Friday, March 29, 2024

-->

२०१५ सालको चुनाव : दुईतिहाइ सिट जितेको कांग्रेसबाट हार बेहोर्नेहरूको कथा

कांग्रेसबाट चुनाव हार्नेमा महामन्त्री सूर्यप्रसाद उपाध्याय, प्रचार विभाग प्रमुख कृष्णप्रसाद भट्टराई, पूर्वमहामन्त्री महेन्द्रविक्रम शाहलगायत थिए। कतिपय उम्मेदवारलाई बागी उम्मेदवारले पराजित गरेका थिए।

२०१५ सालको चुनाव  दुईतिहाइ सिट जितेको कांग्रेसबाट हार बेहोर्नेहरूको कथा
२०१५ सालको निर्वाचनमा असनको त्योडमा मतदान हुँदै। तस्वीर: तस्वीरमा नेपाल

काठमाडौँ– २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सभापति बीपी कोइरालाबाहेक अन्य सबै दलका प्रमुख पराजित भएका थिए। यद्यपि, दुईतिहाइ बहुमत ल्याएको कांग्रेसकै केही उच्च तहका नेताले चुनाव हारेका थिए। महामन्त्री सूर्यप्रसाद उपाध्याय, प्रचार विभाग प्रमुख कृष्णप्रसाद भट्टराई, पूर्वमहामन्त्री महेन्द्रविक्रम शाहलगायत नेता चुनाव हार्नेको सूचीमा थिए।

प्रतिनिधिसभाका लागि सम्पूर्ण देशलाई निर्वाचन क्षेत्र नं. १ देखि १०९ सम्म बाँडिएको थियो। नेपाली कांग्रेसले एउटा मात्र क्षेत्र छाडेर १०८ सिटमा उम्मेदवारी दिएको थियो। दुई ठाउँबाट उम्मेदवारी दिएका बीपी कोइरालाले अन्तिम समयमा क्षेत्र नं. १३ रामेछापबाट मनोनयन फिर्ता लिँदा उक्त क्षेत्रमा कांग्रेस उम्मेदवारविहीन भएको थियो।

बीपीले उम्मेदवारी दिएको क्षेत्र नं. ३२ र क्षेत्र नं. १३ को मनोनयन पत्रमा उनीबारे फरक विवरण परेको थियो। मोरङको मनोनयनमा ठेगाना ‘कोइराला निवास, विराटनगर’ लेखिएको थियो भने क्षेत्र नं. १३ मा ‘नागपोखरी नक्साल, काठमाडौँ’ लेखिएको थियो। अन्य विवरण पनि फरक पर्दा दुवै क्षेत्रको उम्मेदवारी रद्द हुनसक्ने अवस्था थियो। त्यहीकारण काठमाडौँबाट पार्टीका दुई कार्यकर्ता मनहरि बराल र होमबहादुरलाई बीपीको वारेससहित रातारात रामेछाप पठाएर उम्मेदवारी फिर्ता लिइएको थियो। (नेपाली कांग्रेसको इतिहासको प्रारूप भाग–२, पुरुषोत्तम बस्नेत)

बीपीले छाडेपछि कांग्रेसको उम्मेदवार नभएको क्षेत्रमा गोरखा परिषद्का उम्मेदवार विष्णुप्रसाद उप्रेती भारी मतले विजयी भएका थिए।

निर्वाचन परिणाम आउँदा कांग्रेसले दुईतिहाइ अर्थात् ७४ सिटमा विजय हासिल गर्न सफल भयो। सुवर्णशमशेरले गुल्मीको एउटा र बाराका दुई क्षेत्र गरी तीन क्षेत्रमा जित हात पारेका थिए। बीपी कोइराला क्षेत्र नं. ३२, मोरङबाट निर्वाचित भएका थिए। दुईमध्येका एक महामन्त्री गणेशमान सिंहले क्षेत्र नं. १, काठमाडौँबाट जित हात पारेका थिए।

कांग्रेसको पक्षमा जनलहर देखिएको यो निर्वाचनमा उसका उम्मेदवार ३४ ठाउँमा भने पराजित भएका थिए। १२ जनाको जमानत जफत भएको थियो। काठमाडौँ आसपासका क्षेत्रमा राष्ट्रवादी गोरखा परिषद्ले प्रभाव देखाउँदा कांग्रेसका उम्मेदवार पराजित भए। गोरखा परिषद् राणा, दरबारिया र पूर्वसैनिकहरूको दल थियो। यो दलले दोलखा, रामेछाप, धादिङ र नुवाकोटका धेरै क्षेत्रमा प्रभावशाली जित हासिल गरेको थियो।

