Thursday, April 25, 2024

-->

नेपालमा लगानी बढाउन जापानलाई प्रधानमन्त्री दाहालको आग्रह

जापानको सत्तारूढ दल ‘लिबरल डेमोक्राटिक’का सांसद ताईरा मासाकीसँगको भेटमा प्रधानमन्त्री दाहालले जापानी व्यवसायीलाई नेपालमा लगानी गर्न आउने गरी वातावरण तयार गरिदिन आग्रह गरेका छन्।

नेपालमा लगानी बढाउन जापानलाई प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालका लागि जापानको सहयोग महत्त्वपूर्ण हुने बताएका छन्।

जापानको सत्तारूढ दल ‘लिबरल डेमोक्राटिक’ का सांसद तथा पूर्वराज्यमन्त्री ताईरा मासाकीसहितको टोलीसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपाल विकासको चरणमा प्रवेश गरेको उल्लेख गर्दै आगामी दिनमा जापानको सहयोग महत्त्वपूर्ण हुने बताएका हुन्।

नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाइने जानकारी दिँदै प्रधानमन्त्री दाहालले जापानी व्यवसायीलाई नेपालमा लगानी गर्न आउने गरी वातावरण तयार गरिदिन आग्रह गरे।

बुधबार नेपाल आएको सांसद मासाकीसहितको तीन सदस्यीय टोलीले शुक्रबार प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेको थियो।

भेटका क्रममा प्रधानमन्त्री दाहालले जापान नेपालको सबैभन्दा पुरानो मित्र रहेको बताउँदै नेपालको आर्थिक सामाजिक विकासमा जापानले निरन्तर रूपमा सहयोग गर्दै आएकामा धन्यवाद दिए। गत वर्ष जापानको भ्रमण गर्दा आधुनिक र वैज्ञानिक रूपमा गरिएको कृषि खेतीबाट आफू प्रभावित बनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले नेपालमा पनि यस्तै सिप र प्रविधिको विकास गर्न चाहेको बताए। यस्तै, दाहालले जापानले नेपाली नागरिकलाई विभिन्न क्षेत्रमा काम गर्ने मौका दिइरहेको र आगामी दिनमा यो संख्या बढाउने गरी सहयोग गर्न आग्रह गरे।

सांसद मासाकीको माओवादी पार्टी र यसको झुकाव चीनतर्फ रहेको बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले आफ्नो पार्टी पूर्ण रूपमा प्रजातन्त्रमा विश्वास राख्ने जानकारी दिएका थिए।"म आफैँ चारपटक निर्वाचन लडेर आएको व्यक्ति हुँ", प्रधानमन्त्री दाहालले भने, "हाम्रो पार्टी न प्रोचाइना हो न त प्रोइन्डिया नै। हामी प्रोनेपाली मात्र हौँ।"

त्यस अवसरमा सांसद मासाकीले जापानबाट नेपालमा जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा लगानी आउन सक्ने आफूले देखेको जानकारी गराएका थिए। उनले आगामी दिनमा ग्रिन इनर्जीमा जानुको विकल्प नभएको भन्दै यसका लागि नेपाललाई जापानले सहयोग गर्ने प्रतिबद्धता जनाए।

यस्तै, कांग्रेसका सभापति देउवाले भेटका क्रममा पछिल्ला वर्षहरूमा बिग्रँदो वातावरणीय प्रभावका कारण विश्वका विभिन्न स्थानमा समस्या देखिन शुरू गरेको र नेपालमा पनि समस्या आइरहेको भन्दै यी समस्या न्यूनीकरणमा जापानको सहयोग आवश्यक रहेको बताए।

त्यस अवसरमा सांसद मासाकीले जापानको आर्थिक र प्राविधिक सहयोगमा नेपालको जलस्रोतको विकासलाई तीव्रता दिन सक्ने उल्लेख गरेका थिए। नेपालमा उत्पादित बिजुली भारत र बंगलादेशमा निर्यात गर्न सके नेपाललाई फाइदा पुग्ने उनको धारणा थियो।

अर्थमन्त्री पौडेलसँगको भेटमा मासाकीले भारतले विभिन्न परियोजनाका लागि जापानबाट सस्तो ब्याजदरमा ऋण सहयोग लिएको जानकारी दिएका थिए। उनले जापानबाट यस्तो ऋण लिनका लागि पहल गर्न नेपाललाई आग्रह गरेका थिए। अर्थमन्त्री पौडेलले विकास आयोजनामा स्रोत अभाव रहेको जानकारी दिँदै जापानको सस्तो दरको ऋण सहयोग लिन आफूले तत्काल पहल गर्ने बताएका थिए।

नेपालको जनशक्तिलाई जापानमा सहज ढंगले प्रवेश गर्ने तथा स्थापित गराउनेबारे समेत उनीहरूबीच छलफल भएको छ। सांसद मासाकीले जापानको सरकारमा आइटी, म्यानपावर, डिजिटल स्पेस लगायतका क्षेत्र हेर्ने जिम्मेवारी पाएका छन्। जापानी टोली गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा संरक्षक भवन भट्टको निमन्त्रणमा नेपाल आएको हो।


सम्बन्धित सामग्री