Saturday, April 20, 2024

-->

कांग्रेसलाई संकट, गुटले निर्धक्क देउवा

माओवादीले गठबन्धन तोडेसँगै सबैतिरका सत्ता गुमेपछि कांग्रेसमा विशेष महाधिवेशन र देउवाको राजीनामासम्मको माग जसरी उठ्यो, त्यसैगरी सेलायो। त्यसको अन्तर्यमा थियो– कसैले ‘हल्लाउन नसक्ने’ देउवा समूहको शक्ति।

कांग्रेसलाई संकट गुटले निर्धक्क देउवा

काठमाडौँ– “जुन दिन नेपाली कांग्रेसले सत्ताको राजनीति गर्ने छ, नेपाली कांग्रेस निरर्थक भएर जानेछ।” सुन्दरीजल जेलमा रहँदा बीपी कोइरालाले लेखेको डायरीमा लिपिबद्ध यो प्रसंग कांग्रेसका नेता–कार्यकर्ता बेलाबेला उप्काइरहन्छन्। अति सत्तामोहले कांग्रेसलाई निम्त्याउने जोखिम बीपीले दशकौँ पहिले आकलन गरेका थिए। कांग्रेसमा भर्खरै पनि त्यही चरितार्थ भएको छ। र, अति सत्तामोहकै कारण संघदेखि प्रदेश सबैतिर सरकारको नेतृत्व गर्ने अवसरमा रहेको कांग्रेस क्षणभरमै प्रतिपक्षी कित्तामा धकेलिएको छ।

र, यसका निम्ति सभापति शेरबहादुर देउवा र उनले नेतृत्व गर्ने कांग्रेसभित्रको समूह आक्रोशको तारो बनेको छ। हुन पनि, खासगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सत्ता साझेदारी गर्ने छलफलमा पहिले आफू नै प्रधानमन्त्री बन्नुपर्ने र राष्ट्रपति पनि कांग्रेसबाटै हुनुपर्ने देउवा (देउवा समूह)को हठ यसको प्रमुख कारण थियो।

यो प्रकरणपछि कांग्रेसका केही नेता देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट समेत राजीनामा दिनुपर्ने वक्तव्यबाजीमा उत्रिए। कांग्रेसको संस्थापनइतर (शेखर कोइराला–गगन थापा) समूह यहीबेला देउवामाथि प्रहार गर्न केन्द्रित हुँदा कतिपयले विशेष महाधिवेशनसमेत माग गरे। सार्वजनिक रूपमा पनि कांग्रेसको नूर गिराएको भनेर देउवाको चर्को आलोचना भइरहेको छ। यतिसम्म कि देउवाकै समूहका कतिपय नेताहरू पनि उनले पार्टीको हितभन्दा सत्ताको खेललाई मात्र महत्त्व दिएको गुनासो गरिरहेका छन्।

के यो घटनाले बीपीले भने झैँ कांग्रेसलाई राजनीतिमा ‘निरर्थक पार्टी’ साबित गर्न सक्छ? तत्कालका निम्ति त्यस्तो संकेत देखिँदैन, कम्तीमा अर्को निर्वाचनसम्म। अर्को प्रश्न, के यो घटनाले कांग्रेसभित्र सभापति देउवा र उनको समूहमाथि संकट पैदा गर्न सक्छ? यो सम्भावना थप कमजोर छ। किनभने सार्वजनिक रूपमा जति नै आलोचित भए पनि कांग्रेसमा देउवाको पकड मजबुत छ। र, पछिल्लो सत्ता–राजनीतिमा ‘बुमर्‍याङ’ भएयता पनि त्यो पकड यथावत् छ।

