भक्तपुर– काँधमा खर्पन। खर्पनमा कुटो, कोदाली, दाँतेलगायत सामग्री।
दिनभरिको भोकप्यास मेट्ने पानी र खाजादेखि घामपानी छल्ने छाता पनि खर्पनमै बोकेर रत्न छुजु हरेक बिहान ९ बजे नगदेश बजारबाट मनोहरा बगर झर्छन्।
त्यहाँ उनले खेत कमाएका छन्। दिनभर कुटो र कोदालीले खोस्रिन्छन्। कहिले नयाँ बीउ छर्न ड्याङ बनाउँछन्, कहिले झार उखेलेर फाल्छन्। साँझ परेपछि हलक्क बढेका रायो, सलादको साग, प्याज, लसुन मुठा कस्छन्। ती मुठालाई खर्पनमा भरेर घरतिर लाग्छन्।
उनको रात भने फरक तरिकाले बित्छ।
साँझैमा सुत्छन्। राति १२ बजेपछि दिउँसो टिपेको तरकारीको खर्पन बोकेर बजार निस्कन्छन्। उनको कमाइको स्रोत यही हो।
उनले तरकारी बेच्ने बजार साँझ वा बिहान खुल्दैन। बजारमा तरकारी बेच्न मध्यरात नै पुग्नुपर्छ। “राति १२ बजेतिर मात्र बजार खुल्छ। तरकारी बेच्न र किन्न आउने धेरै मान्छे हुन्छन्”, उनी भन्छन्, “हामी त साढे १२ बजे, पौने १ बजे उठ्यो। बजार गयो बेच्यो, आयो। निन्द्रा आए सुत्यो। नआए त्यत्तिकै बस्यो।”
उनले तरकारी बेच्ने बजार नगदेशको गार्चामा छ। दिनभरि सुनसान रहने यो ठाउँमा राति ११ बजेदेखि चहलपहल शुरू हुन्छ। सडकका दुवै किनारमा सिजन अनुसारका तरकारी बेच्ने किसानहरूको लाइन लाग्छ। राति ११ बजेपछि शुरू हुने यो तरकारी बजार बिहान २÷३ बजेसम्म मात्रै चल्छ।
प्रायः राति रत्न तरकारी बेच्न जान्छन्। उमेरले ६ दशक पार गरिसक्दा पनि दैनिक १६÷१७ घण्टा काम गर्छन्। परिवारमा श्रीमती र छोरा छन्। श्रीमतीले खेत र घरको काममा सघाउँछिन्, छोरा अशक्त छन्।
लकडाउनका कारण मध्यरातमा बजार
बुवाले उनलाई खेतीको काम सिकाइदिए। खर्पन बोक्न सिकाए। रत्नले पनि अहिलेसम्म थाप्लोमा नाम्लो जानेनन्। जे जति भारी छन्, सबै खर्पनमै बोकेर ओसारेका छन्। खर्पन नै सजिलो लाग्छ।
पहिले उनको आफ्नै खेत थियो। उत्पादन भएको तरकारी खर्पनमै बोकेर काठमाडौँका असन, इन्द्रचोक, बौद्ध, स्वयम्भू, ललितपुरको लगनखेल, सातदोबाटोका बजारमा बेच्न जान्थे।
“पहिले पहिले त आफ्नो साग आफैँ बेच्न जान्थेँ। हिँडेरै जाने, हिँडेरै आउने”, उनी भन्छन्, “अहिले पो परदेशी आयो, गाडी आयो, तिनीहरूले किनेर लिएर जान्छन्।”
