Wednesday, April 24, 2024

-->

नेपाली आकाशको सुरक्षामा विश्वको चासो, अन्तर्राष्ट्रिय मिडियामा प्रमुख समाचार बन्यो यती एयर दुर्घटना

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालको हवाई सुरक्षा चुनौती, चिनियाँ लगानीको विमानस्थलमा चासो, अन्तर्राष्ट्रिय छविमा नेपाललाई पुग्ने असरबारे विश्लेषण गरेका छन्।

नेपाली आकाशको सुरक्षामा विश्वको चासो अन्तर्राष्ट्रिय मिडियामा प्रमुख समाचार बन्यो यती एयर दुर्घटना
तस्वीर : रासस

काठमाडौँ– पोखरामा दुर्घटना भएको विमान प्राविधिक गडबडी भए/नभएको र दुर्घटना हुनुको वास्तविक कारण नखुलेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा विभिन्न अड्कलबाजी र टिप्पणी भइरहेका छन्।

विमान दुर्घटनाबारे समाचार लेख्दै बीबीसीले नेपालका ग्रामीण क्षेत्रका रनवेमा र मौसम प्रतिकूल हुँदा यस्ता दुर्घटना नेपालमा असामान्य होइन भनेको छ। बीबीसीले सन् २०२२ को मेमा मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा २२ जनाले ज्यान गुमाएको, सन् २०१८ मा बंगलादेशको ढाकादेखि काठमाडौँका लागि उडेको यूएस–बांगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै आगलागी हुँदा ५१ जनाले ज्यान गुमाएको कुरा लेखेको छ।

नेपालको सुरक्षा चासो र उड्डयन क्षेत्रका मापदण्डको पालनामा कमजोरी देखाउँदै युरोपेली आकाशमा नेपाली हवाईजहाजमाथि प्रतिबन्ध लागेको समाचारमा उल्लेख छ। नेपालका निजी कमर्सियल विमानसहित राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई समेत प्रतिबन्ध लागेको छ।

अवतरण गर्ने क्रममा विमान कसरी दुर्घटनाग्रस्त भयो? पाइलट, को–पाइलट को दोषी छन्? किन नेपालमा बारम्बार हवाई दुर्घटना दोहोरिन्छन्? के मौसममा आउने खराबी मात्रै दुर्घटनाको कारण हुन्छ? के साँच्चै नेपाली आकाश असुरक्षित छ? यसलाई सुरक्षित बनाउनेतर्फ किन सरकार र सरोकारवालाहरू चासो दिँदैनन्? यिनै प्रश्नको सेरोफेरामा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपाली हवाई क्षेत्रका छवि प्रस्तुत गरेका छन्।

न्यूयोर्क टाइम्सले नेपालमा दुर्गम स्थानमा पुग्न साना र दुई वटा इन्जिन भएका विमानमा भर पर्नुपर्ने बाध्यतालाई उल्लेख गरेको छ। यस्तै, विमानहरू नै पछिल्लो समय दुर्घटनामा परेको एभीएसन सेफ्टी नेटवर्कको भनाइ छ। कमजोर भिजिबिलिटी, पहाडी क्षेत्रमा अकस्मात् परिवर्तन हुने मौसमी अवस्था र पुराना विमानका कारण नेपालमा दुर्घटना बढ्ने गरेको बताइएको छ।

न्यूयोर्क टाइम्सले २१६ मिलियन डलरमा चिनियाँ ऋण लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतीको विमान अवतरण गर्ने तयारीमा रहेको तर सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको उल्लेख गरेको छ।

दक्षिण एसियाको गरिब मुलुकमध्ये एक नेपालले वैदेशिक मुद्रा आर्जन र राजस्वका लागि पर्यटनलाई मुख्य आधार मान्ने गरेको पनि उक्त समाचार संस्थाले उल्लेख गरेको छ।

एपी न्युजले अन्नपूर्ण सर्किट (हिमाली क्षेत्रको चर्चित पदमार्ग) पुग्नका लागि पोखरा प्रमुख प्रवेशद्वार रहँदै आएको कुरालाई प्रमुखता दिँदै नेपालको पर्यटकीय नगरीमा विमान दुर्घटना भएको भन्दै समाचार लेखेको छ।