कांग्रेस पराजित भएका ३४ स्थानमा गोरखा परिषद्, संयुक्त प्रजातन्त्र पार्टी, नेकपा, नेपाल प्रजा परिषद् (टंकप्रसाद आचार्य), नेपाल प्रजा परिषद् (भद्रकाली मिश्र) र स्वतन्त्र उम्मेदवारले जित हात पारेका थिए। गोरखा परिषद्ले १९, संयुक्त प्रजातन्त्र पार्टीले पाँच, नेकपाले चार, आचार्यको प्रजा परिषद्ले दुई र मिश्र नेतृत्वको प्रजा परिषद्ले एक स्थान जित्दा चार ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।

कांग्रेसबाट पराजित हुने दुई चर्चित हस्तीमा सूर्यप्रसाद उपाध्याय र कृष्णप्रसाद भट्टराई थिए।

सूर्यप्रसाद उपाध्याय त्यतिबेला कांग्रेसका शीर्ष चार नेतामध्ये एक थिए। उनी कांग्रेसका दुईमध्ये एक महामन्त्री पनि थिए। राणाविरुद्धको क्रान्तिदेखि नै कांग्रेसको शीर्ष चार जनामा बीपी, गणेशमान र सुवर्णशमशेरले चुनाव जित्दा सूर्यप्रसाद मात्र पराजित भए। उनी दुई ठाउँ– क्षेत्र नं. ५, काठमाडौँ र क्षेत्र नं. १४, रामेछापबाट उम्मेदवार भएर दुवै क्षेत्रमा पराजित भएका थिए।

क्षेत्र नं. ५, काठमाडौँबाट कांग्रेस महामन्त्री उपाध्याय मात्र नभई अन्य दुई पार्टीका अध्यक्ष पनि पराजित भए। यहाँबाट नेपाल प्रजा परिषद्का अध्यक्ष टंकप्रसाद आचार्य र प्रजातान्त्रिक महासभाका रंगनाथ शर्मा पराजित भएका थिए। सो क्षेत्रमा उम्मेदवार भएका नेकपाका अरविन्द रिमालले भने प्रजा परिषद्का आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। तर, यो पार्टीको नभई उनको व्यक्तिगत निर्णय थियो। (डिल्लीबजारको लप्टनको होटेल, अरविन्द रिमाल)

उक्त क्षेत्रमा गोरखा परिषद्बाट ब्रह्मशमशेर उम्मेदवार थिए। तर, पछि उनले उम्मेदवारी फिर्ता लिए। उम्मेदवारी फिर्ता लिएपछि ब्रह्मशमशेर कांग्रेस प्रवेश गरेका थिए र उनलाई महासभा सदस्य बनाइएको थियो। त्यति हुँदा पनि सूर्यप्रसादले चुनाव जित्न सकेनन्। कांग्रेस महामन्त्री र दुई पार्टीका अध्यक्षलाई पराजित गर्दै संयुक्त प्रजातन्त्र पार्टीका लोचनशमशेर थापा ८ हजार ७५५ मतसहित विजयी भए। सूर्यप्रसादले ५ हजार ७१७, महासभा अध्यक्ष शर्माले ३ हजार २६४ र प्रजा परिषद् अध्यक्ष आचार्यले १ हजार १६८ मत पाए।

उता क्षेत्र नं. १४, रामेछापमा भने सूर्यप्रसाद गोरखा परिषद्का उम्मेदवार बेनीबहादुर कार्कीसँग पराजित भएका थिए। बेनीबहादुर कार्कीका बाबुलाई २००७ सालको क्रान्तिको बेला कांग्रेसका मुक्तिसेनाले हत्या गरेका थिए। उनका बाबु सेनाका क्याप्टेन थिए र मुक्तिसेनाको विद्रोह दबाउन मोहनशमशेरले उनकै नेतृत्वमा वीरगन्जमा सेना पठाएका थिए। तर, मुक्ति सेनाको गोली लागेर उनको मृत्यु भएको थियो। त्यसको प्रतिशोधका लागि बेनीबहादुर खुकुरी दलमा संलग्न भएका थिए। त्यहीँदेखि भरतशमशेरलाई साथ दिएका उनी गोरखा परिषद् स्थापना हुँदा पार्टीका उच्च तहका नेता बन्न पुगे।

२०१५ सालको निर्वाचनमा बेनीबहादुरले ३ हजार २१९ मत पाउँदा कांग्रेस महामन्त्री सूर्यप्रसादले २ हजार ८५० मत मात्र पाए। रामेछापकै क्षेत्र नं. १३ मा बीपी कोइरालाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर गोरखा परिषद्लाई ‘वाक ओभर’ दिँदा त्यसको असर क्षेत्र नं. १४ मा पनि परेको थियो। पछि २०१८ सालमा भरतशमशेरले गोरखा परिषद्लाई कांग्रेसमै विलय गराए। त्यसपछि बेनीबहादुर पनि कांग्रेसमा सक्रिय भए। उनै बेनीबहादुरलाई २०४८ सालमा कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष बनाएको थियो।

