Saturday, April 20, 2024

-->

उत्तरपुस्तिका 'गायब' प्रकरण : त्रिविको लापरबाही छोप्न ५ दिनमै रिजल्ट

त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशनमा भइरहेको ढिलाइ र उत्तरपुस्तिका नै हराइदिने लापरबाही ढाकछोप गर्न यसपालि परीक्षा लिएको पाँच दिनमै नतिजा सार्वजनिक गरेको छ।

उत्तरपुस्तिका गायब प्रकरण  त्रिविको लापरबाही छोप्न ५ दिनमै रिजल्ट

काठमाडौँ– "त्रिभुवन विश्वविद्यालय (त्रिवि), परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले जुनसुकै परीक्षाको नतिजा तीनदेखि अधिकतम छ महिनाभित्र सार्वजनिक गरिसक्नुपर्छ, शैक्षिक प्रणालीलाई नियमित र गतिशील बनाउनका यस्तो व्यवस्था गरिएको हो।"

चार वर्ष परीक्षा नियन्त्रण कार्यालयको शाखा प्रमुख भएर काम गरिसकेका त्रिविको रजिस्ट्रार कार्यालय प्रमुख नवीन्द्र भण्डारी आइतबार हामीसँग यस्तो भन्दै थिए। ठीक त्यहीबेला झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराएको समाचार सञ्चारमाध्यममा छ्यापछ्याप्ती थियो।

एक वर्षअघि लिएको चारवर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको नतिजा सार्वजनिक गर्नुपर्ने समयसीमा घर्काएर क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका नै हराइदिएपछि पनिकाले आइतबार नै पुनः परीक्षा लिएको थियो।

पनिकाले एक वर्षअघि नै लिइसकेको परीक्षाको चारवर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको उत्तरपुस्तिका हराएपछि पुस २४ गते पुनः परीक्षा लिएको हो। यसअघि यो विषयको परीक्षा २०७८ पुस २७ गते लिइएको थियो। पनिकाले बीबीएस चौथो वर्षको परीक्षा २०७८ पुस २० गतेदेखि माघ ४ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। एक वर्ष बितिसक्दा पनि नतिजा ननिकालेको भन्दै विद्यार्थी आन्दोलित थिए।

कसरी हरायो उत्तरपुस्तिका ?
त्रिविअन्तर्गतका परीक्षा दिने विद्यार्थीका  उत्तरपुस्तिका 'मिसप्लेस्ड' हुनु र हराउनु पनिकाका लागि नौलो होइन। यो समस्या प्रत्येक परीक्षापछि उत्तरपुस्तिका जाँच्ने क्रममा दोहोरिइरहन्छ। पनिकाका एक कर्मचारीका अनुसार दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका त्रिविकै एक शिक्षकले हराइदिएका हुन्। ती शिक्षकले जाँच्नका लागि लैजाँदै गरेको उत्तरपुस्तिका बाटोमा हराएको उनी बताउँछन्।

“उत्तरपुस्तिका हराएपछि खोजी नभएको पनि होइन तर फेला परेन। कसैले फेला पारेको खबर पनि आएन”, उनी भन्छन्, “चारवर्षे बीबीएसको नतिजा यत्रो दिन 'होल्ड' हुनुको प्रमुख कारण नै यही हो।”

पनिका प्रमुख पुष्पराज जोशी उत्तरपुस्तिका हराएको स्विकार्छन्। तर यो विषय नचर्कियोस् भनेर उनी जतिसक्दो चाँडो नतिजा सार्वजनिक गरेर मुद्दाबाट पन्छिने प्रयत्नमा थिए। उत्तरपुस्तिका कसरी हरायो र कसले हरायो भन्ने विषयमा आफू केही नबोल्ने बताएका उनले दमक क्याम्पसका विद्यार्थीको परीक्षा लिइएको ५ दिनमै बिहीबार बीबीएसको नतिजा सार्वजनिक गरेका छन्।

बेखबर दमक बहुमुखी क्याम्पस
पनिकाले दमक बहुमुखी क्याम्पसलाई पुनः परीक्षा लिनुपर्ने कारण नै नखुलाई परीक्षा सञ्चालनका लागि व्यवस्थापन गर्न भनेका थियो। क्याम्पसले उत्तरपुस्तिका हराएकोबारे थाहा नभएको जनाएको छ।

अनौठो त त्यो क्याम्पसका कूल दुई सय जना विद्यार्थीकै उत्तरपुस्तिका हराएको थियो। क्याम्पसले विद्यार्थीलाई पुनः परीक्षा लिनुपर्ने कारण उल्लेख नै नगरी मोबाइलमा एसएमएसमार्फत सूचना पठाएको थियो।

एसएमएसमार्फत पठाइएको सूचनामा भनिएको छ– ‘त्रिविबाट २०७८ मा सञ्चालन भएको बीबीएस चौथो वर्षको सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्मका परीक्षार्थीको रिसर्च मेथोडोलोजी विषयको परीक्षा मिति २०७९/०९/२४ गते बिहान ८ बजेदेखि पुनः परीक्षा हुने भएकाले दमक क्याम्पस परीक्षा केन्द्रमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ।’