विश्वभर यस्ता विमान छोटो दूरीको क्षेत्रीय उडानका लागि प्रयोग हुँदै आएको तर यी विमानको बढी दुर्घटना हुने गरेको भन्दै एपीले ताइवानको उदाहरण दिएको छ। ताइवानमा सन् २०१४ एटीआर ७२–५०० दुर्घटनामा ४८ जनाको ज्यान गएको थियो भने २०१५ मा एटीआर ७२ एस विमान दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको थियो। त्यसपछि एटीआर सञ्चालन गर्ने ट्रान्सएसियाले सन् २०१६ देखि सबै उडान रद्द गरेको थियो। त्यसलगत्तै व्यापारबाटै पछि हटेको थियो।

आइतबारको विमान दुर्घटनाबारे सीएनएनले नेपालमा उडान क्षेत्रमा जोखिम रहेको विषयलाई प्राथमिकता दिएको छ। प्रतिकूल मौसम, कमजोर भिजिबिलिटी र पहाडी भौगोलिक बनोटलगायतले नेपाली उड्डयन क्षेत्रको छवि बिगार्ने कारक भएको विज्ञलाई उद्धृत गर्दै सीएनएनले समाचार लेखेको छ।

यसअघि सन् २०१९ को सेफ्टी रिपोर्टका अनुसार केबल प्रतिकूल मौसम मात्रै उडानका लागि समस्या होइन। पाइलटले खतरनाक भूगोलका कारण गम्भीर चूनौती भोग्नुपरेको र सस्तोमा पुराना विमान खरिद गर्ने परिपाटीले पनि उडानको जोखिम बढाउने प्रतिवेदनको विवरणलाई केलाउँदै समाचार लेखेको छ।

नेपालमा दुर्घटनाग्रस्त विमान एटीआर ७२–५०० नै भएको फ्रान्सेली विमान निर्माता कम्पनी एटीआरले निश्चित गर्दै विज्ञप्तिमार्फत दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै कम्पनीले अनुसन्धान र सेवाग्राहीको सहायताका लागि आफ्ना विशेषज्ञहरू पूर्ण रूपमा लागि परेको जनाएको छ।

‘भयानक विमान दुर्घटनाबाट शोकमा डुबेको नेपाल, खोजी कार्य जारी’ शीर्षकमा अलजजिराले दुर्घटनाको समाचार लेखेको छ। पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान अकस्मात् बायाँ दिशातर्फ ढल्किएको र ठूलो विस्फोट भएको लेखेको छ। यस्तै, घटनास्थलबाट ‘फ्लाइट डेटा रेकर्डर’ (ब्ल्याक बक्स) र ‘ककपिट भ्वाइस रेकर्डर’ फेला परेको र विश्लेषणका लागि निर्माता कम्पनीकहाँ पठाउने तयारी भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलालाई उद्धृत गर्दै अलजजिराले समाचार लेखेको छ।

सन् १९९२ मा १६७ जनाको ज्यान जाने गरी काठमाडौँमा भएको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटना भएपछिकै आइतबारको दुर्घटना भयानक हो।

‘वासिंटन पोस्ट’को समाचारमा नेपालको हवाई सुरक्षाको विषयलाई केन्द्रित गरेको छ। नेपालको ‘सेफ्टी रेकर्ड’को विषय प्राथमिकतामा छ। सन् २००० यता मात्रै नेपालमा ३ सय ५० विमान र हेलिकप्टर दुर्घटना भएको रोयटर्सको तथ्यांक उल्लेख गर्दै वासिंटन पोस्टले सुरक्षा चासोको कारण युरोपियन युनियनले सन् २०१३ देखि नेपालका सबै एयरलाइन्सलाई युरोपको आकाशमा उड्न प्रतिबन्ध लगाएको विषयबारे उल्लेख छ।

