Thursday, April 25, 2024

-->

डडेलधुरामा सागरले कसरी पाए १३ हजार मत? यी हुन् निर्णायक ‘फ्याक्टर’

डडेलधुराबाट २०४८ यता अविराम जितिरहेका शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गुल्मेली युवा सागर ढकालले कसैले नसोचेको शानदार मत ल्याउनुका पछाडि एउटा होइन, धेरै कारण छन्।

डडेलधुरामा सागरले कसरी पाए १३ हजार मत यी हुन् निर्णायक ‘फ्याक्टर’

काठमाडौँ– साउन ९ गते कैलालीको अत्तरियाबाट रात्रि बस बस चढेर डडेल्धुरा जाँदैगर्दा सागर ढकाल पहिलोपटक सुदूरपश्चिम पहाडको भूगोल टेक्दै थिए। यो भूगोल र परिवेश उनका लागि नौलो थियो। गुल्मी घर भएका ढकालले त्यसअघि नै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए। त्यही घोषणालाई व्यवहारमा उतार्न उनी डडेल्धुरातर्फ लागेका थिए। 

त्यतिञ्जेल निर्वाचन मिति घोषणा भइसकेको थिएन। उनी डडेल्धुरा उक्लिएको १५ दिनपछि निर्वाचन मिति घोषणा भयो। र, असोज २३ गते ढकालले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरे। नयाँ ठाउँ, नयाँ परिवेश, त्यसमाथि २०४८ देखि अविराम डडेल्धुराबाट जितिरहेका, पाँचौपटक प्रधानमन्त्री बनेका देउवाविरुद्ध चुनाव लड्नु सजिलो थिएन। कतिपयले सार्वजनिक रुपमै उनलाई ‘मूर्ख’को संज्ञा दिएका थिए, उनका भनाई र गतिविधिलाई ‘अस्वाभाविक’ करार गरिदिएका थिए। ढकालले ‘सय भोट कटाउन नसक्ने’सम्मका टिप्पणी सुनिएका थिए।

मंसीर ४ मा सम्पन्न निर्वाचनको अन्तिम नतिजाअनुसार डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याएर देउवा नै निर्वाचित भएका छन्। तर, धेरैका लागि अनपेक्षित परिघटना के भयो भने देउवाका निकटतम प्रतिद्वन्द्वी उनै ढकाल रहे। त्यो पनि १३ हजार ४२ मतसहित। मतदानअघि देउवाका मुख्यप्रतिस्पर्धी ठानिएका नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्ल ७ हजार ५३४ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भए।   

देउवाविरुद्ध चुनाव लड्ने घोषणा गर्नुअघि ढकालको परिचय पाँच वर्षअघि ‘बीबीसी साझा सवाल’मा देउवालाई सोधेको एउटा चर्चित प्रश्न गर्ने पात्रमा सीमित थियो जहाँ देउवाले प्रश्न सोधेपछि उनलाई हप्काउने शैली देखाएका थिए। डडेल्धुरामा पहिलोपटक टेकेको चार महिनामै ढकालले शानदार १३ हजार मतसहित देउवालाई जसरी टक्कर दिए, यो विषय अहिले जोकोहीका लागि ‘अनपेक्षित रहस्य’ झैं बनेको छ। कतिसम्म भने यसपालिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको चमत्कारिक परिणामसरह ढकालले ल्याएको मतले पनि चर्चा बटुलिरहेको छ। स्वतन्त्र उम्मेदवार ढकालले बिरानो भूगोलमा त्यहाँका ‘शेर’विरुद्ध लडेर यति धेरै मत आखिर कसरी ल्याए? यसका पछाडि केही महत्वपूर्ण कारण देखिन्छन्। 

युवाको आकर्षण
देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेदेखि उम्मेदवारी दर्ता नगर्दासम्म ढकालले सामाजिक सञ्जालको भरपुर प्रयोग शुरु गरिसकेका थिए। एकातिर काठमाडौंमा शीर्ष नेताहरुलक्ष्यित ‘नो नट अगेन’ अभियानले तरंग ल्याइरहँदा ढकालको अभियानले पनि चर्चा बटुल्दै थियो। सामाजिक सञ्जालमै सही, उनका प्रशंसकहरु र उनलाई हौसला बढाउनेहरु थपिँदै गए। वैशाख ३० को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएरै काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ निर्वाचित भएको घटनाले युवा र स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण देखाइसकेको थियो। 

