Friday, April 19, 2024

-->

गठबन्धन भत्किएपछि के गर्दैछ कांग्रेस?

सत्ताबाट बाहिरिएको कांग्रेसको संस्थापन पक्षले गठबन्धन भत्काउन पार्टीकै इतर पक्ष लागेको आरोप लगाइरहँदा इतर समूहका केही नेताले भने सभापति शेरबहादुर देउवाको राजीनामा माग गरेका छन्।

गठबन्धन भत्किएपछि के गर्दैछ कांग्रेस

काठमाडौँ– निर्वाचनताकाको सत्ता गठबन्धन भत्किएपछि नेपाली कांग्रेसका संस्थापन र इतर समूह अहिले अनौपचारिक छलफलमा छन्। संस्थापनइतर समूहको बैठक बुधबार नेता शेखर कोइरालाको निवासमा बसेको थियो। 

बैठकमा पछिल्लो राजनीतिक घटनाबारे छलफल भएको एक नेताले बताए। यो समूहका गुरुराज घिमिरेलगायत केही नेताले सभापति शेरबहादुर देउवा असफल भएको भन्दै राजीनामा दिनुपर्ने माग गरिरहेका छन्।

गठबन्धन बिथोलिनु र ठूलो दल भएर पनि सरकार बनाउन नपाउनु कांग्रेसका लागि ‘दुर्घटना’ भएको युवा नेता शंकर तिवारी बताउँछन्। निर्वाचनलगत्तै संसद्को सबभन्दा ठूलो दल प्रतिपक्षमा बस्नु लोकतन्त्रकै अनौठो घटना भएको उनको भनाइ छ। 

संस्थापन समूहले भने समूहगत भेला गरेको छैन। सभापति शेरबहादुर देउवाले बुधबार नै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन्। सभापतिले प्रधानमन्त्री निवास छाड्नुपर्ने कारण उनीसँग राजनीतिक छलफल नभएको एक नेताले बताए। कांग्रेसले केन्द्रीय समिति बैठक पुस २२ का लागि बोलाएको छ।

देउवा निकट केन्द्रीय सदस्य रमेश रिजालले पार्टीभित्र समीक्षा भइरहेको बताए। कम्युनिष्ट ध्रुबीकरण अप्रत्याशित होइन भन्नेमा पार्टीभित्र एकमत रहेको उनको भनाइ छ।

तत्कालीन गठबन्धनका अन्तिम दुई घण्टा
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दाबी पेश गर्नका लागि पुस १० गते साँझ ५ बजेसम्मको समय दिएकी थिइन्। सरकार निर्माणको लागि तत्कालीन सत्ता गठबन्धनभित्र चलिरहेको छलफलबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० दिउँसो करिब १ बजे बाहिरिएका थिए। त्यसपछि उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेका थिए। उनी बालुवाटारबाट बाहिरिएको दुई घण्टामा नै सरकार बनाउन नयाँ गठबनधन बनेको थियो। 

तर, कांग्रेस नेता भने नयाँ गठबन्धन दुई घन्टामा नै नबनेको र यो केही हप्तादेखिको कसरत भएको दाबी गर्छन्। प्रचण्डले नयाँ सरकार गठनमा छलफल गरेझैँ गरेर कांग्रेस सभापति देउवालाई अल्मल्याएको केन्द्रीय सदस्य अजय चौरसियाको दाबी छ।

“यता प्रचण्ड हाम्रो सभापतिसँग सरकार निर्माणको लागि विभिन्न चरणमा छलफल गरेजस्तो गरिरहने र उता उनका दोस्रो तहका नेताहरू एमालेसँग सरकार बनाउने गृहकार्य गर्ने काम भयो”, चौरसियाले भने, “कम्युनिष्ट ध्रुवीकरण हुने सम्भावना पहिलेदेखि नै आकलन गरिएको थियो, कम्युनिष्टहरूको वास्तविक चरित्र यही हो।” अबको समय कांग्रेसले संगठन निर्माणमा खर्चिनुपर्ने उनले बताए। 

