Thursday, April 25, 2024

-->

कोप २७ सम्मेलन
जलवायु संकटबारे के भने विश्वका नेताले?

जलवायु संकटबाट बढी प्रभावित मुलुकलाई सहयोग र क्षतिपूर्ति दिने विषयले सम्मेलनमा प्राथमिकता पाएको थियो।

जलवायु संकटबारे के भने विश्वका नेताले
तस्वीर: कोप २७

काठमाडौं– बेलायती प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनको संकटलाई तत्काल सम्बोधन गर्नुपर्ने मुख्य कारण युक्रेनमा जारी युद्ध भएको बताएका छन्। इजिप्टको शार्म–एल–शेखमा जारी जलवायु सम्मेलन कोप २७ मा बोल्दै बेलायती प्रधानमन्त्री सुनकले जलवायु र इन्धनको विषय समानान्तर रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।

“रूसी राष्ट्रपति पुटिनले युक्रेनमा गरेको घृणित युद्ध, इन्धनको विश्वव्यापी मूल्यवृद्धिजस्ता कारणले जलवायुको विषय सुस्त भएको होइन, बरू यिनै कारणले जलवायु संकटका विषयमा तत्काल काम गर्नुपर्ने भएको छ,” सुनकले भने, “हामीले बालबालिकालाई हरियाली पृथ्वी र समृद्ध भविष्य छाड्न सक्छौँ। यसमा पक्कै पनि आशावादी हुने ठाउँ छ।”

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जलवायुको विषयलाई न्याय दिन विश्वका नेताहरूलाई आग्रह गरे। यस्तै, जलवायु परिवर्तनका असर कम गर्ने र पृथ्वीको तापक्रम घटाउने विषयमा बोल्दै जर्मन चान्सलर ओलाफ सोल्जले नवीकरणीय ऊर्जातर्फ अग्रसर हुन अनिवार्य सुरक्षा नीति अपनाउनुपर्नेमा जोड दिएका छन्।

यस्तै, इटलीका प्रधानमन्त्री जोर्जिया मेलोनीले जलवायुका लक्ष्य पूरा गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति जो बाइडन भने सम्मेलनमा सहभागी हुन शुक्रबार इजिप्ट जाने कार्यतालिका छ। अमेरिकाको प्रतिनिधित्व गर्दै जलवायुका विशेष प्रतिनिधि जोन केरी सम्मेलनमा सहभागी छन्।

जलवायु संकटबाट बढी प्रभावित मुलुकलाई सहयोग र क्षतिपूर्ति दिने विषयले सम्मेलनमा प्राथमिकता पाएको बीबीसीले उल्लेख गरेको छ। सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस भन्छन्, “अहिले हामी जलवायु परिवर्तनको यात्रामा छौँ। अब पनि संकट समाधानमा ढिलाइ भए नर्क पुगिने छ।” 

केन्याका राष्ट्रपति विलियम रूटोले जलवायुसम्बन्धी नीति कार्यान्वयन गर्ने विषयमा थप ढिलाइ भए जीवन र जीविकालाई विपद्ले तहसनहस पार्ने बताए। अफ्रिकामा खानेपानी अभावका कारण सन् २०३० सम्ममा ७० करोड मानिस विस्थापित हुने डरलाग्दो तथ्यांकको प्रक्षेपणसमेत गरे।

मंगलबार साना तथा टापु मुलुकको प्रतिनिधित्व गर्दै एन्टिगुवा र बार्बुडाका प्रधानमन्त्री गास्तोन ब्राउन सम्मेलनमा बोल्ने छन्। यस्तै, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले समेत सम्बोधन गर्ने छन्। जलवायुको प्रत्यक्ष असर देखिएको पाकिस्तानमा केही महिनाअघि मात्रै भीषण बाढीले जनजीवन तहसनहस बनाएको थियो। बाढीका कारण १७ सयभन्दा बढीले ज्यान गुमाएका थिए।

यसैबीच, विश्व चर्चित वातावरण अभियन्ता स्विडेनकी ग्रेटा थर्नबर्ग यसपालि कोप २७ मा सहभागी भइनन्। ग्रेटाले संयुक्त राष्ट्रसंघले गरेका जलवायुसम्बन्धी कार्यक्रमलाई ढोंगको संज्ञा दिएकी थिइन्। सम्मेलनमा स्कटल्यान्डकी वातावरण अभियन्ता २४ वर्षीया मिखाइला लोचले न्याय र मानवअधिकारलाई प्राथमिकतामा राख्ने गरी विश्वका नेताहरू जलवायुको मुद्दामा अझै पनि पूर्णरूपमा प्रतिबद्ध हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन्।

ब्राजिलकी युवा अभियन्ता २० वर्षीया सीये बास्तिदासहित थुप्रै अभियन्ता शार्म–एल–शेखमा पुगेका छन्। बास्तिदाले सम्मेलनमा भइरहेको प्रगति सन्तोषजनक रहेको भनेकी छिन्। जलवायुको हानिनोक्सानीबारेको अजेन्डामा छलफल हुनु सकारात्मक भएको उनको भनाइ छ।


सम्बन्धित सामग्री