Saturday, April 20, 2024

-->

...अनि बार्दलीमा ओली र दाहालको पुनर्मिलन सम्भव भयो

कांग्रेसले आकलन नगरेको अडानले आइतबार राजनीतिमा जस्तो उथलपुथल ल्यायो, बालकोटको बार्दलीबाट त्यसको पटाक्षेप गराउने ओली–दाहाल पुनर्मिलन सम्भव तुल्याउन एमाले–माओवादी नेताहरू पर्दापछाडि उसैगरी सक्रिय थिए।

अनि बार्दलीमा ओली र दाहालको पुनर्मिलन सम्भव भयो

काठमाडौँ– प्रधानमन्त्री, त्यो पनि तत्कालै हुन पाउने तय भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्ष पहिलेदेखि बोलचालसमेत बारेका ‘खाँटी दुस्मन’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार दिउँसो ओलीकै बालकोटस्थित निवासको बार्दलीबाट मुस्कुराउँदै हात हल्लाए। त्यसको केही बेरपछि दाहाल प्रधानमन्त्री नियुक्त भए। र, दिन, हप्ता र झण्डै महिनादेखि चलिरहेको प्रधानमन्त्री बन्ने दौडमा बाजी मारे।  

यो बाजी यसकारण पनि थियो कि केही बेर अघिसम्म पनि दाहाल निर्वाचनमा सँगै गएको गठबन्धनबाटै प्रधानमन्त्री बन्ने भगीरथ प्रयत्नमा थिए। तर, गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवा आफूलाई तत्कालै सत्ताको नेतृत्व सुम्पन कुनै हालतमा तयार नभएपछि दाहालले गठबन्धन तोड्न मात्र होइन, ओलीको बार्दलीमा पुग्न पनि निमेषभर ढिलाइ गरेनन्। 

यो बार्दलीको रोचक कथा छ। तत्कालीन नेकपामा शक्तिसंघर्ष उत्कर्षमा पुगेपछि तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै त्यसका अध्यक्षद्वय ओली र दाहाल ठ्याक्कै दुई वर्षअघि नदीका दुई किनार झैँ बनेका थिए। पछि अदालतले नेकपाको एकतालाई नै वैध नमानेर साबिकका एमाले र माओवादी ब्युँताइदिएपछि ओली–सम्बन्ध शत्रुतामा बदलिएको थियो। दाहालले त्यसपछि ओलीलाई ‘देखाइदिन’ देउवाको नेतृत्वमा गठबन्धन निर्माण गर्न निर्णायक भूमिका खेले। अनि ओलीको सत्ता बहिर्गमन निम्तियो। २०७८ असार २९ गते बालुवाटारको निवास छाडेर बालकोट फर्केपछि यही बार्दलीबाट ओलीले दाहाल नेतृत्वको माओवादीसहितले गरेको गठबन्धनलाई ‘अपवित्र’ घोषणा गरेका थिए। 

तिनै ‘अपवित्र’ दाहाल आइतबार बालकोटको बार्दलीमा कसरी महत्त्वपूर्ण पाहुना बने? अनि दाहाललाई त्यही बार्दली के कारणले तीर्थस्थल जस्तै बन्न पुग्यो? 

यसबारे बुझ्न एकपल्ट पाँच वर्ष पहिले नै फर्कनुपर्छ । पाँच वर्षअघि तत्कालीन एमालेसँग (पार्टी एकतासम्म पुग्नेगरी) चुनावी गठबन्धन गरेर खस्किइसकेको माओवादी पार्टीको शक्ति उकासेका दाहालले आधा अवधि (साढे दुई वर्ष) प्रधानमन्त्री बन्न पाइने आश्वासन पाएपछि ओलीलाई सहजै प्रधानमन्त्री मात्र बनाएनन्, एमालेसँग पार्टी एकता नै गरे। तर, समयक्रममा प्रधानमन्त्री बन्ने र संयुक्त अध्यक्षका रूपमा पार्टीको कार्यकारी अधिकार पनि प्रयोग गर्न नपाउने अवस्था पैदा भएपछि ओलीलाई पार्टी र सरकारको नेतृत्वबाट हटाउन दाहाल पार्टीभित्रै मोर्चाबन्दी गर्ने अवस्थामा पुगे। 

