Friday, April 19, 2024

-->

किन खुम्चिँदैछ माओवादी केन्द्र?

२०७४ सालको आमनिर्वाचनमा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्र यसपटक अधिकतम १७ सिट जित्ने र समानुपातिक मत पनि घट्ने निश्चित छ। हरेक निर्वाचनमा के कारण खुम्चिँदैछ माओवादी केन्द्र?

किन खुम्चिँदैछ माओवादी केन्द्र

काठमाडौँ– नेकपा माओवादी केन्द्रकी नेता एवं उर्जामन्त्री पम्फा भुसाल ललितपुर–३ बाट ससंदीय चुनावमा जित हात पार्नेमा निश्चितजस्तै थिइन्। चुनावअघिका उनका अभिव्यक्तिले त्यही देखाउँथ्यो। उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई त आफ्नो प्रतिस्पर्धी नै नभएको बताएकी थिइन्।

तर, चुनाव नजिकिँदै जाँदा देशभरि नै स्वतन्त्र पार्टीको लहर देखिन थाल्यो। ललितपुर–३ मा पनि कार्कीको पक्षमा माहोल बन्यो। त्यसपछि मात्र भुसालले उनलाई प्रतिस्पर्धी देखिन्। 

कार्कीको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी पर्यो। उनले नेपाल मेडिकल काउन्सिलको सदस्यका रूपमा सरकारी सुविधा तथा भत्ता लिएको भन्दै चुनावको मुखैमा आयोगले कार्कीको उम्मेदवारी खारेज गर्यो। भुसालकै पहलमा आयोगले उक्त निर्णय लिएको आरोप लाग्यो। तर, सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी जोगाइदियो।

यो प्रकरणले कार्कीप्रति मतदाताको सहानुभूति थप बढ्यो। बुधबार दिउँसोसम्मको मतगणनाअनुसार राजनीतिमा पहिलोपटक औपचारिक पाइला चालेकी कार्कीले भुसालको ससंदीय राजनीतिमा ब्रेक लगाउने निश्चित देखिएको छ। 

भुसालले ललितपुर–३ बाट २०६४ सालको संविधानसभा र २०७४ सालको संसदीय चुनाव जितेकी थिइन्। यसपल्ट नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसमेतको समर्थन थियो। अघिल्लो निर्वाचनमा भने वाम गठबन्धन हुँदा एमालेले साथ दिएको थियो। 
०००
काठमाडौं–२ मा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले चौथो स्थानमा चित्त बुझाउनु पर्यो। स्वतन्त्र पार्टीकी सोविता गौतमले १५ हजार २२९ मत ल्याउँदा घर्तीले नौ हजार ४४९ मत पाइन्। गौतमको प्रतिद्वन्द्वी बनेका एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत पाएका छन्। 

घर्ती २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक प्रणालीबाट चुनिएकी थिइन्। २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी रोल्पा–१ बाट विजयी भएकी थिइन्। नेपालको पहिलो महिला सभामुख बन्न सफल घर्तीले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरेकी हुन्। २०७४ सालको निर्वाचनमा भने उनी उम्मेदवार बनेकी थिइनन्।
०००
कञ्चनपुर–१ मा माओवादी केन्द्र पोलिट ब्युरो बिना मगर पनि भारी मतान्तरले पछाडि छिन्। पछिल्लो मतपरिणाममा एमालेका तारा लामा तामाङ मगरभन्दा करिब दोब्बर मतले अगाडि छन्। 

माओवादी केन्द्रको पोलिट ब्यूरो सदस्यसमेत रहेकी उनी २०७४ सालको आमनिर्वाचनमा यही क्षेत्रबाट विजयी भएकी थिइन्। त्योबेला उनलाई वाम गठबन्धनको साथ थियो। 
०००
जुम्लामा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी गोमा गौतम कुँवरलाई पनि माओवादी केन्द्रले जित्नेको सूचीमा राखेको थियो। गौतम २०५५ सालमा तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठनमा लागेर भूमिगत भएकी थिइन्। हाल उनी माओवादी केन्द्रको पोलिट ब्यूरो सदस्य छिन्। २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी यसपटक राप्रपाका ज्ञानबहादुर शाहीसँग भारी मतान्तरले पछि छिन्।
०००
कैलाली–३ मा माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई पनि निर्वाचनअघि माओवादी केन्द्रले जित्ने सम्भावनाको सूचीमा राखेको थियो। तर, चौधरीलाई नवगठित नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले फराकिलो मतान्तरले पराजित गरे। जबकि, कृष्णकुमार २०६४ सालको संविधानसभामा कैलाली–३ बाटै प्रत्यक्ष निर्वाचित भएका थिए। 

