Wednesday, April 24, 2024

-->

कसको बन्ला सरकार? यी हुन् सम्भावित ४ परिदृश्य

प्रतिनिधिसभा निर्वाचनको नतिजा आइनसक्दै अब बन्ने सरकारबारे चर्चा र अड्कलबाजी हुन थालेको छ। राजनीतिक वृत्तमा केही कसरत पनि शुरू हुन थालेका छन्। कसको बन्ला अबको सरकार? को-को होलान् निर्णायक?

कसको बन्ला सरकार यी हुन् सम्भावित ४ परिदृश्य

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ। समानुपातिकतर्फ त आधा पनि मतगणना सकिएको छैन। निर्वाचनबाट अहिलेको सत्ता गठबन्धनले स्पष्ट बहुमत ल्याउँछ कि ल्याउँदैन भन्ने तस्वीर अझै प्रष्ट भइसकेको छैन।

अर्कोतर्फ छ, नेकपा एमाले नेतृत्वमा रहेको विपक्षी गठबन्धन। निर्वाचनअघि एमालेले आफ्नो नेतृत्वमा बहुमतको सरकार बन्ने दाबी गरे पनि निर्वाचन परिणामले त्यस्तो सम्भावना देखाएको छैन। सम्भावना त सत्ता गठबन्धनका दलबीच जति स्थानमा सिट बाँडफाँट गरेर उम्मेदवारी दिइएको थियो, त्यसअनुसार गठबन्धनले जित निकाल्न सकेको छैन। यहीकारण पनि अब सरकार कसको बन्ला भन्ने अन्योल यथावत् छ।

तर, यही अन्योलबीच पनि नयाँ सरकार बनाउन जोड–घटाउ, हिसाबकिताब र दौडधुप शुरू हुन थालेको छ। निर्वाचनको पूर्ण नतिजा नआउँदै पार्टीहरू सम्भावित नतिजालाई आफूअनुकल गठबन्धनमा ढाल्न सक्रिय हुन थालेका छन्।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित हुने १६५ र समानुपातिकतर्फ ११० सदस्य गरी २७५ सदस्य रहन्छन्। सरकार गठन गर्न यसको न्यूनतम बहुमत अर्थात् १३८ सदस्य आवश्यक पर्छन्। नतिजा आउँदै गर्दा प्रत्यक्षतर्फको मोटामोटी संख्या आकलन गर्न सकिए पनि समानुपातिकतर्फ कुन दलले कति सिट जित्छन् भन्ने अझै यकिन भइसकेको छैन। तैपनि, चुनावी परिणाम हेर्दा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो शक्ति हुने प्रष्ट संकेत देखिन्छ।

यसको अर्थ, यी दुवै पार्टीले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने छन्। कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितको गठबन्धन यही रूपमै निर्वाचनमा गएको थियो। एमालेले भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायतसँग केही ठाउँमा तालमेल गरेर निर्वाचनमा गएको थियो। अब कसको सरकार बन्ला, अन्योल यी गठबन्धन र तालमेलको भविष्य के होला भन्नेमा पनि निर्भर छ।

कांग्रेस नेतृत्वमा अहिलेकै सत्ता गठबन्धन
मंसिर ४ को निर्वाचनमा जाँदैगर्दा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले निर्वाचनपछि यही गठबन्धन निरन्तर रहने बताएको थियो। चुनावी सभादेखि हरेक सार्वजनिक कार्यक्रममा गठबन्धनका नेताहरूले गठबन्धन नटुट्ने र यसले निर्वाचनपछि निरन्तरता पाउने बताउने गरेका थिए।

निर्वाचनको नतिजाले त्यसलाई कायमै राख्न सघाउला त? गठबन्धनको लाभ कांग्रेसलाई राम्रै भए पनि (गत निर्वाचनमा २३ सिटमा खुम्चिएको कांग्रेसले यसपालि प्रत्यक्षमा ५० बढी सिट जित्ने देखिन्छ) माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई भने त्यति लाभ भएको देखिँदैन। ती दलभित्र कांग्रेसले पूरा सहयोग नगरेको बुझाई पनि केही हदसम्म देखिन्छ।

