Tuesday, April 23, 2024

-->

के कांग्रेसमा पुस्तान्तरणको ढोका खुलेकै हो?

कांग्रेस संसदीय दलको नेतामा संस्थापनइतरबाट गगन थापा साझा उम्मेदवार बन्नु एउटा परिघटना मात्र हो। तर, यही एउटा घटनाले मुलुककै पुरानोमध्येको पार्टीमा पुस्तान्तरणको ढोका खुलेको चर्चा भइरहेको छ।

के कांग्रेसमा पुस्तान्तरणको ढोका खुलेकै हो

काठमाडौँ– राजनीतिमै पुस्तान्तरणको विषय चर्किएको छ, नेपाली कांग्रेस त्यसको एउटा कडी मात्र हो। पाका नेताहरूले नयाँ–युवा पुस्तालाई नेतृत्वमा स्थापित हुन नदिएको गुनासो सबैतिर छ, कांग्रेसमा अझ धेरै छ। पाको पुस्ताले अवसर नदिए नेतृत्वमा स्थापित हुन आफै भिड्नुपर्छ भन्ने अभ्यास पनि अरूभन्दा धेरै कांग्रेसमै हुन थालेको छ। गत वर्ष सम्पन्न १४ औँ महाधिवेशनबाट शुरू भएको यस्तो अभ्यास कांग्रेसमा बुधबार हुने संसदीय दलको नेता चयनसम्म पुग्दा ‘क्लाइमेक्स’मा पुग्न सक्ने टिप्पणी पनि भइरहेको छ।

यस्तो टिप्पणीको आधार मंगलबारका केही घटनाक्रमले दिएका हुन्। मंगलबार कांग्रेसभित्र यस्तो घटना भयो जो धेरैको अनुमानभन्दा पर थियो। किनभने मंगलबार कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापा उम्मेदवार बने। उम्मेदवार मात्र बनेनन्, उनी सभापति शेरबहादुर देउवाइतर समूहको साझा उम्मेदवार नै बनेका छन्। बुधबार बिहान दलको नेता चयनका लागि हुने निर्वाचनमा अब गगन नै देउवाको प्रतिस्पर्धी हुनेछन्।

गगनलाई प्रतिस्पर्धी बनाउने निर्णय थप रोचक छ। अन्तिम घडीसम्म पनि आफैँ उम्मेदवार बन्ने तयारी गरेका नेता डा.शेखर कोइराला नै गगनको प्रस्तावक बनेर उभिए। अनि महामन्त्री विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ र केन्द्रीय सदस्य प्रदीप पौडेल समर्थक बने।

डा. कोइरालाले गगनका लागि आफ्नो दाबी छाड्नु, गुरुङ, शर्मा र पौडेलले समर्थक बनेर गगनलाई संस्थापनइतर समूहबाट साझा उम्मेदवार बनाउनु कांग्रेसभित्रको रोचक विकासक्रम हो। हुन त डा. कोइरालालाई आउँदो १५ औँ महाधिवेशनमा पार्टी सभापतिको साझा उम्मेदवार बनाउने सहमतिले पनि यसमा काम गरेको छ। तीन वर्षभन्दा पछाडि हुने महाधिवेशनमा यो सहमति कार्यान्वयन होला या नहोला भन्नेतिर अहिले धेरैको चासो छैन। तर, त्यही सहमतिले पनि कांग्रेस पंक्तिमा मात्र होइन, बाहिरसमेत बेग्लै सन्देश प्रवाह भएको छ।

संसदीय दलको नेतामा मनोनयन दर्ता गरेपछि गगनले आफूले जहिल्यै चुनौतीको सामना गरेको र फेरि त्यही बाटोमा रहेको उल्लेख गर्दै आफ्ना प्रतिस्पर्धी देउवालाई उम्मेदवारी फिर्ता लिन अपिलसमेत गरे। देउवाका समर्थक बनेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यको चिन्ता गरेर परिवर्तनको दिन पनि समर्थन फिर्ता लिन उनले आग्रह गरे।

