Thursday, April 25, 2024

-->

अग्नि सापकोटादेखि ओनसरी घर्तीसम्म : यी हुन् माओवादीमा उपराष्ट्रपतिका आकांक्षी

सत्तागठबन्धनमा भएको सहमतिअनुसार माओवादीको भागमा परेको उपराष्ट्रपति बन्न सर्वोच्चमा मुद्दा खेपिरहेका पूर्वसभामुख अग्नि सापकोटादेखि अरू थुप्रै नेताले जोडबल लगाइरहेका छन्।

अग्नि सापकोटादेखि ओनसरी घर्तीसम्म  यी हुन् माओवादीमा उपराष्ट्रपतिका आकांक्षी

काठमाडौँ– प्रधानमन्त्री बनेको एक सातापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभाका सदस्यहरूको निर्वाचन तयारी अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन्। सोमबार आयोगका पदाधिकारीहरूसँग गरेको छलफलमा दाहालले यस्तो आग्रह गरेका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आइसकेपछि राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्नुपर्ने छ भने राष्ट्रियसभामा रिक्त भएका वा रिक्त हुँदै गरेका पदपूर्ति गर्नुपर्ने छ। दाहालले सोमबार आयोगका पदाधिकारीहरूलाई यससम्बन्धी निर्वाचन प्रक्रियामा ढिलाइ नगर्नसमेत आग्रह गरेका छन्।

गत पुस १० गते विकसित नाटकीय राजनीतिक घटनाक्रमबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बनेसँगै प्रमुख पदहरूमा सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेसँग साझेदारी गर्ने सहमति भएको थियो। जसअनुसार राष्ट्रपति एमालेबाट बन्ने, प्रधानमन्त्रीमा माओवादी र एमालेबीच आलोपालो गर्ने, उपराष्ट्रपति माओवादीको भागमा पर्ने र सभामुखमा एमाले–माओवादीले आलोपालो गर्ने सहमति भएको थियो।

एमालेले राष्ट्रपतिमा कसलाई अगाडि सार्छ भन्ने टुंगो लागिसकेको छैन। माओवादीमा भने उपराष्ट्रपति बन्न नेताहरूबीच तँछाडमछाड देखिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिन अझै दुई महिना बाँकी छ। राष्ट्रपतिको कार्यकाल फागुन २९ र उपराष्ट्रपतिको चैत ४ मा सकिँदै छ। समय बाँकी रहँदै दाहाल यी पदहरूमा निर्वाचन गर्न किन हतारिए? जानकारहरूका अनुसार सत्ता गठबन्धनमा समस्या पैदा हुनसक्ने आकलन गरेर दाहाल यी पदबारे चाँडै टुंगोमा पुग्न चाहन्छन्। दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरिसकेका छन्। विश्वासको मत लिएसँगै राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा निर्वाचन गरिसक्ने उनको योजना छ।

आफ्नो पार्टी, माओवादीभित्र उपराष्ट्रपति बन्न चाहने नेताहरूको जोडबलले पनि दाहाललाई यो विषय छिटै टुंग्याउनुपर्ने निष्कर्षमा पुर्‍याएको बताइन्छ। माओवादीका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री भएयता दाहालले अधिकांश सरकारी काम सिंहदरबारबाट गर्दै आएका छन्। तर, बिहान या साँझ दाहालको सरकारी निवास बालुवाटारमा भेट्न आउने नेता र कार्यकर्ताको भीडमा उपराष्ट्रपतिका आकांक्षी पनि देखिने गरेको उनको भनाइ छ। “पार्टीमा मन्त्री बन्न नेताहरूले जसरी लबिइङ शुरू गरेका छन्, उस्तै अनुपातमा उपराष्ट्रपति बन्नलाई पनि नेताहरूको दौडधुप शुरू भएको छ”, ती पदाधिकारीले भने।