एमाले निकट अनेरास्ववियुबाट राजनीति थालेका उनी २०५६ सालमा भूमिगत रहेको तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए। २०७३ सालमा बाबुराम भट्टराईको नयाँ शक्तिमा लागेर उनी २०७८ मा पुनः माओवादी केन्द्रमै फर्किएका थिए।
०००
काठमाडौं–७ मा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी अस्मिता सिंह (मानुषि यमि भट्टराई) पनि पराजित भएकी थिइन्। उनी तेस्रो भइन्। सो क्षेत्रबाट स्वतन्त्र पार्टीका गणेश पराजुलीले आठ हजार ७४३ मतसहित जित हासिल गरे। भट्टराईले ६ हजार ६३ मत मात्रै पाइन्। उनी माओवादी केन्द्रको पार्टी सदस्य भने होइनन्। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईकी छोरी उनी त्यही पार्टीकी केन्द्रीय सदस्य हुन्। भट्टराईले गोरखाको आफ्नो क्षेत्र प्रचण्डका लागि छाडेर छोरीलाई काठमाडौँमा टिकट दिलाएको आरोप लागेको थियो।

माओवादी केन्द्रले जित्ने सूचीमा राखेका कतिपय उम्मेदवार पनि मतगणनामा निकै पछाडि छन्। हालसम्मको रूझानअनुसार नै अन्तिम परिणाम आए धेरै प्रभावशाली र केन्द्रीयस्तरका नेताहरूले अप्रत्यासित हार बेहोर्ने देखिएको छ। 

यसपटको चुनावमा सत्तामा रहेका कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पार्टीसँग गठबन्धन गर्दा माओवादी केन्द्रले ४५ क्षेत्रमा उम्मेदवारी दिन पाएको थियो। त्यसमध्ये रूपन्देही–१ मा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसाललाई समर्थन जनाएको छ। त्यसैगरी काठमाडौं–१० मा अञ्जना विशुङ्खे र काठमाडौं–३ मा बद्रीप्रसाद बजगाईंलाई गठबन्धन नगरी उम्मेदवार बनाएको थियो। यी दुवै क्षेत्रमा कांग्रेस विजयी भइसकेको छ।

चुनावअघिको अनुमान नै आधारहीन!
चुनावअघि माओवादीले प्राप्त गरेका सबै सिटमा जित हासिल गर्ने सार्वजनिकरूप दाबी गरे पनि आन्तरिकरूपमा भने कम्तीमा २५ सिट सहजै जित्ने अनुमान गरेका थिए। तर, कांग्रेसको मत आफूतिर नआउने आशंका पनि माओवादी नेतृत्वलाई थियो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक ‘आफूलाई मत नदिने कांग्रेसहरू लोकतान्त्रिक हुन नसक्ने’ अभिव्यक्ति दिएका थिए। 

चुनावअघि माओवादीले गोरखा–२ बाट अध्यक्ष प्रचण्ड, रूकुम पूर्वबाट पूर्णबहादुर घर्तिमगर, रोल्पाबाट वर्षमान पुन, रूकुम पश्चिमबाट जनार्दन शर्मा र कालिकोटबाट महेन्द्रबहादुर शाही गरी पाँच सिट सहजै जित्ने आकलन गरेको थियो। १९ सीटमा भने गठबन्धन दलको थोरै मत पाउँदा पनि जित्ने अनुमान थियो। त्यसबाहेक ११ वटा क्षेत्रमा कडा प्रतिश्पर्धा हुने उसको हिसाब थियो। बाँकी ११ वटा निर्वाचन क्षेत्रमा आफ्ना लागि जित कठिन हुने माओवादी केन्द्रको अनुमान थियो। 