उनले देख्दादेख्दै समयले फड्को मार्दै गयो। दिउसो हुने तरकारी बजार राति लाग्न थाल्यो। रात्रिकालीन बजार झन्डै ४० वर्षअघि थिमिको बाखाबजारमा शुरू भएको उनी बताउँछन्। बिहानको ३ बजेदेखि ५/६ बजेसम्म बजार चल्थ्यो। बजार नजिक सरेपछि नगदेशबासीका लागि पनि तरकारी बेच्न सजिलो भयो। नगदेश, बोडेतिरका किसान पनि बाखाबजार जान थालेपछि ठाउँ साँघुरो भयो। त्यसपछि त्यहाँको तरकारी बजार गार्चामा सरेको उनको भनाइ छ। अहिले गार्चादेखि छस्वासम्मै बजार लाग्छ।
समयअनुसार थिमिका किसानहरूले तरकारी बेच्ने शैलीमा पनि परिवर्तन ल्याएको स्थानीय बाबुकाजी श्रेष्ठ बताउँछन्। खर्पनमा बोकेर तरकारी लैजानेहरू साइकल प्रयोग गर्न थाले। अनि, मोटरसाइकल हुँदै गाडीमा समेत तरकारी निर्यात गर्न थालेको उनी बताउँछन्।
श्रेष्ठका अनुसार रात्रिकालीन तरकारी बजारको समय पनि बिस्तारै परिवर्तन हुँदै गयो। “तरकारी भनेको त बिहानै चाहिने हो। त्यही भएर पहिले बिहान ३ बजेतिर बजार लाग्थ्यो। त्यहीअनुसार व्यापारीले किनेर ५ बजेभित्र काठमाडौँ पुर्याउँथे”, उनी भन्छन्, “लकडाउनको समयमा गाडीहरूलाई काठमाडौँ पठाउँदैन भनेर चाँडै बजार चल्न थाल्यो। त्यही बेलादेखि राति ११/१२ बजेदेखि नै बजार शुरू हुन थाल्यो।”
प्लटिङका कारण पेशा परिवर्तन गर्नुपर्ने बाध्यता
रत्न किशोर हुँदासम्म परिवार सानै थियो। भाइ र बुवासँग गएर खेती गर्थे। परिवार ठूलो हुँदै गएपछि आफ्नो खेतीले मात्रै नपुगेपछि अरूको जग्गा पनि कमाउन थाले। जताततै चलेको प्लटिङ गर्ने लहरले रत्नको जग्गा पनि छोडेन। उनको नाममा भएको जग्गामा केही वर्ष अघि प्लटिङ भयो। प्लटिङ गर्दा धेरै जग्गा बाटोले खायो। बाँकी बचेको पनि नजिकै बनेको घरले घाम छेकिदिँदा तरकारी उब्जनी हुँदैन। अनि उनले अरूकै जग्गा लिएर कमाउन थाले।
अहिले त्यही जग्गा पनि प्लटिङ हुन लागेको छ। “उबेला त प्लानिङ थिएन। बाटो पनि थिएन। घर एक दुइटा थिए। अहिले जाहीँतहीँ बाटो र घरबाहेक केही छैन”, उनी भन्छन्, “सबै बाटो र घरले खायो जग्गाजमिन। अब यहाँ पनि प्लानिङ गर्ने भन्ने सुनेको। खत्तम भयो, जग्गा छैन अब।”
बीउ बिजन बिक्रेतासमेत रहेका नगदेशका स्थानीय पूर्ण छुजुका अनुसार भक्तपुरको मनोहरा खोला क्षेत्र तरकारीको ‘बेल्ट’ हो। अहिले पनि नगदेशका ७० प्रतिशत किसान कृषि पेशामा छन्। तर अहिले तरकारी उब्जनी हुने ठाउँ कंक्रिट घरले छोपिँदै गएका छन्। “दिव्यश्वरी प्लानिङका कारण जग्गा घडेरी बन्यो, अझै विस्तार गर्न डोजर चलाइरहेको छ। कृषिको लागि स्वर्गभूमिजस्तो ठाउँलाई पनि राज्यले संरक्षण गर्ने नीति ल्याएन”, उनी भन्छन्, “अब हुँदाहुँदा वडा नं ७ स्थित धपर्काेमा रहेको कृषि क्षेत्रलाई बिस्तारै आधुनिकीकरणतर्फ लगेर खेतीयोग्य जमिन मास्ने योजना बनाएको सुनेको छु।” त्यहाँ प्लटिङ भयो भने पुर्खौंदेखि किसानी पेशा गरिरहेकाहरू समस्या पर्ने उनको भनाइ छ।
