Friday, April 26, 2024

-->

संकटमा रैथाने बाली : शहरमा खुल्न थालेका सीमित पसलले जोगिएला स्थानीय उत्पादन?

उन्नत जातको बीउका कारण स्वस्थकर हुने रैथाने अन्नबाली हराउँदै गएका छन्। यस्ता बाली जोगाउन शहरमा खुल्न थालेका पसलले किसानलाई उचित मूल्य दिन थालेपछि स्थानीय उत्पादन जोगिन आशा गर्न थालिएको छ।

संकटमा रैथाने बाली  शहरमा खुल्न थालेका सीमित पसलले जोगिएला स्थानीय उत्पादन

काठमाडौँ– भक्तपुरको बोडेका दिलीप पाण्डेको भान्सामा नुवाकोटको शिखरबेशीमा फल्ने स्थानीय धानको भात पाक्छ।त्यसबाहेक मेलम्चीलगायत ठाउँमा फल्ने धानको चामल पनि ल्याउँछन्। तर, उनी पसलमा पाइने उन्नत जात (हाइब्रिड) खाद्यान्न भने किन्दैनन्।

“पसलमा पाइने चामलको भात र गाउँबाट ल्याएर पकाइने चामलको भातको स्वादको तुलना नै हुँदैन,” उनी भन्छन् “गाउँमा पाइने चामलको भात खाँदा छिटो भोक लाग्दैन। तिक्खर र स्वादिलो हुन्छ।”

यस्तो चामल उनले गाउँ पुगेर ल्याउने गरेका छैनन्। धुम्बाराहीस्थित ‘रैथाने कोसेली घर’ले काठमाडौँमै उपलब्ध गराउँछ।यो पसल खोज्दै पुग्ने उपभोक्ताहरू प्रशस्तै छन्। यहाँ स्थानीय जातका धान, गहुँ, मकै, कोदो, फापर, जौ, उवा, विभिन्न दलहन बाली, तोरी, तथा मह, घिउलगायत खाद्य सामग्री पाइन्छ। कोसेली घरमा ४८ जिल्लामा उत्पादन हुने रैथाने खाद्यसामग्री आइपुग्छन्।

हाइब्रिड (उन्नत जात) का अन्नले स्थानीय जातलाई विस्थापित गर्न थालेपछि तिलक ढकालले यो पसल खोलेका थिए। ढकाल वन्यजन्तु तथा वातावरणको क्षेत्रमा काम गर्ने विश्ववन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा काम गर्थे। संरक्षणसँग सम्बन्धित कार्यक्रम लिएर विभिन्न जिल्लाडुल्दा गाउँ–घरबाट रैथाने बालीहरू हराउँदै जान थालेको थाहा पाए। “धान, मकै, कोदो, फापरलगायतका स्थानीय जातका अन्न हराउँदै गएको थाहा पाएँ”, ढकाल भन्छन् “त्यसपछि रैथाने बालीलाई व्यापारसँग जोड्नुपर्दछ भन्ने सोच आयो।” 

२० वर्षको जागिरे जीवन बिताइसकेपछि उनले चार वर्षअघि अवकाश पाए। त्यसपछि स्थानीय बाली संरक्षणमा काम गर्ने सोच आयो। “हामीले उन्नत जातका अन्न बिक्री गर्दैनौँ, हाम्रो उद्देश्य नै स्थानीयस्तरमा पाइने बालीको बजारीकरणमार्फत त्यस्ता बाली संरक्षण गर्नु हो”, ढकाल भन्छन्।

करिब २ करोड ५० लाख रुपैयाँमा खोलिएको कोसेली घरमा ४९ जना लगानीकर्ता छन्। त्यसको नेतृत्व ढकालले गरिरहेका छन्। “रैथाने बालीहरू रसिलो, पोसिलो हुन्छ भन्ने चेतना बढेको छ। यस्तो उत्पादन खोज्ने सहरिया ग्राहकहरू बढ्दै गइरहेका छन्”, उनी भन्छन्। 