माओवादी आकलनविपरीत परिणाम
माओवादी केन्द्रले सिन्धुली–२ बाट जितको खाता खोलेको छ। लेखनाथ दाहालले प्रतिस्पर्धी एमाले उम्मेदवारलाई पाँच हजारभन्दा फराकिलो मतान्तरले हराएका छन्। त्यसैगरी रुकुमपूर्वमा पूर्णबहादुर घर्ती मगर र बागलुङ–२ बाट देवेन्द्र पौडेल पनि विजयी भएका छन्।

गोरखा–२ बाट अध्यक्ष प्रचण्डले फराकिलो अग्रता कायम गरेका छन्। रोल्पामा वर्षमान पुन, रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्तिबहादुर बस्नेत र मोरङ–४ मा अमनलाल मोदी पनि सहज अवस्थाम छन्। दाङ–२ मा रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई लगातार पछि पारिरहेकी छिन्।

यीबाहेक अन्य सात क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन्। भोजपुरमा भोजपुरमा सुदन किराती एमाले उम्मेदवार शेरधन राईभन्दा अगाडि छन्। सुनसरी–१ मा मुक्साहाङ सुब्बा, खोटाङमा रामकुमार राई, सर्लाही–३ मा नरेन्द्र कलवार र काभ्रेमा सूर्यमान तामाङले पनि अग्रता लिइरहेका छन्। सर्लाही–२ मा माओवादी केन्द्रको चुनाव चिह्नमा उम्मेद्वारी दिएका महिन्द्र राय यादव पनि लोसपाका राजेन्द्र महतोभन्दा अगाडि छन्। सिन्धुपालचोक–१ मा माधव सापकोटाले अग्रता कायम गरेका छन्।

यीबाहेक माओवादी पछाडि परेका १३ क्षेत्रमा प्रतिस्पर्धाकै अवस्था छ। सिराहा–३ मा विश्वनाथ साह, धनुषा–१ मा मातृकाप्रसाद यादव, महोत्तरी–१ मा गिरिराजमणि पोखरेल, बारा–२ मा शिवचन्द्रप्रसाद कुशवाहा, नुवाकोट–१ मा हितबहादुर तामाङ, कालिकोटमा महेन्द्रबहादुर शाही, लम्जुङ–१ मा देवप्रसाद गुरुङ पछाडि परे पनि प्रतिस्पर्धा छ। त्यस्तै बाँके–१ मा महेश्वरजंग गहतराज, कैलाली–२ मा भगतबहादुर बढुवाल, बैतडी–१ मा नरेन्द्रबहादुर कुँवर, झापा–२ मा हरिकुमार राना मगर र मोरङ–५ मा शिवकुमार मण्डलले दोस्रो स्थानमा रहेर पछ्याइरहेका छन्।

अन्य क्षेत्रमा भने माओवादीका उम्मेदवारलाई जित्न कठिन छ। रौतह– ३ मा रविन्द्र पटेल, भक्तपुर –१ मा सुनिल गोठे, ललितपुर–३ मा पम्फा भुसाल, चितवन–३ मा भोजराज अधिकारी, कास्की–३ मा रामजीप्रसाद बराल र कपिलवस्तु–३ मा चक्रपाणि खनाल धेरै पछि परेका छन्। त्यस्तै बर्दिया–२ मा सुरेश पन्थ, जुम्लामा गोमा गौतम कैलाली–३ मा कृष्णकुमार चौधरी र कञ्चनपुर –१ मा बीना मगरलाई पनि जित्न अब कठिन छ। काठमाडौं–१० मा अन्जना विशंखे, काठमाडौं–३ मा बद्रीप्रसाद बजगाईं र काठमाडौं– ९ मा कल्पना धमला पराजित भइसकेका छन्।

किन माओवादी प्रतिकूल अवस्थामा? 
निर्वाचनको परिणाम माओवादी केन्द्रका लागि ‘अनपेक्षित’ भएको छ। एक स्थायी कमिटी सदस्यका अनुसार माओवादी केन्द्रका उम्मेदवार कमजोर देखिनु या पार्टीकै अनुमान जति क्षेत्र जित्न नसक्नुृको कारण माओवादी केन्द्र आफैँ हो। “यसपटक माओवादी केन्द्र पछि पर्ने अनुमान मैले पहिल्यै गरिएको हो। तर, यसको कारण माओवादी नै हो। यो विषयमा माओवादी केन्द्रको नेतृत्व जवाफदेही हुनुपर्छ”, ती नेताले भने।

