Friday, March 29, 2024

-->

कांग्रेसमा सिटौला समूहको अवसान!

१४ औँ महाधिवेशनबाट तितरबितर हुनथालेको कांग्रेसभित्रको सिटौला गुट यसपालिको निर्वाचनको नतिजासँगै अस्तित्वमा देखिने सम्भावना निकै कम रहेको कांग्रेस नेताहरू नै बताउँछन्।

कांग्रेसमा सिटौला समूहको अवसान

काठमाडौँ– बोलीचालीमा प्रायः शान्त सुनिने कांग्रेस नेता कृष्णप्रसाद सिटौला २०७८ मंसिर २४ गते १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा अलि अस्वाभाविक लाग्नेगरी आक्रामक सुनिए। सिटौलाले त्यसक्रममा भनेका थिए– “मसँग बसेर समूहको राजनीति गर्नेलाई बनाउने हो। छाडेर जानेलाई देखाइने दिने हो।” 

सिटौलाको भनाइको सार थियो– ‘आखिर कांग्रेसमा म किङमेकर पो हुँ।’ महाधिवेशनको पूर्वसन्ध्यामा गगन थापाले आफूले नेतृत्व गरिरहेको कांग्रेसको गुट छाडेपछिको असुरक्षित भाव उनको आक्रोशमिश्रित अभिव्यक्तिमा झल्किन्थ्यो। १३औँ महाधिवेशनमा सिटौला गुटबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन १४औँ महाधिवेशनमा सिटौलालाई छाडेर डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए। 

१४औँ महाधिवेशन भन्दा केही दिन पहिले काठमाडौँको जमलस्थित एक होटलमा आयोजित गुट–भेलामा सिटौलाले गगनलाई आफ्नो गुट नछाड्न आग्रह नै गरेका थिए। गगनले भने ‘प्रदीप पौडेलले के गर्नुहुन्छ नि?’ भन्ने प्रतिप्रश्न सिटौलालाई गरेका थिए। “प्रदीप मलाई छाडेर कतै जान्नन् भन्नेमा ढुक्क छु”, सिटौलाले भनेका थिए, “तपाईंको चाहिँ मलाई चिन्ता छ।” 

गगन त्यसबेला शेखर प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो। सिटौलाले त्यसमै ‘चिन्ता’ प्रकट गरेका थिए। तर, गगनले आफ्नो गुट छाडेपछि सिटौलाले प्यानल बनाएर प्रतिस्पर्धा गर्ने जोखिम लिन चाहेनन्। बरू शेरबहादुर देउवाकै समूहसँग सहकार्य गरेर अघि बढ्ने नीति लिए। त्यहीक्रममा उनी प्रदीप पौडेललाई देउवा समूहबाटै महामन्त्रीको उम्मेदवार बनाउन सफल भए। 

तर, तुलनात्मक रूपमा सशक्त गुटका आधिकारिक उम्मेदवार भएपनि देउवा गुटका महामन्त्रीका दुवै उम्मेदवार प्रदीप र प्रकाशशरण महत पराजित भए। तैपनि सिटौला समूहका केहीले केन्द्रीय कार्यसमितिमा स्थान बनाए। 

गगनको बहिर्गमनसँगै ओरालो लाग्न थालेको सिटौला समूह मंसिर ४ मा सम्पन्न निर्वाचनको नतिजाबाट अस्तित्वकै संकटमा देखिएको छ। सिटौलासँगै उनको समूहबाट उम्मेदवार बनेका धेरैले चुनाव हारेका छन्। चुनाव जितेका प्रदीप पौडेल पनि अब कांग्रेसभित्रको परिवर्तित समीकरणमा कि शेरबहादुर देउवाकै समूहमा, नभए गगन–विश्वप्रकाश शर्माको समूहमा जोडिने सम्भावना ज्यादा छ। झापा–३ बाट पराजित सिटौला स्वयंको राजनीतिक भविष्य पनि अन्योलपूर्ण बनेको छ।   

