Saturday, April 20, 2024

-->

अनुभवी ब्राजिलविरुद्ध सर्बियालाई युवा खेलाडीको भर

आक्रमण र मिडफिल्डमा मजबुत देखिएको ब्राजिलको डिफेन्स लाइन भने केही कमजोर छ। सर्बिया भने सासा लुकिक, फिलिप र मिट्रोभिचजस्ता मुख्य खेलाडीको फिटनेसलाई लिएर चिन्तित छ।

अनुभवी ब्राजिलविरुद्ध सर्बियालाई युवा खेलाडीको भर

दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कतार विश्वकप २०२२ सर्बियाविरूद्ध उत्कृष्ट जितसहित शुरूआत गर्ने लक्ष्यमा छ। तर, सन् २०१६ देखि ब्राजिलियन टोली सम्हालिरहेका मुख्य प्रशिक्षक एडेनोर लियोनार्डो बाची उर्फ टिटे मैदान उत्रिनुअघि हालैका खेलहरूमा ब्राजिलले भोगेको असफलताबाट पाठ सिक्नुपर्ने बताउँछन्।

रोनाल्डो, रोनाल्डिन्हो, रिभाल्डो र रोबर्टो कार्लोसजस्ता विश्वस्तरीय खेलाडीले भरिएको ब्राजिलले सन् २००२ मा फाइनलमा जर्मनीलाई २-० ले हराउँदै कीर्तिमानी पाँचौँपटक विश्वकप जितेको थियो। त्यसयता ब्राजिल एकपटक मात्रै सेमिफाइनलमा पुग्यो भने चार वर्षअघि रसियामा आयोजना भएको विश्वकपमा बेल्जियमसँग २-१ गोल अन्तरले पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरियो।

सन् १९८० को दशकमा टेली सान्तानापछि ब्राजिललाई लगातार विश्वकपमा पुर्‍याउने श्रेय मुख्य प्रशिक्षक टिटेलाई नै जान्छ। ९० को दशकदेखि नै प्रशिक्षणमा होमिएका उनीसँग भरपुर अनुभव छ। त्यसैले पनि होला उनी यसपटक कतार विश्वकपमा ब्राजिलले राम्रो नतिजा हात पार्नेमा आशावादी देखिएका छन्।

“विश्वकपमा कसरी ध्यान केन्द्रित गर्ने भन्ने मलाई थाहा छ”, उनले द गार्डियनसँग भने। करिब डेढ दशकको उपाधि खडेरी तोड्ने लक्ष्यका साथ रसिया विश्वकप खेल्न गएको ब्राजिल पहिलो खेलमै स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। 

यद्यपि, ब्राजिलले त्यसपछि सर्बिया र कोस्टरिकामाथि जित हात पार्दै ब्राजिलले अन्तिम १६ मा स्थान बनाएको थियो। मुख्य प्रशिक्षक टिटे सजिलै जित निस्किने खेलमा पनि खेलाडीले गरेको केही गल्तीका कारण स्विट्जरल्यान्डसँग बराबरीमा रोकिन परेको गुनासो गर्छन्। 

“म पनि अनुभवहीन थिएँ। मैले खेलाडीहरूलाई स्विट्जरल्यान्डविरुद्ध शुरूआती अग्रता लिएपछि गल्ती नगर्न निर्देशन दिएको थिएँ। तर, खेलाडीहरूले हल्कामा लिँदा खेल बराबरीमा सकाउन पर्‍यो”, उनी सम्झन्छन्।

ब्राजिल एक मात्र यस्तो टोली हो, जसले पहिलो संस्करण (१९३०) देखि हालसम्मका प्रत्येक विश्वकपमा भाग लिएको छ। ब्राजिल सन् १९८२ यता प्रत्येक संस्करणको विश्वकपमा समूह चरणको खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको इतिहास छ। 

ब्राजिल सन् २०२१ मा भएको कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनासँग १-० ले पराजित भएयता १५ खेलसम्म अपराजित छ। जसमा १२ जित र ३ बराबरीको नतिजा निकालेको छ। यही अपराजित यात्रा र सफलतालाई ब्राजिल थप लम्ब्याउन चाहन्छ।

आक्रमण र मिडफिल्डमा मजबुत देखिएको ब्राजिलको डिफेन्स लाइन भने केही कमजोर छ। आग्रपंक्तिमा नेयमारसँगै रिचार्लिसन, राफिन्हा, भिनिसियस जुनियर, रोड्रिगो, गाब्रियल जेसस, एन्टोनी र ग्राबियल मार्टिनेली रहेका छन्।

मिडफिल्डमा क्यासेमिरो, फाविन्हो, ब्रुनो गुइमारेस र लुकास पाक्वेटा रहँदा पाको उमेरका डिफेन्डर ड्यानी आल्भेस र थियागो सिल्भा छन्। उनीहरूलाई युवा डिफेन्डर डोनिलो, मार्किन्हस र एडर मिलिसाओले साथ दिनेछन्। गोलकिपरमा लिभरपुलबाट प्रिमियर लिग खेलिरहेका एलिसन बेकरसँगै एडर्सन मोराएस र वेभर्टन रहेका छन्।

मुख्य प्रशिक्षक टिटेले यसपटक फरवार्ड नेयमारबाट धेरै आश गरेका छन्। नेयमारको यो तेस्रो र सम्भवतः फाइनल विश्वकप हो। उनले यसअघि नै कतार विश्वकपपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा गरिसकेका छन्। 

यद्यपि, सन् २०१० बाट ब्राजिलको सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका नेयमार उत्कृष्ट लयमा रहेका छन्। सन् २०१४ मा घरेलु मैदानमा आयोजित विश्वकपमा डेब्यू गरेदेखि नै नेयमारले आफ्नो टोलीले गरेको १९ मध्ये ७ गोलमा सहयोगी भूमिका निर्वाह गरेका छन्।

