Tuesday, April 23, 2024

-->

राष्ट्रपतिको ‘चाहना’मा बलराम अधिकारीको नाम काटिएपछि परराष्ट्रमन्त्रीमा विमलाको ‘इन्ट्री’

मन्त्रीको शपथ लिने तयारीमा जुटिसकेका कपिलवस्तु–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बलराम अधिकारी एकाएक त्यो दौडबाट बाहिरिए, कसरी?

राष्ट्रपतिको ‘चाहना’मा बलराम अधिकारीको नाम काटिएपछि परराष्ट्रमन्त्रीमा विमलाको ‘इन्ट्री’

काठमाडौँ– सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले सोमबार साँझ नै बलराम अधिकारीलाई मन्त्री बनाउने टुंगो लगाएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार विस्तार हुन लागेको मन्त्रिपरिषद्मा अधिकारीलाई शपथको तयारी गर्न भनिसकेका थिए। कपिलवस्तु–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अधिकारी त्यसको तयारीमै थिए।

मंगलबार बिहान ९ बजेसम्म अधिकारी मन्त्री बन्ने तयारीमै थिए। तर, एकाएक घटनाक्रम फेरिए। अधिकारीको नाम मन्त्री बन्ने सूचीबाट गायब भयो। र, सूचीमा थपियो– विमला राई पौड्यालको नाम। यस्तो कसरी भयो?

“पार्टी अध्यक्षले बनाएको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तक्षेप गर्नुभयो”, एमालेका एक स्थायी कमिटी सदस्यले भने, “त्यसपछि बलरामजीको ठाउँमा एकाएक विमलाजी आइपुग्नुभयो।”

हुन पनि मंगलबार बिहान १० बजेतिर एमालेले पौड्याललाई परराष्ट्रमन्त्री बनाउन लागिएको खबर बाहिर ल्यायो। र, मन्त्री बन्ने निश्चित भइसकेका अधिकारी दौडबाटै बाहिरिए। 

“एमालेबाट सरकारमा थपिने मन्त्रीको सूची तयार भएपछि राष्ट्रपतिले त्यसबारे थाहा पाउनुभएछ”, एमाले स्थायी कमिटीका ती सदस्यले भने, “आफूनिकट पौड्याललाई मन्त्री बनाउन उहाँले अधिकारीको नाम हटाउनु लगाउनुभयो।”

एमाले अध्यक्ष ओलीले मन्त्री बनाउने निर्णय सुनाएपछि कपिलवस्तुमै रहेका अधिकारी दुई दिनअघि काठमाडौँ आएका थिए। मंगलबार बिहान ९ बजेसम्म पनि उनलाई नै शपथको तयारी गर्नू भन्ने खबर बालकोटबाट आएको थियो। त्यसपछि उनले आफूनिकटहरूलाई मन्त्री बन्न लागेको खबर सुनाएका थिए। 

अधिकारीले पनि अचानक आफ्नो नाम काटिएको उकालोलाई बताए। “मलाई मन्त्री बनाउने निर्णय भएको जानकारी पार्टी अध्यक्षले नै दिनुभएको हो। आज बिहान ९ बजेसम्म पनि मेरो नाम सरकारमा सहभागी हुनेहरूको सूचीमा थियो। म ढुक्क भएर बसेको थिएँ”, अधिकारीले भने, “तर, अचानक नाम काटियो।”

नाम चाहिँ कसले काट्यो? राष्ट्रपति भण्डारीले नै आफ्नो नाम काटेको संकेत गर्दै उनले भने, “पार्टीले मलाई मन्त्री बनाउने निर्णय गरिसकेको थियो, अब त्योभन्दा ठूलो शक्ति जसको छ उसैले त काट्यो होला।”

उनले पार्टीमा दुःख गरेर मात्र केही नहुने, पार्टीभित्रका ‘शक्तिकेन्द्र’सँग नजिक हुन नसकेको उल्लेख गर्दे भने, “मन्त्री बन्ने सूचीमा नाम परेर पनि अचानक काटिँदो रहेछ, के भन्नु।”

आफ्नो नाम काटेर पौड्याललाई परराष्ट्रमन्त्री बनाउने निर्णय सार्वजनिक भएपछि पार्टीका सबै पदाधिकारी सम्पर्कमा आउन नचाहेको उनले बताए। 

पौड्याल राष्ट्रपति भण्डारीले रुचाउने पंक्तिमा पर्छिन्। अहिले उनी राष्ट्रियसभा सदस्य छिन्। राष्ट्रियसभा सदस्यको उनको कार्यकाल एक वर्ष बाँकी छ। पौड्याल २०७४ सालमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाटै राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी थिइन्। त्यसअघि उनलाई एमालेले नै राष्ट्रिय योजना आयोगको सदस्य बनाएको थियो।

एमालेका एक पदाधिकारीले भने, “राष्ट्रपतिले पहिले पनि सबैलाई पन्छाएर विमलाजीलाई राष्ट्रियसभा सदस्य बनाउनुभएको हो, अहिले मन्त्री बनाउन जोडबल गर्नु के नौलो भयो र!”


सम्बन्धित सामग्री