Saturday, April 20, 2024

-->

व्यापारीदेखि ‘विवादास्पद’सम्म : यी हुन् एमालेले छान्न लागेका समानुपातिक सांसद

प्रतिनिधिसभामा समानुपातिकतर्फ ३४ सिट पाएको एमालेले विवादमा आइरहने एकनाथ ढकालदेखि निर्वाचनको मुखमा कांग्रेस छाडेर आएका व्यापारी देवी भट्टचनसम्मलाई प्राथमिकतामा राखेर सांसद बनाउँदैछ।

व्यापारीदेखि ‘विवादास्पद’सम्म  यी हुन् एमालेले छान्न लागेका समानुपातिक सांसद

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुबैतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ ४४ क्षेत्र जितेको नेकपा एमाले समानुपातिकतर्फ सबभन्दा धेरै मत ल्याएर पहिलो दल बनेको छ। निर्वाचन आयोगले एमालेले प्राप्त गरेको कुल २८ लाख ४५ हजार ६४१ सदर मतका आधारमा समानुपातिकतर्फ ३४ सिट सुरक्षित गरेको जनाएको छ। 

अब एमालेले यसअघि नै निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीका आधारमा उम्मेदवारको नाम आयोगलाई पठाउनुपर्ने छ। आयोगले समानुपातिक प्रतिनिधित्वका लागि निर्धारण गरेको कलस्टर अनुसार उम्मेदवारको नाम पठाउनुपर्छ। संविधानको धारा ८४ को उपधारा ८ मा ‘संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको एक तिहाइ महिला सदस्य सुनिश्चित हुने गरेर निर्वाचित गर्नुपर्ने’ व्यवस्था छ। त्यस अनुसार एमालेले अब एक तिहाइ महिला पठाउनुपर्ने हुन्छ। 

एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ सिट जितेको छ जसमा ४ जना महिला प्रत्यक्ष निर्वाचित भएका छन्। राष्ट्रियसभामा एमालेका १६ जना सांसद छन्। तीमध्ये ९ जना महिला छन्। प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा आइसकेकाले राष्ट्रियसभा समेत मिलाउँदा संघीय संसद्‍मा एमालेका ९४ सदस्य हुनेछन्। त्यसअनुसार संघीय संसद्‍मा एकतिहाइ महिलाको अनिवार्य प्रतिनिधित्व गराउन एमालेका ३२ सांसद महिला हुनुपर्छ।

प्रत्यक्षमा निर्वाचित ४ र राष्ट्रियसभाका ९ समेत गरेर एमालेका १३ सांसद महिला हुनेछन्। अब समानुपातिक सूचीबाट एमालेले १९ जना महिला पठाउनुपर्ने हुन्छ। त्यसबाहेक एमालेले समानुपातिकतर्फका १५ जना पुरूष उम्मेदवारलाई पनि सांसद बनाउन पाउनेछ। 

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७९ अनुसार यो संख्या समेटिनेगरी निर्वाचन आयोगलाई नाम पठाउँदा एमालेले पहिलेको बन्दसूचीबाटै आदिवासी/जनजाति, खस आर्य, थारू, दलित, मधेशी र मुस्लिम कलस्टर समेटेर नाम पठाउनुपर्छ। 

एमालेले समानुपातिकतर्फ १९ जना महिला अनिवार्य रूपमा पठाउनुपर्ने भएकाले प्रत्येक क्लस्टरबाट प्रतिशतका आधारमा आयोगलाई महिला उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने छ। 

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकाको अनुसूची–१२ मा दश प्रतिशत वा सो भन्दा बढी सिट प्राप्त गर्ने दलले छनोट गर्नुपर्ने समावेशी समूहका उम्मेदवारको संख्या निर्धारण गरिएको छ। जसअनुसार १० प्रतिशत सदर मत प्राप्त गरेका दलले आयोगले निर्धारण गरेका सबै कलस्टरको प्रतिनिधित्व हुनेगरी नाम पठाउनुपर्छ।  

यो व्यवस्थाअनुसार आदिवासी खसआर्य कलस्टरबाट ३१.२ प्रतिशत, जनजातिबाट २८.७ प्रतिशत, थारूबाट ६.६ प्रतिशत, दलितबाट १३.८ प्रतिशत, मधेशीबाट १५.३ प्रतिशत, मुस्लिमबाट ४.४ प्रतिशत र पिछडिएको क्षेत्रबाट कम्तीमा ४.३ प्रतिशत छनोट गर्नुपर्ने छ। 

