Thursday, April 18, 2024

-->

११ जना व्यापारी र ठेकेदारले जिते प्रतिनिधिसभाको निर्वाचन

प्रतिनिधिसभातर्फ विभिन्न दलबाट उम्मेदवार बनेका १५ जनामध्ये ११ व्यापारी र ठेकेदार भारी मतान्तरसहित विजयी हुँदा चार जना पराजित भएका छन्।

११ जना व्यापारी र ठेकेदारले जिते प्रतिनिधिसभाको निर्वाचन

काठमाडौँ– प्रतिनिधिसभातर्फ विभिन्न पार्टीबाट १५ जना व्यापारी र ठेकेदार उम्मेदवार भएका थिए। तीमध्ये ११ जनाले चुनाव जितेका छन् भने चार जना पराजित भएका छन्।

निर्वाचित भएका अधिकांश व्यापारी र ठेकेदारले प्रतिस्पर्धीलाई भारी मतान्तरमा पराजित गरेका छन्। विजय हासिल गर्नेमध्ये सबैभन्दा धेरै सात जना नेपाली कांग्रेसका छन्। एमाले, जसपा, राप्रपा र एकीकृत समाजवादीबाट एक–एक जना सांसद् बनेका छन्।

मनाङमा दुई जना व्यवसायीबीचमा नै प्रतिस्पर्धा भएको थियो। यो प्रतिस्पर्धामा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भए। २०७४ सालमा टेकबहादुलाई पराजित गरेका पोल्देन छोपेन गुरुङ यसपटक पराजित भए।

सांसद बनेका व्यापारी र ठेकेदार
चर्चित फोर्ब्स पत्रिकाले प्रकाशन गर्ने विश्वका अर्बपतिको सूचीमा समेटिएका उद्योगपति तथा व्यापारी विनोद चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित भएका छन्। कांग्रेसबाट उम्मेदवार भएका चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतले पराजित गरे। चौधरीले २९ हजार ४९५ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३०८ मत पाए।

चौधरी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले र २०७४ सालको निर्वाचनमा कांग्रेसको तर्फबाट समानुपातिक प्रणालीमार्फत चुनिएका थिए। व्यापारबाट राजनीतिमा आएका उनी शक्तिकेन्द्र नजिक भइरहने पात्र हुन्। उनी कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

गोरखा–१ बाट व्यवसायी राजेन्द्र बजगाईं विजयी भएका छन्। कांग्रेसबाट उम्मेदवार भएका बजगाईंले एमालेका रामशरण बस्नेतलाई दोब्बर मतान्तरमा पराजित गरे। बजगाईंले ३३ हजार ४२८ मत पाउँदा बस्नेतले १६ हजार ७५८ मत पाए। होटेल व्यवसायलगायत क्षेत्रमा बजगाईंको लगानी छ।

चर्चित स्वास्थ्य व्यवसायी डा. सुनिल शर्मा मोरङ–३ बाट ४८ हजार ६३१ मतसहित विजयी भए। कांग्रेसबाट उम्मेदवार भएका शर्माका निकटतम् प्रतिद्वन्द्वी एमालेका भानुभक्त ढकालले २५ हजार ८९५मत पाए।

विराटनगरको नोबल र सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा शर्माको लगानी छ। उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट एमालेका ढकालसँगै पराजित भएका थिए। त्यस निर्वाचनमा ढकाललाई माओवादी केन्द्रको साथ थियो। तर, यसपटक शर्माले माओवादी केन्द्रको साथ पाएका थिए।

कांग्रेसबाट उम्मेदवार बनेका निर्माण व्यवसायी कान्छामान तामाङ रामेछापबाट विजयी भएका छन्। उनले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरे। तामाङले ४७ हजार ९८ मत प्राप्त पाएका थिए भने ढुंगेलले ३० हजार ७३० मत पाए। तामाङ कान्छामान निर्माण सेवाका अध्यक्ष हुन्। उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए।