वर्तमान सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त बिहीबार अबको सरकार कसको नेतृत्वमा बन्छ भन्ने विषय स्पष्ट भई नसकेको नै बताएका छन्।  रौतहटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताइरहँदा गठबन्धनभित्र पनि सरकार कसको नेतृत्वमा बन्छ भन्ने समझदारी बनेको देखिँदैन। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने अहिलेकै गठबन्धन कायम हुने र नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे।

“धेरै फराकिलो हुँदैन तर गठबन्धनको बहुमत पुग्छ। नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्छ”, बिहीबार साँझ उकालोसँग भने, “हाम्रो नेतृत्वमा सरकार बनाउने विषयमा गठबन्धनभित्र कुनै द्विविधा छैन। कोही बाहिर जाने भन्ने कुरै छैन।”

उनले गठबन्धनको बहुमत नपुग्ने स्थिति आएमा त्यसबारे त्यतिबेला नै निर्णय हुने प्रष्ट पारे। 

अहिलेको गठबन्धन कायम नरहे आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसले स्वतन्त्र वा अन्य दलको साथ लिनुपर्ने हुन्छ।

राजनीतिक विश्लेषक उद्धव प्याकुरेल अहिलेको मतपरिणामको रुझान हेर्दा वर्तमान सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि बहुमत पुग्ने आकलन गर्छन्। “अहिलेको गठबन्धन बाहेकको सरकार निर्माण हुन्छ भन्ने अहिले नै आकलन गर्न सकिन्न। यसले नै निरन्तरता पाउँछ भन्ने देखिन्छ”, उनले भने, “जुन उद्देश्यका लागि गठबन्धन गरेका थिए, त्यसले बहुमत पाउँदै गर्दा अहिलेकै समीकरणले निरन्तरता पाउने सम्भावना धेरै छ।”

एमालेको नेतृत्वमा गठबन्धन सरकार
निर्वाचन अघिसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लैले १५० सिट जितेर स्पष्ट बहुमत ल्याउने दाबी गर्दै आएका थिए। एमालेका अन्य नेताहरूले पनि एमालेले प्रत्यक्षमा १०० सिट र समानुपातिकमा ५० सिट जित्ने दाबी गरेका थिए।

तर, निर्वाचनको नतिजाले एमालेको दाबीजस्तो अवस्था देखाउँदै देखाएन। प्रत्यक्षतर्फको अहिलेसम्म प्राप्त नतिजा र समानुपातिकमा पाइरहेको मतलाई आधार मान्ने हो भने एमालेले कूल ८० सिट जित्ने आकलन भइरहेको छ। त्यो अवस्थामा वर्तमान सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रको साथबेगर एमालेले सरकार बनाउन सक्ने स्थिति देखिँदैन।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाहेक अरूलाई समेटेर एमालेले बहुमत पुर्‍याउन सक्ने सम्भावना त रहन्छ तर, त्यो सहज छैन। त्यसका लागि सबभन्दा पहिले त सत्ता गठबन्धनका दलले १३८ भन्दा कम सिटमा मात्र जित निकालेको हुनुपर्छ। वर्तमान सत्ता गठबन्धनले बहुमत पुर्‍याउन सक्ने स्थिति भएमा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन यो सत्ता गठबन्धन भत्काउनुपर्ने हुन्छ। त्यसका लागि एमालेले कसरत गर्ने निश्चित देखिन्छ।