संकट होस् या बदनामी, गुट नै रक्षाकवच
परिस्थितिले नाटकीय मोड लिएपछि जसरी डेढ वर्षअघि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए, यसपालि ठिक त्यसैगरी उनको मुखमै आइपुगेको प्रधानमन्त्री पद गुम्यो। अघिल्लोपटक एमालेभित्रको अन्तरसंघर्षका बलमा सरकारको नेतृत्वमा पुगेका र एमाले फुटाउन सहयोगी बनेर सत्ता टिकाएका देउवा त्यसयता सत्तामा रहँदा आफ्नै कारण आलोचना र बदनामीको केन्द्रमा रहिरहे। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘सौदाबाजी’ गरेर उनका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेको प्रकरण होस् या पछि जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याएर न्यायपालिकालाई अनिर्णयको बन्दी बनाउँदा, देउवा आमरूपमै आलोचनाको केन्द्रमा रहे। त्यसअघि तत्कालीन सत्तारुढ नेकपा र नेकपाको अवसानपछि एमालेसँग ‘भागबन्डा’ मिलाएर प्रतिपक्षकै रूपमा पनि संवैधानिक–राजनीतिक नियुक्तिहरूमा भाग लिएका देउवालाई आफ्नो पार्टीभित्र कहिल्यै अप्ठेरो परिस्थिति सिर्जना भएन।

त्यति मात्र होइन, अर्थ मन्त्रालयमा बजेट निर्माण भइरहेका बेला असम्बन्धित व्यक्तिलाई संलग्न गराएको र त्यसको सीसीटीभी फुटेज मेटाइएको प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई ‘चोख्याउने’ प्रमुख भूमिका देउवाकै रहेको भनेर पनि चर्को आलोचना भएको थियो। तर, यस्ता जति प्रकरण हुँदा पनि देउवालाई कांग्रेसभित्र कहिल्यै अप्ठेरो परेन, किन? “किनभने कांग्रेस पार्टीभित्र उहाँको गुट यति बलियो छ, त्यो नै उहाँको रक्षाकवच बन्ने गर्छ”, कांग्रेसका एक पदाधिकारीले भने। 

कांग्रेस केन्द्रीय कार्यसमिति होस् या संसदीय दल, देउवा ‘प्रचण्ड’ बहुमतमा छन्। उनले नेतृत्व गरेको गुट कांग्रेसमा यति बलियो छ, त्यसलाई हल्लाउन इतर समूहको बल पुग्दैन। देउवाको उदय पनि कांग्रेसमा गुटकै व्यवस्थापनबाट भएको थियो। २०४८ सालमा ११० सिट जितेको कांग्रेस आन्तरिक किचलोले २०५१ मा मध्यावधि निर्वाचनमा जाँदा ८३ सिटमा खुम्चिएसँगै आफूलाई गिरिजाप्रसाद कोइरालाको विकल्पमा उभ्याउँदै संसदीय दलको नेता बन्नु देउवाको राजनीतिक जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो। त्यसपछि मनमोहन अधिकारीको सरकार ढलेसँगै पहिलो पटक प्रधानमन्त्री बनेका देउवा त्यसयता पाँच पटक प्रधानमन्त्री भइसके।

पहिलो पटक प्रधानमन्त्री बन्दा देउवालाई गणेशमान–कृष्णप्रसाद भट्टराई गुटको साथ थियो। पछि उनी त्यही गुटको नेता बने। २०५९ मा कांग्रेस फुटाएर कांग्रेस (प्रजातान्त्रिक) गठन गरे, २०६४ मा फेरि कांग्रेससँग एकीकरण गरे। त्यो गुटलाई जोगाउँदै १० वर्ष गिरिजाप्रसाद र सुशील कोइरालासँग संघर्ष गरेपछि देउवा कांग्रेसको नेतृत्वमा पुगेका हुन्।

कांग्रेस नेताहरू हर हालतमा गुटलाई संरक्षण गर्ने अनुभवले पार्टीमा देउवाको पकड बलियो बनेको बताउँछन्। नेता विनयध्वज भन्छन्, “सत्ता र गुटको खेलमा उहाँ अब्बल हुनुहुन्छ। सत्तामा पुग्ने नेताहरू आर्थिकदेखि सबै हिसाबले बलिया हुन्छन्, देउवाजीले पनि यसमा आफूलाई अब्बल साबित गर्नुभयो। अहिले उहाँभन्दा तलका महत्वाकांक्षी नेताहरू उहाँकै पछि लागेका छन्।”

कांग्रेस संस्थापन बनेका देउवालाई चुनौती दिन यसपालि ‘रूपान्तरणका लागि’ भन्दै शेखर–गगन समूहले संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई उम्मेदवार बनाएर देउवालाई सिधा टक्कर दिने प्रयास गरेको थियो। तर, नतिजामा देउवासामु यो समूहको जोर चलेन। संसदीय दलको नेतामा देउवाले ६४ मत ल्याउँदा थापाले २५ मत मात्र पाए।

