटन व्यवसायीको पनि प्रतिक्रिया छ। “पर्यटकको आगमन सुधार भएको छ, होटेलको अकुपेन्सी बढेको छ,” होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले भने, “उनीहरू भारतीय पैसा खर्च गर्छन्, तर त्यसको परिमाण बजारमा रही आएको भारतीय मुद्राको मागको तुलनामा केही पनि होइन।”

भारत, रक्सौलका व्यापारी महेश अग्रवालले प्रतिबन्धित लागूऔषधको कारोबार बढेर अदृश्य रूपमा भारतीय मुद्रा नेपाली बजारमा ह्वातै आएको आकलन गरे। “अरू कुनै पनि मालवस्तुको कारोबार सीमा आरपार हुँदा हामी व्यवसायीहरूलाई तुरुन्तै थाहा हुन्छ, त्यस्तो कुनै वस्तुको नेपालतर्फबाट भारततिर निकासी भारी मात्रामा भइरहेको अहिले सूचना छैन,” सीमा जागरण मञ्च बिहार प्रदेशका अध्यक्ष समेत रहेका अग्रवालले भने, “अब लागूऔषध र सुन मात्र रहन जान्छ, जुन हाम्रो दृष्टिमा आउँदैन।” व्यापारीहरूका अनुसार सुनको अवैध कारोबार बढेर नेपाली बजारमा भारी परिमाणमा भारतीय मुद्रा बढेको हुनसक्छ। 

हुन्डीमा पनि नेपाली रुपैयाँ भारी
अवैध पैठारीका लागि भुक्तानी गर्दा गैर बैंकिङ्ग प्रणालीबाट भुक्तानी हुन्छ। मालवस्तुको आयातमा न्यून बिजकीकरण गरिदा वास्तविक मूल्यमा फरक आउने रकम भुक्तानी गर्न पनि बैंकिङ्ग प्रणाली अपनाइन्छ। 

अन्य विभिन्न धन्दा र प्रयोजनमा बैंकभन्दा बाहिर अर्को अनौपचारिक माध्यमले एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउँदा यसलाई ‘हुन्डी’ भन्ने गरिएको छ। 

प्रहरीले स्रोत नखुलेको पैसा समात्दा ‘हुन्डी’ भनेर वित्तीय कसुर सम्बन्धी मुद्दा चलाउने गरेको छ। 

यस्तो ‘हुन्डी’ कारोबारमा पनि कहिल्यै नभोगेको नेपाली रुपैयाँको मूल्य विगतभन्दा भारतीयको तुलनामा बढेको छ। स्रोतका अनुसार ‘हुन्डी’को कारोबारमा २ देखि ५ रुपैयाँ नेपाली मुद्रा महँगो भएको छ।

सीमावर्ती क्षेत्रमा १ लाख ५८ हजार नेपाली रुपैयाँबापत अहिले १ लाख भारतीय रुपैयाँको कारोबार भइरहेको छ। 

वीरगन्जका एक व्यापारीले बताए अनुसार दिल्ली, मुम्बई, कोलकता, चण्डीगढ, सुरत, अहमदावाद, जयपुरजस्ता भारतका ठूला सहरमा भारतीय १ लाख रुपैयाँ भुक्तानीबापत यता नेपालमा १ लाख ५५ हजार दिए पुग्ने रहेछ। अर्थात् एक लाखमा पाँच हजार फाइदा। 

यसरी भारतीय रुपैयाँको खपत गर्नका लागि नेपाली रुपैयाँको माग बढ्नु भनेको नेपालमा भारतीय मुद्रा भारी मात्रामा प्रवाह हुनु हो भनी जानकार बताउँछन्। 

यसले गर्दा भारतमा घर जग्गामा लगानी गर्न चाहेका नेपालीका लागि अहिले स्वर्णिम अवसर भएको अर्का एक जना व्यवसायीले बताए। यसबाट नेपाली पुँजी पलायनको खतरा आइपरेको विश्लेषण गरिएको छ।


सम्बन्धित सामग्री