काठमाडौँको वनस्थलीकी तारा घिमिरे रैथाने कोसेली घरकी नियमित ग्राहक हुन्। घिमिरेको भान्सामा फापर, गहुँ कोदोलगायत स्थानीय गाउँघरमा उत्पादन भएका अन्नका परिकार पाक्छन्।उनी भन्छिन्,“सकेसम्म स्थानीयस्तरमा उत्पादन भएका अन्न खान्छौँ।पसलमा पाइने अन्य दाल, चामलको भन्दा गाउँको उत्पादनको मूल्य बढी हुन्छ। तर, स्वास्थ्यलाई मूल्यसँग तुलना गर्न हुँदैन।” 

शहर बजारमा स्थानीय र रैथाने जातका उत्पादनको माग बढेपछि त्यस्ता स्थानीयस्तरमा पाइने रैथाने खाद्यान्न बिक्री वितरण गर्ने पसलहरू पनि बढेका छन्।अध्ययन र लेखनमा सक्रिय यादव देवकोटाले काठमाडौँका दुई स्थानमा गाउँ घरबाट ल्याइएका स्थानीय उत्पादन बिक्री गर्छन्। 

जागिर र अध्ययनको क्रममा देशका७७ जिल्ला पुग्दा स्थानीयस्तरमा उत्पादन हुने विभिन्न जातका अन्नबालीहरू देखेपछि तिनको बजार व्यवस्थापन गर्न आफूले यस्तो पसल शुरूआत गरेको उनी बताउँछन्।“हामी स्थानीयस्तरमा उत्पादन हुने अन्न मात्र बिक्री गर्छौं”, उनी भन्छन्, “व्यवसायको माध्यमबाट स्थानीय जातका अन्नको संरक्षण गर्नु हाम्रो उद्देश्य हो।”

काठमाडौँको रैथाने कोशेली घरमा बिक्रीका लागि राखिएका रैथाने बाली ।

काठमाडौँमा गाउँघरमा उत्पादन भएका रैथाने स्थानीय खाद्यान्न बिक्री गर्ने कति पसल छन्, त्यसको ठ्याक्कै तथ्यांक छैन। तर, पछिल्ला वर्ष रैथाने बाली बिक्री गर्ने पसलको संख्या भने बढेको देखिन्छ।

पाउनै कठिन छ स्थानीय उत्पादन
शहर ल्याइपुर्‍याउँदा स्थानीय जातका अन्नबाली महँगो परे पनि उपभोक्ता तयार मूल्य तिर्न तयार हुने गरेको पसल सञ्चालकहरू बताउँछन्। तर, त्यस्ता बाली पाउन निकै मुस्किल हुने कोसेली घरका ढकाल बताउँछन्। “धेरै तिरबाट थोरै थोरै गरेर संकलन गर्नुपर्छ”, उनी भन्छन् “स्थानीय उत्पादन हराउँदै गइरहेका छन्।” 

रैथाने बालीहरू गाउँमा नपाउँदा मागअनुसार पुर्‍याउन नसकेको ढकालको भनाइ छ। यादव देवकोटा पनि घर–घर पुगेर यस्ता खाद्य सामाग्री खरिद गर्नुपर्ने बाध्यता रहेको बताउँछन्। “थोरै उत्पादन भएको हुन्छ। धेरै ठाउँमा डुल्दा थोरै जम्मा गर्न सकिन्छ”, उनी भन्छन्।

राष्ट्रिय कृषि आनुवंशिक श्रोतकेन्द्र (जिन बैंक) का अनुसार नेपालबाट विभिन्न बालीका ५० प्रतिशत रैथाने जातहरू हराइसकेका छन्। जिन बैंकका कृषि वैज्ञानिक रामप्रसाद मैनाली गाउँघरसम्म सडकको विस्तारपछि पुगेको उन्नत बीउको पहुँच, बसाइसराइ र लागतअनुसार उत्पादनले मूल्य नपाउँदा स्थानीय रैथाने बाली हराउँदै गएको बताउँछन्।