क्याम्पस प्रमुख नेत्रबहादुर बुढाथोकी के कारणले परीक्षा पुनः लिएको भन्नेबारे जानकारी नरहेको बताउँछन्। “पनिकाबाट पुनः परीक्षा लिनुपर्ने भनेर फोन आएको थियो तर के कारणले फेरि लिनुपर्ने खुलाएनन्,” बुढाथोकी भन्छन्, “के कारणले फेरि परीक्षा लिएको पनिका नै जानोस्। हामी त त्रिविअन्तर्गतको क्याम्पस, माथिको आदेश मान्नै पर्‍यो।”

 

लापरबाही ढाकछोप गर्न पाँच दिनमै नतिजा
एक सातादेखि त्रिविको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय प्रमुख जोशीको कार्यकक्षमा पुग्दा दुइटा ताल्चा झुन्डिइरहेका थिए। जोशी भने एक सातादेखि त्यही भवनको बैठककक्षमा थिए। यो अवधिभर उनले कसैलाई भेटेनन्। भेट्न आउनेलाई मिटिङमा व्यस्त रहेको खबर पठाए।

उनको कार्यकक्षबाहिर अनेरास्वियू (क्रान्तिकारी)को एउटा विज्ञप्ति टाँसिएको छ। जसमा उत्तरपुस्तिका हराइदिएका कर्मचारीलाई कारबाहीसहित परीक्षाको नतिजा चाँडो सार्वजनिक गर्न माग गरिएको छ। सँगै ‘परीक्षा नियन्त्रक राजीनामा दे’ लेखिएको प्लाकार्ड पनि टाँसिएको छ। 

बीबीएस शाखाका प्रमुख तथा सह-परीक्षा नियन्त्रक साधुराम अर्याल पनि एक सातादेखि निरन्तर दौडधुपमा रहेछन्। आफ्नै संकायको उत्तरपुस्तिका हराएपछि सबै तनाव उनैमाथि थुप्रियो। उत्तरपुस्तिकाबारे सोध्दा उनले जवाफ दिए, “कन्ट्रोलर सर (पनिका प्रमुख)ले केही पनि नबोल्न भन्नुभएको छ। मैले बोल्नै मिल्दैन।”

यसबीचमा पनिकाभित्र आकस्मिकदेखि गोप्य बैठक चलिरहे। तिनै बैठकका कारण हुन सक्छ, दमक बहुमुखी क्याम्पसमा आइतबार लिइएको परीक्षाको नतिजासहित बीबीएसको अहिलेसम्म रोकिएको नतिजा बिहीबार साँझ सार्वजनिक गरिएको छ।

 

उत्तरपुस्तिका हराएको शिक्षकलाई काखा, विद्यार्थीलाई पाखा
पनिकाले उत्तरपुस्तिका हराइदिएका शिक्षकलाई कारबाही गरेको दाबी गरेका छ। त्रिविलाई ती शिक्षकलाई ‘अब उपरान्त कुनै पनि परीक्षा वा परीक्षासम्बन्धी गतिविधिमा संलग्न नगराइने’ कारबाही गरेको छ। तर, पनिकालाई विद्यार्थीको भन्दा शिक्षकको भविष्यको चिन्ता छ। “शिक्षकको नाम सार्वजनिक गर्न मिल्दैन। उनलाई भोलि केही भयो भने कसले जिम्मेवारी लिन्छ?” जोशी भन्छन्, “गर्ने कारबाही गरिसक्यौँ। अब यो विषयलाई यही टुङ्ग्याऊ।”  

उत्तरपुस्तिका हराउने शिक्षकको सट्टा कर्मचारी भएको भए उहिल्यै बर्खासतमा परिसक्ने त्यहाँ कार्यरत कर्मचारी बताउँछन्। “शिक्षक भएरै जोगिएका हुन्। उनलाई जोगाउने पुष्प सर नै हुनुहुन्छ। कारबाहीमा पनि विभागीय कारबाही नगरेर सामान्य कारबाही गरेका छन्,” ती कर्मचारी भन्छन्।

शिक्षकबारे गम्भीर देखिएको पनिका विद्यार्थीको भविष्यबारे खासै चासो दिने गरेको छैन। काठमाडौँको धुमबाराहीस्थित नेसनल कलेजका शिक्षक डम्बर भट्ट पनिकालाई विद्यार्थीलाई दुःख दिने संस्थाको संज्ञा दिन्छन्। “समग्रमा त्रिवि नै विद्यार्थीलाई सुख दिन नभई दुःख दिन खुलेको हो। त्रिविले सधैँ विद्यार्थीलाई दुःख मात्रै दिएको छ,” भट्ट भन्छन्, “पनिकाले दमक बहुमुखी क्याम्पसको विद्यार्थीलाई क्षतिपूर्ति दिनुपर्छ।”


तस्वीरहरू : अमित मचामसी


सम्बन्धित सामग्री