Wednesday, April 24, 2024

-->

हवाई दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ। चालक दलका सदस्यको भने एयरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ।

हवाई दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा
पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान।

काठमाडौँ– आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न बीमा सर्भेयर र कानून व्यवसायीको टोली नेपाल आइपुगेको छ।

क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्नका लागि सर्भेयर टोली सिंगापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौँ आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए। बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिंगापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ।

दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए। “बीमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुन्छ। पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी भइहाल्छ। मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बीमा रकम भुक्तानी हुन्छ”, उनले भने।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बीमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए। बीमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि चासो राखेको उनको भनाइ छ।

“राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बीमा भुक्तानीबारे चासो राखेको थियो। बीमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौँबाट रिपोर्ट लिन सकिने भनिएको छ। दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ”, प्रवक्ता पौडेलले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ। चालक दलका सदस्यको भने एयरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ।

आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको हवाई जहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ।


सम्बन्धित सामग्री