गगनले मंसिर ४ को निर्वाचन मिति घोषणा हुनुअघि नै आफू प्रधानमन्त्रीको प्रतिस्पर्धामा रहेको र निर्वाचन जितेपछि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए। मंगलबार उनले त्यसकै औपचारिक प्रक्रिया थालनी गर्ने अवसर पाएका छन्। यसका लागि डा. कोइरालाले लिएको भनिएको ‘बोल्ड’ निर्णयले कांग्रेसमा पुस्तान्तरणको बहसभन्दा बाहिरै बरालिएको भन्ने आरोप खेपिरहेका महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि त्यो पंक्तिमा उभ्याइदिएको छ। १४ औँ महाधिवेशनमा प्रकाशमान सिंह समूहबाट उम्मेदवार बनेर महामन्त्री जितेका शर्माले आफू भन्दा ‘जुनियर’ गगनलाई समर्थन गरेर झन् बेग्लै सन्देश प्रवाह गरेका छन्।

यसअघि गगन संसदीय दलको नेतामा प्रत्याशी बन्ने चर्चा भइरहँदा शर्मासँग केही ‘लेनदेन’ भएको चर्चा पनि भएको थियो। त्यो चर्चामा गगन संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्ने, शर्मा भने १५ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने ‘भद्र सहमति’ भएको भन्ने विषय समेटिएको थियो। यतिसम्म कि त्यही ‘भद्र सहमति’पछि शर्माले गगनलाई अबको प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अगाडि सारेको पनि भनिएको थियो। सोमबार गगनलाई संसदीय दलको नेतामा उम्मेदवार बनाउने निर्णय भएपछि मनोनयनपत्रमै उनको समर्थक बसेका शर्माले भने, “कांग्रेसलाई बदल्नपर्छ भन्ने मेरो बोधले यो निर्णयसम्म पुर्याएको हो। लोकतन्त्रमा गणितको चर्चा धेरै हुन्छ। तर, बहुमतको कुरा गर्दैगर्दा जनमतको कुरा पनि बुझ्नुपर्छ।”

कांग्रेस सांसदमा उत्साह
१४ औँ महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका तर पराजित भएका सांसद प्रदीप पौडेल (जो अहिलेसम्म कृष्णप्रसाद सिटौला समूहमा थिए) ले पनि मंगलबार अन्तिम घडीमा गगनलाई नै समर्थन गरेका छन्। संस्थापनइतर समूहको होटेल बसेरामा आयोजित भेलामा अन्तिम समयमा पुगेका पौडेलले थापालाई समर्थन गरिसकेपछि भने, “पार्टीमा पुस्तान्तरण र रूपान्तरणको खाँचो भएको महसुस गर्दै मैले यो निर्णय गरेको हुँ।”

उनले गगनलाई समर्थन गर्ने निर्णय सिटौलासँग परामर्श गरेर नै लिएको समेत सुनाए।

यो घटनाले प्रकाशनमान सिंह, विमलेन्द्र निधिलगायतका नेताहरूनिकट रहेका सांसदहरूलाई पनि गगनको पक्षमा उत्रिन नैतिक दबाब सिर्जना गरेको कतिपयको बुझाई छ। तर, सिंह र निधि भने देउवाकै पक्षमा उभिएका छन्।

मंगलबार बिहानसम्म पनि संस्थापनइतर समूह विभाजन हुने चर्चा चुलिएको थियो। आफ्नो समूह विभाजित हुने चिन्ताबाट यो समूहका सांसदहरू मुक्त भएका छन्।  यो समूहका सांसद रामनाथ अधिकारीले डा. कोइरालाले ठूलो छाती बनाएर गगनलाई समर्थन गरेको उल्लेख गर्दै भने, “हामी पछिल्लो एक सातादेखि संस्थापनइतर समूह फुट्ने भयो भन्ने चिन्तामा थियौँ। साझा उम्मेदवार बनाउनुपर्छ भनेर अहोरात्र खटेका थियौँ। यसको प्रतिफल राम्रो आयो।”

