Wednesday, July 16, 2025

-->

तनहुँका किसानलाई चैते धान थन्क्याउने चटारो

तनहुँका नौ हजार ४६४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। त्यसमध्ये एक हजार ८०२ हेक्टरमा चैते धानसमेत लगाइन्छ।

तनहुँका किसानलाई चैते धान थन्क्याउने चटारो
चैते धान थन्क्याउन व्यस्त तनहुँका किसान। तस्वीर: रासस

डुम्रे– तनहुँका किसानलाई चैते धानखेती भित्र्याउने चटारो रहेको छ। चैते धानखेती हुने फाँटमा लगाइएको धान थन्क्याउन किसान व्यस्त देखिन्छन्। चैते धान थन्क्याउनासाथ असारे धान (वर्षे धान) रोप्ने चटारो शुरू हुन्छ।

व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा धानखेती गरिन्छ। भानु, व्यास, म्याग्दे र आँबुखैरेनीका अधिकांश फाँटमा चैते धानको पनि खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

जिल्लाका कुल नौ हजार ४६४ हेक्टर क्षेत्रफलमा धानखेती हुने केन्द्रको तथ्यांक छ। त्यसमध्ये एक हजार ८०२ हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको केन्द्रले जनाएको छ।  केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले वर्षेधान मात्रै हुने स्थानमा भने रोपाइँ शुरू भइसकेको बताए। 

तनहुँ बढी धानखेती हुने पहाडी जिल्लामा पर्ने उनको भनाइ छ। जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा ३७ हजार ९४२ मेट्रिकटन धान उत्पादन भएको थियो। त्यसमध्ये आठ हजार ७०४ मेट्रिकटन चैते धान रहेको छ। 

भानुको चुँदीफाँट, खहरेफाँट, सतीघाटफाँट, व्यासको घाँसीकुवाफाँट, साँगेफाँट, कलेस्तीफाँट, माझफाँट, गजौडेफाँट, शिशाघाटफाँट, म्याग्देको गुणादीफाँट, थर्पुफाँट, पसलेफाँट, सेराफाँट र शुक्लागण्डकीको ढोरफिर्दीफाँट, भिमादको बुडुवाफाँटलगायत फाँटमा धानखेती हुने गरेको छ। चैते धान विशेषगरी चिउरा उत्पादनका लागि उपयोग हुने गरेको ज्ञान केन्द्रले जनाएको छ।


सम्बन्धित सामग्री