Friday, March 29, 2024

-->

चुनावी नतिजा आइनसक्दै किन बढ्यो छिमेकीको चासो?

प्रतिनिधिसभा निर्वाचनको पूर्ण नतिजा आउन अझैँ केही समय लाग्ने भएपनि सम्भावित नयाँ सत्तासमीकरणलाई लिएर छिमेकी राष्ट्रहरूको चासो बढ्न थालेको छ।

चुनावी नतिजा आइनसक्दै किन बढ्यो छिमेकीको चासो

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै आफूलाई जिताउने मतदातालाई धन्यवादसमेत नदिई हतारहतार काठमाडौँ आए। निर्वाचित कैयौँ नेतालाई अहिले पनि आफ्नै निर्वाचन क्षेत्रमा धन्यवाद र्‍याली र सभाले भ्याइनभ्याइ भइरहँदा पुन त्यतापट्टि लाग्नै पाएनन्। यस्तो हतारोमा काठमाडौँ आउनुपर्ने बाध्यता उनलाई के आइपर्‍यो? 

पुननिकट स्रोतले स्वास्थ्य जाँच र उपचारका लागि चीन जानुपर्ने भएकाले उनी हतारहतार काठमाडौँ आएका हुन्। र, उनी आजभोलिमै चीन जाने तयारीमा छन्। गतवर्ष स्वास्थ्य स्थिति गम्भीर बनेपछि केही महिना चीनमै बसेर उपचार गराएका पुन पार्टीको महाधिवेशनमा पनि सहभागी हुन सकेका थिएनन्। यसपालि नियमित स्वास्थ्य जाँच र उपचारका लागि उनी चीन जाने भनिएको छ। तर, माओवादी केन्द्रका एक पदाधिकारीले भने स्वास्थ्य जाँच–उपचारसँगै चीनमा उच्चस्तरीय राजनीतिक भेटघाट तय भएपछि पुन हतारहतार रोल्पाबाट फर्केको बताए। 

पुन माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का खास विश्वासपात्र मानिन्छन्। निर्वाचनको नतिजा आइनसक्दै सम्भावित सत्तासमीकरण मिलाउन ‘चञ्चल’ देखिएका दाहालले चिनियाँहरूको पछिल्लो ‘मूड’ बुझ्न र उत्तरी छिमेकमा आफ्नो लागि परिस्थिति अनुकूल बनाउन पनि पुनलाई चीन पठाउन लागेको बताइन्छ। 

चीनमै नियमित स्वास्थ्य जाँच र उपचार गराइरहेका पुनलाई ‘दूत’का रूपमा पठाउँदा सहज हुने भएकाले पनि दाहालले पुनलाई नै रोजेको आकलन छ।

चुनावी नतिजा आउँदैगर्दा सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने पहल शुरू नगर्दै दाहाल सत्ता र विपक्षी गठबन्धन दुवैतिरको संवादमा सक्रिय भइसकेका छन्। आफ्नो पार्टी गत निर्वाचनभन्दा निकै खुम्चिए पनि दाहाल एकपल्ट चलखेल गरेरै सत्ताको केन्द्रमा रहने ध्याउन्नमा देखिएका छन्। 

पुनमार्फत उनले चिनियाँ नेताहरूसमक्ष नेपालमा ‘सरकार गठनमा कांग्रेससँगको सहकार्य असफल भए वामगठबन्धनको सरकार निर्माणमा भूमिका खेल्न आग्रह गर्ने’ माओवादी केन्द्रकै एक नेताले बताए। “त्यस्तो परिस्थिति बन्छ कि बन्दैन भनेर त भन्न सकिन्नँ, तर यसले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने छ”, उनले भने। 

पुनकी श्रीमती, पूर्वसभामुख घर्तीले भने स्वास्थ्य जाँच–उपचारकै लागि चीन जान लागेको दाबी गरिन्। 

उपचारमा संलग्न चिकित्सककै आग्रहमा पुनः स्वास्थ्य जाँच गर्न जान लागिएको उल्लेख गर्दै उनले भनिन्, “उहाँ चुनावमा निकै खट्नुभयो। अस्वस्थ महशुस गरिरहनु भएको छ। उपचार गरिरहेका चिकित्सकले पनि समयमै फलोअप गर्नुपर्छ भनेर बोलाउनुभएको छ। हामी चाँडै जाँदैछौँ, यो विशुद्ध उपचारका लागि हुनलागेको भ्रमण हो।” 

