वीरगन्ज– अवैध रूपमा ११.८४ क्यूफिट ‘ए’ ग्रेडको सालको वन पैदावार ओसारपसार गरेको अभियोगमा पर्साका तीन जना विरुद्ध २०७७ चैत १० गते डिभिजन वन कार्यालय कार्यालय पर्सामा मुद्दा दर्ता भयो।
वीरगन्ज महानगर–२९ का रतनपुरका कासिम मिया नेटुवा, वीरगन्ज–३२ का परसवाका रामलाल महतो र सुखल महतोले अवैध रुपमा वनपैदावर ओसारपसार गरेको कसुरमा मुद्दा दर्ता भएको पनि चार वर्ष बितिसक्यो। तर अहिलेसम्म पनि सो मुद्दा किनारा लाग्न सकेको छैन। २०७७ साल चैत १३ गते पनि पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ का सखुनियाँ टाँडीका शिव शर्माले ७.७३ क्यूफिट ‘सी’ ग्रेडको सालको काठ अवैध ओसारपसार गरेको अभियोगमा डिभिजन वन कार्यालयमा मुद्दा दर्ता भयो। तर, शर्मा कसुर रहेको मुद्दाको छिनोफानो भने अझैसम्म पनि हुन सकेको छैन।
त्यस्तै २०७७ साल चैत १३ गते बहुदरमाई नगरपालिका–४ डोकैलाका राजकुमार साह र सोही नगरपालिकाका–२ बस्ने मोतिलाल साहले १३.४१ क्यूफिट काठ अवैध ओसारपसार गरेको कसुरमा दर्ता भएको मुद्दाको अहिलेसम्म किनारा लाग्न सकेको छैन। मुलुक संघीय संरचनामा गए पनि वनसँग सम्बन्धित ऐन, कानून संघीय सरकार र प्रदेश सरकारबीच अधिकार र क्षेत्राधिकारको विषय बाझिँदा वन मुद्दाको निरूपण गर्न समस्या थपिँदै गइरहेका यी उदाहरण हुन्।
मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ र वन ऐन,२०७६ का कतिपय प्रावधानले अहिले पनि जिल्ला अदालत र डिभिजन वन कार्यालयबीच क्षेत्राधिकारको विवादको कारणले वनसँग सम्बन्धित मुद्दा सात वर्षदेखि अल्झिँदै आइरहेका छन्।
२०७५ भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार सरकारवादी मुद्दा संघीय सरकारको प्रतिनिधिले मात्र चलाउने व्यवस्था भएपछि वन तथा पैदावारसँग जोडिएको मुद्दा फर्छ्यौटमा समस्या देखिएको हो। अर्काेतर्फ वन ऐन, २०७६ को दफा ६७ मा यस ऐनअन्तर्गत २ लाख रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने मुद्दा सरकारको डिभिजनल वन अधिकृतले कारबाही र किनारा गर्नेछन् भन्ने व्यवस्था छ। तर, अहिले डिभिजनल वन अधिकृत (डीएफओ) भने प्रदेश सरकार मातहतका छन्। यस कारणले पनि जिल्लामा दर्ता भएका वन मुद्दा फर्छ्यौट गर्न कानूनी अड्चन देखिएको हो।
डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मन्जुर अहमदले वन मुद्दासँग टुंगो लगाउनका लागि कानूनी जटिलता र अड्चन भएकाले पनि समयमै मुद्दा फर्छ्यौट गर्न चुनौती थपिएको बताउँछन्। “वन ऐन २०७६ को दफा ६७ मा यस ऐनअन्तर्गत दुई लाखसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने मुद्दा नेपाल सरकारको डिभिजनल वन अधिकृतले कारबाही र किनारा गर्नेछन् भन्ने व्यवस्था छ,” उनले भने, “अहिले डिभिजनल वन अधिकृत प्रदेश सरकार मातहतको रहेका छन्। तर, कानूनी व्यवस्थामा संघीय डिभिजन वन अधिकृतले गर्ने भन्ने व्यवस्थाको कारणले पनि वन मुद्दालाई किनारा लगाउनका लागि ठाउँपिच्छे नै फरक–फरक रहेको छ । कतै प्रदेशका डिभिजन वन अधिकृतले मुद्दाको किनारा लगाउँदै आइरहनुभएको छ। त कतै पनि सो मुद्दा किनारा लगाउन समस्या भइरहेको छ।”