अर्का केन्द्रीय सदस्य रिजालले पार्टी सभापति देउवा प्रधानमन्त्री पद दिन तयार भइसकेको अवस्थामा प्रचण्ड एमालेसँग मिल्न गएको दाबी गरे। “हामी विश्वस्त छौँ, कांग्रेसले प्रधानमन्त्री प्रचण्डका लागि छोड्न शुरूमै मानेको भए पनि गठबन्धन टिक्नेवाला थिएन। माओवादीको दोस्रो तहका नेताहरूले प्रचण्डलाई एमालेसँग मिल्न दबाबमा पारिसकेका थिए। केपी ओलीले ‘अब ढिलो भयो’ भनेर प्रचण्डलाई भनेको कुरा कांग्रेसलाई गुमराह गर्नका लागि मात्र थियो”, उनले भने। 

वर्षमानको चीन यात्राको उपज!
माओवादी नेता वर्षमान पुनः उपचारको बहानामा चीन जानु र त्यहाँबाट फर्केर आएपछि वाम गठबन्धनको पहल हुनु संयोग मात्र नभएको युवा नेता तिवारी बताउँछन्। उनले पनि नयाँ गठबन्धनको कोशिश दुई हप्तादेखि भइरहेको दाबी गरे।

“वर्षमान पुनः बिरामी भएर चीन गएपछि केही न केही खिचडी पकाएर आएका थिए। देव गुरुङ लमजुङबाट आएपछि नयाँ गठबनधनमा जान दाबाब शुरू भएको थियो”, तिवारीले भने, “यसरी माओवादीका नेताहरूको अभिव्यक्ति आएपछि त्यसलाई चेक डाउन नगर्नु पार्टी सभापति देउवाको कमजोरी हो, उहाँले आफ्नो सम्पूर्ण इन्टेलिजेन्स पार्टीभित्रै खर्चिनु भयो।” 

माओवादी र एमालेका दोस्रो तहका नेताहरू पुन, गुरुङ, नारायणकाजी श्रेष्ठ, सुवास नेवाङ, शंकर पोखरेल, विष्णु पौडेललगायतले हप्तौँ अगाडिदेखि यसको गृहकार्य गरेको कांग्रेस नेताहरूको भनाइ छ। माओवादी नेता पुन चीन गएर फर्किएपछि नयाँ गठबन्धनको लागि वातावरण बनाउन जुटेको धेरैजसो कांग्रेस नेताहरूको तर्क छ।

कांग्रेसलाई राजनीतिक रूपमा घाटा
पार्टीलाई तत्काल राजनीतिक रूपमा नोक्सानी भए पनि ‘संविधानविरुद्धकै शक्ति प्रभाव’मा बनेको गठबन्धनले देशलाई नै हानी हुने केन्द्रीय सदस्य रिजाल बताउँछन्। “असंवैधानिक गतिविधि निस्तेज पार्नैका लागि शुरू भएको गठबन्धनका घटकहरू संविधान मिच्ने शक्तिसँग गएर मिल्नु भनेको सत्ताको प्राप्तिको विषय मात्र होइन, त्यसभन्दा ठूलो घटना हो”, रिजालले भने, “यसपछाडि देशभित्र र बाहिरका शक्तिहरूको चलखेल देखिन्छ।”

कांग्रेस ठूलो दल भएर पनि केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्नुपर्ने अवस्था पार्टी सभापति देउवाको अडानले मात्र नउब्जिएको उनको दाबी छ। “यो घटनाले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुख र अन्य संवैधानिक नियुक्तिमार्फत संविधानको व्यवस्थालाई ट्रयाकमा ल्याउने अवसर गुमेको छ”, रिजालले भने, “यसलाई यति मात्र बुझ्न भने हुँदैन। सरकारलाई एमाले अध्यक्ष ओलीको हातको कठपुतली बनाउने हर्कतहरू शुरू हुनेछ।” 