दुई ठाउँमा हारेका सूर्यप्रसादलाई निर्वाचनपछि बनेको कांग्रेस सरकारमा बीपीले गृहमन्त्री बनाएका थिए।

अर्का नेता कृष्णप्रसाद भट्टराई क्षेत्र नं. १०४, गोरखा उत्तरबाट उम्मेदवार बनेका थिए। उनी पनि गोरखा परिषद्का विश्वनाथ सुवेदीसँग पराजित भए। सुवेदीले ३ हजार १३३ मत पाउँदा भट्टराईले २ हजार ८०८ मत मात्र पाएका थिए। उनको हारको प्रमुख कारण रक्सी सेवन रहेको जगत् नेपालले आफ्नो पुस्तक पहिलो संसद्मा उल्लेख गरेका छन्। दुई तीन जना भरियाले उनका लागि तुम्लेटमा रक्सी बोकेरै हिँड्थे। जातपात नमान्ने हुँदा बाहुनको छोरो भए पनि पिँढीतिर सबैसँग बसेर धोती नफेरी खाना खाइदिन्थे। त्यसकारण कांग्रेसका बाहुन–क्षेत्री रिसाएर भोट हाल्नै गएनन्। (पहिलो संसद्, जगत् नेपाल)

बीपी कोइरालाका अनुसार भट्टराईका लागि गोरखा नयाँ ठाउँ पनि थियो र त्यहाँका कार्यकर्तालाई उनी चिन्दैन थिए। मतदान गर्ने दिन आँधीहुरी आयो। मत हाल्न धेरै मान्छे नआउँदा भट्टराई थोरै मतले पराजित भए। (विश्वेश्वर कोइराला राजनीतिक अभिलेख, सं. प्रदीप गिरि)

भट्टराईलाई हराउने गोरखा परिषद्का विश्वनाथ सुवेदी ज्यादै रोगी थिए। उनी आफूलाई डोकोमा बोक्न लगाएर मात्र चुनावी अभियानमा हिँड्न सक्थे। उनको प्रचारका लागि गोरखा परिषद्का नेता भरतशमशेर, शुभशमशेर थापालगायत घोडा चढेर गोर्खा पुगेका थिए। साथमा औषधिलगायत सामग्री बोकेर हिँडेका उनीहरू जनतालाई प्रभावित पार्न सानातिना उपचार पनि गर्दै हिँड्थे। त्यस टोलीलाई गोरखा परिषद्को प्रचार गर्न नदिन कांग्रेस नेता राजेश्वर देवकोटा नेतृत्वको समूहले आक्रमण प्रयाससमेत गरेको थियो। उक्त द्वन्द्वमा राजेश्वर देवकोटा स्वयम् पनि घाइते भएका थिए। (नेपालको प्रजातान्त्रिक आन्दोलन र विद्रोही भरतशमशेर, डा. राजेश गौतम)

हारपछि पनि कांग्रेसले भट्टराईलाई पहिलो संसद्को सभामुख मनोनयन गरेको थियो। त्यतिबेला सांसद नरहेको व्यक्तिलाई पनि सभामुख बनाउन पाइने व्यवस्था थियो।

गोरखाकै अर्को क्षेत्रमा पनि कांग्रेस उम्मेदवार पराजित भएका थिए। क्षेत्र नं. १०५, गोरखा दक्षिणमा गोरखा परिषद्कै कोमलबहादुर कुँवर ३ हजार २३२ मतसहित विजयी हुँदा कांग्रेसका लालध्वज गुरुङले १ हजार ६२९ मत मात्र पाएका थिए।

२०१८ सालमा सशस्त्र संघर्ष थालेपछि मुक्तिसेनामा लागेका लालध्वज कांग्रेसका प्रतिबद्ध कार्यकर्ता थिए। सशस्त्र संघर्षका क्रममा चितवन कब्जा गरेको उनको टोलीलाई पछि शाही सेनाले लखेटेपछि भागेर तनहुँ पुगेका थिए। तर, त्यहाँ स्थानीयले नै सुराकी दिएपछि प्रहरीले पक्रेर पोखरा पुर्‍यायो। उनलाई ६ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना गरिएको थियो। तर, प्रहरीबाट लालध्वजलाई सेनाले कब्जामा लिई काठमाडौँ लैजाने बहानामा बाटोमै हत्या गरेको थियो।