यो हिसाबले एमालेले प्राप्त गरेका ३४ सिटमा आदिवासी जनजातिबाट १० जना, खस आर्यबाट ११, थारूबाट २, दलितबाट ५, मधेशीबाट ५ र मुस्लिमबाट १ जनाको प्रतिनिधित्व गराउनुपर्छ। यसरी हेर्दा एमालेले खसआर्य महिलाबाट ६ जना सांसद पठाउन सक्छ। खसआर्य महिला कलस्टरको पहिलो नम्बरमा मेनकाकुमारी पोखरेल, दोस्रोमा सरिता भुसाल, तेस्रोमा शोभा ज्ञवाली, चौथोमा विजुला रायमाझी, पाचौँमा निर्मला कोइराला र छैटौँ नम्बरमा सम्झना थपलिया छन्। 

एमालेले खसआर्य पुरूषतर्फ कम संख्या पठाएर महिलातर्फ धेरै पठाउन पनि सक्छ। त्यसो गर्दा महिलातर्फ सातौँ नम्बरमा रहेकी दीपा शर्मा र आठौँ नम्बरकी सुनिता बराल पनि प्रतिनिधिसभा सदस्य बन्न सक्छन्। खसआर्य महिलाको नवौँ नम्बर र पिछडिएको क्षेत्रतर्फ पहिलो नम्बरमा रहेकी भागरथी कुमारी चन्द पनि सांसद बन्न सक्छिन्। त्यसका लागि एमालेले अघिल्लो बर्णानुक्रममा रहेका केहीलाई नपठाएर अन्यलाई पठाउन पनि सक्छ। खसआर्यबाट ११ जनासम्म पठाउन पाउने भएकाले महिलाको संख्या धेरै राखेर पुरूष कम पनि राख्न सक्ने सुविधा हुन्छ। तर, त्यस्तो सम्भावना कम छ। एमालेका एक नेता भन्छन्, “पुरुषतर्फ पनि धेरै आकांक्षी रहेकाले १९ भन्दा धेरै महिला पठाउने सम्भावना चाहिँ म देख्दिनँ।” 

आदिवासी जनजातिबाट १० जना पठाउनुपर्ने भएकाले महिलाबाट कम्तिमा ५ जना सांसद निर्वाचित हुने देखिन्छ। एमालेले बुझाएको बन्दसूचीमा जनजाति महिलातर्फ पहिलो नम्बरमा नैनकला थापा मगर, दोस्रो नम्बरमा सूर्यकुमारी श्रेष्ठ, तेस्रोमा उर्मिला थेवे, चौथोमा ईश्वरी घर्ती र पाँचौँ नम्बरमा रणकुमारी बलम्पाकी मगर छन्। उनीहरू पाँचैजना सांसद बन्ने निश्चित जस्तै छ। 

दलित महिलातर्फ पहिलो नम्बरमा रहेकी रुक्मणी राना बराइली, दोस्रो नम्बरमा रहेकी हर्कमाया विश्वकर्मा र तेस्रो नम्बरकी इन्दिराकुमारी पन्थी निर्वाचित हुने छन्। 

थारू महिलातर्फ पहिलो नम्बरमा रहेकी अस्मा कुमारी चौधरी सांसद बन्ने निश्चित छ। दोस्रो नम्बरमा शान्ति चौधरी छन्। पुरूषतर्फबाट एकजना सांसद पठाएमा शान्तिको सांसद बन्ने सम्भावना रहनेछैन। तर, पुरूषतर्फ नपठाएर एमालेले थारू महिलालाई नै सांसद बनाउन पनि सक्छ। 

मधेशी महिलातर्फ पहिलो नम्बरमा रहेकी बीना देवी, दोस्रो नम्बरमा रहेकी अमृतादेवी अग्रहरी र तेस्रो नम्बरमा रहेकी प्रतिक्षा तिवारी मुखिया सांसद बन्ने निश्चित छ। मुस्लिम महिलातर्फ रूही नाज समानुपातिक सांसद बन्ने निश्चित देखिन्छ। 

पुरुषतर्फ को को?
१९ जना महिला समानुपातिकतर्फ सांसद निर्वाचित हुँदैगर्दा एमालेबाट यसपटक बढीमा १५ जना पुरूष पनि समानुपातिक सांसद बन्न पाउने छन्। 

खस आर्य पुरूषतर्फ पहिलो नम्बरमा रहेका रघुजी पन्त र दोस्रो नम्बरमा रहेका एकनाथ ढकाल सांसद निर्वाचित हुने निश्चित छ। ढकाल नेपाल परिवार दलका अध्यक्ष हुन्। स्थानीय निर्वाचनमा परिवार दललेसमेत एमालेसँग तालमेल गरेपछि उनी एमालेको प्राथमिकतासहितको समानुपातिक सूचीका लागि ‘योग्य’ बने। उनलाई समेट्दा एमालेको ठूलो पंक्ति असन्तुष्ट भए पनि अध्यक्ष केपी शर्मा ओलीले लिएको यो निर्णयविरुद्ध कसैले विरोध गर्न सकेनन्। 