तत्कालीन हिंसात्मक विद्रोहरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका वहन गरेका सिटौला गणतन्त्र स्थापनामा पनि आफ्नो उल्लेख्य भूमिका रहेको बताउने गर्छन्। त्यसैअनुसार कांग्रेसमा आफ्नो हैसियत खोज्नेगरेका उनलाई कांग्रेस नेतृत्वले पनि आफ्नो पक्षमा राख्ने प्रयत्न गरिरह्यो। संसदीय र पार्टी, दुवैतिरको निर्वाचनमा अस्वीकृत हुँदा पनि उनले आफ्नो गुटको शक्तिबाट लाभ लिइरहे। अनि त्यही लाभनिम्ति शक्तिमा रहिरहन गुटलाई निरन्तरता पनि दिइरहे। मंसिर ४ को निर्वाचन सिटौलाको राजनीतिक जीवनमा यस्तो ‘टर्निङ प्वाइन्ट’ बनेर उभिएको छ, जहाँबाट उनले नेतृत्व गर्ने गुटको मात्र नभई उनी स्वयंको राजनीतिक भविष्य पनि अन्योलग्रस्त बनेको छ।

सिटौला छाएको त्यो बेला
२०७४ को निर्वाचनमा वामगठबन्धनको समेत साथ पाएका राप्रपाका राजेन्द्र लिङ्देनले झापा–३ मा सिटौलालाई पराजित गरेका थिए। यसपालि पनि लिङ्देनले नै सिटौलालाई पाखा लगाए। लिङ्देनलाई यसपटक नेकपा एमालेको साथ थियो। सिटौला भने सिंगो सत्तागठबन्धनका साझा उम्मेदवार थिए। तर, गठबन्धनकै साथ हुँदापनि लिङ्देनसामु सिटौलाको जोर चलेन। 

निकटस्थहरूसँग सिटौलाले जिते पनि हारे पनि यसपालिको निर्वाचन आफ्ना लागि सम्भवतः अन्तिम हुने जनाउ दिने गरेका थिए। यसबाट राजनीतिक जीवनको लगभग उत्तरार्द्धमा संसद् प्रवेश गर्ने र सत्तासमीकरणमै हिस्सेदारी गर्ने उनको योजनामा लगभग ‘ब्रेक’ लागेको टिप्पणी भइरहेको छ।

सिटौला अहिले ७२ वर्षका भए। स्वास्थ्य र सक्रियता दुवै पहिलेजस्तो छैन। त्यहीकारण पनि कांग्रेसभित्र अब उनी चुनावी मैदानमा देखिने सम्भावना न्यून रहेको चर्चा हुने गरेको छ। दलीय राजनीति सत्ता र शक्तिका पछाडि कुद्नेहरूको पर्यायजस्तै बनेका बेला चुनावी हारसँगै कांग्रेसमा शक्तिविहीन झैँ बनेका सिटौलालाई अब उनकै समूहमा रहेका बाँकी नेताले पनि साथ दिने सम्भावना न्यून छ। यसबाट उनको राजनीतिक जीवनसँगै ‘सिटौला गुट’ पनि अवसानको बाटोमा गएको टिप्पणी कांग्रेस नेताहरू नै गर्छन्। 

कांग्रेस केन्द्रीय कार्यसमितिका एक पदाधिकारी सिटौलाको राजनीतिक जीवन यसरी ओरालो लाग्नुमा उनी आफै जिम्मेवार रहेको बताउँछन्। “सिटौलाले आफ्नो राजनीतिक जीवनमा जे जति पहिचान बनाउने कोसिस गर्नुभयो, त्यो उहाँको आफ्नो मिहिनेतभन्दा पनि नेतृत्वले गरेको भरथेगमा हुँदै आएको छ”, ती पदाधिकारीले भने, “अर्कोतिर उहाँले सत्ता–शक्तिमा हुँदा पनि कहिले न्यायपूर्ण तरिकाले काम गर्नु भएन। विवादास्पद कामले गर्दा उहाँलाई कांग्रेसभित्र माओवादीको मान्छे भनेर चिनायो।”