उपराष्ट्रपतिका आकांक्षीहरू
माओवादीमा यस पटकको निर्वाचनमा उम्मेदवार नबनेका पूर्वसभामुखद्वय अग्निप्रसाद सापकोटा र कृष्णबहादुर महरा उपराष्ट्रपतिका प्रमुख आकांक्षी हुन्। सापकोटा त माओवादीको भागमा राष्ट्रपति पर्ने अवस्थामा राष्ट्रपतिकै आकांक्षी थिए। तर, सत्ता समीकरणमा भएको फेरबदलसँगै राष्ट्रपति एमालेको भागमा पर्‍यो। त्यसपछि उनले आफू उपराष्ट्रपति बन्नुपर्ने दबाब दिइरहेको दाहालनिकट एक स्थायी समिति सदस्यले उकालोलाई बताए।

सापकोटाले यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका थिए। उनको त्यो निर्णयका पछाडि उनलाई नै राष्ट्रपति वा उपराष्ट्रपति बनाउने दाहालको योजनाले काम गरेको चर्चा माओवादीमा छ। त्यसको रोचक कारण छ। ती स्थायी समिति सदस्यले भने, “अग्नि कमरेडमाथि सर्वोच्चमा मुद्दा छ। त्यसबाट जोगिन उहाँ संवैधानिक पदमा जान खोजिरहनुभएको छ। अब उपराष्ट्रपति बन्ने उहाँको प्रमुख आकांक्षा हो। तर, आकांक्षाी उहाँ मात्रै हुनुहुन्न”

सर्वोच्च अदालतमा सापकोटाविरुद्ध व्यक्ति–हत्या र अदालतको अवहेलनासम्बन्धी मुद्दा विचाराधीन छन्। सापकोटासमेत संलग्न भएर आफ्नो श्रीमान‍्को हत्या भएको दाबीसहित सिन्धुपाल्चोककी पूर्णीमाया लामाले २०६९ मंसिर ७ गते सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

तर, सापकोटाले ‘तपाईं उपराष्ट्रपतिको आकांक्षी हो?’ भन्ने प्रश्नमा स्पष्ट जवाफ दिएनन्। उनले भने, “यो विषयमा तपाईंसँग अहिले कुरा गर्दिनँ। एक दुई दिनपछि मात्रै कुरा गर्छु।”

माओवादीभित्र सापकोटा दाहालका विश्वासपात्रमध्ये पर्छन्। उनलाई सभामुख बनाउन दाहालकै मुख्य जोडबल थियो। तत्कालीन नेकपामा अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत दाहालकै जोडबलमा सापकोटा सभामुख बन्न सफल भएका थिए।

पूर्वसभामुख सापकोटाले उपराष्ट्रपति बन्न दौडधुप बढाएका बेला दाहालनिकट मानिने अर्का नेता, पूर्वसभामुख कृष्णबहादुर महराले पनि आफू नै उपराष्ट्रपति हुनुपर्ने भन्दै दाहालमाथि दबाब बढाएका छन्। दाहालले महरालाई पनि यसपालिको निर्वाचनमा उम्मेदवार नबनाइ कुनै पद दिने आश्वासन दिएका थिए। बलात्कारको अभियोग लागेपछि सभामुखको पद गुमाएका महराले २०७८ साउन १२ गते अभियोग प्रमाणित नभएपछि उच्च अदालतबाट सफाइ पाएका थिए। सभामुख रहेका बेला संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराविरुद्ध बलात्कार प्रयास गरेको भन्दै उजुरी दर्ता गराएकी थिइन्। २०७६ फागुन ५ गते जिल्ला अदालतले महरालाई सफाइ दिएको थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकार उच्च अदालत पाटन पुगेको थियो। महराले अदालतबाट सफाइ पाए पनि त्यही कुरा उठेर महरा पराजित हुनसक्ने आकलन गरेर दाहालले उनलाई टिकट दिएका थिएनन्। बरु निर्वाचनपछि आफ्नो पार्टी सरकारमा गएमा या सरकारको नेतृत्व गरेमा कुनै न कुनै पद दिलाउने आश्वासन महरालाई दिएका थिए। त्यहीकारण महराले यसपटक आफू उपराष्ट्रपति हुनुपर्ने माग दाहालसँग गरेको माओवादीका एक स्थायी कमिटी सदस्यले बताए।