निर्वाचन क्षेत्र नं. १०७, धादिङमा पराजित कांग्रेस उम्मेदवार जगतप्रकाश जंग शाह पनि सशस्त्र संघर्षका बेला चितवन काण्डमा मारिएका थिए।

जगतप्रकाशले प्रतिस्पर्धा गरेको उक्त क्षेत्रमा गोरखा परिषद्का प्रमुख नेता भरतशमशेर जबरा प्रतिस्पर्धी थिए। कांग्रेसका जगतप्रकाश चाहिँ रसुवा–नुवाकोट–धादिङ क्षेत्रका कांग्रेस सभापति थिए। उनी बालकृष्ण समका ज्वाइँ पनि हुन्। सो क्षेत्रबाट भरतशमशेर ८ हजार ८८० मत पाएर विजयी हुँदा कांग्रेसका जगतप्रकाश ३ हजार ६०४ मतसहित दोस्रो भएका थिए। स्वतन्त्र उम्मेदवार रहेका रानी रत्नाका मामा योगविक्रम शाहको भने जमानत जफत भएको थियो। उनले ७७६ मत पाएका थिए। धादिङ दक्षिणको क्षेत्र नं. १०६ मा पनि गोरखा परिषद्ले नै जित निकालेको थियो। यहाँ ललितबहादुर घलेले ६ हजार ५० मत पाउँदा कांग्रेसका भरतप्रसाद उप्रेतीले २ हजार ५१८ मत पाएका थिए। उप्रेती काठमाडौँ ओमबहालका बासिन्दा थिए।

क्षेत्र नं. १२, दोलखा–मध्यबाट गोरखा परिषद्का अध्यक्ष मृगेन्द्रशमशेर जबरासँग कांग्रेसका कृष्णगोपाल उप्रेती प्रतिस्पर्धामा थिए। उप्रेती पनि भारी मतान्तरमा पराजित भए। मृगेन्द्रशमशेरले ६ हजार १४५ मत पाउँदा उप्रेतीले १ हजार १३९ मत मात्र पाए। उप्रेती चुनावकै मुखमा गोरखा परिषद्बाट कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेका थिए। उनका भाइ विष्णुप्रसाद उप्रेती क्षेत्र नं. १३, रामेछापबाट गोरखा परिषद्कै उम्मेदवार थिए। त्यसैले कृष्णगोपालप्रति कांग्रेस कार्यकर्ताको विश्वास नहुँदा प्रचार पनि ज्यादै कम मात्र भएको थियो। उता क्षेत्र नं. १३ मा पनि अन्तिम समयमा बीपीले उम्मेदवारी फिर्ता लिँदा भाइ विष्णुप्रसाद उप्रेतीलाई सहज जित मिलेको थियो।

तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरण भएर २००६ सालमा नेपाली कांग्रेस बन्दा महामन्त्री भएका महेन्द्रविक्रम शाह पनि पराजित हुने अर्का ठूला नेता हुन्। महेन्द्रविक्रम क्षेत्र नं. ७४, जुम्ला दक्षिणबाट पराजित भएका थिए। उनी जुम्लाका रजौटाका सन्तान हुन्।

उनी उम्मेदवार भएको क्षेत्रबाट स्वतन्त्र उम्मेदवार जयबहादुर महतक्षेत्री ३ हजार १ मतसहित विजयी हुँदा महेन्द्रविक्रम पाँच जना उम्मेदवारमध्ये पाँचौँ भए। उनले १ हजार ९०३ मत मात्र पाएका थिए। उनी बिरामी भएका कारण उम्मेदवार भए पनि चुनाव प्रचारमा जान सकेका थिएनन्। (नेपाली कांग्रेसको इतिहासको प्रारूप, पुरुषोत्तम बस्नेत)

सुवर्ण र महावीरशमशेरले २००४ सालमा गठन गरेको नेपाल प्रजातन्त्र कांग्रेसमा महेन्द्रविक्रम सभापति र सूर्यप्रसाद उपाध्याय महामन्त्री थिए। एकता हुनुअघिको प्रजातन्त्र कांग्रेसका दुवै शीर्ष नेताले २०१५ सालको चुनाव हारेका थिए। प्रजातन्त्र कांग्रेस र बीपी कोइरालाले २००३ सालमा नै स्थापना गरेको राष्ट्रिय कांग्रेसबीच २००६ सालमा पार्टी एकता भएर नेपाली कांग्रेस गठन भएको थियो। त्यसको पहिलो सभापति मातृकाप्रसाद कोइराला र महामन्त्री महेन्द्रविक्रम शाह थिए।