ढकाल नेपालमा धर्मप्रचारसँग जोडिएको विवादास्पद संस्था, युनिफिकेसन चर्चसँग आबद्ध व्यक्ति हुन्। ढकालका यस्ता कैयौँ आबद्धता र गतिविधि सधैँ विवादमा पर्दै आएका छन्। “यस्तो अवस्थामा पनि हामी कस्ता पात्रलाई बोकेर हिँड्दैछौँ भन्ने ढकाल सांसद बन्ने निश्चित भएको हेर्दा प्रष्ट हुन्छ”, एमालेका एक नेता भन्छन्।

खस आर्य पुरुषको सूचीमा चौथो नम्बरमा रहेका दयालबहादुर शाही पिछडिएको क्षेत्रबाट पहिलो नम्बरमा रहेकाले उनी पनि एमालेको समानुपातिक सांसद निर्वाचित हुने देखिन्छ। 

आदिवासी जनजाति पुरूषतर्फ पहिलो नम्बरमा रहेका देवीप्रसाद भट्टचन सांसद बन्ने निश्चित छ। भट्टचन व्यापारिक समूह प्रभु ग्रुपका अध्यक्ष हुन्। व्यापारिक पृष्ठभूमिबाट कांग्रेस राजनीति गर्दै आएका उनी कांग्रेसको प्रारम्भिक समानुपातिक सूचीबाट असन्तुष्ट बनेर एमाले प्रवेश गरेका थिए। एमालेले उनलाई पहिलो नम्बरमा राखेर समानुपातिक सूचीमा समेट्यो। 

आदिवासी जनजाति पुरुषतर्फ दोस्रो नम्बरमा रहेका हेमराज राई, तेस्रो नम्बरमा रहेका कालुराम राई, चौथो नम्बरमा रहेका भीमबहादुर खवास र पाँचौँ नम्बरमा रहेका सरोज डंगोल पनि एमालेबाट समानुपातिक सांसद निर्वाचित हुनेछन्।   

थारू कलस्टरबाट पुरूषतर्फ सत्यनारायण चौधरी पहिलो नम्बरमा रहेकाले उनी सांसद बन्ने निश्चितजस्तै छ। दलित पुरूषतर्फ पहिलो नम्बरमा रहेका ईश्वरबहादुर रिजाल (विक) र दोस्रो नम्बरमा रहेका प्रभु हजारा दुसाध पनि सांसद बन्नेछन्। मधेशी पुरुषतर्फ पहिलो नम्बरमा रहेका गंगाप्रसाद यादव र दोस्रो नम्बरमा रहेका अमृतलाल राजवंशी सांसद बन्ने निश्चित छ। मुस्लिम कलस्टरबाट एकजनाको मात्र प्रतिनिधित्व हुने भएकाले त्यसमा पुरुषले मौका पाउने छैनन्, अनिवार्य रूपमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने छ।  

निर्वाचन आयोगले मंसीर २४ गतेभित्र समानुपातिकतर्फको बन्दसूचीबाट आयोगबाट निर्धारित कलस्टर अनुसार नाम पठाउन दलहरूलाई पत्राचार गरिसकेको छ। आयोगमा समानुपातिक निर्वाचन प्रणाली हेर्ने प्रवक्ता गुरूप्रसाद वाग्लेले दलहरूलाई बुधबार पत्र पठाएर तीन दिनभित्र कलस्टर मिलाएर नाम पठाउन भनिएको बताए। उनले दलहरूले पिछडिएको क्षेत्र र अपाङ्गतालाई प्रतिनिधित्व गराउने सवालमा महिला वा पुरूषको सन्दर्भमा क्रमसंख्यामा फड्को मार्न पाएपनि अन्यमा नपाउने बताए। 

“कुनै दलले महिला कलस्टरबाट छान्दा आदिवासी जनजातिबाट ६ जना १ देखि ६ नम्बरसम्म भएका नै छान्न सक्छ, तर त्यसमा एकजना अपाङ्गता भएको पनि महिला लैजानुपर्यो भन्यो भने ६ नम्बरको नछानेर ७ नम्बरको पनि राख्न पाउँछ”, उनले भने, “संविधानले नै यस्तो व्यवस्था गरिदिएकाले यी दुई अवस्थामा गर्न सकिन्छ, तर अन्यको हकमा यसो गर्न पाईंदैन।” 

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल आयोगले दिएको समयसीमाभित्र नाम पठाउने गरी तयारी भइरहेको बताउँछन्। “हामीले प्राप्त गरेका ३४ सिटमा १९ जना महिला र १५ जना पुरूषको प्रतिनिधित्व गराउनुपर्ने छ। त्यसका लागि पार्टीले कुन कलस्टरबाट कति जना पठाउने भनेर छलफल भइरहेको छ”, उनले भने, “संविधान र ऐन कानूनले निर्धारण गरेको व्यवस्था अनुसार नै समानुपातिकतर्फ प्रतिनिधित्व हुन्छ।”


सम्बन्धित सामग्री