Thursday, April 25, 2024

-->

के फेरि वामगठबन्धन बन्न सक्छ?

प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम आई नसक्दै शुरू भएको सरकार बनाउने रस्साकस्सीमा फेरि वामगठबन्धनको चर्चा हुन थालेको छ।

के फेरि वामगठबन्धन बन्न सक्छ 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा आउने क्रममा छ। निर्वाचन स्थगन भएका, मतगणना शुरू नभएका तीन जिल्लाका तीन क्षेत्रको परिणाम कहिले आउँछ भन्ने टुंगो नलागे पनि बाँकी क्षेत्रको मतगणना अन्तिम चरणमा छ। अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस प्रतिनिधिसभामा सबभन्दा ठूलो पार्टी बन्ने निश्चित देखिन्छ। दोस्रोमा नेकपा एमाले हुने छ। कांग्रेस र एमालेबीच त्यति ठूलो अन्तर छैन।

कांग्रेस र एमाले दुवै सुविधाजनक स्थितिमा नदेखिएकाले अब कसको सरकार बन्ला भन्ने प्रष्ट छैन। यहीकारण अन्तिम नतिजा आई नसक्दै पार्टीहरू नयाँ सरकार गठनका लागि आ–आफ्नै गृहकार्यमा जुटेका छन्।

पहिलो पार्टी बनेको कांग्रेस आफ्नै नेतृत्वमा गठबन्धन गरेर निर्वाचनमा गएकाले सरकार पनि आफ्नै नेतृत्वमा बनाउने कसरतमा लागेको छ। त्यसका लागि वर्तमान सत्तागठबन्धनलाई निरन्तरता दिने उसको जोडबल देखिन्छ। गत सोमबार सत्तागठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले यसबारे छलफल गरेका छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलले वर्तमान गठबन्धनलाई कायम राखेर अघि बढ्ने निचोड निकालेको छ। यही गठबन्धन कायम राखेर कांग्रेसकै नेतृत्वमा सरकार बनाउने छलफल चलिरहँदा अबको संसद्मा दोस्रो ठूलो हैसियतमा रहने एमालेले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन पहल अघि बढाउने संकेत देखाइसकेको छ।

‘मंसिर ४, ओली सरकार’ नारासहित अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेर निर्वाचनमा होमिएको एमालेलाई यो नारा लागू गर्न चुनावी परिणाम भने अनुकूल आएन। तर, कांग्रेससँगको अन्तर त्यति ठूलो नभएकाले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा भने एमाले पनि देखिएको छ।

कतिपयले अब फेरि वामपन्थी पार्टीहरूबीच सरकारमा सहकार्य हुनसक्ने सम्भावना व्यक्त गरिरहेका छन्। त्यसका निम्ति एमालेले ‘आकार लिई नसकेको’ आन्तरिक कसरत शुरू गरे पनि त्यस्तो कसरत टुंगोमा पुग्ने संशय भने यथावत् छ। गत साता (बिहीबार) एमाले अध्यक्ष ओली र उपाध्यक्ष सुवास नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग छुट्टाछुट्टै फोन संवाद गरेर ‘सहकार्य गर्न’ प्रस्ताव गरेको खबर सार्वजनिक भएको थियो। सचिवालयबाट यो खबर तत्काल बाहिर ल्याएका दाहालले त्यसपछि भने यसबारे केही बोलेका छैनन्।

कांग्रेसको नेतृत्वमा गठबन्धन गरेर निर्वाचनमा गएका माओवादी केन्द्र र एकीकृत समाजवादी मतपरिणामबाट सन्तुष्ट देखिँदैनन्। पछिल्ला केही दिनयता यी दुई दलबीच कसरी अगाडि बढ्ने भन्नेबारे छलफल चलिरहेको छ। माओवादी र एकीकृत समाजवादी वर्तमान गठबन्धनकै निरन्तरताको पक्षमा उभिन्छन् या नयाँ (वाम) गठबन्धनको कसरतमा लाग्छन् भन्नेमै अब कसको सरकार बन्छ भन्ने प्रश्न निर्भर हुने देखिन्छ।