२०१५ सालको चुनावमा तत्कालीन जुम्ला जिल्लामा स्वतन्त्र उम्मेदवारहरूको राम्रो प्रभाव रहेको देखिन्छ। जुम्लाका दुवै क्षेत्रमा स्वतन्त्रहरू विजयी भएका थिए। ती क्षेत्रमा स्वतन्त्रबाहेक कांग्रेस र गोरखा परिषद्ले मात्र उम्मेदवारी दिएका थिए। क्षेत्र नं. ७३, जुम्ला उत्तरमा स्वतन्त्र उम्मेदवार भीमप्रसाद श्रेष्ठ २ हजार ८६४ मत पाएर विजयी हुँदा अर्का स्वतन्त्र नीरविक्रम शाहले १ हजार ९६७ मत पाएका थिए। यहाँ आठ जना उम्मेदवार थिए। तेस्रो भएका कांग्रेसका राजबहादुर शाहले १ हजार ७३१ मत पाएका थिए। 

कांग्रेसले राजबहादुरलाई उम्मेदवार बनाएपछि त्यहाँका कार्यकर्ताले विरोध गरेका थिए। विजयी हुने स्वतन्त्र सांसद भीमबहादुर श्रेष्ठ कांग्रेसकै बागी उम्मेदवार थिए। उनलाई स्थानीय कार्यकर्ताले उम्मेदवार बनाएर जिताएका थिए। श्रेष्ठले आफू कांग्रेसकै नीति, सिद्धान्त र कार्यक्रम मान्ने र विजयी भए कांग्रेसलाई नै समर्थन गर्ने प्रचार गरेका थिए। विजयी भएर काठमाडौँ आएपछि वक्तव्य दिएर कांग्रेसमा सम्मिलित भएको घोषणा गरेका थिए।

क्षेत्र नं. ४६, असिभौ कोद्राहा (महोत्तरी) मा पनि कांग्रेसका बागी उम्मेदवारले चुनाव जितेका थिए। त्यहाँ पार्टीले भोजराज उपाध्याय घिमिरेलाई उम्मेदवार बनाएको थियो। तर, स्थानीय कार्यकर्ताले उनका विरुद्धमा रामदुलारे रायलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए। उनले पनि आफू कांग्रेसकै नीति, सिद्धान्त मान्ने भन्दै प्रचार गरेका थिए। त्यहाँ कांग्रेसका आधिकारिक र बागी उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो। स्वतन्त्र उम्मेदवार रायले ५ हजार ४५० मत पाउँदा कांग्रेसका भोजराज घिमिरे उपाध्यायले ३ हजार ९९३ मत पाए। विजयी भएर काठमाडौँ आएपछि रामदुलारेले पनि आफू कांग्रेसमै सम्मिलित भएको वक्तव्य दिएका थिए।

चुनाव हार्ने अर्का ठूला नेतामा केन्द्रीय सदस्य रामेश्वरप्रसाद सिंह थिए। क्षेत्र नं. ३७, सप्तरीबाट उम्मेदवार बनेका रामेश्वरप्रसादको प्रतिस्पर्धामा नेकपाका केन्द्रीय नेता कृष्णराज वर्मा थिए। तर, यी दुवैलाई पराजित गरेका स्वतन्त्र उम्मेदवार हरिहरलाल चौधरीले ६ हजार १३२ मत पाएका थिए। नेकपाका वर्माले ६ हजार २५ र कांग्रेसका सिंहले ४ हजार ९७० मत पाए। 

क्षेत्र नं. ३७ बाट उम्मेदवार भएका रामेश्वरप्रसाद सिंहको निवास रहेको स्थान भने क्षेत्र नं. ३६, सप्तरीमा पर्थ्यो। त्यहाँका कांग्रेस कार्यकर्ताले उनी वा गजेन्द्रनारायण सिंहलाई उम्मेदवार बनाउन माग गरेका थिए। तर, डा. तुलसी गिरीको जोडबलमा त्यहाँ नागेश्वरप्रसाद सिंहलाई उम्मेदवार बनाएर रामेश्वरलाई अर्को क्षेत्रमा सारिएको थियो। स्थानीय कार्यकर्ताले नागेश्वरप्रसादको प्रचार गर्न नमानेपछि रामेश्वरप्रसाद स्वयम् आफू उम्मेदवार रहेको क्षेत्र छाडेर निवास रहेको क्षेत्रमा प्रचारमा खटिएका थिए। त्यही कारण रामेश्वरप्रसादले हार बेहोर्नु परेको पुरुषोत्तम बस्नेतले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।

