Wednesday, April 24, 2024

-->

अहिलेकै गठबन्धनलाई अगाडि बढाउने एकीकृत समाजवादीको निष्कर्ष

नेकपा एकीकृत समाजवादी पार्टीले वर्तमान गठबन्धनलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।

अहिलेकै गठबन्धनलाई अगाडि बढाउने एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौँ– नेकपा एकीकृत समाजवादी वर्तमान सत्तारूढ गठबन्धनलाई नै अगाडि बढाउनुपर्ने पक्षमा उभिने निष्कर्ष निकालेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले वर्तमान सत्तारूढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरूले सतर्क हुनुपर्ने आवश्यकताको महसुस गरेको बताए। उनले गठबन्धनका दलहरूका बीचमा भइरहेको सहकार्यलाई अगाडि बढाएर लानुपर्ने बताए।

"राष्ट्रिय राजनीति कुन दिशातर्फ अगाडि बढ्छ भन्ने कुराको सन्दर्भमा हामीले गम्भीर चिन्तन, मनन गर्‍यौँ। देश कतै दक्षिणपन्थी दिशातिर त जाँदैन भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनुपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महसुस गर्‍यौँ," उनले भने, "यस हिसाबमा गठबन्धनका दलहरूसँगको हाम्रो सहकार्य छ, त्यो सहकार्यलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने हामीले ठानेका छौँ।"

त्यस्तै, सचिवालय बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग राखेको विषयमा समेत छलफल भएको उनले जानकारी दिए। बैठकमा उदयपुर जिल्लाको विषयमा पनि छलफल भएको उनको भनाइ छ।

"हाम्रो पार्टीले देशभर पाएको मतको छलफल गर्‍यौँ। इलाम र उदयपुरबारे छलफल गर्‍यौँ। इलाममा अनेकौँ खालका विसंगति देखिए। विसंगति देखिएको सन्दर्भमा उम्मेदवार हुनुभएका झलनाथ खनालले गम्भीर आपत्ति जनाएर वक्तव्य दिनुभएको सन्दर्भमा कुनै कानूनी उपचारमा जाने र पुनः मतदानको माग गर्ने कुरा उहाँले उठाउनुभएको छ। त्यसबारेमा छलफल भएको छ," उनले भने।

बैठकले पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक, शुभचिन्तक र मतदान सम्पन्न गराउन भूमिका खेल्ने सरकारी निकायलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। उनले गठबन्धनका कारण प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्दै आगामी दिनमा पनि गठबन्धनकै भावनाअनुसार काम गर्ने पार्टीको निष्कर्ष रहेको स्पष्ट पारे।

"आज जे–जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौँ। यो मत परिणाम हामीले सोचेजस्तो छैन। तर, सोचेजस्तो छैन भन्दैमा हामीले गठबन्धन सँगसँगै लागेर गठबन्धनका कारणले प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने ठाउँमा यो निष्कर्षमा हामी पुगेका छौँ," उनले भने। उनले निर्वाचनको समग्र समीक्षा भने सबै जिल्लाबाट रिपोर्ट आइसकेपछि आगामी बैठकमा गरिने बताए।


सम्बन्धित सामग्री