काठमाडौँमा सत्तागठबन्धन भत्किएपछि देउवाको चर्को आलोचना भइरहँदा कांग्रेसले प्रदेशहरुमा दलको नेता चयन गर्दै थियो। तर, त्यहाँ पनि संस्थापनइतर समूहको केही जोर चलेन। ७ प्रदेशमै देउवा समूहकै संसदीय दलको नेता निर्वाचित भएका छन्।

बागमतीमा देउवा समूहका बहादुरसिंह लामा संसदीय दलको नेता चयन भए। प्रतिस्पर्धामा देउवा समूहकै इन्द्र बानियाँ रहे पनि अन्तिममा देउवा समूहको औपचारिक सहयोग लामालाई भयो।

गण्डकीमा देउवा समूहका सुरेन्द्रराज पाण्डेले संसदीय दलको नेतामा शेखर–गगन समूहका भोजराज अर्याललाई पराजित गरे। लुम्बिनीमा देउवा समूहकै डिल्लीबहादुर चौधरी सर्वसम्मत दलको नेता चयन भए। त्यहाँ ६ भन्दा बढी आकांक्षी देखिँदा संस्थापनइतर समूहका दुई जना आकांक्षी थिए। तर, अन्तिममा उनीहरूले निर्वाचनमा जाने आँट गरेनन्।

कर्णालीमा देउवा समूहकै जीवनबहादुर शाही सर्वसम्मत नेता चयन भए। उनीसँग प्रतिस्पर्धा गर्ने बताएका देउवा समूहकै राजीवविक्रम शाहले प्रस्तावक र समर्थक नै पाएनन्। गुट परिवर्तन गरे सघाउने संस्थापनइतर समूहको प्रस्ताव शाहले स्विकारेनन्। बरु, अन्तिममा शाहीलाई नै स्वीकार गरे। “मलाई नेतृत्वमा पुगेर काम गर्न मन थियो, तर जित्ने संकेत नदेखिएपछि पछि हटेको हुँ,” शाहले भने।

देउवा समूहका कृष्ण यादवले एक वर्ष अघि कांग्रेसको मधेश प्रदेश सभापतिमा संस्थापनइतर समूहका रामसरोज यादवलाई हराएका थिए। संसदीय दलको निर्वाचनमा पनि रामसरोजलाई हराएर कृष्ण नै नेता चुनिएका छन्। देउवा समूहकै सहयोगमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा प्रदेश १ मा संसदीय दलको नेता चुनिए। उनले शेखर–गगन समूहका केदार कार्की ९ र देउवा समूहमै रहेका तर यसपालि समूहको साथ नपाएका अमृत अर्याललाई पराजित गरे।

सुदूरपश्चिममा पनि देउवा समूहकै कमल शाह सर्वसम्मत दलको नेता चुनिएका छन्।

‘देउवा झन् बलिया, कांग्रेस कमजोर’
विश्लेषक पुरञ्जन आचार्य कांग्रेसमा देउवा समूह बलियो भए पनि समग्रमा भने पार्टी कमजोर बनेको टिप्पणी गर्छन्। देउवा पार्टीको अनुहार वा आवश्यकता भए पनि जनताको रोजाइमा नपरेको आचार्यको निष्कर्ष छ। “उहाँको सम्पूर्ण ध्यान शक्तिशाली बनिराख्नका लागि जनताको हितमा काम गर्ने भन्दा गुट बलियो बनाउनेमा केन्द्रित रह्यो। उहाँले पार्टीमा गुट निर्माण–संरक्षणमै ज्यादा समय खर्चनुभो”, आचार्य भन्छन्। 

आचार्य कांग्रेसका दिवंगत नेता प्रदीप गिरीले सार्वजनिक रूपमै भन्ने गरेको ‘कांग्रेसलाई गिरोहले चलाएको’ भनाई यथार्थ बन्दै गएको बताउँछन्। देउवा पार्टी प्रमुख भन्दा गिरोहको नाइकेजस्तो देखिएको टिप्पणी गर्दै उनले भने, “आफ्नो गिरोहमा त शक्तिशाली बन्नुभो, तर सभापति शक्तिशाली बन्दा पार्टी शक्तिशाली भएन। देउवाको गुट बलियो हुनु भनेको प्राविधिक शक्ति हो, राजनीतिक शक्ति होइन।”