सक्रिय राजनीतिक जीवनमा सिटौलाले जे जस्ता अवसर पाए, कांग्रेसमा सिटौलाकै समकालीनहरूका निम्ति त्यो अकल्पनीयजस्तै थियो। २०४६ सालको आन्दोलनताका सिटौला झापामा वकालत गर्थे। २०४८ को आम निर्वाचनमा झापा–१ बाट उम्मेदवार बनेका उनी एमालेका द्रोणचार्य क्षेत्रीसँग पराजित भए। क्यान्सरका कारण क्षेत्रीको निधन पछि रिक्त स्थानमा २०५० सालमा सम्पन्न उपनिर्वाचनमा एमालेका लीला उदासीलाई हराउँदै सिटौला पहिलोपटक संसद्मा पुगेका थिए। 

त्यसबेला सिटौला कांग्रेसमा कृष्णप्रसाद भट्टराईले नेतृत्व गर्ने गुटमा थिए। 

२०५१ को मध्यावधि निर्वाचनमा झापा–३ बाट उम्मेदवार बनेका उनी एमालेका पुष्प पोखरेलसँग पराजित भए। २०५६ मा भने झापा–३ बाटै एमालेका नारायण राजवंशीलाई पराजित गरेर सिटौला दोस्रोपटक संसद्मा पुगे। 

तर, त्यतिबेलासम्म उनी भट्टराईको साथ छाडेर गिरिजाप्रसाद कोइरालासँग नजिक भइसकेका थिए। २०६२/६३ को जनआन्दोलनसम्म आइपुग्दा सिटौलाको परिचय कोइरालाको ‘किचन क्याबिनेट’ सदस्यका रूपमा विकसित भइसकेको थियो। कोइरालाका ‘खासमखास’कै रूपमा उनले माओवादीसँगको वार्ता र शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउने निर्णायक भूमिका पाए। यसैको पारितोषिकका रूपमा कोइरालाले २०६२/६३ को आन्दोलनपछि बनेको सरकारमा सिटौलालाई गृहमन्त्री बनाए। माओवादीसँँग वार्ता गर्न सरकारी वार्ता टोलीको संयोजक नै सिटौलालाई बनाइएको थियो। 

वार्ता टोलीको संयोजक भएर उनी हिंसा त्याग्ने घोषणा गरिनसकेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न कास्कीको सिक्लेस पुगेका थिए। त्यही छलफलपछि माओवादी नेतृत्व खुला राजनीतिमा आउन सहमत भएको थियो। सिक्लेसको अन्तिम छलफलपछि सिटौला, दाहाल र बाबुराम भट्टराईलाई हेलिकप्टरमा राखेर सिधै काठमाडौँ ओर्लेका थिए। र, २०६३ असार २ मा दाहाललगायत माओवादीको नेतृत्व पहिलोपटक बालुवाटारमा सार्वजनिक भएको थियो। 

कोइराला क्याबिनेटको प्रमुख पात्रका रूपामा शान्ति प्रक्रियामा सक्रिय रहेका सिटौलाले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने हार बेहोरे। उनलाई झापा–३ बाट माओवादीका पूर्णप्रसाद राजवंशीले पराजित गरेका थिए। माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन भूमिका खेलेका उनी माओवादीका जिल्ला तहका नेताबाटै पराजित भए। 

कोइरालाको साथले राजनीतिक ‘करिअर’लाई ज्यामितीय हिसाबले अगाडि बढाइरहेका सिटौलाका लागि त्यो हार निकै ठूलो धक्का थियो। तैपनि बाह्रौँ महाधिवेशनमा सुशील कोइराला सभापति निर्वाचित भएपछि उनी महामन्त्रीमा मनोनीत भए। अनि २०७० मा उनले राप्रपा नेता राजेन्द्र लिङ्देनलाई पराजित गरेर दोस्रो संविधानसभामा स्थान बनाए। 

२०५७ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका सिटौला २०६३ मा कोइरालाकै मन्त्रिपरिषद्मा गृहमन्त्री बने। पछि २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा भने उनी उपप्रधानमन्त्रीसहित रक्षा, कानुन, न्याय तथा संविधानसभा व्यवस्था मन्त्री भए। 

यसबीचमा सिटौला कोइरालानिकट भइरहँदा गोविन्दराज जोशीलगायत कोइराला परिवारका नातेदारसमेत रहेका बौद्धिक नेता चक्र बास्तोला  पन्छिए/पन्छाइए। 

