Friday, April 19, 2024

-->

वीरगन्जको इनर्वा नाका व्यापारको लागि बन्द, अब सबै कार्गो आईसीपीबाट

वीरगन्जको इनर्वास्थित साबिक भन्सार नाका भएर हुने आयातनिर्यात आइतबारबाट बन्द भएपछि अब एकीकृत जाँचचौकी (इन्टीग्रेटेड चेक पोस्ट) ‘आईसीपी’बाट मात्रै आयातनिर्यात हुने भएको छ।

वीरगन्जको इनर्वा नाका व्यापारको लागि बन्द अब सबै कार्गो आईसीपीबाट

काठमाडौँ- वीरगन्जको इनर्वास्थित साबिक भन्सार नाका भएर हुने आयातनिर्यात आइतबारबाट बन्द भएको छ। 

वीरगन्जमा इनर्वा र एकीकृत जाँचचौकी (इन्टीग्रेटेड चेक पोस्ट) ‘आईसीपी’ गरी दुई ठाउँबाट भन्सार सञ्चालित हुँदै आएको थियो। अब भने आईसीपी नाकाबाट मात्रै आयातनिर्यात हुने भएको हो। 

भारत र नेपाल दुवैतर्फका भन्सार अधिकारीहरूले आईसीपी नाका पूर्णरूपमा सञ्चालन गर्ने तयारी पूरा गरेपछि आइतबारदेखि इनर्वा भन्सारबाट कार्गो बन्द भएको हो। 

पटनास्थित भारतीय भन्सार प्रमुख आयुक्तको कार्यालय र वीरगन्ज भन्सार कार्यालयले पत्र जारी गर्दै आइतबार (१  जनवरी, २०२३) देखि आईसीपी भएर मात्र आयातनिर्यातका गतिविधि गर्न सबै सरोकारवालालाई आग्रह गरिएको हो। 

आईसीपी नाकालाई पूर्णरूपमा सञ्चालनमा ल्याउने योजनाअनुसार अब वीरगन्ज भन्सार आईसीपीबाट मात्रै सञ्चालन गरिने वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता डिल्लीराज सुवेदीले जानकारी दिए।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेको बेला उनी र भारतीय समकक्षी नरेन्द्र मोदीले अनलाइनमार्फत आईसीपी नाका उद्घाटन गरेका थिए। त्यसपछि वीरगन्ज भन्सार कार्यालयबाट हुने आयात निर्यात सम्बन्धी सहजीकरण साबिक नाकाबाट आईसीपीतिर सारिएका थिए।  

रक्सौलस्थित रेल्वे यार्डमा आउने डस्टी कार्गो भनिने अन्य केही मालवस्तु भने ३१ डिसेम्बर २०२२ (शनिबार) सम्म साबिक नाका भएर आउने गरेकोमा अब भने सबै प्रकारका मालवस्तुको आयातनिर्यात आईसीपीबाटै हुनेछ। 

वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता सुवेदीका अनुसार रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी) को डिपोबाट आउने पेट्रोलियम पदार्थ, रक्सौल रेल्वे यार्डमा अनलोड हुने ‘डस्टी कार्गो’ भनिने कोइला, जिप्सम, फलाम लगायतका समान र छिटो छरितो लैजानुपर्ने माछा तथा फलफूल र तरकारीजस्ता समान साबिक इनर्वा नाका भएर आउने गरेको थिए। अब यी वस्तुहरू पनि आईसीपी नाका भएर आयत हुनेछन्। 

यद्यपि, डस्टी कार्गो भनिने मालवस्तु आईसीपीतिर लैजान अव्यावहारिक भएको भन्दै वीरगन्जका उद्योगी व्यापारीले साबिक नाकाबाट नै यसको कारोबार हुनुपर्ने बताउँदै आएका छन्। 