कांग्रेस नेता महेश आचार्य गुटमा रहँदा पद, प्रतिष्ठा, मानसम्मान सबै पाइने तर गुटबाहिर राजनीति गर्दा अघि बढ्नै नसक्ने अवस्था रहेकाले आलोचना गर्दागर्दै पनि गुटमै रमाउने प्रवृत्ति रहेको बताउँछन्। आचार्य कांग्रेसको १४ औँ महाधिवेशनमा अजेन्डा स्थापित गर्ने भन्दै स्वतन्त्र रूपमा उपसभापतिको उम्मेदवार बनेका थिए। प्रतिस्पर्धी पूर्णबहादुर खड्का र विजय गच्छदारलाई देउवा समूहको, सुजाता कोइरालालाई प्रकाशमान सिंह समूहको तथा धनराज गुरुङ र चन्द्र भण्डारीलाई शेखर–गगन समूहको साथ थियो। कुनै गुटमा नहुँदा आचार्य फराकिलो मतान्तरले पराजित भए। कांग्रेसमा विचार, सिद्धान्त र निष्ठाको राजनीतिको वकालत गर्दै आएका आचार्य अहिले लगभग भूमिकाविहीन जस्तै बनेका छन्। 

तर, गुटको राजनीतिले कांग्रेसको हैसियत खस्केको देउवा समूहका नेताहरू स्वीकार गर्दैनन्। नेता विमेलेन्द्र निधिले पार्टीले सामना गरेको पछिल्लो अवस्थाबारे समीक्षा गरिरहेको र केन्द्रीय कार्यसमिति बैठकमा औपचारिक रूपमा यसबारे छलफल हुने बताए। “केही विषयमा हामीले समीक्षा गरेका छौँ, केहीमा अझैँ समीक्षा गरौँला। पार्टीको बैठक पनि आउँदै छ, त्यसमा मेरो कुरा राख्नेछु,” उनले भने।

कांग्रेसमा देउवा समूहको पकड १४ औँ महाधिवेशन र त्यसयताका घटनाक्रम केलाउँदा प्रष्ट हुन्छ। १४ औँ महाधिवेशनमा देउवा समूह भत्काउन सभापतिको उम्मेदवार बनेका प्रकाशमान सिंह र निधि दोस्रो चरणमा देउवाकै समर्थनमा लागेका थिए। पहिलो चरणको निर्वाचनमा देउवा जितका लागि आवश्यक मतभन्दा ८१ मतले पछाडि थिए। सिंह र निधि दुवैले दोस्रो चरणको निर्वाचन भए शेखर कोइरालालाई सघाउने सार्वजनिक रूपमै बताएका थिए। तर, अन्तिम समयमा दुवैले देउवालाई साथ दिए।

सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले त आफ्नो समूहका नेताहरूलाई महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको उम्मेदवार बनाएर देउवा समूहमै विलय गराए। उनको समूहबाट महामन्त्रीमा भिडेका प्रदीप पौडेल पराजित भए। मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पौडेल शेखर–गगन थापा समूहमा खुलेका छन्। प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा पनि शेखर–गगन समूहमै जोडिएका छन्।

महाधिवेशनमा निर्वाचित १३ पदाधिकारीमध्ये १ उपसभापति, २ महामन्त्री र २ सह–महामन्त्रीबाहेक सबै देउवा समूहका थिए। केन्द्रीय कार्यसमितिमा देउवाको पकड झन् बलियो छ।

राष्ट्रिय राजनीतिमा नेतृत्व र गुटकै कारण कांग्रेसले एकपछि अर्को असफलता हात पारे पनि देउवा समूह बलियो बन्दै जानुमा आफूहरूको समेत कमजोरी रहेको उपसभापति एवं शेखर–गगन समूहका नेता धनराज गुरुङ बताउँछन्। आफ्नो समूहमा बेला–बेलामा देखिइरहने विचलनले देउवा समूहलाई बलियो बन्न मद्दत मिलेको उल्लेख गर्दै गुरुङ भन्छन्, “नेतृत्व परिवर्तन वा रूपान्तरण आवश्यक छ, तर हाम्रै समूहका केही साथीहरूमा कहिलेकाहीँ ज्यादा महत्वाकांक्षा देखिन्छ। त्यसलाई पूरा गर्न शक्तिको पछि लाग्ने चलन छ। त्यसैले हाम्रो शक्ति निर्णायक बन्न सकेको छैन।”