राजा फाल्ने प्रमुख घटक माओवादी, राजावादी राप्रपा र संघीयता विरोधी दल रास्वपा मिल्नु अस्वभाविक भएको उनी बताउँछन्। “हिजोसम्म एक अर्कालाई देख्न नसक्ने शक्ति एमाले र माओवादी अचानक मिलेका छन्। बारम्बार कित्ता फेर्ने जसपा पनि त्यहीँ छ”, रिजालले भने, “यसअघिको गठबन्धन राजनीतिक मुद्दामा केन्द्रित थियो। संविधान रक्षाको जुन मुद्दाले सहकार्यको आधार तय गरेको थियो, अहिले ती मुद्दामा नै प्रहार भयो।” 

पार्टी अब सदनभित्र शसक्त प्रतिपक्षको भुमिकामा रहने रिजालले बताए। दुई वर्षसम्म संसदभित्र कसरी प्रभावकारी भूमिका खेल्ने र पार्टी संगठनलाई कसरी सुदृढ बनाउने भन्नेतिर केन्द्रित हुने उनको भनाइ छ।

संस्थापन र इतर समूहको फरक निश्कर्ष
संस्थापन पक्षका नेता ‘निर्णायक’ घडीमा पार्टीका जिम्मेवार पदाधिकारीले नै असहयोग गरेको बताउँछन्। संस्थापन इतर पक्षले चुनावपछिको पार्टीको असफलतालाई सभापति शेरबहादुर देउवाको कमजोरीको रूपमा अर्थ्याइरहेका छन्। 

“वार्ता गर्दा सबैलाई समावेश गनुपर्ने महामन्त्री गगन थापाले भन्दाभन्दै पनि सभापतिले उपेक्षा गर्नुभयो। उहाँले पार्टी पदाधिकारी नभएका विश्वासपात्रहरूलाई प्रयोग गर्नुभयो”, युवा नेता तिवारीले भने, “गगनसँग नेगोसिएसन स्किल छ, वार्तामा उहाँको भूमिका प्रभावकारी हुन्छ। तर, सभापतिले उहाँको उपयोग नगर्दा सबै कुरा बिग्रियो।” देउवाले असफलताको जिम्मा लिनुपर्ने उनले बताए।

एमाले र माओवादीका दोस्रो तहका नेता आफ्नो पार्टी र नेतृत्वलाई मजबुत बनाउन कस्सिएको बेला कांग्रेसमा भने त्यस्तो भूमिकामा कोही पनि नदेखिएको केन्द्रीय सदस्य रिजालले बताए। “सभापतिले यो अवस्था ल्याउनुभयो भन्ने बुझाइ गलत हो। केन्द्रीय समितिले कांग्रेसकै नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको थियो। पार्टीभित्रबाट केही सांसदहरूले सरकारको नेतृत्व छोड्नु हुदैन भन्ने दबाव बढाएका थिए”, उनले भने, “यस्तो बेलामा उहाँले निर्णयका लागि समय मात्र लिन खोजेको हो, प्रधानमन्त्री छोडेर भए पनि गठबन्धन जोगाउने मनसायमा पुगिसक्नु भएको थियो। यस्तो क्रुसियल समयमा महामन्त्री पोखरा हिड्ने हो?” 

आफूले जिम्मेवारी नलिने र दोष सभापतिलाई दिने परिपाटीले कांग्रेसलाई फाइदा नपुग्ने उनले जिकिर गरे। निर्णायक घडीमा पार्टीमा गुटको स्वार्थ देखिनु र पदाधिकारी नै सभापतिलाई असफल बनाउन लाग्नु बिडम्बनापूर्ण भएको रिजालको भनाइ छ।


सम्बन्धित सामग्री