डिभिजन वन कार्यालय पर्साकाका अनुसार आव २०७५/७६ देखि आव २०८१/८२ चैत मसान्तसम्मको अवधिमा डिभिजन वन कार्यालयमा अवैध वन पैदावार चोरीसँग सम्बन्धित १८९ मुद्दा छन्। त्यस्तै अदालतमा विचाराधीन अवैध वनपैदावरसँग सम्बन्धित २७ वटा मुद्दा रहेका छन्। कार्यालयमा वन्यजन्तु चोरी सिकारीसम्बन्धी मुद्दा ६ वटा छन्। त्यस्तै अवैध ढुंगा गिटी बालुवा ओसरपसारसँग सम्बन्धित एक र अतिक्रमणसँग सम्बन्धित दुई र वन्यजन्तुसँग सम्बन्धित मुद्दा ६ वटा छन्। कार्यालयका अनुसार कार्यालयसँग समग्रमा १९५ वटा मुद्दा रहेका छन् भने जिल्ला अदालतमा ३३ वटा मुद्दा विचाराधीन अवस्थामा छन्।
मधेश प्रदेश वन निर्देशनालयका प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवालले कानूनी दुविधा देखिएकाले यो समस्या एउटा डिभिजन वन कार्यालयसँग सम्बन्धित नभएर मुलुकभर रहेका ८४ वटै कार्यालयमा समस्या देखिएको बताए। “गत वैशाख ३० र ३१ गते काठमाडौँमा भएको ८४ वटै जिल्लाका डिभिजन वन कार्यालयका प्रमुखहरूको बैठकमा पनि यो विषय जोडतोडले उठेको थियो,” उनले भने, “यो विषयमा वन तथा वातावरण मन्त्रालय, मन्त्री, मुख्यसचिव तथा महान्यायाधिवक्ता कार्यालयलाई जानकारी गराइसकेका छौँ। उहाँहरूले आवश्यक कानूनी समस्या सल्टाएर यो विवाद अन्त्य गर्नुहोला भन्ने अपेक्षा राखेका छौँ।”
प्रदेश वन निर्देशक जयसवाल कानूनी अड्चनकै कारणले समयमै सहज र सरल ढंगले न्याय प्राप्तिमा असर पारिरहेको बताउँछन्। यो अधिकारको विवाद जति धेरै लम्बिँदै जान्छ। त्यति नै न्याय निरूपणमा समस्या थपिँदै जानेछ। जतिसक्दो छिटो न्याय निरूपण गर्न आवश्यक भइसकेको उनको भनाइ छ।
जिल्ला सरकारी वकिल कार्यालय पर्साका कार्यालय प्रमुख भोलानाथ निरौलाले वन पैदावरसँग सम्बन्धित मुद्दा संघीय सरकार मातहतको डिभिजन वन अधिकृतले हेर्ने कानूनी व्यवस्था भएकाले मधेश सरकार मातहतका डिभिजन अधिकृतले हेर्न नमिल्ने अवस्था रहेको बताए। “क्षेत्राधिकार संघीय डिभिजनल वन अधिकृतलाई दिएकाले पनि सो मुद्दाको निरूपण हुन सकिरहेको छैन,” उनले भने, “हामीले त मौजुदा कानूनमा जे उल्लेख गरिएको छ। सोही बमोजिम नै कार्यान्वयन गर्दै आइराखेका छौँ। क्षेत्राधिकार नभएको कुरालाई दिन सकिने कुरा पनि भएन नि।”
वन ऐन,२०७६ को दफा ६२ मा ऐन बमोजिम एक वर्षसम्म कैद सजाय हुने कसुरसम्बन्धी मुद्दाको अनुसन्धान तथा तहकिकात प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी तोकेको प्रदेश सरकारको कर्मचारीले गर्ने व्यवस्था उल्लेख छ। ऐनमा भनिएको छ, “यस ऐन बमोजिम एक वर्षभन्दा बढी कैद सजाय हुने कसुरसम्बन्धी मुद्दाको अनुसन्धान तथा तहकिकात नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको नेपाल सरकारको कर्मचारीले गर्नेछ।”
त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राडा राजेश राईले दुवै कानून आएको झन्डै सात वर्ष बित्दासमेत संघ र प्रदेश सरकारबीचको अधिकार स्पष्ट किटान गर्न नसक्दा समस्या भएको बताए। प्रदेशलाई अधिकार दिए जस्तो पनि गर्ने तर पूर्ण रुपमा अधिकार नदिँदा अहिलेको समस्या उत्पन्न भएको प्राडा राईको भनाइ छ। “अहिले देखिएको समस्या निरूपणको उपाय भनेको नै मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ र वन ऐन, २०७६ को प्रावधानलाई संशोधन गर्नुपर्ने हुन्छ,” उनले भने।
वन मुद्दाको फर्छ्यौट मात्रै नभएर सशस्त्र वन रक्षक संघीय सरकार मातहत छन्। तर, अहिले प्रदेश सरकार मातहतका डीएफओले सशस्त्र वन रक्षकलाई खटाउँदै आइरहेको अवस्था छ। डिभिजनल वन अधिकृत अहमद कतिपय जिल्लामा डिभिजनल वन अधिकृत, जल्ला सरकारी वकिल कार्यालय र न्यायाधीशको समन्वयमा वन पैदावारसँग सम्बन्धित मुद्दा सहमतिमा अदालतबाट सल्टाउने गरिएको दाबी गर्छन्।