चार क्षेत्र रहेको तत्कालीन सप्तरीको अर्को क्षेत्र नं. ३५ मा पनि कांग्रेस पराजित भएको थियो। कांग्रेस उम्मेदवार बिरबल विराजी गोरखा परिषद्का दुर्गानन्द प्रसादसँग पराजित भएका थिए। यहाँ चार पक्षीय प्रतिस्पर्धा थियो। दुर्गानन्दले ४ हजार ७९६ मत पाउँदा बिरबलले ४ हजार ५३४ मत पाएका थिए। त्यस्तै नेकपाका गुगाई यादवले ३ हजार ४९९ र स्वतन्त्र उम्मेदवार कृष्णदेव झाले ३ हजार २३५ मत पाएका थिए। यहाँ पनि कार्यकर्ताको असन्तुष्टिकै कारण कांग्रेस उम्मेदवारले हार बेहोरेको बस्नेतले लेखेका छन्।

नेकपाले जितेका चार क्षेत्रमध्ये तीन वटामा कांग्रेस उम्मेदवार निकटतम प्रतिद्वन्द्वी थिए। तराईमा २००९ सालपछि भएका किसान आन्दोलनका क्रममा दुई करोड रुपैयाँ बराबरका २० लाख तमसुक सार्वजनिक रूपमा जलाइएको थियो। त्यसको नेतृत्व तुलसीलाल अमात्य, विष्णुबहादुर मानन्धरलगायत नेताले गरेका थिए। त्यही प्रभावका कारण रौतहटका दुई क्षेत्रमा कम्युनिस्ट उम्मेदवार विजयी भएका थिए। ती उम्मेदवार पनि सीमान्तकृत समुदायका किसान नै थिए। (विष्णुबहादुर मानन्धर, फर्केर हेर्दा, सं. विष्णु रिजाल)

क्षेत्र नं. ५०, रौतहटमा नेकपाका हरदयाल महतो ५ हजार २५० मत पाएर विजयी भएका थिए। नेपाली कांग्रेसका द्रोणशमशेरले जबरा ४ हजार ८५९ मत पाएका थिए। उनी त्यहाँका जमिनदार थिए। किसान आन्दोलनको प्रभावकै कारण उनको हार भएको थियो। 

क्षेत्र नं. ४९, रौतहटमा नेकपाका शेख फर्मान विजयी हुँदा कांग्रेसका प्रतापनारायण झा तेस्रो भए। शेख फर्मानले ४ हजार ९८४ मत पाए भने प्रमुख प्रतिद्वन्द्वी गोरखा परिषद्का जगदीश सिंहले ४ हजार ९१२ मत पाएका थिए। कांग्रेसका झाले ४ हजार ५११ मत पाए।

काठमाडौँ उपत्यकामा कम्युनिस्टहरूको प्रभाव राम्रो भए पनि तुलसीलाल अमात्यबाहेक अन्यले चुनाव जित्न सकेनन्। क्षेत्र नं. ३, पाटनबाट विजयी भएका तुलसीलालले ७ हजार ९५९ मत पाउँदा कांग्रेसका आशाराम शाक्यले ७ हजार ७१६ मत पाएका थिए। 

पाल्पा क्षेत्र नं. ९३ मा नेकपाका तत्कालीन महासचिव डा. केशरजंग रायमाझी कांग्रेसका अच्युतराज रेग्मीसँग पराजित भएका थिए। पाल्पामै पर्ने क्षेत्र नं. ९४ मा भने नेकपाका कमलराज रेग्मी ६ हजार ५६३ मत पाएर विजयी भए। कांग्रेसका शिवप्रसाद शर्मा खजान्चीले ५ हजार ९२३ मत पाएका थिए। त्यस क्षेत्रमा मगरको बाहुल्य थियो। अन्य पार्टीका उम्मेदवार घोडामा हिँड्थे। सुकिला मानिस घोडामा पुग्दा कतिपय मगर जातिका मानिस ‘सिपाही आयो, पैसा माग्छ’ भनेर ढोका थुनेर लुक्थे। पैदल हिँड्ने कमलराजसँग अरू दुई जना पनि सँगै हुन्थे। एक जना प्रकाश चित्रकार हँसिया हथौडाको चित्र बनाएर ‘कमलराज रेग्मीलाई मतदान गरौँ’ भन्ने नारा लेख्थे। अर्का गायक पूर्ण नेपाली कमलराजको पक्षमा गीत गाउँदै हिँड्थे। (पहिलो संसद्, जगत नेपाल)