ढकालले त्यसैगरी युवाको आकर्षण आफूप्रति खिच्न थाले। गुल्मीबाट डडेल्धुरा पुगेदेखि नै उनी डडेल्धुराका गाउँ–गाउँ घुमे। युवालाई सामाजिक सञ्जालबाट अपील गरिरहेकै थिए, जनजीविकाका समस्या सुन्ने र आफूले जिते त्यसलाई समाधान गर्न पहल गर्ने वाचा गरेर उनले डडेल्धुराका गाउँमा पनि केही न केही प्रभाव बढाए। डडेल्धुरामै रहेका युवा पनि त्यसबाट तरंगित बन्दै गए, जसले उनलाई प्रत्यक्ष रुपमै सघाउन थाले। 

डडेलधुराका पत्रकार मदनराज भट्ट युवाहरूमा आकर्षण र आशा जगाएकाले ढकालले राम्रो मत पाएको बताउँछन्। “गाउँ–गाउँ, घर–घर पुगेर समस्याहरु सुन्न थालेपछि डडेलधुराबासीमा उसले केही गर्छ भन्ने आशा जाग्यो, युवाले पनि उनको भावना बुझे”, भट्ट भन्छन्, “त्यही विश्वासका कारण पनि धेरै युवाले उनलाई भोट हाले।” 

ढकालप्रति युवाको आकर्षण कसरी बढ्यो र त्यसले कसरी प्रभाव बढायो भन्ने एउटा उदाहरण हेरौँ। सामाजिक सञ्जाल टिकटकमा ‘मिस पबी’ नामले चर्चित सेलिब्रेटी हुन् पवित्रा सकी। डडेलधुराको अमरगढी नगरपालिकाकी ‘मिस पबी’ले टिकटकमा अपलोड गर्ने धेरैजसो सामग्री ‘भाइरल’ बन्छन्। लाखौँ फ्यान फलोइङ भएकी ‘मिस पबी’ले टिकटकलगायतका सामाजिक सञ्जालसँगै प्रत्यक्ष भेटघाटमा पनि ढकालका पक्षमा मत मागिन्, उनलाई जिताउन अपील गरिन्। काठमाडौंमा बसेपनि ढकालकै पक्षमा चुनावी माहोल बनाउन निर्वाचनभन्दा केही दिनअघि उनी डडेलधुरा पुगिन्। 

युवाले जिते केही गर्न सक्ने ठानेर आफूले सघाएको उनी बताउँछिन्। “मलाई कांग्रेस लगायतका पार्टीले पनि टिकटकमा आफ्नो प्रचार गरिदिन आग्रह गरेका थिए। तर, मैले सागरकै पक्षमा भोट मागेँ”, उनले उकालोसँग भनिन्, “घरपरिवार, छिमेकी, नातेदार र साथीभाइलाई पनि आग्रह गर्यौँ। शुरुमा धेरैलाई सागरप्रति विश्वास थिएन, पछि सबैले विश्वास गर्दै गए। त्यही भएर पनि राम्रो मत आयो।” 

ढकालको चुनावी अभियानलाई सघाउन देशका विभिन्न भागबाट पनि विभिन्न पेसा–व्यवसाय–पृष्ठभूमिका युवा डडेलधुरा पुगेका थिए। ती मध्ये एक हुन् डा. निकोलस भुसाल। भुसाल आफैले पनि रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग भिड्न चाहेका उनलाई निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि फुर्सद् मिल्यो। प्रतिस्पर्धा गर्न नपाउने भएपछि उनी ढकालको पक्षमा चुनावी माहोल बनाउन डडेलधुरा पुगे। 

“आम मानिसले परिवर्तन चाहिरहेका छन्, त्यो डडेलधुरामा पनि देखियो। सागरजीको निरन्तरको मिहिनेत र परिश्रमले पनि यो मत पाउनुभएको हो”, डा. भुसालले भने, “हामी डडेलधुराका गाउँबस्तीमा पुगेर यहाँको समस्याका बारेमा जानकारी गराउने काम गर्यौँ। सबैले विश्वास गरेर मत दिनुभयो।”

डडेलधुराकै युवाको आकर्षण पनि ढकालप्रति भएकाले राम्रो मत ल्याउन भूमिका खेलेको उनको बुझाइ छ। “युवामात्र होइन, सचेत डडेलधुराबासीले नै हामीले गर्न चाहेको र उठाएको मुद्दा बुझ्नुभयो र भोट दिनुभयो”, उनले भने, “सुरूमा आउँदा केही चुनौती भए। भ्रम फैलाउने काम पनि भए। तर, अन्तिममा डडेलधुराबासीले विश्वास गरेर मत दिनुभयो।”