यसका लागि नेकपामा माधवकुमार नेपाल समूहको साथ पाएका दाहाल त्यसका विभिन्न तानाबाना बुन्दै थिए, उनीभन्दा एक कदम अगाडि निस्केका ओलीले सत्ता बचाउन र दाहालको रणनीति निस्तेज पार्न प्रतिनिधिसभा नै विघटन गरिदिए। २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएको पाँच दिनपछि, अर्थात् दुई वर्ष पहिलेको ठ्याक्कै यही दिन ओलीविरुद्ध नेकपाका अर्का नेता माधवकुमार नेपालसँगै दाहाल सडकमा सार्वजनिक भएका थिए। त्यहाँ उनले ‘हामी यहाँ छौँ’ लेखिएका प्लेकार्ड पनि बोकेका थिए।

त्यसबीचमा सर्वोच्चले विघटन त बदर गरिदियो, तर अर्को फैसलामार्फत नेकपाको वैधता नै अन्त्य गरिदिएपछि ओलीलाई सहजता थपियो, दाहाललाई अप्ठेरो। फेरि २०७८ जेठ ७ मध्यरातमा आफ्नो पार्टी एमालेभित्रको संकट पार लगाउन ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरे। त्यसपछि प्रतिपक्ष कांग्रेससँग मिलेर ओलीलाई हटाउन र नयाँ सरकार बनाउन सक्रिय भएका दाहाल न्यायालयको ढोका ढकढक्याउन पनि सँगै पुगे। तर, त्यसबेला उनी प्रधानमन्त्री दाबी गर्ने हैसियतमा थिएनन्। माओवादी संसद्मा तेस्रो दल थियो। 

अदालतले पुनः प्रतिनिधिसभा विघटन बदर गरेर ओलीलाई पदमुक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो, दाहालसामु देउवालाई प्रधानमन्त्री स्विकार्नुको विकल्प थिएन। दाहालले त्यहीबेलै देउवासँग आलोपालो प्रधानमन्त्रीको सहमति भएको, त्यो आलोपालो भनेको निर्वाचनपछिको पहिलो प्रधानमन्त्री बन्ने भएको बताउने गरेका छन्।

कांग्रेससँग तालमेल गरेर चुनाव लड्दैगर्दा उनले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्न थालिसकेका थिए। चुनावी प्रचारका क्रममा दाहालका अभिव्यक्तिबाट चुनावअघि नै देउवा र उनीबीच प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको बुझिन्थ्यो। तर, देउवा त्यसबारे बोलेनन्। दाहालले भने निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै देउवाभन्दा पहिले आफू प्रधानमन्त्री बन्ने कसरत तीव्र पारे। मंसिर ८ गते ओलीले बधाई दिन फोन गर्दा दाहालले मिलेर अघि बढ्न आग्रह गरेको भन्दै सचिवालयमार्फत खबर बाहिर ल्याउनु त्यसकै प्रारम्भिक संकेत थियो। 

कांग्रेसका एक पदाधिकारीका अनुसार त्यसै दिनदेखि दाहालले आफू पहिले प्रधानमन्त्री बन्नुपर्छ भनेर देउवामाथि दबाब बढाएका थिए। देउवामाथि दबाब बढाउनकै लागि उनले आफ्नो पार्टी, माओवादीका कतिपय नेताहरूलाई एमालेसँग पनि सरकार गठनका लागि संवाद भइरहेको भनेर बोल्न लगाएका थिए। सम्भवतः त्यसपछि देउवा दाहाललाई मनाउन सफल भएका थिए। तर, पछिल्लो समय भने आन्तरिक तथा बाह्य दुबैखाले दबाबमा परेका देउवा दाहाललाई तत्काल प्रधानमन्त्री बनाउन तयार बनेनन्। यसकै संकेत गर्दै दाहालले शनिबारको गठबन्धन बैठकमै देउवालाई भनेका थिए, “तपाईं पहिले मलाई प्रधानमन्त्री बनाउन सहमत हुनु भएको थियो। अहिले किन धोका दिँदै हुनुहन्छ?” 

