Saturday, April 20, 2024

-->

चीनको जनसंख्या ६० वर्ष यताकै कम, किन घट्दैछ जन्मदर?

सरकारले चिनियाँ दम्पतीलाई बच्चा जन्माउन प्रोत्साहन गर्न कर कटौती, गर्भवतीको स्वास्थ्य तथा स्याहारमा सुविधासहित विभिन्न छुट र सुविधाको व्यवस्था गरे पनि योजना प्रभावकारी देखिएको छैन।

चीनको जनसंख्या ६० वर्ष यताकै कम किन घट्दैछ जन्मदर

चीनको जनसंख्या ६० वर्षयताकै कम देखिएको छ। जन्मदरमा उल्लेख्य गिरावट आएसँगै जनसंख्या कम हुँदै गएको तथ्यांक चिनियाँ राष्ट्रिय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको हो।

सन् २०२२ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड थियो। यो संख्या सन् २०२१ को तुलनामा ८ लाख ५० हजारले कम हो।

सन् २०२१ मा १ करोड ४१ लाखको जन्म भएको मा सन् २०२२ मा केबल ९० लाख ५६ हजारको जन्म भएको राष्ट्रिय तथ्यांक विभागको तथ्यांक छ। विभागले हङकङ, मकाउ र चीनमा बसोबास गर्ने विदेशी नागरिकहरू बाहेक केन्द्र सरकारको सबै तथ्यांक यसमा समावेश गरेको जनाएको छ।

यस्तै, गत वर्ष चीनमा जन्मदरभन्दा मृत्युदर ऐतिहासिक रूपमा बढी देखिएको थियो। यति धेरै मृत्युदर भएको यो पहिलोपटक हो। जनसंख्या नियन्त्रण गर्ने नीतिका कारण पनि चीनमा केही वर्षयता जनसंख्या घट्दो छ। चीनले दशकमा एकपटक गरिने जनगणना सन् २०२१ मा सार्वजनिक गरेको थियो। जसमा त्यहाँको जनसंख्या दशकौँयताकै कम दरमा बढेको पाइएको थियो।

यसअघि चिनियाँ सरकारी तथ्यांकले त्यहाँ जनसंख्या संकट देखाएको थियो। जसले कालान्तरमा चीनको ज्यालामजदुरी वर्ग घट्ने र स्वास्थ्य सेवासहित अन्य सामाजिक सुरक्षा खर्चलाई बढाउने आकलन गरिएको थियो। चीनमा विवादास्पद एक–सन्तान नीतिका कारण जनसंख्या वृद्धिमा प्रभाव परेको हो। तीव्र जनसंख्या वृद्धिदर कम गर्न भन्दै सरकारले सन् १९७९ मा ‘एक दम्पती एक सन्तान’ नीति शुरू गरेको थियो।

नीतिको उल्लंघन गर्नेलाई सरकारले जरिवाना तिराउने गरेको थियो भने कतिपयले त आफ्नो जागिर नै गुमाउनुपरेको थियो। ऐतिहासिक रूपमै छोरीभन्दा छोरालाई प्राथमिकता दिने संस्कार रहेको चीनमा यस नीतिले थप प्रभाव पार्‍यो किनकि एक सन्तान पनि छोरा रोज्ने र छोरी भए गर्भपतन गराउनेको संख्या समेत बढ्यो। त्यसपछि सन् १९८० यता चीनमा छोरीभन्दा छोराको संख्या बढी रहँदै आएको छ।

पछि नीति हटाउँदा पनि अधिकांश विवाहित दम्पतीले सन्तान जन्माउने चाहना नराखेपछि जनसंख्या वृद्धि गराउने विषय चीनमा चुनौती बनेको छ। सन् २०१६ मा यो नीति हटाएर सरकारले एक दम्पतीले दुई सन्तान जन्माउन पाउने नयाँ नीति ल्यायो। पछिल्ला दिनहरूमा बच्चा जन्माउन प्रोत्साहनका लागि चीन सरकारले कर कटौती र गर्भवतीको स्वास्थ्य तथा स्याहारका लागि विभिन्न सुविधासहित विशेष छुटको व्यवस्था गरेको छ।

सरकारले दोस्रो मात्र नभई तेस्रो सन्तान जन्माउनसमेत प्रेरित गर्दै आएको छ। तर यो प्रभावकारी देखिएको छैन। व्यस्त जीवनशैली, कामकाजी आमाका लागि सुविधा नहुने, खर्चिलो शिक्षा प्रणाली र बालबच्चाको स्याहारजस्ता विषयलाई नयाँ नीतिले नसमेटेका कारण अधिकांश दम्पतीले बच्चा जन्माउने चाह नराखेको विज्ञहरूको भनाइ छ। चीनमा विशेष गरी शहरी क्षेत्रमा बालबच्चा हुर्काउन धेरै खर्चिलो हुने र उनीहरूका लागि समय छुट्याउन परिवारलाई कठिन पर्ने भएकाले पनि धेरैले बालबच्चाको चाहना नराखेको बताइन्छ।

सन् २०२२ को अक्टोबरमा राष्ट्रपति सी चिनफिङले चीनमा जन्मदर बढाउने विषयलाई प्राथमिकता दिने बताएका थिए। त्यतिबेला उनले प्रत्येक पाँच वर्षमा बेइजिङमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमार्फत सरकारले मुलुकको जनसंख्या वृद्धिको विषयमा राष्ट्रिय रणनीति बनाउने बताएका थिए।

पछिल्लो समय चीनको कमजोर बनिरहेको अर्थतन्त्रमा घट्दो जनसंख्याले समेत नयाँ चुनौती थपेको छ। विशेष गरी अमेरिका, युरोप र केही एशियाली मुलुकहरूसँग चिनियाँ व्यापार र सम्बन्धमा तिक्तता देखा परिरहेको छ।

चीनको जनसंख्यासम्बन्धी अध्ययन गरिरहेका विज्ञ तथा जनसंख्याविद् यी फुसियान भन्छन्, “चीनको वास्तविक जनसंख्या संकट हाम्रो कल्पनाबाहिर र चीनका पुरानो अर्थतन्त्र, समाज, सुरक्षा र विदेश नीति सबै गलत जनसाङ्ख्यिक विवरणमा आधारित छन्।” यीको अनुसन्धानका अनुसार चीनको जनसंख्या परिकल्पना गरिएभन्दा गम्भीर तवरले घट्न थालेको सन् २०१८ यता हो। “चीन विश्वमै कम प्रजनन दर भएको मुलुक हो। यसको तुलना केबल दक्षिण कोरिया र ताइवानसँग गर्न सुहाउँछ”, यी थप्छन्, “चीन धनी नहुँदै बुढो भएको छ।”

चीनमा जस्तै, एसियाका विकसित मुलुकहरू जापान र दक्षिण कोरियामा पनि वृद्ध मानिसको संख्या र जन्मदरमा उल्लेख्य गिरावट देखिएको बीबीसीले उल्लेख गरेको छ।


सम्बन्धित सामग्री