Saturday, April 20, 2024

-->

मधेश प्रदेशमा दलैपिच्छे मुख्यमन्त्रीका दाबेदार

मधेश प्रदेशमा सरकार बनाउन साना दललाई मिलाउने कसरत गरिरहेका कांग्रेस र एमालेभित्रै मुख्यमन्त्रीका दाबेदार नेता मिलाउन सकस हुने भएको छ।

मधेश प्रदेशमा दलैपिच्छे मुख्यमन्त्रीका दाबेदार

काठमाडौँ- प्रत्यक्षतर्फ मधेश प्रदेशसभाका ६४ सिटकै नतिजा आएर समानुपातिकको मतगणना अन्तिम चरणमा पुग्दा जनमत पार्टीले मुख्यमन्त्री पाउने शर्तमा मात्र अन्य दलसँग सहकार्य गर्ने जनाएको छ। तर, नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नै दलको नेतृत्वमा सरकार बनाउने गरी छलफल थालेपछि मधेश प्रदेशमा हुने सत्ता समीकरण रोचक हुने भएको छ।

जनमतका केन्द्रीय सदस्य तथा प्रेस संयोजक बीपी साहले कांग्रेस, एमालेलगायत दलसँग आगामी मधेश सरकार गठनबारे अनौपचारिक छलफल भइरहेको जानकारी दिए। आफ्नो दललाई मुख्यमन्त्रीका लागि सघाउनेसँग सहकार्य हुने उनको भनाइ छ। प्रत्यक्षतर्फ पाँचौँ ठूलो दल बनेको जनमतले समानुपातिकतर्फ भने तेस्रो धेरै मत पाएको छ। साहले आफ्नो दल मधेश केन्द्रितमध्येको ठूलो भएकाले मुख्यमन्त्रीको दाबी गर्ने बताए।

“हामी अरू पार्टीजस्तो गठबन्धन बनाएर चुनाव लडेनौँ, त्यैपनि सबभन्दा बढी मत जनताले हामीलाई नै दिए। त्यसैले मुख्यमन्त्रीको माग अस्वभाविक होइन्”, साहले उकालोसँग भने।

जनमतमा चुनाव जितेर आएका सबै सांसद मुख्यमन्त्रीका लागि योग्य भएको हुनाले कसलाई बनाउने भन्ने निर्णय गरी नसकेको उनले बताए। साह भन्छन्, “संसदीय दलको निर्वाचन नभएसम्म मुख्यमन्त्रीका दाबेदार सबैजना समानरूपले हुनुहुन्छ।”

आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा लागेको कांग्रेसबाट मुख्यमन्त्री हुने दौडमा प्रदेश सभापति कृष्ण यादवसहित तीन जना छन्। तर, सम्भावित मुख्यमन्त्रीबारे निर्णय हुन बाँकी रहेको कांग्रेस जनकपुर नगर उपसभापति राकेशविक्रम साहले जानकारी दिए।

प्रत्यक्षतर्फ ठूलो दल भएको एमाले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा छ। त्यसका लागि जसपा, जनमतलगायतसँग छलफल चलिरहेको एमालेका एक नेताले बताए।

मधेश प्रदेशमा सात वटा दलले प्रत्यक्षबाट प्रतिनिधित्व गरेका छन्। समानुपातिकतर्फ १० वटा दलले प्रतिनिधित्व गर्ने सम्भावना छ। कुनै पनि दलले बहुमत नल्याउने निश्चित भएकाले साना दल पनि सरकार गठनमा निर्णायक हुने भएका छन्।

कांग्रेसबाट यी हुन् मुख्यमन्त्रीका दाबेदार
यसपटक आफ्नै पार्टीको नेतृत्वमा मधेश सरकार बन्ने कांग्रेस नेताहरूको दाबी छ। प्रत्यक्षतर्फ दोस्रो ठूलो दल भएको कांग्रेसले समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएको छ।

कांग्रेसबाट मुख्यमन्त्रीका लागि मधेश प्रदेश सभापति कृष्ण यादव, उपसभापति वीरेन्द्रप्रसाद सिंह र मधेश प्रदेशका पूर्वमन्त्री रामसरोज यादव प्रतिस्पर्धामा छन्। कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाए प्रदेश सभापति यादव नै मुख्यमन्त्री हुने कांग्रेस जनकपुर नगर उपसभापति साहको भनाइ छ। 

प्रदेशका पूर्वमन्त्री रामसरोज यादवले इच्छा देखाए पनि उनी मुख्यमन्त्री बन्ने सम्भावाना न्यून रहेको साह बताउँछन्। “मुख्यमन्त्रीको दौडमा वीरेन्द्र सिंह पनि हुनुहुन्‍छ। उहाँ पदीय हिसाबले रामसरोजभन्दा माथि हुनुहुन्छ”, साहले उकालोसँग भने, “यदि प्रदेश सभापतिले कुनै कारण मुख्यमन्त्रीको दाबेदारीबाट पछाडि हटे उपसभापति सिंह पछि हट्ने मुडमा हुनुहुन्न।” 

प्रदेश सभापति यादव रौतहट-१ (२) र सिंह सर्लाही-४(१) बाट निर्वचित भएका हुन्। अर्का नेता रामसरोज धनुषा-३(१) बाट निर्वचित भएका हुन्।  अध्यक्ष यादव र सिंह देउवा प्यानलका हुन् भने रामसरोज निधि निकट नेता हुन्।

