Wednesday, April 17, 2024

-->

व्यवस्थाविरोधी राप्रपाले कसरी शक्ति आर्जन गर्‍यो?

आमनिर्वाचन २०७४ मा एमालेको बलमा एउटा सिट जितेको र ‘थ्रेसहोल्ड’समेत नकटाएको राप्रपा अहिले कुन शक्तिका कारण राष्ट्रिय पार्टी बन्ने बाटोमा अघि बढ्दैछ?

व्यवस्थाविरोधी राप्रपाले कसरी शक्ति आर्जन गर्‍यो

काठमाडौँ– पुरानो र पञ्चहरूको पार्टीको परिचय बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७४ सालको आमनिर्वाचनमा झापा–३ बाट प्रत्यक्षतर्फ एकसिट मात्रै जितेको थियो। समानुपातिकतर्फ पनि ‘थ्रेसहोल्ड’ कटाउन सकेको थिएन। त्यतिबेला प्रत्यक्षतर्फ चुनाव जित्ने राजेन्द्र लिङदेन राप्रपाका महामन्त्री थिए।

तर, २०७९ सालको आमनिर्वाचनको अवस्था फरक छ। प्रतिनिधि र प्रदेशसभातर्फको मतगणना जारी रहँदा राप्रपाले सिट संख्या बढाउने निश्चितजस्तै बनेको छ। त्यति मात्र नभइ समानुपातिकमा थ्रेसहोल्डको सीमा कटाएर सांसद् संख्या पनि थप्ने संभावना छ।

राप्रपाले जितको शुरूआत संघीय राजधानी काठमाडौँबाटै गरेको छ। काठमाडौँ–२ को प्रदेशसभा ‘१’ बाट राप्रपा उम्मेदवार सुनिल केसी निर्वाचित भएका छन्। एमालेको बलियो आधार रहेको यस प्रदेशसभा क्षेत्रमा केसीले सानुकुमार श्रेष्ठलाई पराजित गरेका हुन्। एमाले उम्मेदवार श्रेष्ठ बागमती प्रदेशसभाका निवर्तमान सभामुख हुन्।

केसीले ६ हजार ५९८ मत पाउँदा श्रेष्ठले पाँच हजार ७९ मत पाए। सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार धुव्र केसीले तीन हजार ८४७ मत मात्रै प्राप्त गरे। 

प्रतिनिधिसभातर्फ पनि महामन्त्री धवलशमशेर राणा बाँके-२ बाट निर्वाचित भएका छन्। उनले २९ हजार ५७७ मत पाउँदा निकटतम प्रतिस्पर्धी जसपाका मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए। देशभरिमा राप्रपाका अरू चार उम्मेदवारले अग्रता लिइरहेका छन्। यी क्षेत्रमा उनीहरूको जित हुने संभावना धेरै देखिएको छ। 

पछिल्लो मत परिणामअनुसार झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिइरहेका छन्। त्यस्तै, नवलपरासी पश्चिम–२ बाट उपाध्यक्ष धुव्रबहादुर प्रधान भारी मतसहित अगाडि छन्। चितवन–३ बाट अर्का उपाध्यक्ष विक्रम पाण्डे र जुम्लाबाट ज्ञानबहादुर शाहीले अग्रता लिइरहेका छन्। रूपन्देही–३ मा दीपक बोहराले गृहमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार बालकृष्ण खाँणलाई कडा टक्कर दिइरहेका छन्। 

देशभर सांगठनिक संरचना भए पनि कमजोर मानिएको राप्रपाले यस निर्वाचनमा आफूलाई सुधार गरेको संकेत दिइरहेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठ अहिलेको निर्वाचनबाट पार्टी राष्ट्रिय शक्तिका रूपमा स्थापित हुने दाबी गर्छन्।

“प्रत्यक्षतर्फ हामीले १२ सिट जित्ने अनुमान गरेका थियौं। तर, अब ६ वटा निश्चित जस्तै भएको छ”, उनले भने, “समानुपातिकमा थ्रेसहोल्ड होइन राम्रो मत ल्याएर समानुपातिकमा पनि सिट सुरक्षित गर्छौं।” उनले यसपटक राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने र नयाँ शक्तिका रूपमा अघि बढ्ने दाबी गरे।

