Wednesday, April 24, 2024

-->

३ स्वतन्त्र सांसद सरकारमा जान इच्छुक, सत्ता गठबन्धनलाई बहुमत

सत्ता गठबन्धनले बनाउने नयाँ सरकारलाई तीन जना स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र योगेन्द्र मण्डलले समर्थन गर्ने भएका छन्। अर्का सांसद अमरेशकुमार सिंहले भने तत्काल निर्णय नगरेको बताएका छन्।

३ स्वतन्त्र सांसद सरकारमा जान इच्छुक सत्ता गठबन्धनलाई बहुमत

काठमाडौँ– निर्वाचन सकिएसँगै शुरू भएको सरकार गठनको रस्साकस्सी टुंगोमा नपुगिरहेको बेला स्वतन्त्र सांसदहरू निर्णायक हुने सम्भावना देखिएको छ। अहिलेको सत्ता गठबन्धनलाई सरकार गठनका लागि दुई सिट कम छ। तीन स्वतन्त्र सांसद सरकारमा जान इच्छुक देखिएका छन्।

कांग्रेस नेतृत्वको उक्त गठबन्धनले १३६ सिट जितेको छ। जसमा कांग्रेसका ८९, माओवादी केन्द्रका ३२, एकीकृत समाजवादीका १० लोसपाका चार र राष्ट्रिय जनमोर्चाको एक सिट छ। सत्ता गठबन्धनले चाहे स्वतन्त्र सांसदको समर्थनमा सरकार बन्ने देखिएको छ।

प्रतिनिधिसभामा विजयी पाँच जनामध्ये कम्तीमा तीन जनाले सरकारमा जान इच्छुक भएको बताएका छन्। एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका प्रभु साह समूहले सत्ता गठबन्धनलाई समर्थन गर्ने भएको छ। यो समूहबाट स्वतन्त्र उम्मेदवारी दिएकामध्ये रौतहट–३ बाट प्रभु साह र रौतहट–२ बाट किरणकुमार साह सांसद छन्। त्यसैगरी, मोरङ–५ बाट निर्वाचित स्वतन्त्र सांसद योगेन्द्र मण्डलले पनि सरकारमा जानसक्ने बताएका छन्।

प्रभु साहले वर्तमान गठबन्धनको सरकारले निरन्तरता पाए आफू समर्थन गर्न तयार रहेको बताए। सरकारमा आउने प्रस्ताव निरन्तर आइरहेको भन्दै उनले मन्त्री बन्ने विषयमा अझै गहन छलफल भइनसकेको जनाए। 

“सत्ता गठबन्धनका सबैजसो शीर्ष नेतासँग मेरो छलफल भइसकेको छ। शेरबहादुर देउवा या पुष्पकमल दाहाल जो प्रधानमन्त्री भए पनि यो गबठन्धनको सरकारलाई मैले समर्थन गर्ने निर्णय गरेको छु। योबाहेक अर्को सरकार बने के गर्ने भन्ने निर्णय लिइसकेको छैन”, प्रभुले भने। 

अब पुरानो पार्टी एमाले वा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको उनले बताए। “हामी नयाँ पार्टी खोल्ने चरणमा छौँ। त्यसको तयारी अन्तिम चरणमा छ। पुरानो पार्टीमा फर्किने सम्भावना छैन”, उनले भने। 

अर्का स्वतन्त्र सांसद किरण साहले पनि आफू सरकारमा जाने निश्चित भएको बताए। वर्तमान गठबन्धनको सरकारले आफ्ना मुद्दा समर्थन गर्न तयार रहेकाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ। “धर्म परिवर्तन र धार्मिक अतिवाद हुनुहुन्न भन्ने मेरो मुद्दा हो। यो मुद्दा गठबन्धनको सरकारले सम्बोधन गर्ने भनेको छ। त्यसैले म पनि सरकारमा जान्छु”, उनले भने, “मलाई नेता माधव नेपालले भेट्न बोलाउनु भयो। प्रचण्डसँग पनि मेरो भेट भएको छ।”

सरकारमा कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने विषय निश्चित नभएको उनको भनाइ छ। तर, आफू गृह मन्त्रालयमा पुगे धेरै काम गर्न सकिने विश्वास भएको उनले बताए।

अर्का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले पनि सरकारमा जाने सम्भावना रहेको बताए। तर कसको नेतृत्वमा कस्तो सरकार बन्छ भन्ने निश्चित हुन आवश्यक रहेको बताए। सरकारमा तत्काल सहभागी हुन आएको प्रस्ताव भने आफूले अस्वीकार गरेको उनको भनाइ  छ।

“अहिले नै सरकारमा जान्छु भन्ने निश्चित गर्न मिल्दैन। गबठन्धनको आफ्नै बहुमत भए हामीलाई वास्ता गर्दैनन्। बहुमत नपुग्ने स्थिति आएमा मात्रै खोज्ने चलन छ”, मण्डलले भने।

सत्ता गठबन्धनका शीर्ष नेताहरूले आफ्ना मुद्दा सम्बोधन गर्न असहज नभएको प्रतिक्रिया दिएकाले सत्ता गठबन्धनको सरकारमा जाने सम्भावना रहेको उनले बताए। नयाँ पार्टी खोलिहाल्ने स्थिति नभएको, तर मुद्दा मिल्ने पार्टीमा प्रवेश गर्न सकिने उनको भनाइ छ। 

उनी एमालेबाट उम्मेदवारका आकांक्षी थिए। तर, जसपासँगको गठबन्धनका कारण उनले टिकट पाएनन्। त्यसपछि स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको सात दिनको समयावधि सकिन दुई दिन मात्रै बाँकी छ। बहुमतका लागि १३८ सांसद आवश्यक हुन्छ। राष्ट्रपति भण्डारीले आइतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी गर्नुपर्ने समय दिएकी छिन्।

सर्लाही–४ बाट निर्वाचित अर्का स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कसको नेतृत्वमा सरकार बन्छ भन्ने निश्चित नभएसम्म आफू सरकारमा जाने या नजाने टुंगो लगाउन नसक्ने बताए। “गठबन्धनको स्वरूप थाहा नभइ म सरकारमा जान्छु भन्न मिल्दैन। अहिले सरकारमा जान्छु भन्नेहरू पछि नजान पनि सक्छन्। जान्न भन्नेहरू पछि जान पनि सक्छन्”, सिंहले भने। 

बदनाम हुने हिसाबले आफू सरकारमा नजाने उनको भनाइ छ। “आफ्नो अजेन्डालाई हामी महत्त्वपूर्ण मान्छौं। सुशासन महत्त्वपूर्ण मान्छौं। गुण र दोषको आधारमा म सरकारमा जाने छु”, सिंहले भने। नेपाली कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका थिए। सिंहले पुरानोमा फर्किने वा नयाँ दल खोल्ने निश्चित नभएको बताए।

अर्का स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले भने आजै नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन्। उनी नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीका बाबु हुन्। रेशमको उम्मेदवारी खारेज भएपछि उन्मुक्ति पार्टीले उनलाई समर्थन गरेको थियो। नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले केही समयअघि उकालोसँग लालवीर आफ्नो पार्टी प्रवेश गर्ने बताएका थिए।


सम्बन्धित सामग्री