विदेशमा रहेका छोराछोरी जसले परिवारलाई ‘कन्भिन्स’ गरे
डडेल्धुरामा देउवाविरूद्ध उम्मेदवारी दिने घोषणा गरेदेखि ढकालले सामाजिक सञ्जालबाट आफ्नो धारणा प्रष्टसँग राख्न शुरु गरिसकेका थिए। सामाजिक सञ्जालकै कारण विदेशमा रहेका युवा उनको अभियानसँग जोडिए। डडेलधुराका धेरै युवा अध्ययन र रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका छन्। उनीहरुले पनि ढकालको पक्षमा माहोल सिर्जना गर्न भूमिका खेलेको देखिन्छ। 

“यहाँका धेरै युवा काम र अध्ययनका लागि विदेशमा छन्। त्यो पुस्ता नै परिवर्तनको चाहना राख्छ”, टिकटक स्रेलिब्रेटी मिस पबी भन्छिन्, “सामाजिक सञ्जालका माध्यमबाट उहाँहरू पनि आशावादी हुनुभयो। र घरपरिवारलाई उहाँहरूले पनि कन्भिन्स गरेपछि त्यसले पनि सागरजीको पक्षमा माहोल निर्माण भयो।”

ढकाल आफैँले पनि डडेलधुराको विकास, दैीनक जीवनयापनमा डडेलधुराबासीले भोगिरहेका समस्याबारे सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रशारण गर्नेदेखि आफ्नो धारणा प्रष्टसँग राख्ने गर्दै आएका थिए। उनले उठाएका मुद्दालाई सामाजिक सञ्जालमै हेरेकाहरुले डडेलधुरामा रहेका आफ्ना परिवारलाई बुझाउने काम गरे। ढकालको अभियानमा सघाएकी मिस पबीले पनि विदेशमा रहेका आफ्ना फलोअर्सलाई निरन्तर आग्रह गरेकी थिइन्। 

नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद पनि वैदेशिक रोजगारमा गएका युवाले घरपरिवारमा दबाब दिएर ढकालको पक्षमा मतदान गर्न आग्रह गर्दा उनको मत बढेको दाबी गर्छन्।

“युवाहरूको रोजाइ र वैदेशिक रोजगारमा रहेकाहरूले घरपरिवारलाई भोट हाल्न दबाब दिएको विषयले पनि काम गरेको छ”, उनले भने, “सामाजिक सञ्जालको भरपुर प्रयोग गर्न सकेकाले उहाँले त्यत्रो मत ल्याउन सक्नुभएको हो।”

घर–घर पुगेरै भोट मागे
२०४८ सालदेखि डडेलधुराबाट निर्वाचित हुँदै आएका देउवा निर्वाचनका बेला मात्रै डडेल्धुरा पुग्ने गरेको भाष्य निर्माण भएका बेला गुल्मीबाट चुनाव लड्न डडेल्धुरा पुगेका ढकाल भने चुनावी अभियानभर डडेलधुरामै बसे। त्यहाँका गाउँ–गाउँ, घर–घर पुगे।  

आफ्नो चुनाव चिन्ह ‘सुई’बारे जानकारी गराए। सबैलाई डडेलधुराका समस्याका बारेमा जानकारी दिँदै आफूले डडेलधुरामा चुनाव लडेर गर्न चाहेको कामका विषयमा आश्वस्त पार्ने प्रयास गरे। डा. भुसाल ढकालको अथक मिहिनेत, गाउँ–बस्तीसम्म पुगेर दिलाएको विश्वास र भरोसाले नै युवादेखि सबैको रोजाइमा परेको सुनाउँछन्।

ढकाल स्वयम् पनि आफूले चार महिनासम्म गाउँ–बस्तीमा पुगेर समस्या बुझ्न र भरोसा दिलाउन सकेकाले विश्वास जित्न सकेको स्वीकार्छन्। “यो चार महिनामा म यहाँकै नागरिकको घरमा बसेर चुनावी अभियान सञ्चालन गरेको हुँ”, उनले भने, “१४० भन्दा बढी घरमा बास बसेर उहाँहरूसँग यहाँको समस्याका बारेमा छलफल गरेको छु। त्यसले पनि म सबैको मनमा बस्न सफल भएँ। उहाँहरूले मलाई बुझेकै कारण मत दिनुभएको हो।” 

ढकालले चुनावी अभियानभर दुइटा मोटरसाइकल प्रयोग गरेर गाउँ बस्तीमा भेटघाट र घरदैलो कार्यक्रम गरेका थिए। शुरूआतमा भ्रम फैलाएर आफूविरूद्ध षडयन्त्र सुरू गरिए पनि आफूले बोकेको अजेण्डालाई बुझेकै कारण डडेलधुराबासीले मत दिएको उनले बताए।
   