माओवादी पछाडि पर्नुमा खास गरी पाँच वटा कारण छन्। 

पहिलो– कांग्रेससँग गठबन्धन असफल 
अघिल्लो आमनिर्वाचनमा एमालेसँग पार्टी एकता गर्ने भन्दै तालमेल गरेर निर्वाचनमा जाँदा प्रत्यक्ष र समानुपातिक गरी ५३ सिट जितेको थियो। प्रत्यक्ष्यमा मात्र ३६ सिट आएको थियो। चुनावपछि माओवादी केन्द्रले एमालेसँग गरेको एकता सफल भएन। सरकारमा रहँदा पनि माओवादीका मन्त्रीले राम्रो कार्यसम्पादन गर्न नसकेको आरोप लाग्यो। 

यसपटक अध्यक्ष प्रचण्ड र शेरबहादुर देउवासहितका नेताले सरकारमा सामेल दल नै गठबन्धन गरेर चुनावमा जाने निर्णय गर्दा कांग्रेस कार्यकर्ता खुशी थिएनन्। कतिपय स्थानमा कांग्रेस कार्यकर्ताले ‘माओवादीलाई मत दिनुभन्दा अन्य पार्टीका उम्मेदवारलाई सघाउने’ घोषणा नै गरेका थिए। 

गठबन्धन भए पनि अपेक्षाअनुसार कांग्रेस समर्थकको मत नपाएका कारण माओवादी केन्द्रको स्थिति कमजोर भएको पार्टी नेताहरूले नै बताउन थालेका छन्। माओवादी केन्द्रका नेता राम कार्की सम्भावित नतिजाबारे समीक्षा नगरी कांग्रेससँग गठबन्धन गर्नु नेतृत्वको कमजोरी भएको बताउँछन्। “चुनावमा गठबन्धन गर्नु नराम्रो होइन। तर, हामीले हाम्रो पार्टीको नीति, सिद्धान्त र विचारलाई ध्यान दिएर त्यहीअनुसारका दलहरूसँग गठबन्धन गरौं भनेर सल्लाह दिएको हो। त्यसको कार्यान्वयन हुन सकेन। परिणाम त हामीले देखिरहेकै छौँ”, कार्कीले भने। 

दोस्रो– उम्मेदवार छनौटमा मनोमानी 
माओवादी केन्द्र यो चुनावमा कमजोर देखिनुको कारण उम्मेदवार छनौटमा नेतृत्वको मनोमानी पनि भएको पार्टीका एक केन्द्रीय सदस्यले बताए। पार्टीमा लामो समय सक्रिय, इमान्दार छवि बनाएका र भूगोलमा सक्रिय नेताभन्दा पनि आफ्ना विश्वासपात्र र नातेदारलाई उम्मेदवार बनाइएको उनको गुनासो छ। पार्टी सुधारका लागि आवाज उठाउनेहरू हरिबोल गजुरेल, लेखनाथ न्यौपाने, राम कार्की लगायतलाई पाखा लगाइँदा अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर, ज्वाइँ जीवन आचार्यलगायतले टिकट पाए। यसले पार्टीमा असन्तुष्टि जन्माएको थियो।

ती केन्द्रीय सदस्यले भने, “यसपटकको चुनाव सबै दलका लागि चुनौतीपूर्ण छ भन्ने ज्ञान माओवादी नेतृत्वलाई नभएको होइन। तर, आफ्ना वरिपरि घुम्ने र सधैँ राम्रो भनिदिने नेतालाई मात्रै टिकट बाँडियो। परिणाम सन्तोषजनक आउँदैन भन्नेमा हामी पहिल्यै ढुक्क थियौं।” पार्टी नेतृत्वमाथि जनाधार नभएका स्थानमा जर्बजस्ती टिकट लादेको आरोपसमेत लागेको छ। ओनसरी घर्तीको उम्मेद्वारी त्यस्तै भएको उनले बताए। रोल्पाबाट सांसद चुनिँदै आएकी घर्तीलाई पार्टीको जनाधार नै नभएको काठमाडौं–२ बाट उम्मेदवार बनाइँदा उनी पराजित भइन्।