जलविद्युत्, पर्यटनलगायत व्यवसायमा संलग्न कांग्रेसका दीपक खड्का संखुवासभाबाट ३२ हजार १५८ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजेन्द्रप्रसाद गौतमले २६ हजार ७१९ मत पाए।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा खड्का संखुवासभा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए। त्यसबेला उनले गौतमलाई नै पराजित गरेका थिए। नयाँ संविधानअनुसार क्षेत्र निर्धारण गर्दा संखुवासभामा एउटा मात्र क्षेत्र कायम भयो। यो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा पनि खड्का र गौतम नै प्रतिस्पर्धी थिए। त्यतिबेला भने गौतम विजयी भएका थिए। खड्का २०७३ सालमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री भएका थिए।

अर्का ठेकेदार मोहन आचार्य रसुवाबाट १८ हजार २३५ मत ल्याई विजयी भएका छन्। कांग्रेसबाट उम्मेदवार भएका आचार्यका निकटतम् प्रतिद्वन्द्वी एमालेका छोवाङ तेन्जिङ तामाङले ८ हजार ६१४ मत मात्र पाए। रसुवा कन्स्ट्रक्सन प्रालिका अध्यक्षसमेत रहेका आचार्य यसअघि २०७४ सालको आमनिर्वाचनमा पनि रसुवाबाटै निर्वाचित भएका थिए।

मनाङबाट विजयी कांग्रेसका टेकबहादुर गुरुङ वैदेशिक रोजगार व्यवसायी हुन्। उनले एमालेका पोल्देन छोपाङ गुरुङलाई ३२८ मतान्तरमा पराजित गरे। टेकबहादुरले २ हजार २४७ मत पाउँदा पोल्देनले २ हजार २४७ मत पाए।

गुरुङले चुनाव जिते पनि तत्काल संसद् छिर्न भने पाउने छैनन्। उनीविरुद्ध भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो। उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ। गुरुङ पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

निर्वाचनसम्बन्धी ऐनले भ्रष्ट्राचार मुद्दामा दोषी ठहर नभएकालाई उम्मेदवार बन्न रोक लगाएको छैन। तर, भ्रष्ट्राचार निवारण ऐन २०५९ ले भ्रष्ट्राचार मुद्दा किनार नलागेसम्म 'राष्ट्रसेवक' सार्वजनिक पदबाट स्वतः निलम्बन हुने व्यवस्था छ।

जलविद्युत, वैदेशिक रोजगारलगायत व्यवसायमा सक्रिय लालप्रसाद (एलपी) सावाँ लिम्बू २९ हजार ३१५ मत ल्याई झापा–४ बाट दोस्रोपटक निर्वाचित भएका छन्। एमालेका लिम्बूले कांग्रेसका देउकुमार थेबेलाई ६ हजार ८६७ मतान्तरले पराजित गरे। थेबेले २२ हजार ४४८ मत पाएका छन्।

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका व्यवसायी किसान श्रेष्ठ बारा–४ बाट विजयी भएका छन्। श्रेष्ठले २९ हजार ५०५ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी एमालेका एकवाल मियाँले १९ हजार ४३९ मत पाए।

श्रेष्ठ २०७४ को निर्वाचनमा तनहुँ–१ बाट एमाले उम्मेदवार बनेर विजयी भएका थिए। माओवादी केन्द्रको समर्थनमा उनले कांग्रेसका रामचन्द्र पौडेललाई पराजित गरेका थिए। श्रम तथा रोजगारमन्त्री रहिसकेका उनले बारामा उद्योग व्यवसाय सञ्चालन गर्दै आएका छन्।

सिराहा–४ बाट जसपाका वीरेन्द्रप्रसाद महतो २४ हजार १०२ मत ल्याई विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९१ मत पाए। महतोको बैंक तथा वित्तीय संस्था, जलविद्युत्, स्वास्थ्यलगायत क्षेत्रमा लगानी छ। उनी गैरआवासीय नेपाली तथा चर्चित व्यवसायी उपेन्द्र महतोका भाइ हुन्।