अर्घाखाँचीको सितगंगा नगरपालिका सिद्धाराकी निर्मला बेलबासे १५ वर्ष अघिसम्म धान, मकै, गहुँ, कोदो, काँक्रो, फर्सी, बोडी, चिचिन्डो, घिरौँलालगायतको बीउ घरमै राख्थिन्। “राम्रो फलेको बाली बीउको लागि छुट्टाएर राख्थ्यौँ, त्यसैलाई अर्को वर्ष रापिन्थ्यो”, उनी भन्छिन् “अहिले त बीउ लगाउने बेला भएपछि बजारबाट किनेर ल्याउँछौँ। पुराना बाली त हराइसके।” 

पाल्पाको रम्भादेवी गाउँपालिकामा रहेको शोभाकान्त नेपालको बाँझो बारी ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका–८ पालीका रमेश घर्तीको खेतमा स्थानीय मार्सी धान तीन मुरी फल्थ्यो। तर, उनले मार्सी धानको सट्टा १० वर्षदेखि विभिन्न जातका उन्नत धान लगाउँछन्।मार्सीको भन्दा उत्पादन तेब्बरले बढेको छ। तीन मुरी मार्सी धान फल्ने खेतमा यस वर्ष उपजको राजा नामको धान लगाउँदा १२ मुरी फलेको उनी बताउँछन्। “किसानले त उत्पादन हेर्ने हो। उन्नत जात लगाउँदा चामल किन्न पर्दैन”, उनी भन्छन्, “मार्सी लगाउँदा लागत नै उठ्दैनथ्यो। उन्नत जातको धानबाट नाफामा गएका छौँ।”

मध्यपहाडमा मात्र होइन, तराईमा समेत स्थानीय अन्नबाली र तरकारीका स्थानीय जात हराइसकेका छन्।पर्साको पोखरिया गाउँपालिकाका राजु त्रिपाठी २० वर्ष अघिसम्म बासमती, सारो जातको धान लगाउँथे। तर, अहिले ती धानको जात इतिहास भइसकेको उनी बताउँछन्।

“थोरै उत्पादन हुने र लागत नै उठ्न गाह्रो पर्ने हुँदा त्यस्ता बीउ मासिँदै गए।किसानले त्यस्ता धानका बीउभन्दा उन्नत जात नै खोज्न थाले”, त्रिपाठी भन्छन्। अहिले उनले सोना मनसुली, विजयालगायत धानको बीउ बजारबाट किनेर लगाउँछन्।

तत्कालका लागि उत्पादन राम्रो भएपनि गाउँघरबाट स्थानीय जातहरू हराउँदा भविष्यमा खाद्यान्न संकट र भोकमरीको अवस्था आउन सक्ने कृषिको क्षेत्रमा काम गर्ने विज्ञहरू बताउँछन्।

स्थानीय रैथाने जातका बीउ संरक्षणको क्षेत्रमा काम गर्दै आएको जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहलहरू (लीवर्ड) का वरिष्ठ कार्यक्रम अधिकृत पीताम्बर श्रेष्ठ उन्नत बीउ प्रयोग भविष्यका लागि जोखिम भएको बताउँछन्।“अहिले त आयातित बीउहरू उपलब्ध छन् र ठिकै भएको छ। तर, भोलि नाकाबन्दी गरेर बीउ विजन आयात ठप्प भयो भने के हुन्छ?” उनी भन्छन्, “त्यसबेला हामीसँग स्थानीय बीउ पनि हुँदैन। हाम्रा खेतबारी बाँझै हुने अवस्था आउँछ। यसतर्फ कसैले सोचेको छैन।” 

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा रामकृष्ण श्रेष्ठ धान, चामललगायत खाद्यान्नको आयात घटाउन रैथाने बालीको महत्त्वपूर्ण भूमिका हुने बताउँछन्। नेपालको माटो र हावापानीको साथै सामाजिक तथा आर्थिक अवस्था रैथाने बालीको खेतीका लागि उपयुक्त भएको उनको भनाइ छ।