तर, हामीले प्रतिक्रिया लिन खोज्दा सापकोटाजस्तै महरा पनि यसबारे बोल्न चाहेनन्। 

माओवादीमा सापकोटा र महरा मात्र होइन, यसपालिको निर्वाचनमा उम्मेदवार नबनेका वा टिकट नपाएका दिननाथ शर्मा, हरिबोल गजुरेल, एनके प्रसाईं, लीलामणि पोखरेल, गणेश शाहलगायत समेत उपराष्ट्रपतिका आकांक्षीका रूपमा देखा परेका छन्। प्रसाईंले त माओवादीको पदाधिकारी बैठकमै आफूलाई उपराष्ट्रपति बनाउनुपर्ने माग गरेका थिए। “मैले पार्टी निर्माणमा लामै समय खर्च गरेँ। अब मलाई उपराष्ट्रपति बनाएर प्रेरित गर्नुहोस्”, बैठकमा दाहाललाई प्रसाईंले भनेका थिए।

माओवादीमा उपराष्ट्रपति बन्न पुरुष नेताहरूले जति दौडधुप बढाएका छन्, त्यसको तुलनामा महिला नेतामा भने सक्रियता देखिएको छैन। तर, पूर्वसभामुख ओनसरी घर्तीमगर, पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र पूर्वमन्त्री जयपुरी घर्तीले आफूहरू पनि उपराष्ट्रपतिका लागि योग्य रहेको खबर दाहाललाई पुर्‍याएका छन्। 

माओवादीबाट महिला उपराष्ट्रपति बनाउनुपर्ने अवस्था आए मात्र आफूहरूको पालो आउने भएकाले हतार गर्नुहुन्न भन्ने उनीहरूको बुझाइ देखिन्छ। राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ। एमालेले पुरुषलाई राष्ट्रपति बनाएमा मात्र माओवादीले महिला या फरक समुदायबाट उपराष्ट्रपति बनाउनुपर्ने हुन्छ।

तर, माओवादीमा वर्षौँदेखि दाहाल नै निर्णय प्रक्रियामा हाबी छन्। यो अवस्थामा महिला वा फरक समुदायमध्येका कसलाई उपराष्ट्रपति बनाउने भन्ने निर्णय दाहालले नै गर्ने देखिन्छ। माओवादीका एक केन्द्रीय कमिटी सदस्यले दाहालले पार्टीबाट महिलालाई उपराष्ट्रपति बनाउन चाहेमा उनको रोजाइमा सभामुख भइसकेकी ओनसरी घर्तीमगर पर्ने दाबी गरे। त्यसपछि मात्रै पूर्णाकुमारी सुवेदी या जयपुरी घर्तीमगरलाई उपराष्ट्रपतिमा छान्ने तयारी दाहालले गरेको ती केन्द्रीय कमिटी सदस्यले बताए।

एमालेमा राष्ट्रपतिभन्दा सभामखुको दौडधुप
माओवादीमा उपराष्ट्रपतिका लागि तीव्र बनेको दौडमा एमालेले पुरुष या महिला कसलाई राष्ट्रपतिमा अगाडि सार्ला भन्ने प्रश्न निर्णायक देखिन्छ। तर, एमालेमा अहिलेसम्म राष्ट्रपतिका लागि पहल अगाडि बढेको देखिँदैन। आकांक्षीहरू धेरै भए पनि उनीहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष मुख खोल्न सकेका छैनन्। त्यसकारण ओलीले जसलाई चाहन्छन्, उही राष्ट्रपति बन्ने निश्चितजस्तै छ।

एमालेमा बरु प्रतिनिधिसभाको सभामुखलाई लिएर दौडधुप शुरू भएको छ। दाहाललाई प्रधानमन्त्री बनाउँदा एमाले र माओवादीले आधा–आधा कार्यकाल सभामुख चलाउने, शुरूमा एमालेबाट सभामुख बन्ने सहमति भएको थियो।

पुस २५ गते प्रतिनिधिसभाको अधिवेशन शुरू हुँदैछ। त्यसको भोलिपल्ट प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी छ। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मालगायत सभामुखको आकांक्षी देखिएका छन्। तर, नेताहरूमा आकांक्षा देखिए पनि सभामुख को बन्ने भन्ने पनि ओलीकै निर्णयमा निर्भर रहने देखिन्छ।


सम्बन्धित सामग्री