नेपालका लागि आयात भई रक्सौल रेल्वे साइडिङ्गमा डस्टी कार्गोको स्वरूपमा आउने औद्योगिक कच्चा पदार्थहरू रक्सौल भन्सारबाट मैत्री पुल हुँदै साबिक इनर्वा भन्सार नाकाबाट आयात हुँदै आएकोमा अब भने रेल्वे यार्डमा आउने समान रक्सौल बजार हुँदै लक्ष्मीपुर फिर्ता लगेर त्यहाँबाट बाइपास हुँदै पुनः नेपालतर्फ आईसीपीबाट आउने छ। 

यसो गर्दा समय र लागत कयौँ गुणा बढ्ने भएकोले आयातकर्ताहरू मर्कामा पर्ने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताए। “आईसीपी पूर्ण रूपमा सञ्चालनमा आउनु स्वागतयोग्य छ, त्यहाँबाट आयात निर्यात गर्न उद्योगी व्यापारीलाई कुनै असहमति छैन”, गुप्ताले भने, “त्यसको लागि पूर्वाधार त हुनु पर्‍यो नि!” 

रक्सौल बाइपासमा पहिलेदेखि जामको समस्या रहेको, रेल यार्ड र बाइपास जोड्ने बाटो साँघुरो भएको, ठूला सवारीको चाप थेग्न नसक्ने र बस्तीको बीचबाट जाने भएकोले त्यहाँ भएर जान समस्या रहेको गुप्ताको भनाई छ। 

आईसीपी जोड्ने बाइपास ६ लेन, बाइपाससँग रेल यार्ड जोड्ने बाटो ४ लेन र बाइपास सडकमा बनिरहेको ओभर ब्रिजको निर्माण पूरा भएपछि मात्र रेल्वेबाट रक्सौल आउने डस्टी कार्गोलाई त्यो बाटो भएर ल्याउन मिल्ने उनको दाबी छ। 

व्यावहारिक कठिनाइले आइतबारदेखि कार्यान्वयन गराउन खोजिएको व्यवस्था लागू हुनेमा समेत संशय रहेको गुप्ताले बताए।  

विकल्प वीरगन्ज सुक्खा बन्दरगाह
सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले रक्सौलमा आउने डस्टी कार्गो भित्र्याउन संरचना तयार रहेको जनाएको छ। 

त्यहाँबाट सिमेन्ट बनाउन प्रयोग हुने जिप्सम तथा स्लेग, औद्योगिक इन्धनको रूपमा प्रयोग हुने पत्थर कोइला, फलाम उद्योगको कच्चा पदार्थ आइरन ओरजस्ता डस्टी कार्गो श्रेणीका औद्योगिक समान पनि आयात हुने गरेको छ । त्यस्तै, नुन, चिनी, मल, अन्य औद्योगिक फलामजस्ता वस्तु पनि त्यहाँ भएर आउने गरेका छन्। 

“रक्सौलमा रेलबाट आउने कार्गोलाई ह्याण्डिल गर्नसक्ने किसिमले पूर्वाधार निर्माण भइसकेको छ, आयातकर्ताहरूले सुक्खा बन्दरगाह भएर आयात गरे त्यसको व्यवस्थापन गर्न हामीलाई समस्या छैन”, कम्पनीका उच्च अधिकारी बी मोहनले भने, “नेपालसँग सुक्खा बन्दरगाहजस्तो भरपर्दो विकल्प छ, यसको उपयोग गर्न सक्नुपर्‍यो।” 

रक्सौलमा महिनाको ३० देखि ३५ रेकसम्म कार्गो आउने गरेका छन्। गुप्ताले उक्त अनुपातको थप कार्गो सुक्खा बन्दरगाहले व्यवस्थित गर्न सक्नेमा आफूहरूको सन्देह रहेको बताए। 

उनले सुक्खा बन्दरगाह नेपाली आयातकर्ताको लागि उत्तम विकल्प भएपनि त्यहाँ पर्याप्त ठाउँ नभएको दाबी गरे। ह्याण्डलिङ शुल्क पनि रक्सौलभन्दा सुक्खा बन्दरगाहमा महँगो पर्ने उनको भनाइ छ।


सम्बन्धित सामग्री