ठाउँ एक: योजना अनेक
मनोहरा खोलापारि मुलपानीमा बाक्लो बस्ती बसिसकेको छ। वारिको बस्ती मध्यपुर थिमि नगरपालिका वडा नं ७ को धपर्काेमा अहिलेसम्म पनि तरकारी खेती भइरहेको छ। कतिपय किसानले उक्त जग्गा कृषि क्षेत्र नै राखिरहनुपर्ने माग गरेका छन् भने कतिपयले घडेरी विकासको लागि अनुमति मागेको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए।
उनका अनुसार पछिल्लो समय सरकारका तीन फरक तह वा निकायबाट घडेरी निर्माणका योजना बनेका छन्। शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरणले यो क्षेत्रमा स्याटलाइट सिटी बनाउन परियोजना प्रतिवेदन तयार गरेको छ। २५ वैशाख २०७४ मा मन्त्रिपरिषद्ले परियोजनाको काम अगाडि बढाउन स्वीकृति दिएको थियो।
“प्राधिकरणले स्याटलाइट सिटी बनाउने भनेर मनोहराको छेउदेखि लगभग साँखुसम्मै बस्ती विकास गर्ने निर्णय गरिसकेको छ। मध्यपुर थिमि नगरपालिकाको अघिल्लो कार्यपालिकाले पनि यो ठाउँमा बस्ती विकास गर्ने भनेर प्लानिङ गर्न २०७८ सालमा सूचना निकालेको थियो”, उपप्रमुख श्रेष्ठ भन्छन्, “अहिले भू–उपयोग नीतिले त्यो क्षेत्रलाई कृषि क्षेत्र घोषणा गर भनेर नक्सा नै दिएको छ। त्यो ठाउँबारे दोहोरो, तेहेरो कुरा आयो। त्यही भएर नगरपालिका कार्यसमितिलाई निर्णय गर्न गाह्रो भइरहेको छ।” अब मनोहरा क्षेत्रलाई कृषि बेल्ट बनाइराख्न गाह्रो हुने उनी बताउँछन्।
रात्रिकालीन तरकारी बजारको भविष्य अन्योल
बढ्दो शहरीकरणका कारण मध्यपुरथिमि नगरपालिकाको खेतीयोग्य जमिन घट्ने क्रममा छ। कृषियोग्य भूमिको अभावमा स्थानीयले पनि कृषि पेशा छोड्ने क्रम बढ्दो छ।
स्थानीय ५५ वर्षीय बाबुकाजी श्रेष्ठ पछिल्लो समय तरकारीको उत्पादन घटेको बताउँछन्। उनका अनुसार पहिले राति लाग्ने तरकारी बजारमा नगदेशको तरकारी नै पर्याप्त हुन्थ्यो। अहिले नगदेशको ठूलो क्षेत्र बस्तीमा परिणत भएपछि तरकारीको उत्पादन कम हुँदै गएको छ। तरकारी उत्पादन घटेसँगै रात्रिकालीन तरकारी बजारको भविष्य पनि अनिश्चित बन्दै गएकोमा उनी चिन्तित छन्।
“अहिले नै त्यो जग्गा जमिनलाई कृषिक्षेत्र घोषणा गरेन भने रात्रिकालीन बजार पनि सकिन्छ,” श्रेष्ठ भन्छन्, “त्यसो हुँदा नगदेशको नामी तरकारी बजार र तरकारी इतिहासको पानामा मात्रै रहन्छ।”