रैथाने बाली हराउँदै जानुको अर्को कारण पहाडबाट तराईतर्फ भइरहेको बसाइसराइ पनि हो। पाल्पाको रम्भादेवी गाउँपालिका–४ का शोभाकान्त नेपालको परिवार पूर्णरूपमा रुपन्देहीको भैरहवा र मणिग्राममा बस्न थालेको १५ वर्ष भयो। बसाइसराइ गरेदेखि उनको पाँच बिगाहा खेतीयोग्य जमिन १० वर्षदेखि बाँझो छ। उनको बारीमा ६ मुर भन्दा बढी त कोदो मात्रै फल्थ्यो। १३ जनाको परिवारलाई वर्षभरि खान पुग्ने धान हुन्थ्यो। “अहिले त सबै जग्गा बाँझो छ। काम गर्ने कोही छैन”, नेपाल भन्छन्। 

उनको गाउँका ९० घरमध्ये ४० परिवार बसाइसराइ गरेर रुपन्देही र काठमाडौँ पुगेका छन्। अहिले ती सबैको जग्गा बाँझै छ।  रम्भादेवी गाउँपालिका–४ का वडा सचिव मिलन काफ्लेका अनुसार त्यस वडाका मात्र ४० प्रतिशत मानिस बसाइ हिँडेपछि जग्गा बाँझै छ। 

रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीका अनुसार २०६८ सालको जनगणनाको तुलनामा २०७८मा रम्भादेवीको जनसंख्या तीन हजार ११३ ले घटेको छ। पाल्पाका १० स्थानीय तहमध्ये रामपुर नगरपालिकाबाहेक सबै पालिकाको जनसंख्या घटेको छ।

बाँझो बारी

केन्द्रीय तथ्यांक विभागका अनुसार २०६८ सालको तुलनामा मध्यपहाड र हिमालका ३२ जिल्लाको जनसंख्या घटेको  छ। जनसंख्या घटेका जिल्लामा रामेछाप, सोलुखुम्बु, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम, गुल्मी स्याङ्जा, अर्घाखाँची, पाल्पा, डोटी, सिन्धुपाल्चोक, पर्वत, गोर्खालगायत छन्। बसाइसराइले खेती नगर्ने प्रवृत्ति बढेपछि २५ देखि ४० प्रतिशतसम्म जग्गाहरू बाँझो रहेको कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा.श्रेष्ठ अनुमान गर्छन्।

हराउँदै परम्परागत ज्ञान 
उन्नत बीउ, बसाइसराइजस्ता कारणले नेपालमा स्थानीय जातका बाली मात्र हराउँदै छैनन्, बीउ संरक्षणको परम्परागत ज्ञान पनि हराउँदै जान थालेको छ।कृषि वैज्ञानिक रामप्रसाद मैनाली बीउ संरक्षण गर्ने नेपालीहरूको परम्परागत विशिष्ट ज्ञान भएको बताउँछन्। तर, यस्तो ज्ञान मानिसहरूले बिस्तारै बिर्सने सम्भावना बढेको छ। “बीउ संरक्षण गर्ने नेपाली समाजमा परम्परागत आफ्नै ज्ञान थियो, अब त्यो ज्ञान पनि क्रमशः हराउँदै गएको छ,” उनी भन्छन्।

राम्रो, सप्रेको र ठूलो खालको घिरौँला, चिचिन्डो, फर्सी, सिमी, बोडीजस्ता तरकारी फल्दा त्यसलाई बीउको रूपमा बोटबाटै छुट्याउने चलन थियो। त्यस्तो फल राम्रोसँग पाकेपछि घाममा सुकाएर किरा नलाग्ने गरी राखिन्थ्यो। त्यसैगरी धान, कोदो, मकै, गहुँ, फापर आदिजस्ता अन्न पनि सबैभन्दा पहिला बीउको लागि छुट्टाउने चलन थियो त्यसलाई राम्रोसँग घाममा सुकाएर माटोको घैँटो, गाग्रीमा छुट्टै राखिन्थ्यो। अझ पहाडमा तरकारी र अन्नबालीको बीउहरू एक अर्का परिवारमा बाँडेर लगाउने चलन पनि थियो।