त्यसको संकेत बिहीबार एमाले अध्यक्ष ओलीले दिइसकेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेर बधाई दिएका ओलीले मिलेर जाने प्रस्ताव राखेको सूचना दाहालको सचिवालयले बाहिर ल्याएको छ। तर, दाहालले भने ठोस जवाफ नदिएको उनको सचिवालयको भनाई छ। तर, ओलीनिकट एमाले नेताहरूले भने गठबन्धन तोड्ने प्रयास नै अघि बढिसकेको खुलासा गरेका छन्। ओलीका निकटस्थमध्ये मानिने एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले दाहाललाई फोन गरेर देउवा नेतृत्वको गठबन्धन तोड्न र आफूहरू मिलेर सरकार बनाउन प्रस्ताव नै गरेका छन्।

“शेरबहादुर देउवा नेतृत्वको गठबन्धन तोडिनुपर्छ भन्ने हाम्रो पुरानै मान्यता हो। मैले बधाई दिन उहाँलाई फोन गरेको थिएँ। अब हामी मिलेर अघि बढ्नुपर्छ भन्ने प्रस्ताव गरेको छु”, नेम्वाङले उकालोसँग भने। 

वर्तमान सत्ता गठबन्धनले सरकार बनाउन आवश्यक पर्ने बहुमत ल्याएको र गठबन्धन कायमै रहेको अवस्थामा एमालेको नेतृत्वमा सरकार बन्न सम्भव छैन। किनभने गठबन्धनलाई बहुमत संख्या नपुगेको अवस्थामा सरकार बनाउन एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका अन्य साना दल र स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसदहरूसँग पनि तालमेल गर्नुपर्ने हुन्छ। तत्काल त्यस्तो सम्भावना देखिएको छैन।

तानातानमा निर्णायक साना दल
वर्तमान सत्ता गठबन्धनको बहुमत नआएमा र एमालेले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन पहल शुरू गरेमा सबभन्दा धेरै तानातानमा साना दल पर्ने छन्। अहिलेको मतपरिणामको रुझानलाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका साना पार्टी सरकार निर्माणमा निर्णायक बन्ने देखिन्छ। त्यसमा पनि अझ निर्णायक भूमिका त रास्वपा र राप्रपाकै हुने देखिएको छ। 

मतगणना जारी रहँदाको रुझान हेर्दा एमाले नेतृत्वको विपक्षी गठबन्धनले करिब १०५ सिट ल्याउने देखिन्छ। एमालेले त्यसमा माओवादीको साथ जुटाउन सक्यो भने नयाँ गठबन्धनमा करिब १४० सदस्य पुग्न सक्छन्।

नयाँ सरकार बन्ने कसरतमा जसपामाथि ठूलो दबाब पर्ने देखिन्छ। सरकारमा जाने विषयमा पटक–पटक फुट बेहोरिसकेको जसपा एमाले र कांग्रेसको तानातानमा फेरि नफुटिरहन सक्छ या सक्दैन भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ।

रास्वपा तटस्थ बसेको अवस्थामा यो तानातान अझ बढ्ने छ। तर, रास्वपाले सत्तापक्षीय गठबन्धनलाई साथ दियो भने यो तानातानले अर्कै स्वरूप लिने छ। वर्तमान सत्ता गठबन्धन एकातिर रह्यो र रास्वपाले एमालेलाई साथ दियो भने पनि ओलीलाई नयाँ सरकार बनाउन त्यति सहज हुने छैन।

कांग्रेस र एमालेको सरकार
सत्ता गठबन्धनले निरन्तरता पाउन नसकेमा र विपक्षमा पनि गठबन्धन बन्न नसकेमा एकथरिले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने विकल्प पनि अघि सारेका छन्। मुलुक अस्थिरतातर्फ अघि बढ्न थालेकाले संविधान निर्माण गर्दा एकठाउँ उभिएका कांग्रेस र एमाले मिल्नुपर्ने पनि कतिपयको मत छ। तर, यस्तो सम्भावना अति न्यून छ। किनभने थोरै मार्जिनले मात्र पहिलो र दोस्रो दल बन्ने अवस्थामा देखिएका यी दुई प्रतिस्पर्धी शक्तिलाई सहकार्यमा ल्याउन बाध्य पार्ने कुनै बेग्लै परिस्थिति विकास भएको पनि छैन।