सिटौलामाथि शान्तिप्रक्रियामा माओवादीको पक्ष लिएको आरोप समेत लाग्ने गरेको छ। “सिटौलाले शुरूदेखि नै नेतृत्वमा पुग्ने डोरी समातेर राजनीति गर्नुभयो। शान्ति प्रक्रियामा पनि उहाँले निष्पक्ष काम गर्नु भएन। गृहमन्त्री हुँदा पनि उहाँले राम्रो छवि निर्माण गर्न सक्नुभएन”, कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्।

कोइराला परिवारले रुचाएका सिटौलाले कांग्रेसको १३ औँ महाधिवेशनमा तत्कालीन संस्थापन समूहबाट विद्रोह गरेर पहिलोपटक आफ्नै नेतृत्वमा छुट्टै गुट बनाएका थिए। तत्कालीन संस्थापन समूहबाट कुनै न कुनै पदाधिकारीको पदमा प्रतिस्पर्धा गर्ने इच्छा पुरा नभएपछि गगन थापाले पनि सिटौलालाई नै सघाउने निधो गरेका थिए। अनि कांग्रेसमा ‘सिटौला गुट’ जन्मिएको थियो। त्यसबेला थापा महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्षको उम्मेदवार बने। तर, थापा र चौधरी पराजित भए। सभापतिको उम्मेदवार बनेका सिटौलाले दोस्रो चरणमा भने देउवालाई सघाए। देउवाको जित उनकै कारण सम्भव भयो।

त्यो घटना सिटौलाका निम्ति पार्टी नेतृत्वसँग ‘बार्गेनिङ’ पावर बढाउने राम्रो अवसर बन्यो। यतिसम्म कि त्यसपछि सरकारमा सिटौला गुटका लागि कोटा नै छुट्याउन थालियो। देउवाले प्रतिस्पर्धी (संस्थापनइतर) गुटलाई ‘साइज’मा राख्न शीर्ष नेताको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सिटौलालाई कहिल्यै छुटाएनन्।

सिटौला गुटकै साथ पाएर देउवा गुटले महाधिवेशनका क्रममा जिल्ला र प्रदेशमा पनि उल्लेख्य सफलता हात पा¥यो। 

यसरी कांग्रेसभित्र ‘निर्णायक’ बनिरहेका सिटौला १४ औँ महाधिवेशनमा पनि सभापति र पदाधिकारीको निर्वाचनमा आफ्नो समूहलाई निर्णायक रूपमा अगाडि सार्न चाहन्थे। तर, गगन थापाले साथ नदिँदा उनको गुट कमजोर बन्यो। अघिल्लो महाधिवेशनमा जस्तै यसपटक पनि अन्तिम समयमा उनी शेरबहादुर देउवाको पक्षमा उभिएर आफ्नो गुट जोगाउने भरमग्दुर प्रयत्नमा लागे। त्यसैको प्रतिफलस्वरूप यसपालिको निर्वाचनमा आफूसहित आफ्नो गुटका केही नेतालाई टिकट दिलाउन सफल भए। 

दिन ढलेको संकेत
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि सिटौला समूहबाट  टिकट पाएका पाँच नेतामध्ये एकजना प्रदीप पौडेल मात्र विजयी भए। काठमाडौँ–५ बाट उम्मेदवारी दिएका पौडेलले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरे। पौडेल यसअघि तनहुँ–२ बाट प्रदेशसभा सदस्यमा पराजित भएका थिए। 

काठमाडौँका लागि प्रदीपको अनुहार ‘नयाँ’ नभएको भए, उनले ‘ब्रेन ड्रेन, करप्सन र डेभलपमेन्ट’को चुनावी प्रतिबद्धतापत्र जारी नगरेको भए, घरघरमा पुगेर पुराना प्रतिनिधिले काम गर्न नसकेकोमा म माफी माग्छु भन्दै नहिँडेको भए र बिरामी अवस्थामा पनि नरहरि आचार्यले धक फुकाएर मत नमागिदिएको भए एमालेको पकड क्षेत्रमा पौडेललाई जित निकाल्न मुस्किल पर्थ्यो। “मतदाता भगवान् हुन्। काठमाडौँले सबै यथार्थ जान्न पाउने मौका पायो। उच्च चेतना भएका नागरिक मतदाता भएकाले मैले जित्न सफल भएँ भन्ने लाग्छ”, पौडेल भन्छन्।  