के अहिले वामपन्थी पार्टीहरू मिलेर सरकार बनाउन सक्ने सम्भावना रहन्छ? एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र त्यस्तो धारणा बाक्लो रहे पनि वाम पार्टीहरूबीच सहकार्य नै सम्भव छ त? एमाले उपाध्यक्ष सुवास नेम्वाङ भने वामपन्थी शक्तिहरू मिल्ने कुरा असम्भव नरहेको बताउँछन्। उनले यसको सम्भावना बाँकी नै रहेको बताए। “नेकपा एमाले लगायत सबै दलहरू मिलेर देश र जनताको हितमा अगाडि बढ भनेर जनताले प्रष्ट बुझ्ने भाषामा जनादेश दिएका छन्”, उनले भने, “त्यही जनादेश अनुसार हामी प्रयास गर्छौं। र एउटा टुंगोमा पुग्छौँ।” 

यसपालिको निर्वाचनले तीनवटै वामपन्थी पार्टीलाई पहिलेभन्दा कमजोर अवस्थामा पुर्‍याएको छ। त्यसले पनि उनीहरू स्वाभाविक दबाबमा छन्। एमालेले २०७४ सालमा दुई वामशक्ति (एमाले–माओवादी) मिलेर चुनावमा जाँदा प्राप्त गरेको शक्ति गुमाएको छ। माओवादी केन्द्र पनि कांग्रेससँगको गठबन्धनबाट झन् कमजोर बनेको बुझाइमा देखिन्छ भने एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी राष्ट्रिय पार्टी नै बन्न नसक्ने अवस्थामा देखिएको छ।

तर, यी वामपन्थी पार्टीबीच सहकार्य भइहाले पनि सरकार निर्माणका लागि बहुमत पुग्ने देखिँदैन। त्यसका लागि उनीहरूलाई अरू साना पार्टीको सहयोग आवश्यक पर्छ। अहिलेको मतपरिणाम हेर्दा प्रतिनिधिसभामा एमालेका करिब ७८ सदस्य हुनेछन्। त्यस्तै माओवादी केन्द्रका कम्तीमा ३२ र एकीकृत समाजवादीका १० सदस्य हुनेछन्। तीनवटै पार्टीका सदस्य जोड्दा पनि प्रतिनिधिसभामा १२० सदस्य मात्र पुग्छन्। सरकार बनाउन न्यूनतम १३८ सदस्य आवश्यक पर्छ।

बाँकी १८ सदस्य जुटाउन वामपन्थी दलहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)को साथ लिनुपर्ने हुन्छ। वाम पार्टीहरू एक ठाउँ उभिने अवस्थामा राप्रपा र जसपाको सहयोग उनीहरूलाई जुट्न सक्छ।

नेतृत्वको प्रश्न
सरकार बनाउन आवश्यक १३८ सदस्य जुटेमा पनि वाम पार्टीहरूबीच सहकार्यका लागि अर्को समस्या आउने देखिन्छ। त्यो हो, नेतृत्व कसले गर्ने भन्ने प्रश्न। वाम पार्टीहरूमध्ये सबभन्दा ठूलो एमाले आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा छ। उसको नेतृत्व माओवादी केन्द्र र एकीकृत समाजवादीले स्वीकार गर्लान् कि नगर्लान्? आफूबाहेकको नेतृत्व एमालेले स्वीकार गर्ला कि नगर्ला?

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल भने वाम पार्टीको नेतृत्वमा सरकार बन्नै नसक्ने भन्ने अवस्था नरहेको बताउँछन्। “वामहरूको नेतृत्वमा सरकार बनाउन बहुमत नै पुग्ने अवस्था त अहिले देखिएको छैन। कसै न कसैको समर्थन चाहिन्छ नै”, उनले भने, “तर, सम्भावना नै नभएको भने होइन। सम्भावना रहन्छ। तर, यस विषयमा कुनै छलफल भएको छैन।”

पार्टीहरूले निर्वाचनको नतिजाबारे आन्तरिक समीक्षा गरेका छैनन्। उनीहरूले गर्ने समीक्षापछि मात्र यो सम्भावना रहने वा नरहने तय हुनसक्छ। वामपन्थी विश्लेषक नारायण ढकाल निर्वाचन परिणाम र पछिल्लो परिदृश्य हेर्दा अहिले कायम रहेको सत्तागठबन्धनकै सरकार बन्ने सम्भावना रहेको बताउँछन्।

“वाम पार्टी मिलेर सरकार बनाउने भन्ने कुरा पनि सुनिँदै छ। तर, हिजो गठबन्धन किन टुट्यो, अहिले किन कुरा उठ्दै छ? म त यो कुरा नै हास्यास्पद देख्छु”, उनी भन्छन्, “पहिले पनि यिनीहरूले विचारका आधारमा गठबन्धन गरेनन्। अहिले फेरि के का लागि गर्ने भन्ने आम प्रश्न हो।”