देउवा र कांग्रेस दाहाललाई पहिले प्रधानमन्त्री बनाउन मात्र होइन, राष्ट्रपति अर्को पार्टीलाई दिन पनि तयार भएनन्। कांग्रेसको एकसूत्रीय अडान थियो, प्रधानमन्त्री र राष्ट्रपति कुनै हालतमा अर्को पार्टीलाई नदिने। देउवाले केही दिन पहिलेदेखि यस्तो अडान राख्न थालेपछि दाहालले आफूनिकट नेताहरूमार्फत एमाले अध्यक्ष ओलीसँग संवाद अगाडि बढाइसकेका थिए।

कतिसम्म भने, दाहाल आफू देउवासँग सोझो संवादमा थिए, तर निकट नेताहरू वर्षमान पुन, नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई एमालेका सुवास नेम्वाङ, विष्णु पौडेल र विष्णु रिमालसँग संवाद गराइरहेका थिए। आफूलाई पहिले प्रधानमन्त्री बनाउनेगरी नयाँ सरकार गठन गर्न एमाले तयार भए गठबन्धन तोड्ने सन्देश उनले एमालेलाई पठाएका थिए। “मलाई प्रधानमन्त्री बनाउने विषयमा देउवा सहमत नहुने देखिरहेको छु, एमालेले मलाई प्रधानमन्त्री बनाउँछ भने गठबन्धन छाडेर एमालेसँगै सहकार्य गर्न सकिन्छ भन्ने सन्देश अध्यक्षको थियो। हामीले त्यहीअनुसार संवाद अघि बढाएका थियौँ”, एमाले नेताहरूसँग निरन्तर संवादमा रहेका माओवादीका एक पदाधिकारीले भने।

उनका अनुसार सरकार गठनलाई लिएर बालुवाटारमा पछिल्लो साता दिनहुँजसो भएका गठबन्धनका बैठक र शीर्षनेताका बैठकमा पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा चर्काचर्की हुनासाथ माओवादी नेताहरू बालकोटमा सम्पर्क बढाइहाल्थे। उनको भनाइमा ओली पनि बालुवाटारमा कुरा नमिले दाहाललाई प्रधानमन्त्री बनाएर नयाँ सरकार गठन गर्ने मनस्थितिमा पुगिसकेका थिए। संघ र प्रदेश सबैतिर सत्ताबाट विमुख हुने अवस्थामा देखिएको एमाले यस्तो विकासक्रमले उत्साहित बन्दै गएको थियो।

जब राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको सात दिनको समयसीमा घर्कन थाल्यो, जब दाहाललाई प्रधानमन्त्री स्विकार्न देउवा र कांग्रेस अनिच्छुक देखिँदै गए, ओलीले आफ्नो पूर्वतयारी अनुसार साना दलहरूसँग संवाद अघि बढाइसकेका थिए। एमाले महासचिव शंकर पोखरेल पहिलो दल (कांग्रेस)ले सरकार गठनको गम्भीर पहल नगरेपछि दोस्रो दलको हैसियतले एमालेले नयाँ गठबन्धनको सरकार निर्माणको पहल थालेको बताउँछन्। 

तर, देउवाले यस्तो पहल अघि बढ्ने हेक्का राख्न नसकेको देखिन्छ। हेक्का भए पनि उनले यसलाई गम्भीर रूपमा लिएनन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार देउवाले दाहालसँग गरेको सहमति कार्यान्वयन नगर्दा यो परिणाम निम्तिएको हो। “पहिले दाहाललाई प्रधानमन्त्री बनाउने सहमति उहाँहरू (दाहाल र देउवा) बीच भएको रहेछ। त्यो सहमति कार्यान्वयनमा देउवाजी नै इमानदार हुनुभएन, प्रचण्डजीलाई धोका भयो। हाम्रो हातबाट सबै गुम्यो”, पौडेलले भने।  