संस्थापनइतर समूहका अर्का सांसद सञ्जय गौतमले थपे, “शेखर'दाले उदार मन नबनाएको भए कांग्रेस फेरि संकटमा भासिन्थ्यो। युवा पुस्तालाई निराश हुनबाट उहाँले जोगाउनु भएको छ। हामी उहाँको त्याग भुल्ने छैनौँ।” सांसद कुसुम थापाले कांग्रेसमा रूपान्तरण आवश्यक भएका बेला आफ्ना नेताहरू गम्भीर बनेको देख्दा आफूहरू खुसी भएको उल्लेख गर्दै भनिन्, “कांग्रेस गलत बाटोमा हिँड्न थालेको थियो। तर, त्यसलाई रोक्न हाम्रो समूहका नेताहरू सफल हुनु भएको छ। यसले हामीलाई थप हौसला प्रदान गरेको छ।”

यो समूहमा समन्वयकारी भूमिका खेलेका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले पनि गगन उम्मेदवार बन्नुमा डा. कोइरालाकै त्याग रहेको बताए। उनले भने, “नेपाली कांग्रेस लोकतन्त्रको रंगमञ्च हो। गगन थापा साझा उम्मेदवार बन्नु भयो। तर, म्यान अफ दी म्याच शेखर कोइराला बन्नुभयो।” उनले डा. कोइरालाले कांग्रेसमा नयाँ रक्तसञ्चार गराइदिएको र कांग्रेसको भविष्य पनि छ है भन्ने सन्देश दिएको बताए।

यो समूहका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले डा. कोइराला र थापाले पार्टीमा एकता र परिवर्तनको सन्देश दिएको बताए। “हामी पार्टीमा परिवर्तन चाहिरहेका थियौँ। शुरूआत कोइराला र थापाबाट भएको छ। यो अभ्यास नै सबभन्दा महत्त्वपूर्ण हो”, उनले भने। 

किन पछि हटे कोइराला?
कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा प्रत्याशी रहेका डा. शेखर कोइरालाको समूहबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीले प्रतिस्पर्धा गरेका थिए। तर, गुरुङ मात्र निर्वाचित भए। महामन्त्रीमा गगन थापा र डा. मिनेन्द्र रिजालले प्रतिस्पर्धा गरेकोमा गगनले मात्र जिते। यो समूहबाट आठ जना सह–महामन्त्रीका उम्मेदवारमध्ये बद्री पाण्डे र जीवन परियार विजयी भएका थिए।

१४औँ महाधिवेशनमा सभापति निर्वाचित भए अर्कोपटक प्रतिस्पर्धा नगर्ने घोषणा डा. कोइरालाले गरेका थिए। तर, कांग्रेसभित्र अन्तिममा तीव्र बनेको गुट अदलबदलले देउवालाई सहज बनायो। डा. कोइराला पराजित भए।

मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनअघि उनले संसदीय दलबारे मुख खोलेका थिएनन्। तर, मोरङबाट निर्वाचन जितेर काठमाडौँ नफर्कँदै उनले संसदीय दलको नेतामा आफूले पनि प्रतिस्पर्धा गर्ने संकेत गरे। काठमाडौँमा गगनले आफूलाई प्रधानमन्त्रीको प्रत्याशीका रूपमा अगाडि सार्दै संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी अगाडि बढाइसकेकाले उनले ‘अहिल्यै आफूलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्रीका रूपमा चिनाउन हतार नगर्न’ सार्वजनिक रूपमै आग्रह गरेका थिए। बरु, त्यो भूमिकामा आफ्नो दाबी स्वाभाविक भएको कोइरालाको भनाई थियो।