लिङ्देनको नेतृत्वपछि फेरिएको राप्रपा
विगतमा राप्रपाको नेतृत्वमा पुराना नेताहरूकै हालीमुहाली हुँदा संगठन कमजोर भएको पार्टीकै नेता बताउँछन्। तर, गतवर्ष एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेपछि पार्टीको शक्तिमा वृद्धि भएको उनीहरूको भनाइ छ। परम्परागत नेतृत्वलाई पराजित गरेर महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टीको शक्ति बढेको सहप्रवक्ता केदारबहादुर अधिकारी बताउँछन्।

“पार्टीको नेतृत्व युवाहरूले गरेका छन्। हाम्रा अजेन्डा प्रष्ट र प्रखर भएको छ”, अधिकारीले भने, “अहिलेको निर्वाचनको मत परिणामको जुन रूझान देखिएको छ, त्यसले राप्रपाको शक्ति बढेको स्पष्ट हुन्छ। हाम्रो विचारलाई जनताले अनुमोदन गर्न थालेका छन्।”

राजनीतिक विश्लेषक भाष्कर गौतम राप्रपाको नेतृत्वमा लिङ्देन आइसकेपछि त्यसले प्रभाव पारेको बताउँछन्। “पञ्चायतकालदेखि नै सक्रिय भएका नेताहरू पराजित भएर नयाँ नेतृत्व आएपछि त्यसले इमान्दार रूपमा प्रस्तुत हुने कसरत गर्यो”, उनले भने, “युवा नेतृत्वले पनि पार्टीभित्र तरंग ल्याएको देखिन्छ।”

राप्रपाको संस्थापकमध्येका एक पूर्वप्रधानमन्त्री तथा राप्रपाका पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द पार्टी नेतृत्वमा आएको परिवर्तन मात्र नभइ नयाँ नेतृत्वले संगठनलाई क्रियाशील बनाउँदा पार्टी मजबुत हुँदै गएको बताउँछन्। लिङ्देन पार्टीको अध्यक्षमा निर्वाचित भइसकेपछि अधिकाशं युवाहरूको प्रतिनिधित्व केन्द्रदेखि जिल्ला कमिटीहरूमा पनि देखिएको छ।

प्रवक्ता श्रेष्ठ राप्रपालाई हेर्ने जनताको दृष्टिकोणमा नेतृत्वले परिवर्तन ल्याउन सकेकै कारण निर्वाचनमा पनि मतदाताले विश्वास राखेको बताउँछन्। “राप्रपा भनेको बूढा र पूर्वपञ्चको मात्रै पार्टी हो भन्ने मानक बनेको थियो। त्यसमा हामीले परिवर्तन ल्याएका छौँ। राप्रपा राष्ट्रवादी शक्ति हो भन्ने जनताको मन मष्तिस्कमा बस्यो”, उनले भने, “स्थापित नेतृत्वलाई निर्वाचनको माध्यमबाट नै हटाउन सकिन्छ भन्ने महाधिवेशनबाट देखियो, जसले गर्दा पार्टीलाई आममानिसले हेर्ने दृष्टिकोण बदलियो।”

तर, राजनीतिक विश्लेषकहरू पनि जनतामा ठूला दलप्रति आएको नैराश्यको मत पनि राप्रपामा परेको बताउँछन्। त्यसैगरी हिन्दू धर्म र राजसंस्थाको नाराले संस्थागत रूपमा र प्रखर ढंगले जनतामा लगेको कारण पनि कतिपय मतदाता आकर्षित भएको उनीहरूको भनाइ छ। राप्रपा प्रवक्ता श्रेष्ठ पनि नेतृत्वले पार्टीको विचार सही ढंगले जनतामा पुर्याउँदा प्रभाव परेको बताउँछन्। 

व्यवस्थाप्रतिको असन्तुष्टि!
जनताले २०६२/६३ को जनआन्दोलनबाट राजतन्त्र फालेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनाए। त्यसपछि दुईपटक भएका संविधानसभा निर्वाचनबाट गणतान्त्रिक संविधान पनि बन्यो। यो व्यवस्था परिवर्तनको प्रक्रियामा नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन नेकपा माओवादीलगायत दलले नेतृत्व गरेका थिए।