तत्काल वाम पार्टीहरू मिलेर सरकार बनाउने अवस्था नरहेको, तर राजनीति सम्भावनाहरूको खेल रहेकाले फेरि मिलेर जाँदैनन् भन्न पनि नसक्ने उनले बताए। “एमाले, माओवादी र समाजवादीभित्रको एउटा धार मिलेर जानुपर्छ भन्नेमै देखिन्थ्यो। अहिले पनि त्यस्ता कुरा गरिरहेको देखिन्छ”, उनले भने, “तर, अब मिलेर कसरी जाने, कसको नेतृत्वमा जाने भन्ने विषयमा नै सहमति चाहिन्छ। वाम पार्टी मिलेर मात्रै सरकार बन्ने स्थिति पनि देखिँदैन। अन्य शक्तिसँग पनि सहकार्य गर्नुपर्ने हुन्छ।”

एमालेको नेतृत्वमा वाम पार्टीहरू मिलेर सरकार बन्ने स्थिति आएमा राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ। झापा, रूपन्देही र बाँकेमा एमालेसँग तालमेल गरेर चुनाव लडेको राप्रपाले एमालेकै नेतृत्वमा वाम शक्तिको सरकार निर्माण गर्ने अवस्था बनेमा समर्थन दिने देखिन्छ। “एमालेको नेतृत्वमा वाम पार्टी मिलेर सरकार बनाउने सहमति जुटे हाम्रो समर्थन रहन्छ”, राप्रपाका एक शीर्ष तहका नेताले भने, “हाम्रो समर्थन रहन्छ, एमालेले पहल थालोस्।”

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेल वामपन्थी पार्टीहरूबीच एकता नै नहुने भन्ने अवस्था नरहेको, तर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको बताउँछन्। “पुरै असम्भव भनेर भन्न सकिने कुरो होइन। हामी वाम एकताको पक्षमा भएर नै हिजो पार्टी एकता गर्न पुगेका हौँ। त्यो किन टिकेन भन्दा केही त्रुटि त्यहाँ भए”, उनले भने, “अब फेरी कहिल्यै हुँदैन भन्ने होइन। तर, के का लागि फेरि वाम पार्टी मिल्ने भन्ने मुख्य कुरो हो। त्यसको प्रष्ट चित्र आउनुपर्‍यो नि। यसमा गम्भीरतासाथ छलफल हुनुपर्छ।” उनी अहिलेकै गठबन्धनलाई निरन्तरता दिने हो भने के के अजेन्डामा निरन्तरता दिने र अब अर्को गठबन्धनको प्रक्रियामा कसरी जाने भन्ने सबै कुरा प्रष्ट हुनुपर्ने बताउँछन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने तत्काल वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नभएको बताउँछन्। मंगलबार पार्टीको सचिवालय बैठकपछि उनले उनले भने, “अहिले वाम गठबन्धनको सरकार बन्ने सम्भावना मैले देखेको छैन। अहिलेकै गठबन्धनका दलहरूसँगको सहकार्य अगाडि बढ्छ। कतिपय स्थानमा मतदान हुन बाँकी रहेकाले सबै नतिजा आइसकेपछि पिक्चर क्लियर होला।”

एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकीकरण भएको थियो। २०७४ मा दुवै पार्टी गठबन्धन गरेर चुनाव लडेका थिए। गठबन्धनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेपछि दुई पार्टीबीच एकता भएर ‘नेकपा’ बनेको थियो। तर, त्यो पार्टी धेरै समय टिक्न सकेन। पार्टीभित्र शक्ति बाँडफाँडको विषय पेचिलो बन्दै गएपछि विवाद बढ्दै गएको थियो। नेकपामा केपी शर्मा ओली समूह एकातिर र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह अर्कोतिर थिए।

ओली पार्टीभित्र अल्पमतमा परेपछि उनले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरे। संसद् विघटनपछि विभाजनको स्थिति बनेका बेला नेकपाको नाम सम्बन्धी विवादको मुद्दामा सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपाको वैधानिकतामै प्रश्न उठाएर एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदियो। त्यसपछि एमालेबाट पनि माधवकुमार नेपाल समूहले विद्रोह गरेर २०७८ भदौ २ गते नेकपा एकीकृत समाजवादी गठन भयो। एमाले र एकीकृत समाजवादीबीच झन् कटुतापूर्ण सम्बन्ध रहेकाले सम्भावित वाम गठबन्धनका लागि अर्को प्रतिकुलता थपिन सक्ने देखिन्छ।


सम्बन्धित सामग्री