Thursday, April 25, 2024

-->

कांग्रेस सांसद टेकबहादुर गुरुङ र एमाले सांसद लक्ष्मी महतो निलम्बित

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका गुरुङ तथा हत्या अभियोगमा फरार सूचीमा कोइरीलाई संसद सचिवालयले निलम्बन गरेको हो।

कांग्रेस सांसद टेकबहादुर गुरुङ र एमाले सांसद लक्ष्मी महतो निलम्बित

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। 

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस सांसद गुरुङ तथा हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद कोइरीलाई संसद सचिवालयले निलम्बन गरेको हो। 

उनीहरूको संसदीय भूमिकामा रोक लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले पत्राचार गरेपछि संघीय संसद् सचिवालयले दुवै जनालाई निलम्बन गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। 

“दुवै निकायबाट पत्र आएको छ। अब उपरान्त उहाँहरू सांसदको हैसियतले भूमिका निर्वाह गर्न पाउनु हुनेछैन”, पाण्डेले उकालोसँग कुरा गर्दै भने, “उहाँहरू (गुरुङ र काइरी)माथि रहेको अभियोगका कारण सांसदमा निरन्तरता पाउन नसक्ने अवस्था भयो।” 

दुवै जनाको पार्टीको संसदीय दलमा पत्राचार गरेर सचिवालयले यसको जानकारी गराएको समेत पाण्डेले जानकारी दिए। उनका अनुसार दुवै जनालाई आ–आफ्नो पार्टीमार्फत यसको जानकारी प्राप्त हुनेछ। 

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) छाडी एमाले प्रवेश गरेका कोइरी महोत्तरी–१ बाट निर्वाचित भएका हुन्। 

दुवैजनाले प्रतिनिधिसभा सदस्यको रूपमा शपथ लिइसकेका छन्। 

पत्र समयमै आएको भए उनीहरूको शपथसमेत रोकिने बताउँदै पाण्डेले भने, “पत्र ढिलो आयो, अगाडि नै पत्र प्राप्त भएको भए, उहाँहरूको शपथ नै नहुने थियो। अब शपथ भएर पनि संसदीय भूमिका रोकिने भयो ।”

सुशील कोइराला सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री रहेका गुरुङमाथि काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ। अख्तियारले उनीमाथि २०७५ माघमा मुद्दा दायर गरेको थियो। मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ले भ्रष्टाचार अभियोग लागेका व्यक्तिको पद स्वतः निलम्बन हुने व्यवस्था गरेअनुरूप अदालतमा गुरुङमाथि भ्रष्टाचार मुद्दा विचाराधीन रहेको भन्दै अख्तियारले संसदीय गतिविधिमा सहभागी नगराउन आग्रह गर्दै संसद सचिवालयलाई पत्राचार गरेको थियो।

त्यस्तै, सशस्त्र प्रहरीका असई थमन बिकको हत्या अभियोग लागेका महतो नेपाल प्रहरीको फरार सूचीमा छन्। 

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट घाइते भएका सशस्त्र प्रहरी बल महोत्तरी जलेश्वरमा कार्यरत बिकको अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो।

सोही घटनामा संलग्न रहेको भन्दै नेपाल प्रहरीले कोइरीलाई फरार सूचीमा राखेको छ। 

सशस्त्र प्रहरीका असई बिक हत्या सम्बन्धी सुनुवाइमा कोइरीलाई थुनामा राखेर मुद्दा अघि बढाउन जनकपुर उच्च अदालतले आदेश दिएको थियो। अदालतको सोही आदेश संलग्न गरी प्रहरीले कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन आग्रह गर्दै संसद् सचिवालयलाई पत्र पठाएको थियो। 


सम्बन्धित सामग्री