मुख्यमन्त्रीको दौडमा एमालेका तीन  नेता
एमाले यसपटक मधेश प्रदेशसभामा प्रत्यक्षतर्फको ठूलो दल बनेको छ। १५ सिटमा विजयी भएको एमालेले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत थालेको छ। एमालेले कांग्रेसबाहेकका दलसँग छलफल चलाइरहेको एक नेताले बताए।

एमालेबाट मुख्यमन्त्रीका लागि रामचन्द्र मण्डलको नाम चर्चामा छ। मण्डल धनुषा-१(२) बाट निर्वाचित भएका हुन्। उनी यसअघि पनि प्रदेशसभा सदस्य थिए। उनीबाहेक सरोजकुमार यादव र राजकुमार लेखीको नाम पनि चर्चामा रहेको एमाले मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तले जानकारी दिए। यादव र लेखी प्रदेशसभामा पहिलोपटक निर्वाचित भएका हुन्।

“एमालेको नेतृत्वमा सरकार गठन हुने परिस्थिति भयो भने पार्टीको पहिलो रोजाइमा मण्डल नै मुख्यमन्त्री बन्नुहुन्छ” उपसभापति पन्त भन्छन्, “तर प्रतिकूल परिस्थिति आयो भने पार्टीले फरक निर्णय पनि गर्नसक्छ। त्यहीअनुसार मुख्यमन्त्रीको प्रस्ताव फेरिन सक्छ।”

संघीय सरकार कसको नेतृत्वमा बन्छ भन्ने विषयले प्रदेश सरकारको खाका तय हुने उनले बताए। सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनको स्पष्ट बहुमत नआउँदा जनमत पार्टी र स्वतन्त्र जितेकाहरू पनि निर्णायक हुनसक्ने उनको भनाइ छ। 

लोसपा र जसपा 'पर्ख र हेर'को अवस्थामा
समानुपातिकतर्फको मतगणना सम्पन्न नभएको कारण लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जान पहल नथालेको लोसपा धनुषाका अध्यक्ष परमेश्वर साहले बताए। “समानुपातिकतर्फको मतगणना जारी नै छ, पहिला त्यो सकियोस् अनि हामी पार्टीभित्र पनि कुरा अगाडि बढाउँछौँ। अहिले मिडियामार्फत बाहिरिएको समाचारहरूको कुनै अर्थ छैन”, साहले उकालोसँग भने।

लोसपामा मुख्यमन्त्रीका लागि जितेन्द्रप्रसाद सोनार निर्विकल्प भएको साहले बताए। सोनार बारा ४(२) बाट निर्वाचित भएका हुन्।

जसपाले पनि सरकार बनाउनेबारे छलफल अगाडि नबढाएको जनाएको छ। मतपरिणाम पूर्णरूपले सार्वजनिक भएपछि मात्र प्रदेश सरकारका लागि पहल गर्ने मुख्यमन्त्री लालबाबु राउत बताउँछन्। 

मुख्यमन्त्रीका लागि जसपाले कुनै निर्णय नगरेको राउतले बताए। “संसदीय दलबाटै मुख्यमन्त्री छानिन्छ। अहिले त पूर्णरूपले मतपरिणाम नै सार्वजनिक भएको छैन। त्यसैले सरकारबारे भन्न सकिन्न”, राउतले उकालोसँग भने।

आफू पनि मुख्यमन्त्रीको आकांक्षी भएको राउत बताउँछन्। उनी भन्छन्, “पछिल्लो सरकारको नेतृत्व मैले नै गरेँ। मुख्यमन्त्री भएरै पाँच वर्ष काम गरेँ। मसँग अनुभव पनि छ। अब हेरौँ, हामी पर्खाइमै छौँ।”

यस्तो छ प्रदेशसभाको अंकगणित
मधेश प्रदेशसभाको प्रत्यक्षतर्फ सबै ६४ सिटको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले १५ वटामा जित हासिल गरेको छ। नेपाली कांग्रेसले १३, जसपाले नौ र लोसपाले सात सिट जितेका छन्। त्यस्तै, जनमत पार्टीले ६, एकीकृत समाजवादी र माओवादी केन्द्रले चार-चार सिट जित्दा ६ जना स्वतन्त्र सांसद् विजयी भएका छन्।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको थियो। यसपटक ६ सिट बढाएको छ। जसपा र लोसपाले भने सिट गुमाएका छन्। अघिल्लो प्रदेशसभामा १०७ मध्ये तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धनले ५४ सिट जितेका थिए। यसपटक भने मधेश केन्द्रित दुई प्रमुख दल जसपा र लोसपा फरक गठबन्धनमा थिए।

यसपटक समानुपातिकतर्फ कांग्रेस ठूलो दल हुने निश्चित छ। अहिलेसम्म कांग्रेसले तीन लाख ७३ हजार ९६६ मत पाएका छन्। एमालेले तीन लाख ३७ हजार ८५६, जनमतले दुई लाख ८५ हजार ७९२, जसपाले दुई लाख ७३ हजार २७८ मत पाएका छन्। त्यसैगरी माओवदी केन्द्रले एक लाख ७३ हजार ३०२, एकीकृत समाजवादीले एक लाख पाँच हजार ५९२ र लोसपाले एक लाख तीन हजार २६३ मत पाएका छन्। 

यीबाहेक ६३ हजार ४७३ मत पाएको राप्रपा, ४८ हजार ७१६ मत पाएको नेपाल संघीय समाजवादी पार्टी र ४० हजार ९०३ मत पाएको नागरिक उन्मुक्ति पार्टीले पनि १.५ प्रतिशतको थ्रेसहोल्ड कटाउने सम्भावना छ। त्यसो हुँदा प्रदेशसभामा यी दलको पनि प्रतिनिधित्व हुनेछ।


सम्बन्धित सामग्री