तर, प्रतिकूल वातावरण भएकाले सिटौलाले हार बेहोर्नु परेको उनको बुझाई छ। “निर्वाचनमा उम्मेदवार बन्दा कुनै समूहको नभई कांग्रेसको बन्ने हो। सिटौला दाइको कुरा गर्दा उहाँको प्रतिस्पर्धी एउटा अनुदारवादी पक्षसँग एमाले मिलेको थियो। अप्राकृतिक गठबन्धन गरेर उहाँलाई हराइएको हो। दाइको पराजयको विषय स्थानीय परिस्थितिसँग जोडिएको छ। समूहसँग जोडिएको होइन”, पौडेलले भने।

सिटौला समूहका अर्का नेता भीमसेनदास प्रधानलाई नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालले काठमाडौँ–६ बाट पराजित गरे। जबकि यसअघिका दुईवटा निर्वाचनमा प्रधान सोही क्षेत्रबाट निर्वाचित भएका थिए। पूर्वरक्षामन्त्रीसमेत प्रधानको यो क्षेत्रमा राजनीतिक प्रभाव राम्रो मानिन्थ्यो। कांग्रेसका लागि उनको क्षेत्र सबैभन्दा सुरक्षित पनि आकलन गरिएको थियो। 

गत निर्वाचनमा प्रधानले वामगठबन्धनका उम्मेदवारलाई नै पराजित गरेका थिए। अहिले माओवादी, एकीकृत समाजवादीलगायत दलहरूको साथ पाउँदा पनि उनी पराजित भए। प्रधान पार्टीभित्रैबाट असहयोग भएपछि आफूले पराजय बेहोरेको बताउँछन्। “मलाई मेरै पार्टीका नेताहरूले असहयोग गर्नुभयो। जो यो क्षेत्रबाट चुनाव लड्न चाहिरहनु भएको थियो उहाँहरू नै मलाई संगठित रूपमा हराउन लाग्नुभयो। मतदातामा म लोकप्रिय हुँदा उहाँहरूलाई सहन गाह्रो भएको थियो। यसपटक मलाई मत दिनु भन्दा घण्टीलाई भोट दिलाउन उहाँहरू लाग्नु भयो”, प्रधानले भने। 

प्रधानले धेरैपटक अवसर पाएपनि प्रभावकारी काम नगरेको भन्दै यसपटक काठमाडौँ–६ बाट कांग्रेसका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ उम्मेदवार बन्न चाहेका थिए। तर, टिकट नपाएपछि बानियाँ रुष्ट थिए। प्रधानले पार्टीभित्रैबाट असहयोग भनेर उनैलाई लक्षित गरेको देखिन्छ। 

सिटौला समूहकै उमाकान्त चौधरी बारा–२ बाट पराजित भए। चौधरीलाई एमालेका अच्युतप्रसाद मैनालीले पराजित गरेका हुन्। २०५६ मा बारा–१ बाट निर्वाचित उनी २०६४ मा बारा–२ बाट विजयी भएका थिए। २०७४ मा पनि चौधरी बारा–१ बाट निर्वाचित भएका थिए। 

काभ्रे–२ बाट उम्मेदवार बनेका सिटौला समूहका शिवप्रसाद हुमागाईंलाई नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटाले पराजित गरे। उनी पहिलो पटक २०५६ सालमा काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०६२/६३ को आन्दोलनपछि पुनर्स्थापित संसद्मा पनि उनी सदस्य थिए। हुमागाईंले कांग्रेसबाटै अस्वस्थ घेराबन्दी भएका कारण आफूले यसपटक जित्न नसकेको बताए। “प्रारम्भदेखि नै कांग्रेसबाट मलाई चुनावमा उठ्न नदिनेगरी घेराबन्दी गरियो। चुनाव परिचालन समिति सक्रिय भएन। एउटा पार्टी पंक्ति नै मेरो प्रचारप्रसारमा लाग्नबाट वञ्चित भयो। अन्तिममा त कांग्रेसले नै मेरो प्रतिस्पर्धीलाई खुलेरै सहयोग गर्‍यो”, उनले भने, “अस्वस्थ समीकरणबाट निराशाजनक नतिजा हात लाग्यो।”