राप्रपा भने राजतन्त्रसहितको प्रजातन्त्रको निरन्तरताकै पक्षमा थियो। अहिले पनि राप्रपाले राजतन्त्र र हिन्दू राज्य फर्काउने अभियान चलाइरहेको छ। तर, राप्रपाका यी मुद्दाभन्दा पनि सरकारमा गएका दलको ‘मनोमानी’ र सेवा प्रवाहमा भएको कमजोरीबाट दिक्क भएर जनताले विकल्प खोज्न थालेको राप्रपाका संस्थापक नेता चन्द बताउँछन्। व्यवस्थाले ल्याएको असन्तुष्टिका कारण जनताले परिवर्तन रोजेको उनको भनाइ छ।

स्थानीय तहको निर्वाचनदेखि नै राप्रपाले प्रभाव देखाउन थालेको थियो। त्यतिबेला राप्रपाले चार पालिका प्रमुख र उपप्रमुख तथा ६२ वडाध्यक्ष जितेको थियो। अहिलेको निर्वाचनमा राप्रपातर्फ देखिएको रुझानको संकेत त्यतिबेलै देखिएको चन्द बताउँछन्। 

राप्रपा प्रवक्ता श्रेष्ठ पनि २०६२/६३ को आन्दोलनबाट देशले रोजेको बाटो अब परिवर्तन गर्नुपर्ने सन्देश जनताले दिएको बताउँछन्। “अहिलेसम्म सत्ता र शक्तिमा रहेकाबाट सेवा प्रवाह गुणस्तरीय हुन सकेन। चुनावमा त्यसको प्रभाव देखिएको छ। जनतालाई अब राप्रपाले गर्न सक्छ भन्ने परेको छ”, उनले भने, “जनताले राप्रपाको नेतृत्वप्रति भरोसा खोजेका छन्। त्यो मतपेटिकामा देखिएको छ।”

राजनीतिक विश्लेषक गौतम भने व्यवस्थाप्रतिको असन्तुष्टिभन्दा पनि दलहरूप्रतिको असन्तुष्टिले राप्रपालगायतका शक्तिमा मत गएको बताउँछन्। राप्रपाले प्राप्त गरिरहेको मतमा एमालेले पनि सहयोगी भूमिका खेलेको उनको दाबी छ। “एमालेजस्तो पार्टी नै राप्रपा जस्तो चरित्रको हुन थालेपछि एमालेलाई किन रोज्ने, राप्रपा रोजे भइहाल्यो भन्ने परेको देखिन्छ”, उनले भने, “एमालेले राप्रपालाई बलियो बनाउन सहयोग गर्यो। तालमेलको विषय मात्र होइन, एमालेले बोकेका केही अजेन्डाले पनि राप्रपालाई सहयोग पुगेको देखिन्छ। तालमेलले त सिधै सहयोग पुगेकै छ।”

राप्रपाले २०७४ को आमनिर्वाचनमा पाँच वटा क्षेत्रमा मात्रै उम्मेदवारी दिएर बाँकी क्षेत्र खाली छोडेको थियो। जसका कारण उसले मत ल्याउन सकेन। प्रवक्ता श्रेष्ठ अहिलेको निर्वाचनमा पार्टीले प्रतिनिधिसभातर्फ १४२ र प्रदेशसभातर्फ २८६ स्थानमा उम्मेदवारी दिएकाले पनि राप्रपाको मत बढेको बताउँछन्। 

व्यवस्थामा आम मतदाताको असन्तुष्टि नरहे पनि प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका गतिविधिले ल्याएको असन्तुष्टिको मत राप्रपासहितका अन्य नवगठित पार्टी र स्वतन्त्रमा गएको एमालेका एक नेता बताउँछन्। “दलहरूप्रति जनताले देखाएको असन्तुष्टि अहिले मतपत्रमा देखिएको हो”, उनले भने, “प्रमुख दलहरू नसच्चिने हो भने भोलिका दिनमा उनीहरूलाई थप संकट आउन सक्छ।”


सम्बन्धित सामग्री