Friday, March 29, 2024

-->

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’

दुई दशक अगाडिसम्म सुनसान गाउँ रहेको खौलारा अहिले बजार बनेको छ। मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गएपछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन्।

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’
तस्वीर : रासस

ढोरपाटन– “विकास हुन धेरै समय लाग्दो नलाग्दाे रहेछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पना गरेका थिएनौँ”, बढिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दंग छन्। 

दुई दशक अगाडिसम्म सुनसान गाउँ रहेको खौलारा अहिले बजार बनेको छ। मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गएपछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन्। २३ वर्ष अगाडि लोकमार्गको ट्रयाक खुले पनि एक दशक अगाडिसम्म बस्ती विस्तार भएको थिएन। अहिले बजार बनेको यो ठाउँमा स्थानीयले धान, गहुँ, तोरीलगायतका खाद्य बाली उत्पादन गरेर जीवन चलाउथे। पाँच वर्ष अगाडि जब लोकमार्ग कालोपत्रे भयो तब यहाँ तीव्र रूपमा बजार विस्तार भयो। अहिले खौलाराको चारैतिर ठुला–ठुला घर भवन निर्माण भइरहेका छन्।

बजार विस्तार हुँदा खुसी लागेको चूडामणि बताउँछन्। लोकमार्गले जोडिएपछि यो ठाउँको मुहार फेरिएको उनले बताए। सडकले नजोडिँदा चार/पाँच वटामात्रै घर थिए। अब  नुन बोक्न बुटवल जानै नपर्ने उनको भनाइ छ। “खौलारामा धेरै राम्रो धान फल्थ्यो, समथर ठाउँ थियो, यो गाउँका मान्छेले यही धान, गहुँ उत्पादन गरेर जीविका चलाउथे, अहिले मोटर गाडी आए, धान फल्ने ठाउँमा बजार बन्यो, गाडी गुड्छन्, पहिले र अहिलेको खौलारामा आकाश पातल फरक छ”, घिमिरेले भने, “खेती मासियो, घर भवन ठडिए, दिनदिनै घर बनेका छन्, पछिपछि त यहाँ खाली ठाउँ देख्नै पाइन्न होला।”

सडक नआउँदा घण्टौँ यात्रा गरेर दैनिक उपभोग्य सामान ढुवानी गर्ने स्थानीयले घरै अगाडि सबै सामान किनमेल गर्न पाएका छन्। सामान्य कामका लागि गाउँ छाडेर टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको उनले सुनाए। “हाम्रो पालामा सामान्य नुन, तेल किन्न पनि बटौली (बुटवल) जानुपर्थ्यो, लत्ताकपडादेखि आवश्यक पर्ने सामान यहाँ पाइँदैनथ्यो, अहिले घरबाट बाहिर निस्किए बजार देखिन्छ, चाहिएको सामान सबै यहीँ पाइन्छ”, उनले भने।

स्थानीय देवीराम खरेलले लोकमार्गका कारण यो ठाउँसँगै स्थानीयको जनजीवन परिवर्तन भएको बताए। सडक नआउँदा सामान्य कामका लागि हप्ता दिन हिँडेर सदरमुकाम बागलुङ बजार पुग्ने गरेको तर अहिले तीन घण्टामै पुग्न सकिने खरेलले बताए। सडकले नागरिकको जीवन सरल र सहज बनाउँदै गएको खरेलको भनाइ छ। 

“सडक नआउँदा यहाँका जनताले धेरै सास्ती खेप्नुपरेको थियो, मान्छे बिरामी परेपछि डोकोमा बोकेर लैजानुपर्थ्यो। सडकले धेरै कुरामा सहजता ल्याएको छ, पहिलेजस्तो सास्ती खेप्नुपर्ने अवस्था छैन”, उनले भने, “बिरामी परियो भने पनि गाडीमै एक छिनमा उपचार गर्न सकिन्छ। पहिलेको जस्तो उपचार नपाएर अकालमा मर्नुपर्ने अवस्था छैन।” 

बडिगाडको सबै ठाउँ सडकले जोडिएकाले यहाँ उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सहज भएको उनको भनाइ छ। अहिले लोकमार्ग छेउछाउका जग्गामा धमाधम बस्ती विस्तार भइरहेको छ। बस्ती बढ्दै जाँदा सडक छेउका जग्गाको मूल्य आकासिँदै गएको छ। सडक नआउँदा बाँझै रहेका जग्गा घडेरीमा परिणत भएको घिमिरेले सुनाए। 

“सडकले स्थानीयलाई व्यावसायिक पनि बनाएको छ। गाउँमा उत्पादन हुने तरकारी तथा फलफूल निःशुल्क बाँड्ने चलन थियो। अहिले बजारसम्म ल्याएर थोरै भए पनि पैसा पार्ने बानी बस्दै छ”, उनले भने, “अहिले त लोकमार्गले छोएको जग्गा खाली छैनन्, कहीँ ठाउँ घर बने, कतै बन्दै छन्। लारामा सानादेखि ठुला–ठुला भवनले खाली ठाउँ ढाकिन थालेका छन्।”

बढिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बजारलाई व्यवस्थित रूपमा विकास गर्न गाउँपालिकाले योजना बनाएको बताइन्। अब यहाँ कुनै पनि घर भवन मापदण्ड विपरीत नबन्ने उनको भनाइ छ। “यो बढिगाड गाउँपालिकाको मुख्य बजार हो, समथर र ठुलो भूगोल हुँदा यहाँ बस्ती विस्तार हुँदै छ र भविष्यमा जिल्लाकै ठुलो बजार हुने देखिन्छ, पछि अस्तव्यस्त बजार हुन नदिन हामीले अहिलेदेखि नै एउटा मापदण्ड बनाएर घर भवन निर्माण गर्ने कार्यविधि बनाएका छौँ, खौलारासँगै लोकमार्गले जोडिएका अन्य क्षेत्रमा बस्ती विस्तार भइरहेको छ, ती ठाउँमा घर भवन निर्माण गर्दा मापदण्ड पालना गर्नुपर्ने छ”, उनले भनिन्। 

अध्यक्ष अधिकारीले बजारमा ढल, फोहोर व्यवस्थापनका, सिसी क्यामेरा र सोलार बत्ती जडान गर्ने योजना रहेको जानकारी दिइन्। “जिल्लाका धेरै बजारमा पहिले योजना नबनाउँदा अहिले धेरै समस्या आएको पाइन्छ, त्यसले गर्दा हामीले यहाँको सौन्दर्यीकरण, फोहोर व्यवस्थापन, कसरी ढल व्यवस्थापन गर्न सकिन्छ भनेर अध्ययन गरी सकेका छौँ। 

अहिले बनाएको योजनाले दशकौँ वर्षपछिको बजार व्यवस्थापनलाई सहज बनाओस् भन्ने हाम्रो चाहना छ”, उनले भने। योसँगै खर्बाङ, न्वारा, खारा, भिमगिठेलगायत लोकमार्गले जोडिएका स्थानमा सिसी टिभी, सोलार बत्ती जडान गर्ने बताए। यी ठाउँको सौन्दर्यीकरणका लागि आवश्यक तयारी गरिरहेको अध्यक्ष अधिकारीको भनाइ छ।


सम्बन्धित सामग्री