पाल्पाको बगनासकाली गाउँपालिका–५ दरलमडाँडाका भगवान् भण्डारीको परिवारले खेत बारीमा फल्ने अन्न तथा तरकारी बीउका लागि छुट्याएपछि बचेको घरायसी प्रयोजनका लागि खर्चिन्थ्यो। यो परम्परा उनको बाजे बराजुको पालादेखि चल्दै आएको थियो। 

१५ वर्ष यता उनको परिवारले बीउ राखेको छैन। “जतिबेला आवश्यक पर्छ, बजारबाट किनेर रोपिन्छ। पहिलाको जस्तो घरमा बीउ राख्ने चलन हरायो। पुराना रैथाने बालीका जात पनि हराए। हाइब्रिड जातको त बीउ राखेको पनि उम्रिदैनरहेछ”, उनी भन्छन्। जीन बैंकका कृषि वैज्ञानिक मैनाली नेपालबाट ४० देखि ५० प्रतिशत स्थानीय बीउहरू हराइसकेको बताउँछन्।

हराउँदै गएका बीउ संरक्षण गर्ने उद्देश्यका साथ सन २००७ मा स्थापना गरिएको जीन बैंकमा विभिन्न जातका ६ हजार १७१ बीउ छन्।त्यसमध्ये ९२६ कोदोका विभिन्न प्रजाति, ७६२ मकैका प्रजाति, ३४२ उवाका प्रजाति, २ हजार ४३७ धान, ७६२ मकै र १ हजार ७०४ गहुँका प्रजाति छन्। जीन बैंकमा राखिएका यी बीउको उम्रनसक्ने क्षमता २०० वर्षसम्म रहन्छ। 

व्यवसायले जगाएको आशा
गाउँघरका रैथाने अन्नबालीहरू मात्र बिक्री वितरण गर्ने उद्देश्यले शहर बजारमा खोलिएका पसलहरूले यस्ता बाली संरक्षण हुन सक्ने आशा जगाएको छ। रैथाने बालीहरूको बजारीकरणमा सक्रिय तिलक ढकाल किसानहरूले राम्रो मूल्य पाउने हो भने उन्नत जातका अन्नबाली लगाउन छोडेर रैथाने बालीहरू नै लगाउने बताउँछन्। “रैथाने बालीको उत्पादकत्व कम हुन्छ। लागत महँगो हुन्छ। किसानहरूले राम्रो पैसा पाउने हो भने रैथाने बाली लगाउन सक्छन्”, ढकाल भन्छन्, “लागत बढी, उत्पादन कम हुने गुनासो किसानको छ।” 

गाउँ–घरमा रैथाने बालीको खरिद आफूहरूले गर्न थालेपछि किसानले उत्पादनको मात्रामा वृद्धि गरेको ढकालको अनुभव छ। जस्तो, ढकालले तीन वर्षअघि नुवाकोटको शिखरबेसीमा मुस्किलले तीन क्विन्टल समुन्द्रफिनी नामको धान पाए। उनले एक क्विन्टल धानलाई १० हजार रुपैयाँ तिरेर खरिद गरे। अर्को वर्ष उक्त ठाउँमा २५ क्विन्टल धान पाए। 

रैथाने कोशेली घरमा बिक्रीका लागि बोडी तयार पारिँदै

ढकाललाई पहिलो वर्ष मकवानपुर र चितवनका गाउँमा डुलेर ७५ केजी जुनेलो जुटाउन मुस्किल भयो। तर, दोस्रो वर्ष ती गाउँ डुल्दा तीन क्विन्टल जुनेलो पाए। “पैसा पाएपछि त किसान आकर्षित हुँदो रहेछन् भन्ने उदाहरण देखियो”, उनी भन्छन्।


सम्बन्धित सामग्री