२००७ सालको क्रान्तिमा सक्रियपूर्वक भाग लिएका कांग्रेस नेता त्रिपुवरसिंह प्रधान (२०१७ को सातौँ महाधिवेशनबाट महामन्त्री) पनि क्षेत्र नं. २, काठमाडौँबाट पराजित भएका थिए। त्यसअघि उनले २००४ सालमा भएको काठमाडौँ नगरपालिकाको निर्वाचनमा भाग लिएर सदस्य निर्वाचित भएका थिए। उनी खिचापोखरीका स्थानीयवासी थिए। उक्त ठाउँ क्षेत्र नं. १ मा पर्ने भए पनि त्यहाँबाट गणेशमान सिंहले उम्मेदवारी दिएपछि त्रिपुरवर क्षेत्र नं. २ बाट उम्मेदवार बनेका थिए। त्यहाँबाट गोरखा परिषद्का नरबहादुर थापाक्षेत्रीले ६ हजार २६२ मत पाउँदा त्रिपुवरले ५ हजार १३ मत पाएका थिए।

निर्वाचन क्षेत्र नं. ४७, सर्लाही पश्चिममा त कांग्रेस उम्मेदवारको जमानत नै जफत भएको थियो। त्यहाँ कांग्रेसले २००७ सालको क्रान्तियोद्धा रामहरि जोशीलाई उम्मेदवार बनाउन चाहेको थियो। उनी सर्लाहीमा नै बसेर काम गरेका र स्थानीयस्तरमा लोकप्रिय नेता थिए। राजा महेन्द्रले संविधान बनाउन गठन गरेको सल्लाहकार सभामा पनि उनी मनोनीत भएका थिए। उक्त सभाको अध्यक्षमा कांग्रेसले होराप्रसाद जोशीलाई उम्मेदवार बनाएको थियो। तर, रामहरि कृष्णप्रसाद भट्टराईलाई अध्यक्ष बनाउने पक्षमा थिए। आफूले भनेको उम्मेदवार पार्टीले नदिएपछि स्वतन्त्र सदस्यहरूको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका सूर्यबहादुर थापालाई उनले समर्थन गरे। होराप्रसाद पराजित भए। (अँध्यारोबाट उज्यालोतिर, रामहरि जोशी)

त्यसका बाबजुद पनि कांग्रेसले उनैलाई सर्लाहीबाट उम्मेदवार बनाउन चाहेको थियो। तर, रामहरि जोशीले उम्मेदवार बन्न अस्वीकार गरेपछि रासविहारी राय उम्मेदवार बनाइए। निर्वाचनमा भने जोशी सोही क्षेत्रमा कांग्रेसको तर्फबाट प्रचारमा खटिएका थिए। यद्यपि, कांग्रेस उम्मेदवार रासविहारी चौथो भए। तेस्रो भएका तराई कांग्रेसका उम्मेदवारले समेत कांग्रेसलाई उछिनेका थिए। उक्त क्षेत्रमा प्रजा परिषद्का निस्तार राय ४ हजार ५२० मतसहित विजयी हुँदा कांग्रेसका रास बिहारीले २ हजार ८८० मत पाएका थिए। रामहरि जोशी २०४८ सालको निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेर विजयी भएका थिए।

क्षेत्र नं. ४८, रौतहट पश्चिम–दक्षिणमा पनि कांग्रेस, प्रजा परिषद्बाटै पराजित भएको थियो। प्रजा परिषद्का शेख ईद्रिशले ७ हजार ४९० मत पाउँदा नेकपाका भोला ठाकुरले ६ हजार ८६८ र कांग्रेसका शेख अब्दुल मजिदले ४ हजार ४११ मत पाएका थिए। शेख ईद्रिश सांसद बनेको केही दिनमै कांग्रेस प्रवेश गरेका थिए। त्यसपछि निरन्तर कांग्रेसमा सक्रिय उनी २०४८ सालको निर्वाचनमा पनि रौतहट क्षेत्र नं. २ बाट विजयी भएका थिए। यसरी उनी २०१५ र २०४८ सालको निर्वाचनमा फरक पार्टीबाट निर्वाचित भएका थिए।

क्षेत्र नं. ६, चौतारा पश्चिम–उत्तरबाट कांग्रेसका सूर्यमान श्रेष्ठ पराजित भए। गोरखा परिषद्का गुणनिधि सिपाईले ५ हजार ४९० मत पाउँदा श्रेष्ठले १ हजार ९४८ मत पाएका थिए। क्षेत्र नं. ८, चौतारा मध्य–दक्षिणमा पनि गोरखा परिषद्का सुरेन्द्रप्रसाद उपाध्याय ५ हजार २०० मतसहित विजयी हुँदा कांग्रेसका आशाकाजी वैद्यले २ हजार ६७२ मत पाए। सिन्धुपाल्चोकबाट उम्मेदवार बनेका उपाध्याय मोरङका स्थायी बासिन्दा थिए।