घर्तीले चिनियाँ नेताहरूसँग भेट्ने सम्भावनालाई भने इन्कार गरिनन्। “चीनमा वर्षमानजीलाई उपचार गरिरहेका चिकित्सक नै चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य हुन्। चिनियाँ नेताहरू अस्पतालमै भेट्न आउनुभो भने फरक कुरा भयो, हामी आफैँले चिनियाँ नेताहरूलाई भेट्ने कार्यक्रम भने बनेको छैन”, दाहालसँगको सल्लाहमा चीन जान लागेको उल्लेख गर्दै उनले भनिन्, “हामीले मात्र सल्लाह गरेर भएन, अध्यक्ष कमरेडको अनुमति पनि चाहियो। त्यहीअनुसार चीन जान्छौँ।” 

छिमेकको चासो र सक्रियता
दाहालले चाल्न थालेको चालजस्तै कुनैबेला एमाले र माओवादी मिलाए पनि ‘बुमर्याङ’ भएको ठान्ने उत्तरी छिमेक यसपालि फेरि विपरीत ध्रुवमा पुगिसकेका एमाले र माओवादीलाई मिलाउन लागिपर्ला? निर्वाचन अघिसम्म उच्चस्तरीय भ्रमण गराएर नेपालको राजनीतिक विकासक्रम र चुनावी राजनीतिलाई नजिकबाट नियाल्ने प्रयत्न गरेको चीन निर्वाचन सकिएपछि नेपाल मामिलामा केही बोलेको छैन। 

कतिपयले वर्षमान पुनको चीन भ्रमणलाई बेइजिङको आवाज मुखर हुने उपायका रूपमा पनि हेरेका छन्।

तर, चीनभन्दा पहिल्यै दक्षिणी छिमेकीको सक्रियता काठमाडौँमा अनुभूति नै हुनेगरी बढिसकेको छ। प्रतिनिधिसभा निर्वाचनको सबै नतिजा आइनसक्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर उनले देउवासँग भेट गरेका थिए। 

प्रधानमन्त्री देउवानिकट कांग्रेसका एक नेताका अनुसार भेटका क्रममा श्रीवास्तवले देउवालाई बधाइ दिँदै वर्तमान सत्तागठबन्धनलाई निरन्तरता दिन आग्रह गरेका थिए। “राजदूत बालुवाटार जानुको पहिलो कारण त बधाइ र शुभकामना दिने नै हो। तर, त्यसक्रममा सम्भावित सत्ता समीकरणबारे पनि चासो राखेको पाइयो। नेपालको हितका लागि यो सत्तागठबन्धन निरन्तर रहोस् भन्ने दिल्लीको सन्देश उनले प्रधानमन्त्रीलाई सुनाएको जानकारी मैले पाएको छु”, ती नेताले भने। 

अन्तिम चुनावी परिणाम आउन अझै केही समय लाग्ने देखिए पनि अहिलेसम्मको नतिजा हेर्दा वर्तमान सत्तागठबन्धन सरकार निर्माणका लागि आवश्यक सामान्य बहुमततर्फ अग्रसर देखिन्छ। तर, ‘ढुक्क’ हुन उसलाई थप केही सांसदको साथ आवश्यक पर्नेछ। 

यो निर्वाचनमा उल्लेख्य मत ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने वा नहुने टुंगो छैन। स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएकाहरूको सहयोग पाएमा कांग्रेस नेतृत्वको वर्तमान सत्तागठबन्धनलाई नै नयाँ सरकार निर्माण सहज हुनेछ। तर, चुनावी परिणामलाई लिएर ‘असन्तुष्टि’ जनाइरहेको माओवादी केन्द्रलाई आफूतिर तानेर एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को गठबन्धनको प्रयास अघि बढाएमा स्थिति रोचक बन्नसक्छ। 

यही परिस्थिति आकलन गरेरै सरकार गठनपूर्व छिमेकीहरूको चासो बढ्न थालेको देखिन्छ। परराष्ट्र मामिलाका जानकारहरू सरकार गठनका लागि कुनै एक दलको पक्षमा बहुमत निश्चित नहुँदा नेपालमा चासो जोडिएका शक्तिराष्ट्रहरूको चलखेल बढ्नु स्वाभाविक रहेको बताउँछन्। 

