Saturday, April 20, 2024

-->

राष्ट्रिय फुटबल टोलीका थप तीन खेलाडी अस्ट्रेलिया उडे

मिडफिल्डर तेज तामाङ, दिनेश राजवंशी र डिफेन्डर गौतम श्रेष्ठ सोमबार राति अस्ट्रेलिया उडेका छन्। ‍

राष्ट्रिय फुटबल टोलीका थप तीन खेलाडी अस्ट्रेलिया उडे

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका थप तीन खेलाडी अस्ट्रेलिया उडेका छन्। 

मिडफिल्डर तेज तामाङ तथा दिनेश राजवंशी र डिफेन्डर गौतम श्रेष्ठ सोमबार राति अस्ट्रेलिया गएका हुन्।

उनीहरू तीन जना नै नेपाली राष्ट्रिय टोलीको प्लेइङ ११ मा पर्दै आएका थिए। 

नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि तेज र दिनेश चर्च ब्वाइजमा आबद्ध भएका थिए।

चर्च ब्वाइज यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको क्लब हो। यता, डिफेन्डर गौतम भने संकटा क्लबमा अनुबन्ध भएका थिए। 

गत साउनमा मात्रै आधा दर्जनभन्दा बढी नेपाली खेलाडी अस्ट्रेलिया पुगेका थिए।

राष्ट्रिय टोलीबाट खेल्दै आएका सुमन लामा, आशिष लामा, विमल राना, दर्शन गुरुङ र नवीन गुरुङ अस्ट्रेलियामा छन्।  

गोलरक्षक एलन न्यौपाने, गोलरक्षक अजित प्रजापति र नेपालको उमेर समूहमा खेलिसकेका रोहित कार्की पनि अस्ट्रेलियामा छन्। 

डिफेन्डर विमल बस्नेत र मिडफिल्डर हेमन गुरुङ पनि अस्ट्रेलियामा छन्। संकटा क्लबका डिफेन्डर नीरज बस्नेत भने न्युजिल्यान्ड छन्।

 


सम्बन्धित सामग्री