एमाले, माओवादी र कांग्रेसकै पनि साथ
२०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका देउवालाई पराजित गर्न डडेलधुराका कम्युनिस्ट पार्टीहरुलाई कठिन मात्र होइन, असम्भवजस्तै देखिएको छ। २०६४ मा देशभर माओवादीको जनलहर आउँदा पनि देउवाको जितमा अवरोध भएन। 

२०७४ मा बामगठबन्धन बनेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा जाँदा पनि देउवा फराकिलो मतान्तरले विजयी भए। यसपालि डडेलधुराबाट प्रतिनिधिसभामा एमाले, माओवादीलगायत कम्युनिस्ट पार्टीका उम्मेदवार नै थिएन। माओवादीले कांग्रेससँगै तालमेल गरेको थियो।  

एमालेले उम्मेदवारी नदिएर नेपाली कांग्रेस (बीपी)का कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको थियो। कम्युनिस्ट पार्टीका आफ्नै उम्मेदवार नभएकाले देउवा वा मल्ललाई मतदान गर्नु भन्दा स्वतन्त्र उम्मेदवार ढकाललाई मतदान गर्नु उपयुक्त हुने भन्दै कतिपयले ढकाललाई नै मत दिएको एमालेलाई एक नेता बताउँछन्। 

“हाम्रो पार्टीले उम्मेदवारी नै दिएको थिएन। त्यो नभइसकेपछि स्वतन्त्र रूपमा मत हाल्न कसैलाई समस्या भएन”, एमालेका जिल्लास्तरीय एक नेता भन्छन्, “युवा, पढेलेखेको व्यक्ति जो गुल्मीबाट डडेल्धुरा आएर केही गर्छु भनिरहेको छ। देउवालाई दिनु भन्दा बरू उसलाई नै भोत दिउँ भन्ने धेरैलाई परेर भोट खसेको छ।” 

देउवाविरूद्ध उम्मेदवारी दिए पनि २०४८ यता कहिल्यै पराजित गर्न नसकेका कम्युनिस्ट समर्थकले यसपालि ढकाललाई मत दिएको उनी बताउँछन्। उनले देउवाले ६ पटकसम्म चुनाव जितेर पनि जिल्लाको विकासका लागि उल्लेख्य काम गर्न नसकेको असन्तुष्टि पनि यसपटक जनताले पोखेको दाबी गरे।

एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउँदले पनि एमालेबाट स्वतन्त्र उम्मेदवार ढकालको चुनाव चिन्हमा मतदान भएको प्रष्ट पारे। “हाम्रो उम्मेदवारी थिएन। केन्द्रबाट कांग्रेस बीपीलाई समर्थन गर्ने निर्देशन भएपनि स्थानीय स्तरमा कार्यान्वयन भएन”, उनले भने, “त्यसकारण भोट नै नदिनु भन्दा स्वतन्त्रलाई दिने भनेर हाम्रो पार्टीलाई मत हाल्ने मतदाताको भोट स्वतन्त्र उम्मेदवारलाई गएको हो।”

नेकपा माओवादी केन्द्रका जिल्लास्तरका एक नेताले स्वतन्त्र उम्मेदवार ढकाललाई माओवादीको पनि भोट गएको दाबी गरे। “केन्द्रबाटै गठबन्धन भनियो। तर, तल नेताकार्यकर्ता र शुभेच्छुकले मन पराएका थिएनन्”, उनले भने, “देउवासँग असन्तुष्ट रहेकाले स्वतन्त्र उम्मेदवारको पक्षमा भोट हाले।”

कांग्रेसबाट विद्रोह गरेर देउवाविरूद्ध नै उम्मेदवारी दिएका कर्ण मल्ल प्रतिस्पर्धामा नआऊन् भन्ने डडेल्धुराका कांग्रेस नेताहरूको पनि चाहना थियो। देउवाले सहजै चुनाव जित्ने आकलन गरिसकेकाले मल्ललाई दोस्रो हुनबाट रोक्न पनि ढकालको पक्षमा केही मत खसाएको एक कांग्रेस नेताले दाबी गरे। 

तर, नेपाली कांग्रेस डडेल्धुराका सभापति साउँद भने यसलाई स्वीकार्दैनन्। “यो बाहिर फैलाइएको हल्ला मात्रै हो। कांग्रेसको मत अन्त जाने कुरै भएन”, उनले भने, “एमाले लगायतका साथीहरूको मत र युवाहरूको भोट पनि गएकाले उहाँले राम्रो मत ल्याउन सक्नुभएको हो। हामीले त्यत्रो मत आउँछ भन्ने अपेक्षा चाहिँ गरेकै थिएनौं।”


सम्बन्धित सामग्री