हुमागाईंले यस्तै घेराबन्दी गरिँदा मुलुकभर कम्तीमा १२ सिट कांग्रेसले गुमाएको दाबी गरे। “उम्मेदवारलाई मात्र होइन, पार्टीका लागि पनि मत मागिएको छैन। कांग्रेस, कांग्रेसलाई हराउन लागिपरे। यो कुनै समूहमा भएकाले मात्र पनि होइन। कांग्रेसभित्र उत्पन्न विकृतिको ठूलो रूप हो”, उनले भने। 

सिटौला समूहका अर्का उम्मेदवार, झापा–४ बाट चुनाव लडेका देउकुमार थेवे पनि पराजित भए। उनलाई एमालेका एलपी सावाँ लिम्बूले पराजित गरेका हुन्। 

सिटौला समूहमा रहेका कांग्रेस महासमिति सदस्य बलदेव तिमिल्सिना शुरूमा आफ्नो समूहका सबै उम्मेदवारले जित्ने आकलन गरिएपनि एक जनाको मात्र जित हुनु आश्चर्यजनक भएको बताउँछन्। तर, यसमा समूह भन्दा पनि समग्र कांग्रेसको हार भएको उनको भनाई छ। “चुनावमा होमिएपछि कसैको हार हुनु र कसैको जित हुनु स्वाभाविक हो। तर, हाम्रो समूहका उम्मेदवार सबैले जित्ने ठानिएको थियो। नतिजा फरक आएको छ। यसबारे हाम्रो समीक्षा हुनेछ”, उनले भने। 

आफ्नो समूहको अवसान वा विलय भएको मान्न भने उनी तयार छैनन्। मुद्दाका आधारमा जो कसैलाई सहयोग गर्न सकिने उनको भनाई छ। १४ औँ महाधिवेशनमा पनि त्यसैगरी आफूहरू प्रस्तुत भएको उनले बताए।

प्रदेशमा पनि निराशा 
कांग्रेसमा सिटौला समूहले प्रदेशसभा सदस्यमा ८ वटा सिट पाएको थियो। तीमध्ये बागलुङ–२ (१)बाट जितबहादुर शेरचन, मोरङ–४ (२)बाट भीम पराजुली, झापा–३ (१) बाट भूमिप्रसाद राजवंशी, खोटाङ (२) बाट भूपेन्द्र राई, भक्तपुर–१ (१) बाट सुरेश श्रेष्ठ निर्वाचित भए। काठमाडौँ–६ (२) बाट विष्णुभक्त तिमिल्सिना पराजित भए। दोलखा–१ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका कुन्दनराज काफ्लेको मतपरिणाम आउन बाँकी छ। आफ्नो मतपरिणाको प्रतीक्षामा रहेका काफ्लेले आफ्नो समूहका उम्मेदवारको हार किन भयो भन्ने जवाफ आफूसँग नभएको बताए। उनले भने, “हाम्रो मत कस्तो आउँछ भन्ने नै थाहा छैन। 

प्रधानले उम्मेदवार चयन र चुनावको नतिजाका आधारमा कुनै समूह विशेषको कुरा गर्न नहुने बताए। १४औँ महाधिवेशनबाटै सिटौला समूह अस्तित्वमा नरहेको उनको दाबी छ। साथै उनले कांग्रेसको संसदीय दलको चुनावमा देउवाको पक्षमा उभिने संकेत पनि गरे। “१४ औँ महाधिवेशनमा शेरबहादुर दाइसँग सहकार्य गरेका थियौँ। प्रकाशमान र विमलेन्द्र दाइको समूहले पनि त्यसै गरेको हो। हामी सबै मिलेर जिताएको हो। अब त देउवा भर्सेस शेखर समूह हुनेछ। अब संसदीय दलको नेताको निर्वाचनमा पनि त्यही हुनेछ”, प्रधानले भने।


सम्बन्धित सामग्री