Saturday, April 20, 2024

-->

कांग्रेसमा संसदीय दलको नेता चुन्ने तयारी शुरू, कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै छ। बैठकमा संसदीय दलको चुनाव र नयाँ सरकार गठनबारे छलफल हुनेछ। 

कांग्रेसमा संसदीय दलको नेता चुन्ने तयारी शुरू कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्नेबारे छलफल थालेको छ।

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले शनिबार पार्टीबाट निर्वाचित सांसदलाई बालुवाटारमा बधाई ज्ञापन र चियापानको कार्यक्रम राखेका थिए। त्यसक्रममा नेताहरूबीच संसदीय दलको चुनाव र नयाँ सरकार गठनबारे समेत कुराकानी भएको थियो।

यसैबीच कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै छ। बैठकमा निर्वाचनको परिणाम, अबको राजनीतिक कदमबारे छलफल गर्न सभापति देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। दिउँसो तीन बजे बस्ने बैठकमा संसदीय दलको निर्वाचन र सरकार गठनलगायत विषयमा समेत छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस संसदीय दलको विधानमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनालाई दलको नेता चयन गर्ने व्यवस्था छ। निर्वाचन प्रक्रियाबाट छान्नुपर्ने भए निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत प्राप्त गर्नैपर्ने हुन्छ। कांग्रेसबाट प्रतिनिधिसभामा ८९ जना सांसद निर्वाचित भएका छन्। 

कांग्रेसमा संसदीय दलको नेता सर्वसहमत चयन हुने सम्भावना कम छ। सभापति देउवा आफू दोहोरिने मनसायमा छन्। महामन्त्री गगनकुमार थापा निर्वाचनमा नै संसदीय दलमा लड्ने नारा लिएर गएका थिए। अहिले पनि थापाले दाबी छाडेका छैनन्। 


सम्बन्धित सामग्री