राप्रपा उपाध्यक्ष विक्रम पाण्डे चितवन–३ बाट विजयी भएका छन्। उनले ३४ हजार ३६२ मत पाउँदा निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले २४ हजार ६७१ मत पाए। पाण्डे कालिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन्। उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित भएका थिए।

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा पाण्डे चितवन–५ बाट निर्वाचित भएका थिए। उनी २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्थापन मन्त्री र २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री भएका थिए।

जो पराजित भए
बैंकिङ, जलविद्युत, शिक्षालगायत क्षेत्रमा लगानी गरेका व्यवसायी उमेश श्रेष्ठ चितवन–२ बाट पराजित भएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेसँग ३४ हजार २८१ मतान्तरले पराजित भएका हुन्। लामिछानेले ४९ हजार २६४ मत पाउँदा श्रेष्ठले १४ हजार ९८३ मत पाए।
श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री छन्। श्रेष्ठ ललितपुरस्थित लिटल एन्जेल्स एजुकेसनल ग्रुपका संस्थापक अध्यक्ष हुन्। उनी दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत चुनिएका थिए।

मनाङमा एसियाकै उत्कृष्ट स्याउ फार्म सञ्चालन गर्दै आएका व्यवसायी पोल्देन छोपाङ गुरुङ पनि पराजित भए। उनी कांग्रेसका टेकबहादुर गुरुङसँग पराजित भएका हुन्। २०७४ सालको निर्वाचनमा भने पोल्देनले टेकबहादुर पराजित गरेका थिए।

बैंकिङ क्षेत्रमा लगानी गरेका र अन्य व्यवसायमा पनि संलग्न झपट बोहोरा अछाम–१ बाट पराजित भए। बोहोरा एकीकृत समाजवादीका शेरबहादुर कुँवरसँग ४ हजार ४८९ मतले पछि परे। बोहराले १५ हजार ४५ मत पाएका थिए। यो क्षेत्रबाट एमालेका स्थानीय कमिटीहरूले नेता भीम रावलको नाम सिफारिस गरे पनि ओलीले बोहोरालाई टिकट दिएका थिए। 

नुवाकोट–२ बाट पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे पराजित भए। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका पाण्डे कांग्रेसका अर्जुननरसिंह केसीसँग ११ हजार ६३० मतान्तरले पराजित भए। पाण्डेले १६ हजार ४७७ मत पाउँदा केसीले १६ हजार ४७७ मत पाए। छायाँ सेन्टरका प्रवर्ध्द पाण्डेको होटेल, एयरलाइन्सलगायत क्षेत्रमा लगानी छ।

समानुपातिक सूचीमा पनि व्यापारी
राजनीतिक दलहरूले प्रत्यक्षतर्फ मात्रै नभइ समानुपातिकतर्फ पनि व्यापारी र ठेकेदारलाई उम्मेदवार बनाएका छन्। तर, प्रत्यक्षतर्फ सबै दलबाट महिला उम्मेदवार न्यून संख्यामा विजयी हुँदा व्यापारी र ठेकेदारले मौका पाउने संभावना भने कम भएको छ। संसदमा हरेक दलबाट एकतिहाइ महिला हुनैपर्ने संवैधानिक बाध्यताका कारण प्रत्यक्षमा कम भएको महिलाको संख्या समानुपातिकबाट पूर्ति गर्नुपर्छ। 

समानुपातिकतर्फ एमालेले आदिवासी जनजाति कोटामा व्यावसायिक घराना प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनलाई उम्मेदवार बनाएको छ। उनी आदिवासी जनतातिको एक नम्बरमै छन्। 

त्यसैगरी कांग्रेसले रुंगटा ग्रुपका अनिल रुंगटालाई मधेसी कोटाबाट समानुपातिक सूचीमा राखेको छ। माओवादी केन्द्रले आदिवासी जनजाति कोटामा निर्यात, होटेललगायत व्यवसायमा संलग्न दिलसुन्दर श्रेष्ठलाई उम्मेदवार बनाएको छ।


सम्बन्धित सामग्री