पूर्वराजदूत जयराज आचार्य नेपाल थप अस्थिर बन्ने सम्भावना देखेरै दुवै छिमेकी मुलुक आफूअनुकूल सरकार निर्माणको प्रयासमा लाग्ने बताउँछन्। घटनाक्रम हेर्दा दक्षिणी छिमेकी भारत, नेपालमा वर्तमान सत्तागठबन्धनकै निरन्तरताको पक्षमा देखिएको, उत्तरी छिमेकी चीन पनि पुनः वामपन्थीहरूलाई एकजुट पार्ने प्रयत्नमा लाग्नसक्ने उनको विश्लेषण छ। “छिमेकीको चलखेल रोक्ने हो भने पार्टीहरूले आफ्नै बुतामा राष्ट्रहित हेरेर सरकार बनाउनुपर्‍यो”, उनी भन्छन्। 

परराष्ट्र मामिलाका अध्येता चन्द्रदेव भट्ट पनि यसपटकको चुनावी परिणामका कारण दुवै छिमेकीको चलखेल बढ्नसक्ने बताउँछन्। “यसपटक नयाँ पार्टी मात्र उदाएनन्, पुराना पार्टी पनि बलियो देखिए। उनीहरू के सोच्छन्, के गर्छन् भन्नेबारे दुवै छिमेकी जानकार छन्। अर्कोतिर प्रमुख पार्टीहरू तुलनात्मक रूपमा कमजोर देखिए। त्यसैले छिमेकीहरू सतर्क बन्नथालेको देखिन्छ”, उनले भने।  

भट्टका अनुसार भारत र चीनलाई नेपालमा सरकार अस्थिर हुँदा अमेरिकालगायत पश्चिमा शक्तिराष्ट्रहरूको चासो बढ्ने चिन्ता छ। “नेपालमा सरकार अस्थिर हुँदा अमेरिकाको प्रभाव बढ्ने चिन्ता भारत र चीनमा देखिन्छ”, उनले भने, “त्यही भएर पनि उनीहरूको चासो पहिलेभन्दा बढ्न सक्छ।” 

यसअघि संसद्मा झण्डै दुइतिहाई बहुमतनजिक रहेको नेकपा विघटन भएको थियो। नेकपा बनाउन उत्तरी छिमेकी चीनले सक्रिय भूमिका खेलेको ‘ओपन सेक्रेट’जस्तै छ। आफ्नै कलहले नेकपा विघटनतर्फ उन्मुख हुँदा पनि चीनले नेकपा जोगाउन ठुलै सक्रियता देखाएको थियो। नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले नेकपालाई विभाजित हुनबाट जोगाउन र उसको सरकार टिकाइराख्न राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपा नेताहरूको घरघरमै पुगेर ‘लबिइङ’ गरेकी थिइन्। तर, पहिल्यै चिरा परिसकेको नेकपा सर्वोच्च अदालतको फैसलाले विघटनमै पुग्यो। कालान्तरमा सरकार पनि टिकेन। 

जानकारहरूका अनुसार चिनियाँ नेताहरूले अहिले पनि एमाले र माओवादीलाई फेरि एक ठाउँमा ल्याउने पहल गर्न छाडेका छैनन्। बरू, नेकपा नेतृत्वको सरकारकै पालामा भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरिएपछि नेकपाको तत्कालीन नेतृत्वसँग चिढिएको दिल्ली अहिले पनि त्यसबाट बाहिर निस्कन नसकेको बताइन्छ। भारत मामिलाका जानकारहरूका अनुसार नेपालमा फेरि चीनको प्रभाव नबढोस् भनेर पनि अहिलेको दिल्ली नेपाली कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनले निरन्तरता पाओस् भन्ने चाहन्छ। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल भने कोही नेता चीन जानु र कोही राजदूत प्रधानमन्त्रीलाई भेट्न आउनुलाई अस्वाभाविक मान्दैनन्। तर, यस्ता भेटघाटबारे सम्बन्धित पक्षले समयमै सूचना सार्वजनिक नगर्दा भने सशंकित हुने ठाउँ मिलेको उनको भनाई छ। “नेपालमा भूराजनीतिक प्रभाव नौलो होइन। चुनावी नतिजा आउनसाथ आफू अुकूलको सरकार बनाउन छिमेकीहरू सक्रिय हुन्छन् पनि। यसपटक पनि त्यस्तो देखिनु अस्वाभाविक होइन”, उनले भने, “सबभन्दा ठूलो प्रश्न नेपालको आन्तरिक राजनीति कति बलियो र सुरक्षित हुँदैछ भन्ने हो। यसमा दलका नेतृत्वहरू सचेत रहन जरुरी छ।” 


सम्बन्धित सामग्री