गगनको प्रधानमन्त्रीमा प्रतिस्पर्धा बन्ने घोषणाको तरंग
नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार निर्माण हुने बताइरहँदा त्यहाँभित्र नै प्रधानमन्त्रीका लागि रस्साकस्सी हुने देखिन्छ। महामन्त्री गगन थापाले निर्वाचनअघि नै आफूले प्रधानमन्त्रीका लागि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने बताएका थिए।

काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि उनले संसदीय दलको नेताका लागि तयारी गर्ने बताएका छन्।

बिहीबार नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेपछि डा. शशांक कोइरालाले पनि आफू प्रधानमन्त्रीको प्रबल दाबेदार भएको बताएका छन्।

निर्वाचनअघि नै नेता रामचन्द्र पौडेलले आफू प्रधानमन्त्रीका लागि तयार रहेको बताएका थिए। तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित पौडेलले पनि प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने देखिन्छ। गठबन्धन कायमै रहेमा त्यसमा सहभागी दलले कांग्रेसकै नेतृत्वमा सरकार बन्दा देउवाबाहेकका अन्य उम्मेदवारलाई स्विकारेर जान्छन् कि जाँदैनन् भन्ने प्रश्न पनि छ। कांग्रेसले अन्य दललाई साथ लिएर निर्वाचन लड्दै गर्दा प्रधानमन्त्रीको उम्मेदवार को हुने भन्ने सहमति जुटेको थिएन।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत भने कांग्रेसको नेतृत्वमा सरकार बन्दा देउवाबाहेक अर्को कुनै विकल्प नरहेको दाबी गर्छन्। “गगन थापा लगायतले प्रधानमन्त्री बन्छु भनेर दिइरहेको अभिव्यक्ति पार्टीको आधिकारिक होइन। त्यसबारेमा पार्टीमा कुनै छलफल भएको छैन”, उनले भने, “स्वाभाविक रूपमा अबको प्रधानमन्त्री पार्टी सभापति नै हुनुहुन्छ। उहाँको कांग्रेसमा अहिले कोही विकल्प छैन। साथीहरू सांसद भइसकेपछि प्रधानमन्त्रीको आकांक्षा राख्नु स्वाभाविक हो।”

महामन्त्री थापानिकट एक नेताले संसदीय दलको नेताका लागि थापाले उम्मेदवारी दिने बताए। “उहाँ संसदीय दलको नेताका लागि तयार हुनुहुन्छ। पछि हट्ने भन्ने कुरा हुँदैन”, ती नेताले भने। नेपाली कांग्रेसले करिब ८८–९० सिट ल्याउन सक्ने भएकाले संसदीय दलको नेता निर्वाचित हुन करिब ४५ जनाको समर्थन आवश्यक पर्छ। त्यो अवस्थामा संसदीय दलको नेता निर्वाचित हुन थापाले कसरत गरिरहेका छन्।

कांग्रेस नेताहरू थापाको पक्षमा २२ जना प्रत्यक्षबाट र ८ जना समानुपातिकतर्फबाट आउन सक्ने बताउँछन्। देउवाको पक्षमा प्रत्यक्षतर्फका १७ र समानुपातिकबाट आउने सम्भावित १९ जनाको समर्थन हुने देखिन्छ। यी दुई नेताबीचको प्रतिस्पर्धामा तटस्थ ठानिएका प्रत्यक्षका १३ र समानुपातिकका लगभग ५ जनाको रोजाई निर्णायक हुने देखिन्छ। कांग्रेसमा प्रधानमन्त्रीको उम्मेदवार को हुन्छ भन्ने कुराले पनि रास्वपा लगायतका कतिपय पार्टीलाई कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने कि नजोडिने भन्ने निर्णय गर्न सहज हुने नेताहरू बताउँछन्। 


सम्बन्धित सामग्री