त्यसैगरी, क्षेत्र नं. ९, चौतारा दक्षिणमा पनि गोरखा परिषद्का उम्मेदवार तीर्थमान लामासँग कांग्रेसका सप्तलाल ताम्राकार पराजित भएका थिए। स्वयम्भू घर भएका लामाले ३ हजार ५६८ मत पाउँदा पनौतीका ताम्राकारले १ हजार ३२४ मत पाएका थिए। निर्वाचन क्षेत्र नं. १०, चौतारा मध्य–पूर्वबाट डिल्लीबजार घर भएका हर्षजीत लामा ८ हजार ३१ मत पाएर विजयी हुँदा कांग्रेसका मनकुमार श्रेष्ठ १ हजार ६४७ मतसहित दोस्रो स्थानमा रहे।

क्षेत्र नं. १५, सिन्धुलीमा प्रजा परिषद्का जितबहादुर कार्की ३ हजार १० मतसहित विजयी हुँदा कांग्रेसका कुलचन्द्र कोइराला १ हजार ४०७ मत ल्याएर तेस्रो भए। उक्त क्षेत्रमा नेकपाका रामहरि बराल १ हजार ८६० मतसहित दोस्रो भएका थिए।

क्षेत्र नं. ५४ पर्सा पश्चिममा गोरखा परिषद्का मुनीलाल थारुले ४ हजार ३१४ मत पाएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार जयप्रकाशले ३ हजार ५३४ मत पाए। कांग्रेसका मेघराज उपाध्याय ३ हजार ५२७ मतसहित तेस्रो भए। त्यसैगरी क्षेत्र नं. ५५, मकवानपुरमा पनि गोरखा परिषद्का ताराप्रसाद उपाध्याय ८ हजार ९७३ मतसहित विजयी हुँदा दोस्रो भएका कांग्रेसका रामलाल ताम्राकारले २ हजार ६२२ मत पाएका थिए।

क्षेत्र नं. ७५, दैलेख पश्चिममा गोरखा परिषद्का इन्द्रसिंह रावलले ५ हजार ६०८ मत पाएर विजयी हुँदा कांग्रेसका ताराप्रसाद ढुंगाना २ हजार २१४ मतसहित तेस्रो भएका थिए। यहाँ संयुक्त प्रजातन्त्र पार्टी दोस्रो भएको थियो। क्षेत्र नंं ८८, बागलुङ दक्षिण–पूर्वमा गोरखा परिषद्का हरिदत्त पाध्या ८ हजार ८७० मतसहित विजयी हुँदा कांग्रेसका गोविन्दलाल श्रेष्ठले ४ हजार १४४ मत पाएका थिए। क्षेत्र नं. ९८, नुवाकोट उत्तरमा भने संयुक्त प्रजातन्त्र पार्टीका धिरबहादुर गुरुङसँग कांग्रेस उम्मेदवार पराजित भएका थिए। धिरबहादुरले ४ हजार ५१८ मत पाउँदा कांग्रेसका मोहनबहादुर मल्लले ४ हजार १५९ मत पाएका थिए। यहाँ विद्रोही उम्मेदवारका कारण मोहनबहादुरले झिनो मतान्तरले पराजय बेहोर्नु परेको थियो।

क्षेत्र नं. १०८, नुवाकोटमा गोरखा परिषद्कै देववीर पाण्डे ४ हजार ३५४ मतसहित विजयी हुँदा कांगेसका बद्रीराम उपाध्याय भण्डारीले ४ हजार १३७ मत पाएका थिए। क्षेत्र नं. १०९, नुवाकोट दक्षिणमा गोरखा परिषद्कै भीमबहादुर कार्कीले ३ हजार ८७६ मत पाउँदा कांग्रेसका मोहनविक्रमध्वज जोशीले १ हजार ६५७ मत पाए।

तीन ठाउँमा जितेका सुवर्णशमशेर दुई क्षेत्र र दुई ठाउँमा जितेका कांग्रेसकै शिवराज पन्तले एक क्षेत्र छाडेपछि उपनिर्वाचन भएको थियो। तीन ठाउँमा भएको उपनिर्वाचनमा एक क्षेत्रमा कांग्रेस निर्विरोध भयो भने एक क्षेत्रमा भारी मतान्तरले विजयी भएको थियो। तर, सुवर्णशमशेरले छाडेको क्षेत्र नं. ५२ मा भने कांग्रेस पराजित भएको थियो। गोरखा परिषद्का मनमोहन मिश्र ६ हजार १५२ मतसहित विजयी हुँदा कांग्रेसका परमहंस यादवले ३ हजार ८२६ मत पाएका थिए।

अघिल्लो पटक पनि सुवर्णशमशेरको विरुद्धमा मनमोहन नै उम्मेदवार बनेका थिए। त्यति बेला सुवर्णले ७ हजार २२१ मत पाउँदा गोरखा परिषद्का मनमोहनले ५ हजार ९४८ मत पाएका थिए।


सम्बन्धित सामग्री