कांग्रेस नेतृत्वमा रहेको गठबन्धनको नेतृत्वमा सरकार बनेमा आफू राष्ट्रपति बन्ने कसरतमा लागेका थिए, पौडेल। दाहाललाई गठबन्धनमा कायम रहन आग्रह गर्दै शनिबार उनी शनिबार खुमलटारस्थित दाहाल निवासमै पुगेका थिए। राष्ट्रपति बन्ने बाटो फराकिलो पार्न उनले कांग्रेस संसदीय दलको नेतामा देउवालाई प्रस्तावक नै बनेर सघाएका थिए। तर, आइतबार यस्ता सबै प्रयास तहसनहस भए।  

बालुवाटारको त्यो अन्तिम कसरत 
सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिन केही घण्टा बाँकी रहेका बेला आइतबार बिहान बालुवाटारमा देउवा र दाहाल ‘वान अन वान’ वार्तामा बसेका थिए।  त्यो वार्तामा पनि आफूलाई पहिले प्रधानमन्त्री बनाउन देउवा लचिलो नदेखिएपछि रिसाएर उठेका दाहाल त्यहाँबाट सिधै बालकोट पुगेर ओलीसँग अन्तिम वार्ता गर्ने निधोमा पुगेको माओवादीका एक पदाधिकारी बताउँछन्।

तर, १० बजे गठबन्धनको बैठक बोलाइएकाले सत्ता गठबन्धन दलका नेताहरू बालुवाटार पुगिसकेका थिए। त्यसपछि दाहाल इच्छा नभएर पनि गठबन्धनको बैठकमा बसे। त्यो बैठकमा पनि देउवाले पहिले प्रधानमन्त्री आफै हुने र राष्ट्रपति पनि कांग्रेसकै भागमा पर्नुपर्ने अडान लिएपछि दाहाल ‘अब यो गठबन्धन टुट्यो’ भन्ने घोषणा गरेर निस्केका थिए। “तपाईंले मसँग गरेको सहमति भुल्नु भयो। भोलि तपाईंको विश्वास कसरी गर्ने? मलाई धोका भयो। अब यो गठबन्धन अगाडि बढ्न सक्दैन”, बैठकमा दाहालले देउवालाई भनेको उद्धृत गर्दै एक नेताले भने। 

त्यसलगत्तै दाहाल ओलीसँग संवादका लागि बालकोट पुगे। दाहाल बालकोट पुग्नुअघि नै ओलीले आगामी सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दाहालको नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गरिसकेका थिए। 

त्यसलगत्तै बालकोटमा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टीको संयुक्त बैठक बस्यो। त्यही बैठकले दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियो। 

आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएपछि उनी ओली निवासबाट बाहिरिन खोजेका थिए। अपराह्न ४ बजिसकेको थियो। तर, पत्रकारले घेर्न थालेपछि दाहाल फर्केर ओली बसिरहेकै कोठामा गए। त्यसपछि ओलीले नै दाहाललाई बार्दलीमा ल्याए, अनि दुवैले बार्दलीबाट हात हल्लाएर कटुतापूर्ण सम्बन्धले विश्राम लिएको सन्देश दिए। 

लगत्तै १६९ सांसदको समर्थन लिएर दाहाल प्रधानमन्त्रीमा दाबी पेस गर्न शीतलनिवास गए जहाँ ओलीलगायतका नेता पनि सँगै गएका थिए। केही बेरपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम उनलाई प्रधानमन्त्री नियुक्त गरिन्। सोमबार अपराह्न पद तथा गोपनीयताको शपथ लिएपछि दाहालले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ।


सम्बन्धित सामग्री