Thursday, April 25, 2024

-->

अवतरणका लागि अनुकूल अवस्था हुँदाहुँदै किन भयो पोखरामा विमान दुर्घटना?

अवतरणका लागि सबै परिस्थितिहरू अनुकूल हुँदाहुँदै यती एयरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाई उडानको सुरक्षालाई लिएर बहस सिर्जना भएको छ।

अवतरणका लागि अनुकूल अवस्था हुँदाहुँदै किन भयो पोखरामा विमान दुर्घटना 

काठमाडौँ– काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर ७२ विमान दुर्घटना भएको छ। विमानमा ६८ यात्रु र चालक दलका चारसहित ७२ जना थिए। 

यति एयरलाइन्सका अनुसार विमानले १०ः३३ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे छोडेको थियो। विमान २५ मिनेटपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने थियो। तर, अवतरण हुने समयमा विमानस्थल नजिकै दुर्घटना भयो।

दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ। आयोगको सदस्यमा हवाईविज्ञ अवकाश प्राप्त सेनाका उपरथी दीपकप्रकाश बास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनिल थापा र हवाई इन्जिनियर एकराचन थापा छन्। 

मौसम विज्ञान विभागका अनुसार आइतबार पोखराको मौसम सफा थियो। अनुकूल मौसम र अवतरण गर्न लाग्दा धावनमार्ग नजिकै दुर्घटना भएको हो। यही विमानले गएको पुस ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो। 

यो विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १७ गते उद्घाटन गरेका थिए। उद्घाटन भएको १४ दिनमा नै विमानस्थल नजिकै दुर्घटना भएको हो। नेपालमा एटीआर–७२ विमान दुर्घटना भएको पहिलोपटक हो।

तस्वीर : रासस

पुराना पर्यटन व्यवसायी वसन्त मिश्र पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले नेपालको पर्यटन व्यवसायमै नकारात्मक असर पर्ने बताउँछन्। “नेपाललाई ईयूले कालो सूचीमा राखेको थियो। अझ त्यसमाथि पर्यटकीय शहरको विमानस्थलमा भएको दुर्घटनाले संसारभर नकारात्मक असर पर्ने भयो”, उनी भन्छन्, “अन्तर्राष्ट्रिय विज्ञहरू सम्मिलित अनुसन्धान आयोग बनाएर सत्यतथ्य पत्ता लगाउनुपर्छ। संसारलाई दुर्घटनाको कारणबारे विश्वसनीय जानकारी गराउनुपर्छ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर अनुप जोशीका अनुसार मौसम र हावाको गति विमान अवतरणका लागि अनुकूल थियो। विमानका पाइलट कमल केसीले कुनै पनि प्राविधिक समस्याबारे एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिएनन्। 

पाइलट केसीले पश्चिमबाट अवतरण गर्ने अनुमति मागेका थिए। उनकै अनुरोधपछि एयर ट्राफिक कन्ट्रोलरले विमानलाई धावनमार्गको पश्चिम तर्फबाट अवतरणको अनुमति दिएको थियो। “हावाको चाप, मौसम सब ठीकठाक थियो। कुनै समस्या थिएन”, जोशीले भने।

जल तथा मौसम कार्यालय पोखराका प्रमुख मीनकुमार अर्यालका अनुसार विमान अवतरणका लागि आवश्यक पर्ने भिजिबिलिटी थियो। “भिजिबिलिटी सात किलोमिटरसम्म थियो। विमान अवतरणका लागि आवश्यक पर्ने मौसमी अवस्था ठीक थियो”, अर्यालले भने।

आखिर किन भयो दुर्घटना?
अवतरणका लागि आवश्यक पर्ने मौसम ठीकठाक हुँदाहुँदै र विमानमा कुनै प्राविधिक समस्याको पूर्वसंकेत समेत नहुँदा आखिर कसरी भयो दुर्घटना? आफ्नो नाम उल्लेख गर्न नचाहने एक पाइलटका अनुसार दुर्घटनाको कारण भीएमसी रोल हुनसक्छ। भीएमसी रोल त्यस्तो अवस्था हो, जहाँ ‘स्टल स्पीड’ (विमान उड्नलाई चाहिने न्यूनतम गति)मा पुगेको विमान अचानक घुम्छ र नियन्त्रण गुमाउँछ।