डा. कोइरालाको समर्थन नपाउने संकेत देखिएपछि गगनले आफूनिकट केही केन्द्रीय सदस्य र सांसदहरूसँग परामर्श तीव्र पारे। त्यसपछि औपचारिक र अनौपचारिक छलफलहरू तीव्र भए। त्यहीक्रममा उनले डा. कोइरालालाई आसन्न महाधिवेशनमा सभापति बनाउन सघाउने प्रस्ताव गरेर आफ्नो समर्थनमा ल्याउने योजना बनाए। “गगनजीले त्यसपछि घरमै पुगेर शेखरदालाई यो प्रस्ताव गर्नुभयो”, यो घटनाक्रमबारे नजिकबाट जानकार एक केन्द्रीय सदस्यले भने, “तर, त्यो प्रस्तावमा शेखरदाले कुनै प्रतिक्रिया दिनुभएन। साथीहरूसँग परामर्श गरेपछि मात्रै निर्णय लिने जानकारी गराउनुभयो।”

संस्थापनइतर समूहमा झण्डै ८० प्रतिशत डा. कोइरालानिकट नेताहरू छन्। उनीहरूको कुरा नसुनी निर्णय नलिने अडान उनले लिएपछि उनीहरूको पनि मन जित्नुपर्ने चुनौती गगनलाई आइलाग्यो। त्यसपछि गगन डा. कोइरालानिकट नेताहरूलाई फकाउन लागिपरे।

डा. कोइरालाका विश्वासपात्र रहेका एक नेता त्यसपछि गगनले धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियारलगायतलाई मनाउने कसरत अघि बढाएका थिए। तर, उनीहरूले डा. कोइराला नै संसदीय दलमा उम्मेदवार बन्नुपर्ने अडान छाडेनन्। त्यसबीचमा डा. कोइरालाले पनि यो समूहका सबै सांसदसँग परामर्श गरिसकेका थिए। अधिकांशले उनलाई नै उम्मेदवार बन्न सुझाव दिएका थिए।

सोमबार दिनभर संस्थापनइतर समूहका नेताहरू साझा उम्मेदवार तय गर्ने तयारीमा जुटिरहे, तर कुनै निचोड निस्किएन। अन्तिममा सहमति जुटाउने जिम्मा दुई नेतामै आइपुग्यो।

मंगलबार बिहानै गगन डा. कोइरालाको घरमा पुगे। त्यतिञ्जेल पनि कोइराला मौन थिए। तर, केही समयपछि लाजिम्पाटको होटल एम्बास्डरमा पुगेपछि आफ्नो समूहका १० जना सांसदसहितको छलफलमा भने उनले गगनलाई समर्थन गर्न तयार रहेको सुनाएका थिए। तर, बसेरा होटेलमा थप सांसद र केन्द्रीय सदस्यहरू पर्खिरहेकाले उतै गएर मात्र निर्णय सुनाउने जानकारी उनले गराएका थिए।

त्यसपछि बसेरा होटेलको भेलामा डा. कोइरालाले औपचारिक रूपमै गगनलाई समर्थन गर्ने निर्णय सुनाए। गगनले पनि डा. कोइरालालाई भावी सभापति बनाउन अहिल्यैदेखि लाग्ने सहमति बनेको सार्वजनिक गरे। त्यसक्रममा उनले अब हरेक विषयमा आफ्नो समूहको नेतृत्व डा. कोइरालाले नै गर्ने सहमति भएकोसमेत सुनाए।

कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार बिहान निर्वाचन हुँदैछ। ८९ सदस्यीय संसदीय दलमा नेता चयन हुन ४५ सांसदको समर्थन चाहिन्छ। गगननिकट नेताहरूका अनुसार अहिलेसम्म यो समूहमा खुल्ने सांसदको संख्या ३९ पुगेको छ। मतदान शुरू हुँदासम्म गगनले थप ६ सांसदको समर्थन जुटाउन सक्लान्? यही प्रश्नमै उनले कांग्रेस संसदीय दलको नेता बन्ने लक्ष्य हासिल गर्ने–नगर्ने नतिजा निर्भर छ। गगन दलको नेता बन्लान् या नबन्लान् भन्ने त टुंगो छैन, तर यो घटनाले कांग्रेसमा पुस्तान्तरणको ढोका भने खुलिसकेको टिप्पणी भइरहेको छ।


सम्बन्धित सामग्री