Thursday, April 25, 2024

-->

तापक्रम वृद्धिसम्बन्धी राष्ट्रसंघीय प्रतिवेदन 'डरलाग्दो'

हिमनदी र बरफ पग्लिने क्रम बढेपछि पछिल्लो ३० वर्षयता सामुद्रिक सतहको तह दोब्बर भएको भनिएको छ भने पृथ्वीको तापक्रम वृद्धिदर १ं.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य प्राप्तिमा कठिन हुने पनि भनिएको छ।

तापक्रम वृद्धिसम्बन्धी राष्ट्रसंघीय प्रतिवेदन डरलाग्दो
तस्वीर: एपी

पछिल्लो ८ वर्षयता पृथ्वीको तापक्रम लगातर बढिरहेको राष्ट्रसंघीय एक प्रतिवेदन सार्वजनिक भएको छ। १९औँ शताब्दीको अन्त्यतिरदेखि हालसम्म पृथ्वीको तापक्रम १.१ डिग्री सेल्सियस बढेको र त्यसको आधाजति तापक्रम पछिल्लो ३० वर्षमा मात्रै बढेको प्रतिवेदनले देखाएको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पृथ्वीले भयानक संकेत गरेको चेतावनी दिइरहेका बेला राष्ट्रसंघीय मौसमसम्बन्धी निकायको ‘क्रोनिकल अफ क्लाइमेट केओस’ नामक वार्षिक प्रतिवेदनले अर्को चेतावनी दिएको हो। जलवायु संकट समाधानका लागि जलवायु सम्मेलन कोप २७ चलिरहेका बेला पृथ्वीले तनावपूर्ण संकेत गरेकोसम्बन्धी राष्ट्रसंघीय प्रतिवेदन सार्वजनिक भएको हो।

राष्ट्रसंघका महासचिव गुटरेसले यस प्रतिवेदनलाई मौसमको अराजक इतिहासका रूपमा व्याख्या गरेका छन्। प्रतिवेदनमा पृथ्वीको तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियससम्म सीमित गर्ने लक्ष्य प्राप्तिको विषय कठिन देखाएको छ। उच्च तापक्रम, हिमनदी पग्लिने, मुसलधारे वर्षाजस्ता कारणले प्राकृतिक विपद् बढाएको विश्व मौसम संगठनले जनाएको छ।

करीब २०० मुलुकका प्रतिनिधि इजिप्टमा जारी कोप २७ मा भेला भएका छन्। पृथ्वीको तापमान वृद्धिदर १.५ डिग्री सेल्सियसमा कसरी सीमित गर्ने भन्नेमा छलफल केन्द्रीत हुनेछ। तर अधिकांश वैज्ञानिकले तत्काल यो लक्ष्य प्राप्ति हुनेमा शंका गरेका छन्। सन् २०२० को ला निना (प्रशान्तिय क्षेत्रमा प्राकृतिक रूपमै तालिकाबद्ध यो प्रणालीले मौसम र वायुमण्डललाई चिसो बनाउने काम गर्छ) जलवायु प्रणालीको प्रभावपछि पनि यो वर्ष अहिलेसम्मकै अत्यधिक तापक्रम मापन गरिएको छ। यो वर्ष संभवत पाँच वा छ पटकसम्म अहिलेसम्मकै उच्च तापक्रम मापन भएका छन्।

“सबै मौसमी संकेत नकारात्मक छन्। कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडजस्ता ग्यास उत्र्सजन बढाएर हामीले हरित गृह ग्यासको मात्रा बढाउनेमा रेकर्ड ब्रेक गरिरहेका छौँ” विश्व मौसम संगठनका प्रमुख पिटेरी तालसले भने,“हामीले जलवायु परिवर्तनका असर विश्वव्यापी रूपमै देखिसकेका छौँ। यी घटना हामीलाई झकझकाउने सन्देश ठानेर जलवायु सम्मेलन गरिरहेका हौँ।”

प्रतिवेदनमा सन् २०२१ मा सामुद्रिक क्षेत्रको पानीको सतहको तापक्रम पछिल्लो २० वर्षयताकै तीव्र पाइएको उल्लेख छ। सतहको पानीले कार्बन उत्सर्जनबाट हुने तापक्रमलाई ९० प्रतिशतसम्म सोस्ने काम गर्छ। तर सतहकै पानीको तापक्रम उच्च हुँदा यो प्रक्रियामा प्रभाव पर्ने देखिएको अल जजिराले जनाएको छ।

सामुद्रिक ताप लहर ‘हिटवेभ’समेत बढिरहेकाले सामुद्रिक कोरल रिफहरूका साथै खाना र जीवनयापनमा निर्भर पृथ्वीका आधा अर्ब मानिसलाई यसले प्रतिकूल प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ। सामुद्रिक सतहको ५० प्रतिशत क्षेत्रले सन् २०२२ मा मात्रै कम्तिमा एक पटक ‘मरिन हिटवेभ’को सामना गरेको प्रतिवेदनको दाबी छ।

यस्तै, हिमनदी र बरफ पग्लिने क्रम तीव्र भएकाले पछिल्लो ३० वर्षयता मात्रै सामुद्रिक सतह दोब्बरले बढेको भनिएको छ। यो विशेष गरि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने दशौँ लाख मानिसलाई चेतावीसमेत हो। 

यस वर्षको मार्च र अप्रिलमा पाकिस्तानमा आएको बाढीपछि दक्षिण एसियाको तापक्रम उच्च भएको थियो। बाढीपछि त्यहाँका आधाभन्दा बढी डुबान क्षेत्रमा बस्न बाध्य भएको, १७ सय मानिसको ज्यान गएकोे र ८० लाख मानिस विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, पूर्वी अफ्रिकामा लगातार चार वटा चिसो मौसममा औसत वर्षाको मात्रा घटिरहेको पाइएको छ। लगातार चारवर्षसम्म औसत वर्षाकम भएको त्यहाँ ४० वर्षयताकै लामो समय हो। जसले सन् २०२२ मा खडेरीको जोखिमलाई थप बढाउने भनिएको छ। यता, चीनमा पनि लामो समयसम्म र तनावपूर्ण उच्च तापक्रम मापन गरिएको र अहिलेसम्मकै सुख्खा वर्षायाम रेकर्ड गरिएको छ। यसैगरी, युरोपमा मापन भएको अत्यधिक तापक्रमले धेरैको ज्यानसमेत गएको छ।

जलवायु परिवर्तनका कारण विश्वभरिका भएका विपद्का घटनाप्रति गम्भीर नबने पृथ्वीको तापक्रम थप बढ्ने र अकल्पनीय स्थितिको सामना गर्नुपर्ने सो प्रतिवेदनको निष्कर्ष छ।

यसैबीच, इजिप्टको शार्म–एल–शेखमा जारी कोप २७ मा जलवायुका कारण गम्भीर परिणाम भोगिरहेका मुलुकहरूलाई कार्बन उत्सर्जनमा अग्रपंक्तिमा रहेका मुलुकले आर्थिक सहायता गर्ने विषय एजेन्डाकै रूपमा प्रस्तुत भएको छ। सम्मेलनमा यो विषय अजेन्डाको रूपमा प्रस्तुत हुनुले जलवायुका परिणाम भोगिरहेका पीडितहरूप्रति सहयोगका लागि सबैको ऐक्यबद्धता देखाएको कोप २७ का अध्यक्ष समेह शोक्रीले बताए। 


सम्बन्धित सामग्री