जहाजको गति कम हुँदै गइरहेको अवस्थामा कुनै कारणले इन्जिनले विमानलाई स्टल स्पिडभन्दा कम गतिमा पुर्‍याउँदा पहिला एउटा पखेटाले विमान उचालिरहेको भए पनि अर्को पखेटाले उचाल्न छोड्छ। यस्तो अवस्थामा विमानको सन्तुलन बिग्रिने ती पाइलट बताउँछन्।

सामाजिक सञ्जालमा हालिएको भिडियो तथा प्रत्यक्षदर्शीका अनुसार यती एयरलाइन्सको विमान पनि यस्तै भएको छ। विमान पश्चिमबाट अवतरण गर्न घुमेर धावनमार्गको सीधा लाइनमा जाँदै गरेको देखिन्छ। त्यतिखेर नै विमान देब्रेतिर मोडिन्छ र नियन्त्रण गुमाउँछ। अनि विमान हावामा बल्ड्याङ खाँदै उत्तानो परेर जमिनमा ठोकिएको छ।

दुखद संयोग
यति एयरलाइन्सको विमान दुर्घटनामा को–पाइलट अन्जु खतिवडा पनि परेकी छन्। उनका श्रीमान् दीपक पोखरेलको पनि १६ वर्षअघि यती एयरकै विमान दुर्घटनामा निधन भएको थियो।

२०६३ असार ७ गते जुम्लामा भएको दुर्घटनामा दीपकको मृत्यु भएको थियो। त्यति बेला यती एयरलाइन्सको क्यानडामा निर्मित डीएचसी–६ ट्वीनटर विमान दुर्घटना भएको थियो। श्रीमानको मृत्यु भएपछि मात्र अन्जुले पाइलट कोर्स गरेकी थिइन्।

यति एयरलाइन्सका एक पाइलटका अनुसार जुम्ला विमानस्थलमा विमान अवतरण गर्दा जुन अवस्थाले दुर्घटना भएको थियो, पोखरामा यति एयरलाइन्सको दुर्घटनाको अवस्था पनि एउटै देखिन्छ। “१६ वर्षअघि जुम्लामा विमान घुमाउने क्रममा गति कम हुँदा दुर्घटना भएको थियो, आजको दुर्घटनाको भिडियो क्लिप हेर्दा पनि जुम्लाकै जस्तै केस देखिन्छ”, आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ती पाइलट भन्छन्, “यो कस्तो दुखद संयोग।”

यस्तो छ नेपालमा एटीआरको इतिहास
आइतबार दुर्घटनामा परेको विमान साढे १५ वर्षअघि  बनेको थियो। एयरफ्लिट्सडट्नेटको वेबसाइटमा उल्लेख भएअनुसार उक्त एटीआर–७२ विमानले २००७ अगस्ट १७ मा पहिलो उडान गरेको थियो। विमानलाई २००७ देखि २०१२ सेप्टेम्बरसम्म भारतको किङफिसर एयरलाइन्सले उडाएको थियो।

उक्त विमान २०१३ अप्रिलदेखि २०१८ अगस्टसम्म थाइल्यान्डको नुक एयरलाइन्सले उडाएको थियो। यतीले नुकबाट सन् २०१९ मार्च २६ मा किनेर नेपाल ल्याएको थियो। 

यो एटीआर कम्पनीले उत्पादन गरेको सिरियल नम्बर–७५४ विमान हो। एटीआर विमान तुलनात्मक रूपमा सुरक्षित मानिन्छ। यती एयरलाइन्ससँग हाल ६ वटा एटीआर विमान छन्।

नेपालमा आन्तरिक विमान दुर्घटनामा परी यति ठुलो मानवीय क्षति भएको पहिलो घटना हो। सन् १९९४ देखि हालसम्म विश्वभर ४६ वटा एटीआर–७२ विमान दुर्घटनामा पर्दा ३९८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेकामध्ये २९ विमान पूर्णरूपमा क्षतिग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।


सम्बन्धित सामग्री