Friday, April 26, 2024

-->

गण्डकीमा कसको बन्दैछ सरकार, को होला मुख्यमन्त्री?

प्रदेशसभा निर्वाचनको सम्पूर्ण नतिजा आइनसक्दै गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन प्रमुख दलहरूको दौडधुप शुरू भएको छ।

गण्डकीमा कसको बन्दैछ सरकार को होला मुख्यमन्त्री

पोखरा– मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनको पूर्ण नतिजा आइनसक्दै गण्डकी प्रदेशमा कसको सरकार बन्छ र मुख्यमन्त्री को बन्छ भन्ने चर्चा र अड्कलबाजी शुरू भएको छ। आफ्नो नेतृत्वमा प्रदेश सरकार बनाउन प्रमुख पार्टीहरूले कसरत अगाडि बढाइसकेका छन्। 

गण्डकीका ११ जिल्लामध्ये अरू सबैको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेपनि प्रतिनिधिसभामा स्याङ्जा क्षेत्र नम्बर २ र प्रदेशसभामा सोही क्षेत्रका दुई क्षेत्रको नतिजा मात्र आउन बाँकी छ। नेकपा एमालेसहितका दलले मतदानमा धाँधली भएको भन्दै त्यहाँ पुनः निर्वाचन हुनुपर्ने माग गरेपछि त्यहाँ पुनः मतदान गर्ने कि मतगणना शुरू गर्ने भन्ने निर्णय हुनसकेको छैन। 

स्याङ्जा–२ बाहेक ३४ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १६, एमालेले १२, नेकपा माओवादी केन्द्रले ५ र स्वतन्त्र उम्मेदवारले एक सिट जितेका छन्। स्याङ्जा–२ (१) र (२को नतिजा नआउँदै गण्डकी प्रदेशसभामा कांग्रेस सबभन्दा ठूलो दल बन्ने देखिएको छ। 

२०७४ को निर्वाचनमा गण्डकीमा प्रत्यक्षतर्फ कांग्रेसले ६ सिट र समानुपातिकमा ९ सिट गरी जम्मा १५ सिट जितेको थियो। एमालेले २७ (प्रत्यक्षमा १७ र समानुपातिकमा १०), माओवादी केन्द्रले १२ (प्रत्यक्षमा ९ र समानुपातिकमा ३), जनमोर्चाले ३ (प्रत्यक्षमा २ र समानुपातिकमा १) सिट जितेका थिए। तत्कालीन नयाँ शक्ति पार्टीले प्रत्यक्ष र समानुपातिकमा १–१ गरेर २ सिट तथा स्वतन्त्र उम्मेदवारले एक सिट जितेका थिए।  

यसपालि समानुपातिकतर्फ मतगणना जारी रहँदा देखिएको ‘ट्रेन्ड’ हेर्दा एमालेले १० सिट, कांग्रेसले ९, माओवादीले ४ र राप्रपाले १ सिट जित्ने देखिन्छ। यो आँकडा हेर्दा अहिलेको तालमेल (वर्तमान सत्तागठबन्धन) नबिग्रिएमा गठबन्धन गरेर निर्वाचनमा गएका कांग्रेस र माओवादी मिल्दा गण्डकीमा स्पष्ट बहुमतको सरकार बन्छ।

गण्डकी प्रदेशसभा कूल ६० सदस्यीय छ। सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ। कांग्रेसले कूल २५ र माओवादीले ९ सिट ल्याउने देखिएकाले सरकार बनाउने बहुमत सजिलै पुग्छ। 

सम्भावित परिदृश्य
कतिपयले गण्डकी प्रदेशमा कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना पनि व्यक्त गरिरहेका छन्। गण्डकीमा कांग्रेस–एमाले समीकरण बन्ने सम्भावना वर्तमान सत्तागठबन्धनबाट माओवादी बाहिरिएमा मात्र हुने हो। केन्द्रीय राजनीतिमा कथं माओवादी सत्तागठबन्धनबाट बाहिरियो भने गण्डकीमा यस्तो समीकरण बन्न सक्ने आकलन एकथरीको छ।

कांग्रेस र एमालेबीच तालमेल हुँदा गण्डकीमा सरकार मात्र बन्दैन, दुईतिहाई बहुमतकै सरकार बन्छ। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २५ र एमालेको २२ सिट जोड्दा प्रदेशसभा नै प्रतिपक्षविहीन जस्तो हुनपुग्छ। तर, यो सम्भावनाको मात्र कुरा हो।

गण्डकीमा गठबन्धनकै सरकार बन्ने लगभग तय देखिएकाले एमाले नेताहरूसमेत यसपालि आफूहरू प्रतिपक्षमा रहनेमा ढुक्क देखिएका छन्। कांग्रेस र माओवादीको गठबन्धन सरकार निर्माण गर्न खालि शक्ति बाँडफाँटमा कुरा मिले पुग्ने देखिएको छ। किनभने दुवै पार्टीका नेताहरू अहिलेको गठबन्धनकै निरन्तरता चाहन्छन्। 

गण्डकी प्रदेश सरकारका कानूनमन्त्री समेत रहेका, यसपालि कास्की–२ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य बिन्दुकुमार थापा गठबन्धनकै सरकारले निरन्तरता पाउनेमा ढुक्क छन्। “सरकार बनाउनलाई स्याङ्जाको रिजल्ट आउन बाँकी छ। त्यो आइसकेपछि प्रक्रिया अघि बढ्ला”, थापाले भने, “अब एउटा सिनारियो त देखिएको छ। पहिलो पार्टी कांग्रेस नै हुने भयो। त्यो हिसाबले कांग्रेसको नेतृत्वमा माओवादीलाई साथ लिएर अघि बढ्ने सम्भावना धेरै छ।”