तेस्रो– नेतृत्वले क्षेत्र परिवर्तन गर्दा गलत सन्देश 
अध्यक्ष प्रचण्डले चितवन–३ छोडेर अचानक गोरखा–२ रोजेपछि संभावित हारबाट भागेको आरोप लागेको थियो। यसले कार्यकर्ता पंक्तिमा पार्टी नेतृत्व नै असुरक्षित रहेको सन्देश गएको थियो भने विपक्षीले ‘सधैँ क्षेत्र सारेर जितको खोजी गर्ने’ प्रचार गरेका थिए।

चुनावपिच्छे पार्टीको प्रभाव खुम्चिँदै गइरहेका बेला अध्यक्षको उक्त निर्णयले कार्यकर्ताको मनोबल थप कमजोर बनाएको कालिकोटका माओवादी केन्द्रका कार्यकर्ता मानबहादुर शाही बताउँछन्। कांग्रेससँँगको गठबन्धनबाट असन्तुष्ट बनेका कार्यकर्ता अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णयले थप भड्किएका थिए। 

“हाम्रा अध्यक्ष नै स्थिर छैनन्। आफूलाई मात्रै सुरक्षित बनाउने उनको उद्देश्य देखिन्छ। तर, उनका निर्णयहरूले जीवनभरी पार्टी बचाउने अभियानमा लागेका हामीजस्ता कार्यकर्तालाई अपमान गरेको छ”, शाहीले मतदानभन्दा केही दिनअघि उकालोसँग भनेका थिए। चुनावमा विचार र सिद्धान्त नमिल्ने पार्टीसँग गठबन्धन गरेकाले यसपटक आफूले माओवादीलाई भन्दा स्वतन्त्रलाई मत दिने निर्णय गरेको पनि शाहीले बताएका थिए। 

चौथो– कांग्रेसको मत तान्ने असफल प्रयास 
कांग्रेससँग चुनावी गठबन्धन गर्ने निर्णय गरेदेखि नै रुखमा जाने मत हँसिया हतौडामा खस्ने हो या हैन भन्नेमा माओवादी केन्द्रको नेतृत्व चिन्तित थियो। तर, कांग्रेसको मत ‘ट्रान्स्फर’ गर्न कुनै रणनीति बनाएन। मतदान हुनुभन्दा दुई साताअघि मात्रै ‘कांगे्रसको मत तान्न माओवादी केन्द्रको चुनावी रणनीति के छ’ भनेर प्रश्न गर्दा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भनेका थिए, “त्यस्तो केही रणनीति बनाइएको छैन। हामीलाई खासै मिहिनेत नै गर्न पर्दैन।” 

पाँचौ– आन्तरिक लोकतन्त्र कमजोर
चुनावमा माओवादी कमजोर देखिनुमा पार्टीभित्रको आन्तरिक संगठन कमजोर बन्नुलाई पनि कारण ठानिएको छ। नेताहरू नै अध्यक्ष प्रचण्डले पार्टीलाई एकलौटी कार्यशैली अपनाएको आरोप लगाउँँछन्। उनको कार्यशैलीकै कारण युद्धकालीन सहयात्रीहरू एकपछि अर्को गर्र्दै पार्टी छाड्दै गएको र पार्टीलाई थप कमजोर बनाएको राजनीतिक विश्लेषक सोमत घिमिर बताउँछन्।

नेतृत्वका कारण माओवादी संगठन एउटा गुटमा सीमित भएकाले यस्तो स्थिति आएको उनको भनाइ छ। “माओवादीले आफ्नो संगठनलाई विस्तार गराउनेभन्दा पनि खुम्चाउने काम गर्यो। माओवादी नेतृत्वले मनोमानी गर्दा उनका महत्वपूर्ण साथीहरू पाखा लागे। यसबाट भएको क्षति चुनावमा देखिएको छ”, घिमिरेले भने। मोहन वैद्य ‘किरण’को समूहदेखि रामबहादुर थापा ‘बादल’सम्मले पार्टी छाड्दा माओवादीमाथिको विश्वास कम भएको घिमिरे बताउँछन्। 

