Friday, April 19, 2024

-->

प्रधानमन्त्री कप : कर्णालीमाथि मधेशको ८ विकेटको जित

जितसहित समूह बी मा रहेको मधेशले २ खेलबाट २ अंक जोडेको छ। कर्णाली दुवै खेलमा पराजित भएको छ।

प्रधानमन्त्री कप  कर्णालीमाथि मधेशको ८ विकेटको जित

काठमाडौँ– मधेश प्रदेशले प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। आइतबार भएको खेलमा मधेशले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।

कर्णाली प्रदेशले दिएको ८० रनको लक्ष्य मधेशले १०.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। मधेशकी ओपनर अनुराधा चौधरीले सर्वाधिक ३८ रन बनाइन्। उनले ३५ बलमा ५ चौका प्रहार गरिन्।

मध्यक्रमकी प्रतीमा शाहले २४ बलमा १ चौकासहित १८ रन बनाउँदै अविजित रहिन्। अर्की ओपनर अलिशा यादव २ रनमा आउट भइन्।

कर्णालीकी बिना थापाले २ विकेट लिइन्। ३.२ ओभर बलिङ गरेकी उनले २८ रन खर्चिइन्।

त्यसअघि जनता क्रिकेट पार्क इटहरीमा पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन बनाएको थियो।

मध्यक्रमकी ब्याटर तिर्सना बुढाथोकीले सर्वाधिक १५ रन बनाइन्। उनले ३० बलमा १ चौका प्रहार गरिन्। अन्जु गुरूङ १८ बलमा २ चौकासहित १३ रन बनाएर अविजित रहिन्। ओपनर किरण कुँवरले २२ बलमा १ चौकासहित २२ रन बनाइन्।

मधेशकी भूमी सिंहले सर्वाधिक ४ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले १९ रन खर्चिइन्। अमिरण निशाले ४ ओभर बलिङ गर्दै १० रन खर्चिएर २ विकेट लिइन्।

जितसहित समूह बी मा रहेको मधेशले २ खेलबाट २ अंक जोडेको छ। कर्णाली दुवै खेलमा पराजित भएको छ।


सम्बन्धित सामग्री