यद्यपि, अहिले नै धेरै कुरा टुंगो नलागेको, केन्द्रमा कस्तो समीकरण बन्छ भन्ने कुराले पनि गण्डकीको समीकरण निर्धारण गर्ने उनले बताए। “मलाई लाग्छ, पहिलो पार्टीको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार बन्छ”, उनले भने। 

तनहुँ क्षेत्र नम्बर १ (२)बाट निर्वाचित माओवादी नेता हरिबहादुर चुमान पनि गठबन्धनकै सरकार बन्नेमा विश्वस्त छन्। “हामी गठबन्धनबाट चुनाव लडेका छौँ। सरकारको बारेमा थप केही निर्णय भइसकेको छैन”, उनले भने, “अहिलेसम्म अरू कोहीसँग मिलेर जाने कुरा भएको छैन, त्यसकारण गठबन्धनकै सरकार बन्ने हो। तर, अहिलेसम्म यसबारे केही कुरा भएको छैन।”

गठबन्धन कायम राखेर सरकार बनाउँदा गण्डकीको नेतृत्व माओवादीले पाउनुपर्ने संकेत उनले गरे। “पहिले त संघमा के हुन्छ भनेर हेर्नुपर्छ। यहाँ नेतृत्व कसले गर्ने भन्ने संघका कसको नेतृत्व हुन्छ भन्नेले पनि तय गर्छ”, उनले भने, “अहिले नेताहरू यही होमवर्कमा हुनुहोला। खासै यो नै भन्ने आई सकेको छैन। होमवर्कको निष्कर्षमा पुग्दा हामीलाई पनि बोलाउनु होला, हामी त्यसकै प्रतीक्षामा छौँ।”

अहिलेको गठबन्धनभन्दा फरक गठबन्धन बन्न सक्ने चर्चामा भने कुनै सत्यता नरहेको दाबी उनले गरे। “गठबन्धन भत्किने कुनै सम्भावना छैन, मिडियामा आइरहेको हल्लामा कुनै सत्यता छैन। गठबन्धनबाट चुनाव लडेकाले पहिले समीक्षा हुन्छ, अहिलेसम्म समीक्षा नै भएको छैन”, उनले भने, “समीक्षा नै नभई यताउति भन्ने कुराको अर्थ छैन। हामीलाई गण्डकी प्रदेश हाम्रै भागमा पर्छ भन्ने छ। किनभने, योभन्दा अघि माओवादीको भागमा लुम्बिनी परेको थियो, गण्डकी कांग्रेसको भागमा थियो। अब त्यो फेरिन्छ जुन स्वाभाविक हो।” सरकार गठनको छिनोफानो भने केन्द्रबाटै हुने पनि उनले बताए। 

विश्लेषक योगराज लामिछाने पनि गठबन्धनकै सरकार बन्ने बताउँछन्। उनले भने, “गण्डकीको सन्दर्भमा कुनै अनुमानको जरुरत छैन। अंकगणितले जे भन्छ, त्यहीअनुसार सरकार बन्ने देखिन्छ।”

को बन्ला मुख्यमन्त्री?
गण्डकीमा कसको सरकार बन्ला भन्ने चर्चासँगै मुख्यमन्त्री को बन्छ भन्ने चासो पनि तीव्र बनेको छ। पहिलो पार्टी बनेको कांग्रेसले सरकारको नेतृत्व पाएमा गोरखा–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्र पाण्डे मुख्यमन्त्रीका प्रमुख दाबेदार देखिन्छन्। कांग्रेसमा मुख्यमन्त्रीका आकांक्षी अरू नेतासमेत भए पनि पाण्डेलाई नै बलियो दाबेदार मानिएको छ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवानिकट मानिन्छन् पाण्डे। गोरखा क्षेत्र नम्बर २ बाट गठबन्धनको सहयोगमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत गण्डकीको मुख्यमन्त्री पाण्डे नै बन्ने सार्वजनिक घोषणा गरिसकेका छन्। माओवादीकै चुनाव चिह्नबाट आफ्ना नेताहरूलाई चुनाव लडाएका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समेत उनलाई नै अघि बढाउन प्रयास गरेका छन्। कांग्रेसमा त उनकै दाबेदारी बलियो छ। 

तर, गठबन्धनभित्र गण्डकीको मुख्यमन्त्री माओवादीले पाउने अवस्था आएमा भने तनहुँबाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर चुमान प्रमुख दाबेदार देखिएका छन्। यसअघि माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका चुमानले आफ्नो दलको नेतृत्वमा सरकार बने स्वाभाविक रूपमा मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए। “त्यो अवस्थामा स्वाभाविकरूपमा मेरो दाबी रहन्छ”, उनले उकालोसँग भने। 

एमालेले गण्डकीको मुख्यमन्त्री बनाउने गरी खगराज अधिकारीलाई यसपालि प्रदेशमा पठाएको थियो। तर, चुनावी नतिजा हेर्दा र अहिलेको गठबन्धन कायम रहँदा उनी मुख्यमन्त्री बन्ने सम्भावना देखिँदैन।


 


सम्बन्धित सामग्री