हरेक चुनावमा खुम्चिँदै
२०५२ सालदेखि गरेको सशस्त्र संघर्ष छाडेर तत्कालीन नेकपा माओवादी २०६३ सालपछि शान्तिपूर्ण राजनीतिमा आएको थियो। त्यसपछि २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले प्रत्यक्षका २४० मध्ये १२० सिट जितेको थियो। समानुपातिकतर्फ २९.२८ प्रतिशत मत ल्याएर सबैभन्दा ठूलो दल बनेको थियो। सो मतका आधारमा समानुपातिक प्रणालीबाट माओवादीका १०० सभाषद् चुनिएका थिए।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ तत्कालीन एकीकृत माओवादीले २४० क्षेत्रबाट २६ जनालाई मात्र निर्वाचित गराउन सकेको थियो। समानुपातिक मत १५.२१ प्रतिशतमा सीमित हुँदा यो प्रणालीबाट उसका ५४ सांसद् चुनिएका थिए।

२०७४ सालको आमनिर्वाचनमा माओवादी केन्द्र र एमालेले गठबन्धन गरेका थिए। त्यति बेला गठबन्धनको कारण प्रत्यक्षतर्फ १६५ मध्ये ३६ सिटमा जित हासिल गरेको थियो। समानुपातिक मत भने १५ प्रतिशतको हाराहारीमै थियो। प्रतिनिधिसभामा उसका ५३ जना सांसद् थिए।

जनजाति र भुइँमान्छेको मुद्दा बेवास्ता 
माओवादी केन्द्रको राजनीतिक आरोह–अवरोहलाई नजिकबाट नियालिरहेका विश्लेषकहरू मुद्दाको राजनीतिभन्दा पनि सत्तालाई प्राथमिकता राखेका कारण जनाधार खुम्चिँदै गएको बताउँछन्। माओवादी केन्द्रले उत्पीडित, दलित र तल्लो वर्गलाई आफ्नो जनाधार मान्दै आएको थियो।

२०६४ सालयताको राजनीतिक यात्रामा माओवादी केन्द्रले तिनै वर्ग र समुदायको साथ पाएको थियो। तर, पछिल्ला वर्षहरूमा नेतृत्व पंक्तिमाथि काठमाडौँ केन्द्रित सत्ता राजनीतिमा रमाएको र आफ्नो जनाधारप्रति बेवास्ता गरेको आरोप लाग्दै आएको छ। जसले गर्दा माओवादीको भोट बैंक मानिएका थारू, जनजाति, दलितहरू पार्टीबाट टाढिँदै गएका छन्। 

गत स्थानीय र अहिलेको आमनिर्वाचनमा पश्चिम तराईको नयाँँ राजनीतिक शक्तिका रूपमा नागरिक उन्मुक्ति पार्टीको उदय त्यसैको उदाहरण हो। २०७४ सालको चुनावमा थारू बहुल जिल्लाहरूबाट चुनाव जित्ने कैलाली–३ का गौरीशंकर चौधरी, कञ्चनपुर–१ की बिना मगर र बर्दिया–२ का सन्तकुमार थारू माओवादी केन्द्रका उम्मेदवार थिए। तर, यसपटक भने उन्मुक्ति पार्टीले ती जिल्लाको बहुसंख्यक थारू मतलाई आफूतिर तान्न सफल भएको छ। 

कैलालीका पाँच र बर्दियाका दुई गरी सात क्षेत्रमध्ये कैलाली–३ मा एमालेका गौरीशंकर चौधरी र माओवादीका कृष्णकुमार चौधरीलाई नागरिक उन्मुक्तिका गंगाराम चौधरीले हराए। कैलाली–१ मा नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ कांग्रेसका रामजनम चौधरी र एमालेका टपेन्द्रबहादुर रावलभन्दा अघि छिन्। “माओवादीले जुन अजेन्डा उठायो, तिनको सम्बोधन गर्न सकेन। उसले जनजाति, समुदायमा पछि परेका मानिसलाई जे सपना बाँडेको थियो त्यो पनि पूरा गर्न सकेन। विकास र संघीयताको सफल कार्यान्वयनको सवालमा पनि माओवादी केन्द्र चुकेको छ”, विश्लेषक घिमिरेले भने।


सम्बन्धित सामग्री