भारतीय मिडियामा पनि विमान दुर्घटनाबारे विभिन्न टीकाटिप्पणी भइरहेको छ। अधिकांश भारतीय मिडियाले दुर्घटनाका साथै र चीनले बनाएको विमानस्थल भनी प्राथमिकता दिएका छन्। एनडीटीभी इन्डियाले ‘नेपालमा जुन विमानस्थलनजिकै विमान दुर्घटना भयो सो चीनको सहयोगमा बनेको थियो, दुई साताअघि भएको थियो उद्घाटन’ भन्ने शीर्षकमा समाचार बनाएको छ। यो विमानस्थल चीनको महत्त्वपूर्ण परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई सहयोगको हिस्सा भएको उल्लेख छ।

भारतीय अर्को सञ्चार संस्था आजतकले ‘पाइलटको थकान, १५ वर्ष पुरानो या प्राविधिक गडबडी? के थियो कारण’ शीर्षकमा समाचार लेखेको छ। आइतबारको मौसम सफा रहेको र कुनै खराबी नरहेको तर दुर्घटना कसरी हुन पुग्यो भन्दै शंका गरिएको छ। गलत निर्देशन, विमान प्रणालीमा खराबी र पाइलटको थकानलाई दुर्घटनाको सम्भावित कारक मानिएको छ। १५ वर्ष पुरानो यस विमानमा अविश्वसनीय तथ्यांक रहेका पुराना टान्सपोन्डर जडान गरिएको समेत बताइएको छ। साथै, आजतकले ‘एउटा विमानको उमेर कति हुन्छ ? अवकाशपछि विमानलाई के गरिन्छ?’ सहित विभिन्न शीर्षकमा समाचार बनाएको छ।

पोखराको विमान दुर्घटनाका समाचारमा विश्वका सर्वाधिक अग्ला १४ वटा हिमालमध्ये नेपालमा सगरमाथासहित ८ वटा हिमाल सर्वाधिक अग्ला हिमाल रहेको कुरा जताततै देख्न सकिन्छ। साहसिक यात्रा र हिमाल आरोहणमा नेपाल आउने पर्यटकले यस्तै विमानमा यात्रा गर्नुपर्ने भएकाले हालैको दुर्घटनाले पर्यटकमा असुरक्षाको भाव बढाउने अनुमान गर्न सकिन्छ।

‘द वायर’ले ‘किन नेपालको उड्डयन सुरक्षा चुनौती बेग्लै खालको छ’ भनेर समाचार लेखेको छ। सुन्दर भौगोलिक बनोट भए पनि विमान सञ्चालनका लागि यहाँको भूगोल चुनौतीपूर्ण रहेको लेखिएको छ। सन् १९६० मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, आईकाओको सदस्य बनेको नेपालले यसका मापदण्ड र सुरक्षाको पाटोमा आफूलाई साबित गर्न सकेको छैन र अझै पनि आफूलाई सुधार्ने प्रयासमा लागिरहेको विषयलाई द वायरले लेखेको छ। दुःखद घटनाका बाबजुद नेपालको नागरिक उड्डयन प्राधिकरणले आफ्ना विमानस्थलको स्तरोन्नति गर्ने, सुरक्षा उपकरण बढाउनेमा आफूलाई केन्द्रित गरे पनि सफल हुन नसकेको लेखिएको छ। यस्तै, नेपालको चुनौतीपूर्ण भौगोलिक बनावट र तीव्र रूपमा बदलिँदो हवाई उद्योगबारे पनि द वायरले लेखेको छ।

काठमाडौँदेखि पोखराका लागि उडेको विमानमा सवार ६९ जनाको मृत्यु भयो। चालकदलका ४ सदस्य र ६८ यात्रुसहित उडेको विमान अवतरण हुने क्रममा सेती नदीको खोँचमा दुर्घटनामा परेको हो। यो नेपालको हवाई क्षेत्रमा ३० वर्षयताकै भयानक दुर्घटना हो। साथै, ७२ सिटे विमान दुर्घटना भएको पनि पहिलो पटक हो। नाइन एन–एएएनसी एटिआर ७२ कलसाइन भएको दुई इन्जिनले चल्ने सो विमान १५ वर्षअघि फ्रान्समा बनेको थियो।


सम्बन्धित सामग्री