राष्ट्रिय टोलीबाट १२१ खेलमा ७५ गोल गरिसकेका उनलाई ब्राजिलको सबैभन्दा धेरै गोलकर्ता पेलेलाई उछिन्नका मात्र दुई गोल चाहिएको छ। नेयमार व्यावसायिक करिअरमा पनि उत्कृष्ट लयमा छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी)बाट खेल्दै आएका उनले ६ गोल गरेका छन् भने २ गोलका लागि मौका सिर्जना गर्दिएका छन्। 

सर्बियाले बिहीबार लुसेल स्टेडियममा ब्राजिलसँग समूह ‘जी’ मा पहिलो खेल्ने छ। जुन समूहमा स्वीट्जरल्यान्ड र क्यामरुन पनि छन्। ठूला प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेपनि सर्बिया ‘अन्डरडग’ टोलीको रूपमा रहेको छ। सर्बिया रसिया विश्वकपका तीनवटै खेल पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो। तर, यो वर्ष सर्बियाले पोर्चुगलजस्तो बलियो टोली रहेको समूहमा प्रभावशाली खेल प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेर कतार विश्वकपमा स्थान बनायो। 

पछिल्लो ८ खेलमा सर्बिया अपराजित छ। सर्बियाले कतार विश्वकप छनोटका लागि खेलेको ८ मध्ये ६ खेलमा जित निकाल्यो। २ खेलमा भने सर्बिया बराबरीको रोकियो। 

एलेक्सान्डर मिट्रोभिचसँगै डुसान भ्लाहोभिच, लुका जोभिच, डुसान टाडिच, फिलिप कोस्टिक, निकोला मिलिन्कोभिच, नेमान्जा गुडेज, मार्को ग्रुजिच र गोलरक्षक मार्को डिमिट्रोभिच सर्बियाका मुख्य खेलाडी हुन्।

तर, सर्बिया सासा लुकिक, फिलिप र मिट्रोभिचजस्ता मुख्य खेलाडीको फिटनेसलाई लिएर चिन्तित छ। पछिल्लो एक महिनादेखि यी खेलाडीले मैदानमा खेलेका छैनन्।

“सबै खेलाडीहरू महत्त्वपूर्ण खेलमा उपस्थित हुन्छन् भन्नेमा म आशावादी छु”, मुख्य प्रशिक्षक ड्रागन स्टोज्कोभिच भन्छन्, “तर खेलसम्म के हुन्छ, मलाई थाहा छैन। हामी उनीहरूको फिटनेसलाई जोखिममा पार्न चाहँदैनौँ।” 

सर्बियाले बिहीबारको खेलमा ठूलो ‘अपसेट’ निकाल्ने हो भने स्टार खेलाडीलाई मैदान उत्रार्नुको विकल्प छैन। यसका लागि उपयुक्त खेलाडी भनेका फरवार्ड मिट्रोभिच नै हुन्। फुलह्यामका मिट्रोभिचले सर्बियालाई कतारको टिकट दिलाउने क्रममा ८ खेलमा ८ गोल गरेका थिए। यो गोलसंख्या कतार विश्वकप छनोटमा नेदरल्यान्ड्सका मेम्फिस डेपे र इंग्ल्यान्डका ह्यारी केनले गरेकोभन्दा मात्रै चार कम हो। उनीहरू दुवैले युरोपेली छनोटमा १२-१२ गोल गरेका थिए

मिट्रोभिक राष्ट्रबाट मात्रै होइन, क्लब स्तरमा पनि उत्कृष्ट लयमा छन्। १२ प्रिमियर लिग खेलमा ९ गोल गरेका उनी ‘गोल्डेन बुट’को दौडमा चौथो स्थानमा छन्।

यता, २२ वर्षीय भ्लाहोभिचपनि सर्बियाको आक्रमणमा अर्को विकल्प बन्न सक्छन्। उनले बलियो उपस्थिति जनाउँदै आएका छन्। पार्टिजान बेलग्रेडबाट खेल्न शुरू गरेका उनमा ‘पेस र स्किल’को कुनै कमी छैन। उनी फिओरेन्टिनामा आबद्ध भएदेखि नै इटालियन सिरी ‘ए’ का प्रमुख गोलकर्ता बनेका थिए। जनवरीमा उनी ७ करोड युरोमा युभेन्ट्स पुगे। 

युभेन्ट्सले खराब प्रदर्शन गर्दै आएपनि उनले प्रतिखेल औसतमा १ गोल गर्दै आएका छन्। उमेर हेर्ने हो भने अझै उत्कृष्टतामा पुग्ने सम्भावना उनीसँग बाँकी छ। सर्बियाका मुख्य प्रशिक्षक स्टोज्कोभिचले पनि उनी कतार विश्वकपमा चम्किने आशा राखेका छन्।

ब्राजिलले सर्बियासँग अघिल्लो दुई खेलमा जित निकालेको छ। पछिल्लो विश्वकपको समूह चरणको खेलमा ब्राजिलले २-० को हराएको थियो। ब्राजिलका मुख्य प्रशिक्षक टिटे यसपटक पनि सर्बियाविरुद्ध स्पष्ट जित नै चाहन्छन्। 

“सर्बियासँग हामीले खेलिसकेका छौँ। उनीहरू कस्तो खेल्छन् थाहा छ। यसले हामीलाई फाइदा मिल्ने छ। त्यसैले पहिलो खेलमा नै जित निस्किनेमा म ढुक्क छु”, उनी भन्छन्।

-एजेन्सीको सहयोगमा


सम्बन्धित सामग्री