शेखर–गगन समूहकै नेता अर्जुननरसिंह केसी भने कुन गुट भन्दा पनि कसका कारण पार्टी कमजोर बन्यो भन्ने हेक्का राख्नुपर्ने बताउँछन्। “देउवा गुटका कारण समग्र कांग्रेसले नै विषम परिस्थितिको सामना गर्नुपर्ने भयो। यसको जिम्मेवारी देउवाले लिनुपर्छ र उनले माफी माग्नुपर्छ,” केसीले भने।

विश्लेषक आचार्य भने कांग्रेसमा देउवाको समूह बलियो बन्नुमा देउवाकै चतुर्‍याइँलाई प्रमुख कारण मान्छन्। “देउवाको गुटमा रहिरहँदा पार्टी या देश नचले पनि नेताको जीवन चलिरहेको छ। त्यसैले यो गुट कमजोर बन्न कठिन छ,” आचार्यले भने।

कांग्रेसमा संस्थापनइतर समूहले माओवादीलगायत दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जान नहुने अडान लिएको थियो। तर, देउवाको निर्णयसामु उनीहरूको जोर चलेन। निर्वाचनपछि माओवादी कांग्रेस नेतृत्वको गठबन्धनबाटै अलग्गिँदा कांग्रेस सबैतिर सत्ताबाट बाहिरियो। के देउवा समूहका नेताहरू पछिल्ला घटनाक्रमबाट पार्टीलाई हानि पुगेको ठान्दैनन्? नाम उल्लेख गर्न नचाहने देउवा समूहका एक पदाधिकारीले भने, “हामीले दिएको सुझावप्रति सभापति गम्भीर नहुँदा यसपटक केन्द्रदेखि प्रदेशसम्मका सरकार गुमायौँ। शेरबहादुर दाइका कतिपय निर्णय र काम हामीलाई पनि चित्त बुझ्दैनन्। तर, वर्षौंसम्म यही गुटमा रहेपछि अन्त जानेभन्दा यसभित्रै रहेर संघर्ष गर्नुपर्छ भन्ने ठम्याइमा पुगेका छौँ।”

नीति महाधिवेशनबाट दबाब बढाउने प्रयास
माओवादीसँगको गठबन्धन भत्किएसँगै कांग्रेसमा नीति महाधिवेशन गर्नुपर्ने माग उठ्न थालेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस १७ गते संयुक्त विज्ञप्तिमार्फत पार्टीको नीति र कार्ययोजना स्पष्ट पार्न आसन्न केन्द्रीय समिति बैठकबाट नीति महाधिवेशनको मिति तोक्न आग्रह गरे। यस्तो माग हुन थालेपछि देउवा समूहकै नेताहरू पनि महाधिवेशनका पक्षमा देखिन थालेका छन्। तर, देउवा भने आफ्नो आलोचनालाई ठाउँ नदिन तत्काल नीति महाधिवेशन बोलाउने पक्षमा छैनन्। “सभापतिले पहिले सबै परिस्थितिबारे बताउने र नेताहरूको बुझाई सुन्ने योजना बनाउनुभएको छ, त्यसपछि मात्र नीति महाधिवेशनको कुरा आउला। त्यसमा हतार गर्नुपर्ने आवश्यकता पनि छैन”, देउवानिकट एक कांग्रेस नेताले भने।

कांग्रेसले गत वर्ष १४औँ महाधिवेशन गर्दा विचारका कुरा नीति महाधिवेशनबाट टुंगो लगाउने भन्दै नेतृत्व चयनका लागि मात्र महाधिवेशन गरेको थियो। “नीति महाधिवेशनले कांग्रेस कसरी अघि बढ्ने भन्ने स्पष्ट खाका तयार गर्छ। त्यसैले नीति महाधिवेशन गर्न ढिला गर्नुहुन्न। यो महाधिवेशनलाई लिएर नेतृत्व डराउनुपर्ने कारण पनि देख्दिन”, उपसभापति गुरुङले भने।


सम्बन्धित सामग्री